बिहिबार, भदौ २६, २०८२

टिकट विवादका कारण एमालेले गुमायो राष्ट्रिय सभामा सिट

नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट गुमाएको छ। रूपन्देही- ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट विवादमा एमालेले राष्ट्रिय सभाको एक सिट गुमाएको हो।

एमालेका राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिँदै रूपन्देही-५ बाट उम्मेदवारी दर्ता गराएका थिए। जबकि त्यसअघि नै एमालेबाट रूपन्देही- ५ मा बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए।

घिमिरेले उम्मेदवारी दर्ता गराए पनि एमालेले खिमलाललाई पनि टिकट दिएको थियो।

निर्वाचन कार्यालयमा आइतबार दुबैको उम्मेदवारी दर्ता भएको थियो।

एमालेले निर्वाचन कार्यालयलाई पत्र पठाएर बासुदेव घिमिरेको उम्मेदवारी भुलबस भएको उल्लेख गर्दै खिमलालको टिकटलाई मान्यता दिएको थियो।

तर निर्वाचन कार्यालयले पहिला दर्ता भएको उम्मेदवारीको उम्मेदवारी मान्य हुने निर्णय गर्दै बासुदेव घिमिरेको उम्मेदवारी कायम गरिदिएको छ। योसँगै एमालेका खिमलाल भट्टराईले निर्वाचनको टिकट र राष्ट्रिय सभाको सांसद दुवै गुमाएका छन्।

एमालेको नेतृत्‍वले समयमै विचार नपुर्‍याउँदा राष्ट्रिय सभामा एमाले खुम्चन पुगेको हो। योसँगै राष्ट्रिय सभामा नेकपा एमालेका सांसदको संख्या १६ मा झरेको छ। खिमलाल भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए। प्रमुख सचेतकको हैसियतमा उनले राज्यमन्त्री सरह सुविधा पाउँदै आएका थिए।

५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा एमालेका १६ सांसद भएका छन् भने नेकपा माओवादी केन्द्रका १५ सांसद, नेपाली कांग्रेसका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जना छन्। त्यस्तै, राष्ट्रपतिबाट ३ जना मनोनीत छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?