शनिबार, बैशाख २२, २०८१

भारतीय आम चुनाव

मोहन बिक्रम सिंह ।

भारतमा आम चुनाव सुरु भएको छ । त्यसमा भाजपा र विपक्ष मध्ये कसको जीत हुनेछ ? त्यसले नेपालका लागि पनि ठूलो राजनैतिक महत्व राख्दछ । भाजपाको जीत भयो भने नेपालको गणतन्त्र र धर्मनिरपेक्षता समेतमा धक्का पुग्नेछ । तर विपक्षको जीत भयो भने नेपालको गणतन्त्र र धर्म निरपेक्षतालाई बल पुग्नेछ । तर त्यहाँ जुन पक्षको जीत भएपनि नेपालप्रतिको उनीहरुको साम्राज्यवादी नीति कायम नै रहनेछ ।
भारतका लागि पनि त्यो चुनावले निर्णायक महत्व राख्दछ । भाजपा कट्टर हिन्दुवादीहरुको पार्टी हो । त्यसले धर्म निरपेक्षताको विरोध गर्दछ र संविधानमा संशोधनको समेत कुरा गरिरहेको छ । त्यसलाई संविधानमा संशोधनको लागि प्रयाप्त बहुमत प्राप्त भएमा त्यसले भारतको धर्म निरपेक्षताको सिद्धान्तलाई पनि खारेग गर्ने अत्यधिक सम्भावना छ । त्यो बाहेक मोदीको जीत भएमा त्यहाँ लोकतन्त्र समाप्त हुने र हिन्दु फासिष्टवादी शासन कायम हुने पनि धेरै सम्भावना छ । त्यसरी भारतीय जनताले स्वतन्त्रता र लोकतन्त्रका लागि ठूलो संघर्ष गरेर प्राप्त गरेका उपलब्धीहरु समाप्त हुने नै धेरै सम्भावना छ । त्यसरी त्यो चुनावमा कुन पक्षको जीत हुन्छ ? त्यसले पनि भारतीय जनताका लागि ठूलो महत्व राख्दछ ।
चुनाव जित्नका लागि मोदीले ठूलो पैमानामा भ्रष्ट र फासिष्टवादी तरिकाहरु अपनाएका छन् । त्यहाँ ‘इलेक्ट्रल बोन्ड’ वा गोप्य चन्दा योजनाको कानुनद्वारा मोदी सरकारले अरबौँ रुपैयाको भ्रष्टचार गरेको कुरा भारतको सर्वाेच्च अदालतले प्रकाशमा ल्याइदिएको छ । त्यो बाहेक मोदी सरकारले ठिक चुनावको मुखमा विभिन्न प्रकारका आरोप लागाएर विपक्षका नेताहरु, कतिपय राज्यका मुख्यमन्त्रीहरुलाई समेत गिरफ्तार गर्ने वा विभिन्न प्रकारको आरोपहरुको डर देखाएर उनीहरुलाई आफ्नो पक्षमा मिलाउने समेत कार्य मोदी सरकारले नाङ्गो रुपले गरिरहेको छ । त्यहाँ विद्युत मेसिनद्वारा मतदान गराएर ठूलो पैमानामा मतदानको हेराफेरी गर्ने सम्भावना पनि धेरै छ । त्यसैले विपक्षका पार्टीहरु र त्यहाँका वकिलहरुले पनि त्यस प्रकारको मतदानको विरोध गरेरका थिए । तर त्यसबारे कुनै सुनुवाई भएन । यी सबै कारणहरुले गर्दा मोदी सरकार पुनः सरकारमा आउने सम्भावना पनि निकै छ । तर आफ्ना कट्टर हिन्दुवादी, जातिवादी, फासिवादी र भ्रष्ट प्रकारको कार्यशैलीका कारणले मोदी सरकारको जनआधार धेरै नै कमजोर भएको छ । त्यो अवस्थामा चुनावको परिणाम के हुनेछ ? त्यो कुरा निश्चित रुपले भन्न मुस्किल पर्दछ । जेहोस्, भारतको चुनावको परिणामले नेपाल र भारतका लागि पनि ठूलो महत्व राख्ने कुरा प्रष्ट छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal