
प्यूठान । नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म दशैं मनाउने प्रचलन रहदै आएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ ।
हिन्दुशास्त्र अनुसार वैदिश विधि पूर्वक शक्तिकी अधिष्ठान देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । पूजा कोठा वा दशैं घरमा विधिपूर्वक यव अर्थात जौ रोप्ने गरिन्छ । जसलाई जमरा राख्ने पनि भनिन्छ । घटस्थापनाको साईत विहान ९ बजेर १३ मिनेटमा छ ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुलप्रसाद ग्रहण गर्ने गरिन्छ ।