शनिबार, साउन १२, २०८१

बटेश्वर गाउपालिकाका अध्यक्षको गाडीबाट रु. ८ लाख बरामद,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट एक सेवाग्राहीबाट घुस बापत लिइएको ८ लाख रुपैयाँ बरामद गरेको छ ।

सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउपालिका अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ गाडीलाई रोक्न लगाउने वितिकै गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट ओर्लिएर तत्कालै फरार भएका आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको प्रवक्ता रिमालले जनाएका छन् ।

गाउँपालिका अध्यक्ष राउत उक्त गाउँपालिकाका सवारी चालक वीर बहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कोरपियो गाडीबाट ८ लाख रुपैयाँ अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम क्षीरेश्वरनाथ नगरपालिका–५ को बाटो छेउमा फ्याँकेर फरार भएका हुन् ।

उनका सवारी चालक मगरलाई वटेश्वर गाउपालिकण–४ बाट नियन्त्रणमा लिइएको प्रवक्ता रिमालले स्पष्ट पारे । गाउँपालिका अन्तर्गतको विकास निर्माण योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलीले अध्यक्ष राउतलाई पछ्याएको थियो ।

फरार गाउँपालिकाका अध्यक्ष राउतको खोजी कार्य भइरहेको जनाएको छ । अध्यक्ष राउतलाई पक्राउ गर्नका लागि पालिकामा पनि तालाबन्दी गरिएको छ । विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तासहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् ।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत स्थानीयवासीले माग गरेका छन् ।

अख्तियारले सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal