आइतवार, अशोज ९, २०७९

प्युठानमा रास्ट्रीय स्तरको साहित्य/संगीत महोत्सव हुँदै

जुमान सिंह के सी
असोज ३, प्युठान ।
प्यूठान । साहित्य परिषद प्यूठानले रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सव गर्ने भएको छ ।

प्युठान जिल्लाको साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव गर्न लागिएको अध्यक्ष नवराज आचार्यले बताउनु भएको छ ।
यहि असोज ११ गतेदेखि १३ गतेसम्म कार्यक्रम हुने साहित्य परिषद प्युठानका अध्यक्ष आचर्यले बताउनुभयो ।

असोज ११ गते धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट उद्घाटन हुने कार्यक्रम असोज १३ गते बाग्दुलामा समापन हुनेछ । त्यसबीचमा झिमरुक गाउँपालिकाको ऐतिहासिक स्थान ओखरकोट र मल्लरानी गाउँपालिकाको मल्लरानीमा पुगेर कार्यक्रम गर्ने तालिका रहेको साहित्य परिषद प्युठानका सचिव धुर्व गिरीले बताउनुभयो ।

कार्यक्रममा देशका विभिन्न साहित्यक व्यक्तित्वहरुको सहभागि हुने आयोजकले जनाएको छ । लुम्बिनी प्रदेश तथा राप्ती साहित्य परिषदबाट समेत साहित्यीक श्रष्टाहरुको सहभागिता रहनेछ । कविता प्रतियोगिता सहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम तय गरिएको गिरीले बताउनुभयो ।
साहित्य परिषद प्युठानका उपाध्यक्ष बिमला खनालले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महोत्सवले थप टेवा पुग्ने उहाँको भनाई छ । महोत्सवबाट जिल्लाको कला सस्कृतिको समेत प्रर्वद्धन हुने उहाँको अपेक्षा छ । जिल्लामा पठन तथा लेखन संस्कृतिमा ह्रास आएकाले समेत महोत्सवले नयाँ पुस्तालाई समेत प्रेरित गर्ने उहाँले बताउनु भएको छ ।
सोमबार प्युठानको पुन्य्खोलामा पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको गतिविधि बारेमा जानकारी गराउदै अध्यक्ष आचर्यले महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको भन्दै सफल पार्न सबैको साथ सहयोगको अपेक्षा समेत गर्नु भएको थियो।

कार्यक्रमका लागि विभिन्न व्यक्तिगत तथा स्थानीय तह लगायतका निकायबाट सहयोग जुटाएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?