शनिबार, साउन १२, २०८१

आएको छ त गणतन्त्र !!!

धुर्ब गिरी

सोर्ह वर्षे यौवनको प्रवेशसंगै
भ्रष्टाचार गर्ने हिम्मत र आँट गर्दै
हत्या हिंसाका अपराधीलाई आम माफी दिँदै
कुइन्टल कुइन्टल सुन समाएर
सुन मालिक होइन भरियालाई पक्रेर
भेटाएको सुनको तौल दिनहु घटाएर
बडो उत्साह उमङ्ग बोकी आएको छ त गणतन्त्र ।

कानुन अदालतको कुरै नगर
दुई वर्षे दुधे वालक अनि
राष्ट्रसेवक प्रहरी माथिको क्रुरता
असहाय बनाइएका टुहुरा सन्तान अनि विधुवा
यी सबैका पीडा र वेदना सुन्दै नसुन
बरु सुनलाई पितल भन
दोषीलाई निर्दोष भन
किनभने यहाँ आएको छ त गणतन्त्र ।।

धन भए पढ्न पाउछौँ भएन निरक्षर नै बस
पैसा भए औषधोपचार पाउछौँ नभए अकालमै मर
ढाँट छल लुट डकैतिका नाइकेलाई मतदान गर
तिमीले गरे यस्तै संरक्षण पाउछौ खवर मात्रै गर
भ्रष्टाचार गरुन देश बेचुन चिम्म गरेर ताली पिट्ने गर
किनभने यहाँ तिमीलाई त आएको छ गणतन्त्र ।।।
रक्सी मासुसंग मत साटेर
भ्रटलाई राज्यको मालिक वनाउन तालि पिटेर
राज्यको ढुकुटी विदेश राख्न लगाउ
तिमी पनि काम र माम खोज्दै पासर्पोट बोकेर जाउ
जननीको मासु लुछेर खाने भ्रष्टलाई मालिक बनाउ
तस्कर घुसखोरी हत्याराहरुलाई नेता वनाउ
किनभने तिमीले खोजे जस्तै आएको छ त गणतन्त्र

किन चाहियो कालापानी लिम्पियाधुरा
छ त हेरेर चित्त बुझाउ चुच्चे नक्सा
लाखौ धन जुटाउ सरणार्थी वन्छौ अमेरिका पक्का
मानव हत्या गर भ्रष्टाचार गर
कमिसन खाउ कमिसन दिउ
राज्य नै हो नि तिम्रै विर्ता
किनभने यस्तै यस्तैलाइ त आएको छ त गणतन्त्र

कानुन र अदालतको के मान्यता
भनिदेउ कानुनी राज्य हो पत्याइहाल्छौ
सर्वोच्च अदालत त नाममा राख्ने हो
सर्वोच्च काम त हामी मन्त्री परिषदको पो
हत्या हिंसा भ्रष्टाचार बलात्कार गर
तिमी हाम्रा अन्धभक्त कार्यकर्ता हौ नि
किनभने हाम्रै लागि त आएको छ गणतन्त्र ।।।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal