शनिबार, भदौ १४, २०८२

पोखरामा रिमको भुमिगत पेलेनम

 

मोहनविक्रम सिंह
सन् १९८४ मा रिम (रिभोल्युसनरी इन्टरनेसनलिस्ट मुभमेन्ट) को स्थापना सम्मेलन भएको थियो । त्यो प्लेनम पेरिसभन्दा तीन/चार सय माइल दक्षिणतिरको कुनै गाउँमा भूमिगत रूपले सम्पन्न भएको थियो । त्यो स्थापना सम्मेलनमा सन् १९७६ को चीनको प्रतिक्रान्तिपछि विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी भड्कावका विरुद्ध विशेष रूपले विचार गरिएको थियो ।

त्यो सम्मेलनको नेकपा (मसाल) पनि एउटा संस्थापक सदस्य थियो र हाम्रो पार्टीको तर्फबाट म त्यसमा प्रतिनिधि भएर गएको थिएँ । त्यो सम्मेलनमा भारत, इटली, बङ्गलादेश, पेरू, ब्रिटेन, कोलम्बिया, युएसए, इरान, डोमिनिकन रिपब्लिक, हाइटी, टर्की, श्रीलङ्का र नेपालसमेत १९ देशका माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठन सामेल थिए । त्यो सम्मेलन करिब एक महिनाजति चलेको थियो र त्यसले रिमको एउटा घोषणापत्र पनि पारित गरेको थियो । त्यो सम्मेलनमा करिब करिब सबै स्वयम्सेवक टर्कीबाट नै आएका युवकयुवती नै थिए ।

त्यो सम्मेलनको बेलामा श्रीलङ्काका वरिष्ठ कम्युनिस्ट नेता का. सम्मुख दासम र म एउटै कोठामा बस्दथ्यौँ र उहाँका र मेरा विचार धेरै मिल्दथे । खास गरेर स्टालिनबारे हाम्रो सोचाइमा पूरै समानता थियो ।

त्यो पूरै सम्मेलनमा हाम्रो पार्टीले कडा सैद्धान्तिक सङ्घर्ष गर्नुपरेको थियो । त्यो सम्मेलनको मुख्य नेतृत्व आरसिपी युएसएले नै गरेको थियो । त्यसका सोचाइ बढी ट्राटस्कीवादी प्रकारका थिए (हेर्नुहोस, रिम र माओवादीको कथित जनयुद्ध, पृ. १९९) । सम्मेलनमा पनि उनीहरूले कतिपय प्रश्नमा त्यही प्रकारका विचार प्रस्तुत गरेका थिए । खास गरेर स्टालिनका विरुद्ध उनीहरूले कडा आक्रमण गरेका थिए । त्यस प्रकारको सोचाइका विरुद्ध हाम्रो पार्टीले एक महिनासम्म लगातार र कडा सङ्घर्ष गर्नुपरेको थियो । त्यो सम्मेलनमा हाम्रो पार्टीले प्रकट गरेका विचारबारे सम्मेलनको अन्तमा मैले एउटा “विरोधपत्र” (नोट अफ डिसेन्ट) पनि प्रस्तुत गरेको थिएँ (हेर्नुहोस्, उही, पृ. २८) ।
वास्तवमा रिमको स्थापनापछि पुगनपुग करिब एक दसकसम्म हामीले रिमभित्र लगातार सैद्धान्तिक सङ्घर्ष गरिरहनुपर्‍यो । (त्यो बेला रिमभित्र भएको त्यस प्रकारको अन्तरसङ्घर्षसम्बन्धी सबै दस्तावेज “टू लाइन स्ट्रगल विदिन रिम” मा विस्तृत रूपले दिइएका छन् ।

पछि रिमको कमिटीले ‘माओत्सेतुङ विचारधारा’ को ठाउँमा ‘माओवाद’ ल्याउने प्रस्ताव अगाडि ल्यायो । त्यो विचारका विरुद्ध पनि हाम्रो पार्टीले कडा सङ्घर्ष गर्‍यो । रिमको कमिटीले त्यसबारे विचार गर्नका लागि एउटा प्लेनम बोलाउने ठेगान गर्‍यो ।

त्यो प्लेनम कहाँ बोलाउने ? त्यसबारे रिममा धेरै छलफल भयो । मैले त्यो प्लेनम नेपालमा आयोजना गर्न सकिन्छ भन्ने प्रस्ताव राखेँ र त्यो प्रस्ताव स्वीकृत पनि भयो । हामीले त्यो प्लेनम भूमिगत रूपले नै गर्नुपर्ने थियो । त्यसका लागि हामीले नेपालका कैयौँ ठाउँबारे विचार गर्‍यौँ । ती ठाउँमध्ये एउटा प्युठानको ओखरकोट थियो र अर्को गौमुखीको खरा–अर्खा पनि थियो । त्यहाँ पुग्नका लागि यातायातको कठिनाइ हुन्छ र कैयौँ विदेशी मानिसलाई त्यहाँ जान मुस्किल पर्दछ भन्ने सोचेर हामीले ती गाउँमा प्लेनम गर्ने विचारलाई खारेज गर्‍यौँ । हामीले सोचेको अर्को ठाउँ प्युठान बड्डाँडाभन्दा पारिपट्टिको अमरे थियो । त्यहाँ पनि एक महिनासम्म कैयौँ विदेशीहरू बस्दा कार्यक्रमलाई गोप्य राख्नु कठिन हुन्छ भन्ने सोचेर त्यो ठाउँलाई पनि खारेज गरियो ।

अन्तमा त्यो प्लेनम पोखरामा गर्ने समझदारी बन्यो । पोखरा एउटा पर्यटकीय केन्द्र थियो । त्यसैले त्यहाँ विदेशीहरू बस्दा कुनै शङ्का हुँदैनथ्यो । त्यहाँ एक महिनाका लागि एउटा होटल बुक गरियो र त्यहीँ नै रिमको प्लेनम भूमिगत रूपले सम्पन्न भयो ।

त्यो प्लेनममा रिमका साथीहरूले सबैभन्दा ठुलो समस्या म नै भएको विचार गरे किनभने कुनै मानिसले मलाई चिनेमा गोप्यता भङ्ग हुन सक्दथ्यो । त्यसैले उनीहरूले मलाई महिनाभरि नै एउटा कोठामा राखे । बैठक हुने बेलामा म हलमा जान्थेँ तर अरू बेलामा म कोठामा एक्लै नै बस्नुपर्दथ्यो ।

त्यो सम्मेलनमा माओवादी (त्यो बेलासम्म उनीहरूको नाम अझै माओवादी रहिसकेको थिएन) का तर्फबाट का. प्रचण्ड र का. सिपी गजुरेल प्रतिनिधि भएर जानुभएको थियो । त्यो प्लेनममा हाम्रो पार्टीका तर्फबाट तीन जना स्वयम्सेवक जानुभएको थियो : का. दुर्गा पौडेल, का. डिलाराम आचार्य र का. नारायण योगी ।

पोखरामा त्यो कार्यक्रम लेकसाइडको कुनै होटेलमा भएको थियो । म त त्यो कार्यक्रमभरि कोठामा नै ‘नजरबन्द’ भएर बस्नुपरेको थियो । त्यसैले त्यो प्लेनम भएको होटेल कुन थियो ? मलाई थाह हुन सक्दैनथ्यो । पोखरामा गएको बेलामा म दुर्गालाई लगेर त्यो होटल खोज्न गएँ तर त्यो होटल पत्ता लाग्न सकेन । अहिलेसम्म पनि त्यसबारे केही जानकारी प्राप्त हुन सकेको छैन ।

त्यो प्लेनम एक महिनाजति चलेको थियो । त्यो पूरै प्लेनमभरि अरू सबै प्रतिनिधिहरू प्रचण्ड र गजुरेलसमेत आरसिपी युएसएको लाइन र ‘माओवाद’ को पक्षमा थिए भने महिनाभरि नै मैले एक्लै उनीहरूका विरुद्ध सङ्घर्ष गर्नुपरेको थियो ।

मेरा लागि त्यो अत्यन्त तनावपूर्ण स्थिति थियो । दिनभरि कतै घुम्न जान पनि नपाउने र राति अबेरसम्म लगातार सङ्घर्ष गरिरहनुपर्ने । कुनै कुनै बेला रात परेपछि म छतमा केही बेरका लागि जान पाउँथे । त्यहाँ पार्टीका तर्फबाट स्वयम्सेवक भएर आएका डिलाराम आचार्य, नारायण योगी र दुर्गा पौडेलमध्ये कसैलाई पनि मसित भेट गर्न दिइदैनथ्यो । खालि एकपल्ट दुर्गासित १०–१५ मिनेट मात्र भेट गर्न दिइएको थियो ।

त्यो प्लेनममा सर्वप्रथमत: ‘माओत्सेतुङ विचारधारा’ र ‘माओवाद’ बारे नै बढी छलफल चल्यो तर मेरो एकमतका विरुद्ध बहुमतले त्यो प्लेनमले ‘माओवाद’ को प्रस्तावलाई स्वीकार गर्‍यो । त्यो प्लेनममा मैले ‘स्टालिन’ सम्बन्धी एउटा प्रस्ताव पनि राखेको थिएँ (हेर्नुहोस्, उही, पृ. १०२) । त्यो प्रस्तावलाई पनि प्लेनमले अस्वीकार गर्‍यो ।

पोखरामा सम्पन्न प्लेनमपछि रिमले आफ्नो एक जना प्रतिनिधिलाई हामीसित कुरा गर्न नेपालमा पठाएको थियो । रिमको प्रतिनिधिसित का. चित्रबहादुर केसी र मेरो लामो कुराकानी भएको थियो (हेर्नुहोस्, उही, पृ. ९५) । उनले हामीलाई माओवाद मान्न र नेपालमा सशस्त्र सङ्घर्ष सुरु गर्न धेरै नै जोड दिएका थिए तर हामीले उनको प्रस्तावलाई अस्वीकार गरेका थियौँ ।

१९९६ अगस्ट २१ मा रिमको कमिटीले हाम्रो पार्टीलाई एउटा पत्र पठाएको थियो । त्यसमा लेखिएको थियो : “तपाईंको पार्टीले बारम्बार र जोडदार प्रकारले हाम्रो आन्दोलनले लिएको अडान (माओवाद) को विरोध गरिरहेको छ ।” त्यसपछि हामीलाई यो ‘अल्टिमेटम’ दिइएको थियो : “तपाईंको पार्टीले रिमको सैद्धान्तिक अडान (माओवाद) को विरोध कायम राखेमा…. तपाईंहरूले स्वेच्छापूर्वक रिमबाट राजीनामा दिनु नै सैद्धान्तिक बाटो हुने छ” (हेर्नुहोस्, “टू लाइन स्ट्रगल विदिन रिम”, पृ. १४१) ।

त्यसपछि हाम्रो पार्टीको सन् १९९६ अक्टोबर २४ मा बसेको केन्द्रीय समितिको बैठकले ‘माओत्सेतुङ विचारधारा’ प्रतिको समर्थन र ‘माओवाद’ प्रतिको विरोधलाई कायम राख्ने तथा रिमबाट राजीनामा पनि नदिएर आफ्नो अन्तरसङ्घर्षलाई कायम राख्ने निर्णय गर्‍यो । हामीले रिमको कमिटीलाई त्यही प्रकारको जवाफ पठायौँ । त्यसपछि रिमको कमिटीले हाम्रो पार्टीलाई रिमबाट निष्काशित गर्‍यो । सन् १९९८ मा रिमको मुखपत्र “अ वल्र्ड टू विन” मा “अन द एक्सपल्सन अफ द नेपाल कम्युनिस्ट पार्टी (मसाल) फ्रम रिम” शीर्षकले एउटा लामो लेख प्रकाशित गरेर हाम्रो पार्टीलाई रिमबाट निष्कासित गरेको औपचारिक घोषणा गरियो । त्यो लेखको अन्तमा लेखिएको थियो : “हामीहरू नेकपा (मसाल) का विभिन्न तहका कार्यकर्तालाई एमबी सिंहको क्रान्ति विरुद्धको आक्रमणबाट आफूलाई अलग राख्न र शोषण र दमन विरुद्धको स्वतन्त्र संसारको पक्षमा अग्रसर नेपालको जनयुद्धमा जुट्न आह्वान गर्दछौँ ।”

पछि माओवादी र रिमका बिचमा पनि अन्तरविरोध बढेर गयो र त्यसबारे उनीहरूका बिचमा कैयौँ पत्रव्यवहार भए (हेर्नुहोस्, उही पृ. ८०) । त्यसपछि माओवादी पनि रिमबाट अलग भयो । अब स्वयम् रिमको नै एक प्रकारले विघटन भइसकेको छ । लन्डनमा त्यसको एउटा कार्यालय छ भन्ने सुनिन्छ तर अब त्यसको कहीँ कुनै गतिविधि भएको पाइँदैन ।

पछि हाम्रो पार्टी आई.सी. मा सामेल भयो तर त्यसमा पनि पहिले रिमसित सम्बन्धित कैयौँ पार्टी सामेल भएका थिए र उनीहरूसित हाम्रो पार्टीको लगातार तीव्र सैद्धान्तिक सङ्घर्ष चलिरह्यो । सन् २०१० मा जर्मनीमा आई.सी.ओ.आर. (इन्टरनेसनल कोअर्डिनेशन अफ रिभोलुसनरी पार्टिज् एन्ड अर्गनाइजेसन्स) गठन भयो । हाम्रो पार्टी पनि त्यसको संस्थापक सदस्य थियो । त्यो सङ्गठन अहिले पनि कायम छ । त्यसमा संसारका करिब ४७ ओटा पार्टी र सङ्गठन छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?