शुक्रबार, चैत्र १६, २०८०

अमेरिकाले हारेको एउटा एैतिहासिक भियतनाम युद्ध

सन् १९६५ मार्च महिनामा अमेरिकाले सेनालाई पठाएर भियतनाममाथि आक्रमण शुरु गर्यो। साथै भियतनामी जनताले चौतर्फी रुपमा अमेरिकाको विरोध गरी स्वदेशलाई बचाउने युद्ध शुरु गरे। सन् १९६८ जनवरी महिनाको अन्तमा दक्षिणी भियतनामका सेनाले पैंतालीस दिनसम्म”वसन्त प्रहार”गरी एक लाख पचास हजार जना शत्रुलाई मारेका थिए। सन् १९६९ मा असी प्रतिशत दक्षिणी भियतनामको मुक्ति भयो।

साथै अमेरिकामा युद्धविरोधी आन्दोलन पनि चर्कँदै आएको थियो। सन् १९७३ जनवरी महिना अमेरिकाले युद्ध विराम गर्ने र भियतनाममा शान्ति स्थापना गर्ने”पेरिस सम्झौता”मा हस्ताक्षर भएको थियो। त्यसबाट भियतनामले अमेरिकाको विरोध गरी स्वदेश बचाउने युद्धमा निर्णायक विजय प्राप्त गरेको देखिएको छ। सन् १९७३ मार्च महिनाको उनान्तीस तारिख अमेरिकाले दक्षिण भियतनामबाट आफ्नो अन्तिम खेपका सेना फिर्ता गरेर दश वर्षसम्मको आक्रमक युद्धलाई समाप्त गरेको थियो।

माइ-लाइ भियतनामको राजधानी सैगोनबाट ३ सय ३५ माइल उत्तरपूर्वमा अवस्थित सानो गाउँ हो । यहाँको जनसंख्या पुगनपुग ६ सय थियो । दक्षिण भियतनाम कब्जा गरेर बसेका अमेरिकी सेनालाई शंका लाग्यो- उक्त गाउँमा कम्युनिस्ट छापामार सेना ‘भियतकङ’को बलियो उपस्थिति छ, हतियारले सुसज्जित उनीहरु जमीनमुनि बंकरमा लुकी बसेका छन्, हेर्दा सामान्य गाउँले जस्ता लाग्ने महिला, केटाकेटी, बूढाबूढी सबैजना या त भियतकङ हुन् या उनीहरुका समर्थक ।
अमेरिकी ‘सी’ कम्पनीको पहिलो बटालियन सन् १९६७ को डिसेम्बरमा दक्षिण भियतनाम आइपुगेको थियो । पहिलो महिना बटालियनका जवानहरुले बिनाकुनै झडप शान्तिसँग बिताए तर जनवरीमा भियतकङहरुले गरेको २८ वटा आक्रमणको सामना गर्नुपर्यो, जसमा पाँच सैनिकको ज्यान गयो । उक्त आक्रमण भियतनामी ‘राष्ट्रिय मुक्तिमोर्चा’को ४८औं बटालियनले गरेको थियो । अमेरिकी सैन्य गुप्तचर विभागले उक्त बटालियनलाई पछि हट्न लगाउने, शक्ति छरपस्ट पार्ने र त्यसका लागि माइ-लाइ गाउँलाई निशाना बनाउनुपर्ने सूचना प्रवाह गर्यो । छापामार खोज्ने क्रममा फेबु्रअरीमा क्वाङ न्गाइ प्रान्तअन्तर्गत माइ-लाइ वरपरका गाउँ फोङ न्हि, फोङ न्हात र हा माइमा अमेरिकी सेनाले र क्वा न्हाममा दक्षिण कोरियाली सेनाले नरसंहार गरे । यसपछि कर्नेल ओरान हेन्डर्सनले ले.क. फ्रान्क बार्करको मातहतमा रहेको ‘सी’ कम्पनीको ‘टास्कफोर्स बार्कर’लाई माइ-लाइ पसी सबैलाई सफाया गर्न आदेश दिए । ‘सी’ कम्पनी त्यसबेला क्याप्टेन अर्नेष्ट मेडिनाको मातहतमा थियो । सन् १९६८ को मार्च १५ राति आफ्ना सेनालाई भेला गरेर माइ-लाइमाथि आक्रमण गर्ने निर्णय सुनाए । त्यहाँ इँटाले बनेका छाप्रा छन्, असंख्य भूमिगत सुरुङ छन् र गाउँलेहरु बिहानको ७ बजे बजार जान्छन्, उनीहरु सबै कम्युनिष्ट छापामार हुन् । उनले केटाकेटी हुन् वा महिला वा वृद्ध देख्नेबित्तिकै गोली हान्ने, खानेपानीका लागि प्रयोग गर्दै आएको इनारमा विष हाल्ने, सबै छाप्रोमा आगो लगाउने आदेश दिए ।
‘सी’ कम्पनीमा १ सय ५ जना सैनिक थिए । तीमध्ये ८० जनालाई हेलिकोप्टरबाट १६ मार्चको दिन माइ-लाइबाहिरको हरियो मैदानमा उतारियो । उनीहरु तीन टोलीमा विभक्त भए । दुईवटा टोलीलाई गाउँ घेरा हालेर बस्न र कसैलाई भाग्न नदिन आदेश दिइयो । तेस्रो तथा मुख्य टोलीमा ३० जना थिए । यसको कमान विलियम क्यालीको हातमा थियो । टोली बिहान ६ बजेको आसपास गाउँ प्रवेश गर्यो । गाउँलेले कुनै छनक पाएनन् । अमेरिकी सेनाले पनि बिनाकुनै चेतावनी आक्रमण सुरु गर्यो । छाप्रोमा आगो सल्काइदियो, इँटाबाट बनेको घरलाई बमले उडाइदियो । गाउँलेहरु ज्यान बचाउन बंकरतर्फ भाग्न थाले । क्यालीले घरबाट निस्केका ७०-८० जनालाई घाँसे मैदानमा उभिन लगाई गोली हानेर ढाले । उन्मत्त अमेरिकी सेना घरभित्र पसेर महिलामाथि बलात्कार गर्न र गोली हानी मार्न थाले । एक सैनिकले छाप्रोबाहिर उभिइरहेको सानो बालकको पाखुरामा गोली हान्यो । रगतको धारा बग्यो । उसले के भएको जान्नै नभ्याइकन अर्को गोली टाउकोमा पस्यो । अर्को एक सैनिकले चार वर्षको बालकमाथि गोली चलायो । सँगै अर्को बालक थियो, गोली लागेर ढलेको बालकको शरीरमा नियाल्दै गर्दा उसको शरीरमा पनि ६ वटा गोली लाग्यो । अमेरिकी सेना भाग्दै गरेका केटाकेटी, महिला र बूढाबूढीलाई समात्दै लहरै उभ्याएर गोली हान्दै थिए । ठीक त्यसै समय गाउँलाई घेरा हालेर बसेको सेनाको दुईवटा टोली पस्यो ।
दिनको १२ बज्यो । सैनिकहरु लासैलास छरिएको ठाउँमा बसेर खान लागेकै बेला नजिकैको खाडलमा नजर पर्यो । लासको थुप्रोमा केही व्यक्ति चल्मलाउँदै थिए । सैनिकहरुले दनादन गोली दागेर सबैलाई शान्त पारिदिए । खाइसकेपछि हिँड्ने तरखर गर्दै थिए, तिनको नजर एक बालकमाथि पर्यो । एउटा खुट्टा र हातमा गोली लागेको बालक रुँदै थियो । सैनिकहरुले उसको टाउकोमा गोली हानेर सदाका लागि सुताइदिए । त्यसैबेला लासकै थुप्रेमा अर्को एउटा बच्चा देखापर्यो । शरीरमा कमिजमात्र थियो । बिस्तारै लासको थुप्रेमा पुग्यो र एकजना मृतकको हात समात्यो, सायद मृतक उसकी आमा थिइन् । यो दृश्य हेर्ैा गरेको एक सैनिक घुँडा टेकेर बस्यो अनि लगभग ३० मिटर टाढैबाट गोली हान्यो । एउटै गोलीले बालकको इहलीला समाप्त भयो । यसपछि केही महिला देखापरे । तीमध्ये एउटी १३ वर्षकी थिइन् । सैनिकले उनलाई समाते र लुगा फुकाल्न थाले । सर्वांग नांगो किशोरीलाई देखाएर एकजनाले भन्यो, ‘आऊ आऊ, हेरौँ, यो केटी केले बनेकी रहिछ ?’ अर्कोले भन्यो, ‘तिमी भियतकङ छापामारहरुकी वेश्या हौ ।’ किशोरीकी आमाले छोरीलाई तान्न खोजिन्, सैनिकले तिनलाई लात्ताले हाने र गाला चड्काइदिए । किशोरी आमाको पछाडि बसी नांगो शरीर लुकाउने कोसिस गर्दै थिइन् । यत्तिकैमा गोलीको बष भयो । सबै महिला लासमा परिणत भए ।
सेनालाई ब्यारेक फर्काउन हेलिकोप्टर उड्यो । चालक थिए- वारन्ट अफिसर हृयुग थम्प्सन । गाउँको चक्कर लगाउने क्रममा उनले सबैतिर लासैलास देखे । मारिने सबैजना महिला, केटाकेटी र बूढाबूढी थिए । युवा एकजना पनि थिएनन्, न कसैसँग हतियार थियो । उनले क्या. मेडिना आफैंले एउटी हतियारविहीन असहाय महिलालाई लात्ताले हानेर ढालेको र ढलिसकेकोलाई गोली हानेर मारेको देखे । पछि मेडिनाको भनाइ थियो, ‘गि्रनेड बोकेको आशंकामा मारेको हुँ ।’ थम्प्सनले लास फालेको खाल्डोमा कोही चलिरहेको देखे । सर्जेन्ट डेभिड मिचेललाई घाइतेलाई त्यहाँबाट निकाल्न भने । डेभिडले आश्चर्य मान्दै क्यालीतर्फ हेरे । क्यालीले थम्प्सनलाई आदेश पालना गर्नू भनी त्यहाँबाट धपाए । हेलिकोप्टर उडेपछि थम्प्सनले आफ्नै आँखाले क्याली र अन्य सैनिकले खाल्डोमा अन्धाधुन्द गोली चलाएको देखे । अमेरिकी सेनाले लास गन्दा ५ सय ६७ जना गाउँले मारिएको र तीमध्येका ७०-८० जना महिला बलात्कारपछि मारिएको प्रष्ट भयो ।
भियतनामी सहर सैगोनमाथि फ्रान्सिसी सेनाले सन् १८६८ मा कब्जा गरेका हुन् । उपनिवेशविरुद्ध लडेर फाँसी पाएका योद्धा वेन त्रुंग त्रुकले भनेका थिए, ‘जबसम्म यो भूमिमा घाँस उमि्ररहन्छ, आक्रमणकारीविरुद्ध लड्ने योद्धाहरु पनि जन्मिरहन्छन् ।’ नभन्दै सन् १८९० को मे १९ मा मध्य भियतनामकेा किमलिन गाउँमा जन्मिेका न्गुयन आइ कोक उर्फ हो चि मिन्हले सन् १९३० मा भियतनाम कम्युनिस्ट पार्टी (हिन्द चीन कम्युनिस्ट पार्टी) लाई संगठित गरे । सन् १९२२ मै सम्पन्न कोमिन्टर्नको चौथो सम्मेलनमा भाग लिन मस्को पुग्ने क्रममा भ्लादिमिर इल्यिच लेनिनसँग भेटिसकेका उनी अन्तर्राष्ट्रिय कम्युनिस्ट ‘कोमिन्टर्न’को दक्षिणपूर्वी एसिया ब्युरो सदस्य थिए । सन् १९२५ मा चीन गएर माओत्सेतुङसित काम गरे । उनकै नेतृत्वमा पछि भियतनामीहरुले फ्रान्सिसी सेनासँग लडे । विश्वयुद्धताका फ्रान्स र जापानका सेनासँग लडे । विश्वयुद्धमा जापानको पराजय भइरहेको मौका छोपी सन् १९४५ अगस्तमा हनोइमाथि कब्जा जमाए र उत्तरी भियतनामलाई स्वतन्त्र गरी कम्युनिस्ट सरकार गठन गरे तर दक्षिण भाग बेलायतको सहयोगमा फ्रान्सकै अधीनमा रहृयो । सन् १९४६ को मार्चमा उत्तरी भियतनाम सरकार र फ्रान्सबीच सम्झौता भएको थियो तर सोही वर्षको डिसेम्बर १४ मा सम्झौता तोडेर फ्रान्सिसी सेनाले हनोइलगायत अन्य सहरमा आक्रमण गरेपछि भियतनामीहरु दोस्रो चरणको मुक्ति संघर्ष सुरु गर्न बाध्य भए । यो युद्ध सन् १९५४ को मे ७ सम्म चल्यो । बीदिएन फुमा भएको ५५ दिन लामो युद्धमा फ्रान्सिसी सेना परास्त भएपछि जेनेभामा सम्मेलन भयो । भियतनाम औपचारिक रुपमा विभाजित भयो ।
जेनेभा सम्झौतामा दस्तखत नगरेको अमेरिकाले दक्षिणमा अमेरिकाकै न्युजर्सी बस्दै आएका न्गो दिन्ह डियमलाई प्रधानमन्त्री बनाएर, सरकारलाई सैन्य सहायता दिने नाउँमा सेनालाई दक्षिण भियतनाम पठायो । विस्तारै अमेरिकाले फ्रान्सको स्थान लिन थाल्यो । डेढ वर्षभित्र दक्षिणलाई पूर्णतः उपनिवेश बनायो । जोन एफ केनेडी राष्ट्रपति बनेपछि ४ हजार अमेरिकी सेना भियतनाम पठाइए र १९६५ सम्ममा विभिन्न बहाना बनाएर उत्तरतर्फ आक्रमण सुरु गरे । सन् १९६६ पुग्दानपुग्दै दुई लाख अमेरिकी सेना दक्षिणको तर्फबाट युद्धमा सामेल भए । युद्धमा उत्तरलाई रुस, चीन र कोरिया तथा दक्षिणलाई अमेरिका, दक्षिण कोरिया, लाओस, कम्बोडिया, थाइल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले सघाए । अन्त्यमा सन् १९७५ को अपि्रल ३० मा उत्तरी भियतनामका कम्युनिस्ट दक्षिणमाथि पूर्णतः नियन्त्रण जमाउन सफल भए । अमेरिकाको लाजमर्दो पराजय भयो । दुई भियतनाम एउटा बन्यो । हो चि मिन्हको सन् १९६९ को सेप्टेम्बरमै निधन भइसकेको थियो तर सम्पूर्ण भियतनामीहरुका ‘पि्रय हो काका’को नाउँबाट सैगोन सहर हो चि मिन्ह सहरमा रुपान्तरित भयो । स्मरणीय छ, सादा जीवन, उच्च विचारका धनी उनै होले संगठित गरेको भियतनामी कम्युनिस्ट पार्टी आजपर्यन्त त्यहाँको सत्तामा छ । उत्तरमा सरकार गठन गरेको ६८औं र एकीकृत भियतनाममा सरकार चलाएको ४१ वर्ष कम्युनिस्ट सरकारले भुक्तान गरिसकेको छ । सत्तारुढ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवाद र होचि मिन्ह विचारधारा रहेको छ । दुई वर्षअगाडि सन् २०११ को जनवरीमा ११औं महाधिवेशन सम्पन्न गरिसकेको छ । उक्त महाधिवेशनले ६९ वषर्ीय न्गुयन फु त्रोङलाई महासचिव छानेको थियो । त्यहाँका वर्तमान राष्ट्रपति त्रोङ तान साङ हुन् भने प्रधानमन्त्री- न्गुयन तान डुङ । साङ सन् १९६९ र डुङ सन् १९६७ मा कम्युनिस्ट पार्टीको सदस्य बनेका हुन् ।
भियतनाम युद्ध आधुनिक विश्वमा लामो समय चलेको युद्ध हो । तथापि युद्धको चरमोत्कर्ष समय सन् १९५५ को नोभेम्बरदेखि १९७५ को अपि्रल ३० सम्मलाई मानिन्छ, जुन युद्ध भियतनामीहरुले अमेरिकी सेनासित लडेका हुन् । साढे १९ वर्ष चलेको यो युद्धमा उत्तरतर्फबाट ४ लाख र दक्षिणतर्फबाट १८ लाख ३० हजार सेना सम्मिलित थिए । युद्धमा दक्षिणका ३ लाख सैनिक र करिब ३० लाख नागरिक मारिए भने उत्तरतर्फ ११ लाख । यसैगरी ५८ हजार २ सय २० जना अमेरिकी सेना मारिए भने कम्बोडियाका सैन्य र सर्वसाधारण गरी २ लाख, लाओसका ३० हजार, दक्षिण कोरियाका ५ हजार ९९, चीनका १ हजार ४ सय ४६, थाइल्यान्डका १ हजार ३ सय ५१, अष्ट्रेलियाका ५ सय २१, न्युजिल्यान्डका ३७ र सोभियत संघका १६ जनाको ज्यान गयो । अमेरिकी सेना फर्केपछि पनि लाखां हताहत भए । अमेरिकाका अनुसार युद्धपछि करिब डेढ लाख दक्षिणकालाई पुनर्शिक्षा दिने नाउँमा शिविरमा पठाइएकामध्ये १ लाख ६५ हजारको त्यहीँ निधन भएको छ । युद्धका कारण बीसौं लाख विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal