शुक्रबार, बैशाख ७, २०८१

संघीयताका नामका खोलिएका फ्याक्ट्रिहरु बन्द नभए देश आर्थिक रूपमा छिट्टै टाट पल्टिन्छ: केसी

शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रिहरु बन्द हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार महंगी तथा भ्रष्टाचारको विरुद्धमा बुटवल पुरानो बसपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

केसीले छिटो संघीयता खारेज नगरे देश श्रीलंका बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । देशमा कृषि क्रान्ति गरेर उत्पादन बढाउन सरकार नलागेकाले व्यापार घाटा बढेर देश कंगाल भएको केसीले बताउनुभयो । किसानहरुलाइ समयमै मल र बीउ दिन नसक्नु नै सरकारको नकामी हो भन्नुभयो ।

एमसीसी पास गरिसकेपछि फेरि एसपीपीका नाममा अमरिकी सेना भित्र्याृउन खोजेको उहााको आरोप थियो । राष्ट्रियता तथा गणतन्त्र रक्षाका लागि नेपाली जनता संघर्समा उत्रनु पर्नेमा केसीले जोड दिनुभयो ।

‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेजीको लागि संघर्ष गरौं’ भन्ने मूल नारा सहित आयोजना भएको विरोध सभाको संचालन राजमो सचिव टान बहादुर केसीले गर्नुभएको थियो ।

कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बद्रे आलम र नेता लाल बहादुर पन्तले पनि सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?