शुक्रबार, चैत्र १६, २०८०

भारतमा बैकल्पिक राजनीतिको उदय हुँदै केजेरिबालको पाटिले पंजावमा मार्यो बाजि

छिमेकी भारतमा वैकल्पिक राजनीति थाले १० वर्षमा आम आदमी पार्टी (आप)ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो।

बिहीबार पाँच वटा राज्यमा बिहीबार विधान सभा चुनावको मतगणना भइरहेको छ। नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्डसहित पन्जाब, गोवा र मणिपुरमा मतगणना जारी छ।

मतगणनाको प्रारम्भिक परिणाममा पन्जाबमा आपले एकल बहुमत ल्याउने देखिएको छ।

पन्जाब विधान सभा ११७ सिटमध्ये ८८ मा आपका उम्मेदवार अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले दुई तिहाइ बहुमत ल्याउने देखिएको छ। मतगणना जारी छ।

सन् २०१७ मा भएको विधान सभा चुनावमा कांग्रेसले ७७ सिट जितेको थियो। पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए। विभाजित भएको कंग्रेसले अहिले १२ सिटमा मात्रै अग्रता लिइरहेको छ।

पन्जाबमा आपले बहुमत ल्याए भागवन्त मान मुख्यमन्त्री बन्नेछन्।

वैकल्पिक शक्तिका रूपमा उदाएको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पन्जाब विधान सभा जित्नु आपका लागि ऐतिहासिक सफलता हो।

पन्जाबमा आपले सत्ता चलाइरहेको भारतीय कंग्रेसलाई हराएको हो। यसअघि दिल्लीमा पनि आपले कंग्रेसबाट नै सत्ता छिनेको थियो।

आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो।

आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।

अभियानमा सहभागीहरू भागवान्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए।

झन्डै २२ लाख मानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवान्तको पक्षमा आएको बताइएको थियो।

आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन। आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो।

आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवान्त ४८ वर्षका भए। राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए। सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पन्जाब पिपल पार्टीमा आवद्ध भएका थिए। उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवान्त सन् २०१४ मा आपमा लागेका थिए।  सेतोपाटी बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal