बुधबार, जेष्ठ १६, २०८१

अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु

– विशाल दर्लामी
पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहा की १८ बर्षीया पदमा विक (सुनार) को यहि चैत्र १३ गते हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । यो घटनाले त्यो गाउँ त्रसित मात्रै होइन भयवित बनेको छ । यो एउटा अपराधिक प्रतिनिधि घटना मात्र हो । हाम्रा प्रत्येक मोड र बाटाहरु असुरक्षित छन् । छोरीहरुले हरेक यात्रा डराउँदै डराउँदै तय गर्नुपर्छ । कयौँ छोरीहरु गन्तव्यमा नपुग्दै शव बन्छन् । दैनिक जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । छोरीहरु आफ्नै घर, समाजबाटै असुरक्षित छन् । योभन्दा डरलाग्दो कुरा अरु के हुन सक्छ ? बुवा, दाइ पनि अपराध गर्छन् । कयौँ श्रीमती श्रीमानबाट असुरक्षित रहेका घटना पनि नदेखिएका होइनन् । प्रत्येक दिन देशका विभिन्न ठाउँमा यस्ता खालका घटनाहरु घटिरहेका समाचार दिनहुँ आइरहेका हुन्छन् । के हाम्रो समाजमा अपराधिक मनोवृत्ति बढेकै हो त ? अझै महत्वको प्रश्न चाहीँ ती सबै अपराधिक घटनाहरुको सिकारमा किन छोरीहरु नै पर्दछन ? (यहाँ छोरीहरु भन्नाले मुलतः महिलाहरुलाई इङ्गित गर्न खोजिएको हो ) यी प्रश्नहरु गम्भीर छन्,अति संवेदनशिल छन् ।

एक अपराधको असर उ स्वयंलाई मात्रै होइन उसका आफन्तलाई समेत प्रत्यक्ष पर्दछ । अपराधी मानसिकताको सुषुप्त पाटो कतिबेला कहाँ सक्रिय हुन्छ र भयंकर रुप लिन्छ भन्न सकिदैन । अझ डरलाग्दो अवस्था यहाँनेर छ, आवरणमा सभ्य, भलाद्मी, निर्दोष देखिने चेहरा भित्र लुकेको अपराध भुसको आगो झै सल्किएको छ । बाहिर सालिन र सौम्य देखिनेहरु अनुसन्धानको घेराबाट पटक–पटक बच्ने गरेका छन् तर त्यस भित्रको अपराधिक मानसिकताको बैज्ञानिक जाँच अझै हुन सकिरहेको छैन । आवरण हेरेर बनाइने धारणाले उसको व्यवहार र चालचलनको पक्षमा दृष्टि गुमाइरहेको देखिन्छ । पछिल्लो क्रममा देशको अवस्था र समाचारको अपडेटलाई हेर्ने हो भने अपराधका घटनाहरु ह्वात्तै बढेका छन् । समाज असुरक्षित बनिरहेको छ ।  विभिन्न आयामबाट अपराधका घटना बढिरहेको छ । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ ।  हत्या, बलात्कारबाहेक चोरी डकैती, दुव्यर्सनी, अपहरण लगायतका विभिन्न घटनाहरु पनि हामीले दिनहुँ जसो देख्ने, सुन्ने, पढ्दै आएका छौ । जघन्य बाहेक कतिपय घटनाले त अब हाम्रो संवेदनालाई छुन छाडेको छ । हामी सामान्य रुपमा लिन अभ्यस्त भइसकेका छौ । समाजमा यसरी अपराधहरू बढिरहेका छन् कि, अति सामान्य भन्दा सामान्य घटनाबाट यसको विजारोपण भएर अन्ततः भयंकर रूप लिदै मौलाइरहेको छ ।  समाजमा अपराध बढ्नु कुनै एक कारण मात्रै निहित हुँदैन । निराशा, बेचैनी, कुण्ठा, आवेश, प्रतिशोध, अज्ञानता, महत्वाकांक्षा सँगसँगै बेरोजगारीका कारण सृर्जित विविध पक्षले सुषुप्त रुपमा मानिसलाई सिर्जनशील कम र अपराध उन्मुख बढी बनाइरहेको हुन्छ । सभ्य समाज निर्माणका लागि ज्ञान, सिप, नैतिक मुल्य, मान्यतासहितको व्यवहारिक शिक्षाको अभावले पनि अपराधको श्रृखंला बढिरहेको छ । देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । विशेषतः अपराधको सिकारमा छोरीहरु परिरहेका छन् । यसर्थ  समाजमा अपराधिक गतिविधि बढ्नुका कारण, त्यसले पारेको प्रभाव र समाधानका उपायका  विषयमा केन्द्रित रहेर यहाँ  बुँदागत रुपमा चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

१) सामाजिक मूल्य मान्यतामा ह्रास 
अहिले समाज एकाङ्की जस्तै बनेको छ । समाजमा समाजिक मूल्यमान्यताहरु हराउँदै गएका छन् । हिजको समाज र आजको समाजमा आकाश जमिनको फरक छ । समाजमा एकलकाटे स्वभाव मौलाइरहेको छ । सामाजिक हित भन्दा पनि कसरी ब्यक्तिगत लाभ लिन सकिन्छ ? त्यसको लागि कहाँ कहाँ ? चाकडी गर्ने हो ?, त्यो धेउन्नमा उद्दत भएको देखिन्छ । क्षणिक लाभ र सस्तो लोकप्रियताको होडबाजिले समाजलाई नै अलोकप्रिय बनाउदै लगिरहेको छ । समाजमा यस्तो विचलन आउनु निकै दुखदायी र गम्भीर विषय हो । यस तर्फ हामी सबैले गम्भिरता पूर्वक छलफल,बहस गर्न जरुरी देखिन्छ छ ।

२) शिक्षाले दिन नसकेको नैतिक शिक्षा

शिक्षा आर्जन गर्नु र चेतनशील हुनु फरक कुरा हो । आज हामीले शिक्षाको नामना डिग्री हासिस त गर्यौ तर हामी चेतनशील भएनौ । हाम्रो शिक्षा नीति,पाठ्यक्रमले हामीलाई अन्धो जस्तो बनाइदिएको छ । पढ्नु भनेको सर्टिफिकेट प्राप्त गर्नु हो भन्ने भाष्य निर्माण भएको छ । पढ्नु भनेको चेतनशिल हुनु हो,समाजमा रहेको विकृति,असमानता,भेदभाव र अन्यायका विरुद्ध बोल्नु वा समाजलाई सकारात्मक दिशामा लैजानु हो,नकि पढ्नु भनेको प्रतिष्ठाका लागि । त्यसकारण अब हाम्रो पाठ्यक्रममा नैतिक शिक्षाको जरुरी देखिएको छ । राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ । हाम्रा छोराछोरीले जति धेरै पढे पनि नैतिकवान र अनुशासित भएनन् भने त्यो केवल कोरा अध्ययन र प्रतिष्ठाका लागि सर्टिफिकेट जस्तो हुन्छ । त्यसले हामीलाई,हाम्रो समाजलाई अगाडि बढाउँदैन । त्यसकारण हाम्रो शिक्षा प्रणालीमा ’कोर्स करेक्सन’ जरुरी बनेको छ ।
३) प्रविधिको गलत प्रयोग 

प्रविधिको विकासले नै आजको विश्व सम्भव भएको हो । नेपालले पनि प्रविधिको प्रयोगले कैयौ सफलताहरु हासिल गरेको छ,तर पछिल्लो समय प्रविधिलाई अपराधको टुल्स बनाइएको छ । अहिले समाजमा निकै डरलाग्दा अपराधका घटनाहरु घटिरहेका छ्न् र ति घटनाहरुमा कहि न कहि प्रविधिको दुरुपयोग भएको छ । प्रबिधिको प्रयोगले त हाम्रा काम  कारवाहीहरुलाइ सहज बनाउनु पर्ने हो तर नेपाली समाजमा प्रविधिको विकास प्रतिउत्पादक जस्तो बनेको छ । त्यसकारण सरकारले यसमा कडाइ पूर्वक नियमन गर्नु पर्ने देखिन्छ ।
४) परिवारभित्रै अपराधी 
अहिले डरलाग्दो रुपमा आएको कुरा के हो भने हाम्रो परिवार नै अपराधको घर जस्तै बनेको छ । परिवारको एउटा सदस्यले अर्को सदस्य माथि अपराध गरिरहेको छ । जस्तो कि बाउबाट छोरी बलात्कार,  दाइभाइबाट दिदिबहिनी बलात्कार आदि । परको कुरा छोडौ, समाजको अन्य मान्छेको कुरा छोडौ हाम्रो घर नै अपराधको कारखाना जस्तो बनेको छ, के यी सोच्न पनि सकिने बिषय हुन ? किन हरेक अपराधमा छोरीहरुनै प्रताडित हुन्छन ? किन हरेक अपराधको कोपमा महिलाहरु नै मर्नु परेको छ ? एउटा सभ्य समाजका लागि यो लाजमर्दो कुरा होइन ?अपराधको यो अन्त्यहिन श्रृंखलालाई कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो ? यस्ता धेरै अनुत्तरित प्रश्नहरुको उत्तर अब निसन्देह खोज्नु पर्ने छ । अपराधिक मानसिकताको अन्त्य गर्नै पर्ने भएको छ, र हाम्रो समाजलाई नयाँ ढङ्गले विकास र रुपान्तरण गर्नै पर्ने भएको छ ।

यसबाहेक अपराधसँग अरु कैयौ विषयहरु पनि जोडिएका छन् । नेपाली समाज उदण्ड बन्दै गएको छ । आधुनिकीकरण र शहरीकरणसँगै मानिसले आफ्नो मुल्य,मान्यतालाई भुल्दै गएको छ,त्यसले मानिसको जीवनशैलिमा परिवर्तन ल्याएको छ । पहिचान,लाज र डर हराउँदै गएको छ । वैदेशिक रोजगारीले श्रीमान र श्रीमतीबिचमा ल्याएको समस्याहरु पनि छदैछन् । महँगीसङ्गै बढ्दो आकांक्षालाइ परिपुर्ति गर्ने ध्याउन्नमा मानिस गलत कार्यतिर लागेको छ । गरिबी,बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता लगायतका कारण मानिसमा फ्रस्टेसन बढेको छ,जसले मानसिक रोगलाई जन्म दिन्छ,अहिले ‘एन्टिसोसियल पर्सानलिटी’ भन्ने रोग देखिएको छ,जुन रोग लागेका बिरामी सधै अपराध गर्न उत्प्रेरित भइरहन्छन्,किनकी मानसिक रुपमा अस्वस्थ ब्यक्तिले नै अपराध गर्ने हो । निरासाले मानिसलाई मादक पदार्थको दलदलमा धकेलिरहेको हुन्छ,जसले बलात्कार र हत्या जस्ता जघन्य प्रकृतिका घटनालाई बढाइरहेको छ ।

अन्तमा, हरेक अपराधमा छोरीहरुको बध हुनु भनेको समाज मरेतुल्य हुनु हो । मरेको समाजले देश बन्दैन् । देश नबने पछि यस्ता अपराधहरु भई नै रहन्छन् ।  समाज र राष्ट्रलाई अपराध मुक्त, विकसित र सु–सभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ । अपराध भन्ने कुरा सामाजिक प्रक्रिया भएको र अपराध विनाको समाज नहुने हुँदा यसलाई पूर्ण निराकरण गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ नागरिक समाज र राज्यको विशेष चासो हुनुपर्ने देखिन्छ । तसर्थ आज हामी सबैले यहि संकल्प गरौं कि हाम्रो घर, हाम्रो समाज र सिंगो देश अपराध मुक्त बनाउछौं ।
(लेखक राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष तथा युवा प्रखर नेता समेत हुन् । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?