शनिबार, मंसिर १७, २०७९

छोराहरुको परिवारमा नअटाउने ‘बा-आमा’

छोरीका प्रश्न माथिका प्रश्नले आमा हायलकायल भइन् । पछ्यौरीको फेरोले आँसु पुछ्दै भनिन्, ‘उँधोको माया उँभो आउन धेरै गाह्रो हुन्छ छोरी, भोलि आमा भएपछि थाहा पाउलिस् !’

सामान्य प्रश्न, कुराकानी गर्दै जाँदा प्रसंग निस्कन्छ, एक पक्षले अर्को पक्षलाई सोध्छ, ‘साँच्चै तपाईंको परिवारमा को–को हुनुहुन्छ ?’जवाफ झन् सामान्य तरिकाले आउँछ । यदि अविवाहित छोरा हो भने उसले आफूसहित घरमा बुवाआमा, दाजुभाइ, दिदीबहिनी (विवाह नगरेको भए) समेत भएको बताउँछ ।

यदि छोरा विवाह गरिसकेको छ भने उसको परिभाषा तत्कालै फेरिन्छ एकाध अपवाद बाहेक । उसले सटिक जवाफ दिन्छ, ‘अहिले मेरो परिवारमा श्रीमान् श्रीमती मात्रै छौं ।’
बच्चा जन्मिसकेका छन् भने परिवारको सख्या ३ वा ४ हुनसक्छ, फरक त्यति मात्रै हो ।

यही प्रश्न बावुआमालाई सोध्ने हो भने फरक उत्तर आउँछ । बा–आमाले आफू बुढाबुढी, बिहे गरेर गएका छोरी, ज्वाईं, नातिनातिना, अंशबन्डा गरेर अलग–अलग बसेका छोरा, बुहारी, नातिनातिना समेत जोेडेर ठूलो संख्या पुर्‍याउँछन् ।

अझ रोचक कुरा के छ भने बाउआमाले जन्माए, हुर्काए, पढाए, लेखाए, गरिखाने बनाए । बुढ्यौलीमा उनै बाउआमालाई पालेका छौं भन्ने सन्तान धेरै देखिन्छन् । खै त बा–आमाले दर्जन हाराहारीमा छोराछोरी जन्माएर हुर्काउँदा पनि कहिल्यै छोराछोरी पालेको भन्ने कुरा सुनेका छैनौं तर बुढेसकालमा, नसक्ने बेलामा नैतिकताले पनि सन्तानको कर्तव्य निर्वाह गर्नुपर्ने बेलामा आफ्नै सन्तानले ‘मैले बाउआमा पालेको छु, मसँग बा–आमा बस्छन्’ भन्न अलिकति पनि धक मान्दैनन् ।

हाम्रा छोराछोरी हामीसँग बस्छन् भने हाम्रा बा–आमासँग हामी बस्ने हो, उहाँहरूको छत्रछायाँमा हामी हुर्कने हो, उहाँहरूको छहारीमा हामीले शीतलता पाउने हो । आफूभन्दा अग्रजलाई पालेको छु भन्दा त लाज मान्नुपर्ने होइन र ?

हामीभन्दा उमेर, अनुभव र व्यवहारले दशकौं वसन्त कटाएका बा–आमालाई हामीले पाल्नुपर्छ ? बा–आमाको योगदानको कदर समेत गर्न सक्दैनौं हामी । एउटा प्रसंग । हाम्रो हजुरआमा विगत ९ वर्षदेखि काठमाडौंमै बस्नुहुन्छ । मेरा धेरै जना साथीले मलाई सोध्छन्, ‘ए हजुरआमा तिमीसँग बस्ने हो ? म उनीहरूलाई जवाफ फर्काउँछु, आठ दशक उमेर पार गरेकी हजुरआमासँग हामी बसेका छौं, यो हाम्रो भाग्यको कुरा हो । पनाति, पनातिनी हजुरआमाको काखमा हुर्कने अवसर जोसुकैले पाउँदैनन् ।

मेरो जवाफले साथीहरू दंग पर्छन्, एकैछिन । कोही साथीहरू आफूले सासू–ससुरा पालेको सगर्व सुनाउँछन् । तिनै सासू–ससुराले आर्जेको सम्पत्तिमा अंश खोज्ने अनि बुढेसकालमा उनीहरूलाई पालेका छौं भन्नु कत्तिको उचित होला ? मैले मेरा दुई सन्तानलाई पालेकी छैन, उनीहरूलाई जन्माएँ, हुर्काउँदैछु, सकेको शिक्षा, राम्रो संस्कार दिन्छु ।

यो मेरो आमा भएको नाताले कर्तव्य हो । म मेरा सासू–ससुरालाई सम्मान गर्छु, उहाँहरूको इज्जत गर्छु, दुःख–बिमार पर्दा हेरचाह गर्छु, के कसो छ सोधखोज गर्छु यो मेरो कर्तव्य र दायित्व हो । हजुुरआमा काठमाडौंमा बस्नुहुन्छ उहाँलाई हामीले पालेको होइन, हजुरआमाको छत्रछायाँमा, उहाँको आडभरोसामा हामी बस्न, खुसी हुन पाएका छौं ।

सन्तानको लालनपालन, स्याहारसुसार घर, मेलापातमा आठ दशक उमेर पार गरिसकेका जिउँदा भगवानलाई बुढेसकालमा हेरचाह, स्याहार र ख्याल गर्दा सन्तानले आफ्नो दायित्व पूरा गरेको नसोचेर उल्टै बा–आमा पालेका छौं भन्दै हिंड्छन् भने या त उनीहरूले बा–आमाको महत्व बुझेनन् या त आफू बा–आमा हुनुपर्छ र यही नियति दोहोरिन सक्ला भन्ने कुरा आत्मबोध गर्न सकेनन् ।

एउटा सानो उदाहरणबारे कुरा गरौं । गत सालको कुरा हो, सिभिल अस्पतालमा एकजना बिरामी आफन्त आमालाई भेट्न गएकी थिएँ । दाइ यतै शहरमै बस्नुहुन्थ्यो, गाउँबाट बुवाले आमालाई लिएर आउनुभएको थियो । म अस्पताल जाँदा उहाँहरू आएको तेस्रो दिन भइसकेको थियो । बेडमा आमा सुतिरहनुभएको थियो, दाइ कता जानुभएको थियो कुन्नि ? बुवा र आमा मात्रै हुनुहुन्थ्यो ।

एकैछिन बसियो, कुराकानी गरियो । आमा सुतेको भन्दा पल्लो बेडमा आमाकै उमेरकी अर्की महिला पनि सुतिरहेकी थिइन् । उनकै छेउमा एकजना अधबैंसे पुरुष केही सोचिरहेका जस्तै देखिन्थे । हामी गफ गरेको सुनेर उनी हाम्रै छेउमा आए अनि हाँस्दै बुवालाई सोधे, ‘हेर्दा त हट्टाकट्टा हुनुहुन्छ, साँच्चै बुवा कति वर्षको हुनुभयो हँ ?’
मुसुक्क हाँस्दै ७४ वर्ष भइयो त बाबु, बुवाले जवाफ दिनुभयो ।

फेरि प्रश्नकर्ताले सोधे, ‘अनि परिवारमा को को हुनुहुन्छ नि बुवा ?’फेरि हाँस्दै, हाम्रो सात जनाको परिवार छ बाबु भन्नुभयो । बुवाले व्याख्यात्मक टिप्पणीसहित खुलस्त पार्नुभयो, हामी बुढाबुढी भइहाल्यौं, दुईवटा छोरा, दुईवटी बुहारी, पोहोर मात्रै कान्छी छोरीको बिहे भयो बाबु । नातिनातिना छोराछोरी कसैतर्फ पनि भएका छैनन्, अहिलेलाई यति भनौं न …। अर्को वर्षतिर थपिएलान् … ।’

‘अनि बाबु कहाँबाट आउनुभएको ? को बिरामी लिएर आउनुभएको ?’ बुवाको प्रश्नमा ती पुरुष केही बोलेनन् । ‘मेरा बा–आमा कोही हुनुहुन्न बा, सानैदेखिको टुहुरो हुँ म, मेरो सासूआमा बिरामी भएर लिएर आएको । ससुराको पनि माया पाइनँ । मेरा लागि बा–आमा, सासूससुरा जे भने पनि उहाँ मात्रै हो कोही छैन अग्रज … !’
एकैछिन निकै भावुक बने ती पुरुष ।

अरूका बा–आमा देख्दा पनि भक्कानो फुटेर आउँछ, अनुहार पनि देख्न पाइनँ मैले । बा–आमाको तिथिमा आश्रममा जान्छु, घण्टौंसम्म बुढाबुढी बा–आमा भेटेर रुन्छु, मन बुझाउँदै घर फर्कन्छु बा । अभागीमध्येको एक छोरा हुँ म । माहोल एकैछिन सुनसान भयो । ‘बुवाले यस्तै हो बाबु’ भन्दै सम्झाउनुभयो ।

आमा अस्पतालको बेडमा हुनुहुन्थ्यो, बुवालाई के के औषधि लिन भनेर सिस्टरले अह्राए । ‘बस्दै गर है नानी, म तुरुन्तै औषधि लिएर आउँछु’ भन्दै बुवा फार्मेसीमा जानुभयो ।
अघि बुवालाई प्रश्न सोध्ने व्यक्ति बेड छेउमा उभिइरहेका थिए । एकैछिनपछि बुवा औषधि लिएर आउनुभयो । ‘दाइ खै त बुवा ?’ प्रश्न गरें । ‘अघि यहीं थियो, को साथीले बोलायो भनेर एकैछिन बाहिर गएको छ नानी’ भन्नुभयो ।

यसो आमाको हात मुसारें, आमा निकै थकित मुद्रामा हुनुहुन्थ्यो । प्रेसर लो, सुगर बढेको, ग्यास्टिक भएको बताएका थिए डाक्टरले । एक्कासी घरमा बेहोश भएर ल्याएको रे, स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो । एकैछिनपछि दाइ पनि आए ।

‘म आउँदा बित्तिकै कहाँ भाग्नुभएको दाइ ?’ ठट्यौली पारामै सोधें । ‘एकैछिन बाहिर गएको’, रेडिमेड उत्तर दाइबाट आयो । अर्को बेड छेउमा बसेकी कोही एकजना अपरिचित महिलाले दाइलाई सोधिन् ‘बाबु तिम्रो परिवारमा को को छौ हँ ?’

दाइले फ्याट्टै जवाफ दिइहाले, ‘अहिले ठ्याक्कै भन्नुपर्दा श्रीमान् श्रीमती… मात्रै छौं आन्टी ।’ती महिलाले फेरि प्रश्न गरिन्, ‘अनि यो बेडमा सुतेको बिरामी तिम्रो के नाता पर्छ बाबु ?’

दाइ एकैछिन अक्क न बक्क परे । ‘किन र ? उहाँ त मेरो मम्मी हो नि …, म उहाँको ठूलो छोरा हुँ ।’

ती महिला केही बोलिनन्, एकोहोरो रोइन् मात्रै । सिभिल अस्पतालमा सधैं भीडभाड, कोही कसैको वास्ता गर्ने फुर्सदमा देखिंदैनन् । ती महिला के सोचेर, किन रोइन्, कसलाई के परवाह ? छोरीलाई अस्पताल लिएर आएकी रहिछन् ।

जे जे भए पनि हामी हुनु र अहिलेको जिन्दगी जिउनुमा बाआमाकै देन छ । उहाँहरू विना हाम्रो अस्तित्व सम्भव थिएन भने उहाँहरूलाई परिवारको हिस्सा मान्न किन गाह्रो हुन्छ हामीलाई ? सबैको भाग्यमा बाआमाको माया हुँदैन, माया पाउनेहरूले कम्तीमा बाआमालाई आफ्नो परिवारको हिस्सा मानौं, जिउँदा देवताको सम्मान गरौं ।
‘किन रुनुभएको आमा ?’ छोरीले प्रश्न गरिन् । ‘अब तँ पनि ठूली हुन्छेस्, बिहे गरेर जान्छेस्, अनि मलाई आफ्नो परिवारको हिस्सा मान्न छाडिदिन्छेस् … बाबै…। बाउआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि भन्ने सुनेकी थिएँ । आज आफ्नै आँखाले देखें’ झन् सुँक्कसुँक्क गरेर ती महिला एकोहोरो रोइन् मात्रै । एकैछिनपछि आमालाई अनारको जुस लिएर बुवा आउनुभयो ।

ती महिलाले फेरि दाइलाई सोधिन्, ‘अनि यो सेतै फुलेको लोग्नेमान्छे पनि कोही आफन्त पर्छ हो बाबु तिम्रो ? अघि औषधि लिन गएका थिए, अहिले जुस लिएर आएको देख्छु त ।’

अहिले भने दाइ जंगिए, ‘तपाईं कस्तो पाराको मान्छे हो आन्टी ? अघि मम्मीलाई यो को हो भन्नुहुन्छ ? अहिले ड्याडीलाई यो के नाता पर्छ भन्नुहुन्छ ? तपाईं कस्तो खालको मान्छे हो ? उपचार छोरीको होइन, तपाईंको चाहिं गर्नुपर्ने देख्छु म, आफ्नो आमाको उमेरको भएर मात्रै हो नत्र जान्या थिएँ … !’

ती महिलाकी छोरीले आमालाई गाली गरिन् । ‘तपाईंलाई चिन्नु न जान्नुका मान्छेसित बेतुकका कुरा गर्न कसले सिकायो आमा ? किन अनावश्यक रूपमा टाउको दुखाउनुहुन्छ ? किन नचाहिने कुरामा समय खर्च गर्नुहुन्छ ?’

छोरीका प्रश्न माथिका प्रश्नले आमा हायलकायल भइन् । पछ्यौरीको फेरोले आँसु पुछ्दै भनिन्, ‘उँधोको माया उँभो आउन धेरै गाह्रो हुन्छ छोरी, भोलि आमा भएपछि थाहा पाउलिस् !’

‘अघि तैंले सुनिनस् ? एकजना मान्छेले ती बुढा मान्छेलाई परिवारमा को को छौ भनेर सोध्यो । यी बाले बिहे गरेर गएकी छोरीलाई समेत आफ्नो परिवारको हिस्सा माने तर यिनको पहिलो सन्तान, जेठो छोराले आफ्नो परिवारमा श्रीमान् श्रीमती मात्रै छौं भन्यो, बा–आमालाई परिवारको सदस्य समेत मानेन ।

यस्ताले कुन मायाले आमाको उपचार गराउला ? कति फरक छ बाउआमा र छोराछोरीको सोचाइ र बुझाइमा थाहा पाइस् ? देखिस् ? आफ्नै कानले सुनिस् नि होइन ? बाउआमालाई उसले आफ्नो परिवारको हिस्सेदार ठानेन, रिसाए पनि रिसाओस् भनेरै मैले सोधेकी हुँ…!’

सुन्दा सामान्य भए पनि यो विषय निकै महत्वपूर्ण लाग्यो । पोहोर सालको कुरा हो तीन कक्षामा पढ्ने मेरो छोरालाई सामाजिक विषयको गृहकार्यमा परिवारको सदस्यहरूको नाम र नाता लेख्न भनिएको थियो । उसले आफ्नो घरका थाहा पाएसम्मका र नाता लगाउन मिल्नेजति सबैको नाम र नाता लेखेछ । स्कुलमा होमवर्क देखाएछ, म्यामले तिम्रो ज्वाइन्ट फेमिली हो ? भनेर सोध्नुभयो रे ! उसले पाँचजना काठमाडौंमा बस्छौं, अरू गाउँमा बस्नुहुन्छ भनेछ ।

बेलुका मलाई प्रश्न गर्‍यो, मेरा अरू साथीका परिवारका सदस्य जम्मा चार जना मात्रै छन् तर मेरा १३ जना पुगिसके, बुकमा ठाउँ नै पुगेन, अरू तीन जनाको नाम लेख्न भन्यो ।
उसले हजुरबा, हजुरआमा, काकाकाकी, काकाका छोराहरू, फुपूदिदी, भिनाजु, भान्दाइ, भान्जी दिदी समेत गरी १३ जनाको जम्बो परिवार बनाएको रहेछ । यदि उसलाई परिवार भनेको उसका बुवाआमा र दाइबहिनी मात्रै हुन् भन्ने कुरा सिकाएको भए सायद उसले पनि साथीका जस्तै चार जनाको सानो परिवारको खाका बनाउँथ्यो होला ।

हामीले नै श्रीमान् श्रीमती र छोराछोरी बाहेक अरूलाई परिवार ठान्दैनौं भने ती बच्चाले कसरी परिवारका सदस्य, आफन्तजन र उनीहरूसँगको नाता–सम्बन्धबारे थाहा पाउलान् ? यी शहरिया दाइले जसरी पोहोर भित्र्याएकी भाउजूलाई बाहेक अरूलाई परिवार देखेनन् । भोलि यिनका छोराछोरीले पनि दाइ–भाउजूलाई परिवारका हिस्सेदार मान्छन् भन्ने ग्यारेन्टी छैन ।

धेरै जना दिग्गजहरूकै मुखबाट सुन्ने गरिन्छ, आफू श्रीमान् श्रीमती र छोराछोरी बाहेक अरूलाई परिवार मान्दैनन्, चाहे उनीहरू संयुक्त परिवारमै किन नबसून् । तर उनीहरूकै बा–आमाले नाति, नातिना, पनाति समेत जोडेर यति जनाको परिवार छ भन्छन् । कति फरक छ हाम्रो सोचमा ?

पुस्तान्तरण त्यसै भनिएको होइन रहेछ, सोचान्तर पनि उत्तिकै गहिरो रहेछ । यदि बाउआमाले छोराहरूको भाषा बोलिदिएको भए ? त्यसले कस्तो अर्थ लाग्थ्यो होला ? हामी शहरमा आलिसान महल बनाउँछौं, पाहुनाहरूको लागि समेत कोठा छुट्याउँछौं तर आफ्नै बाआमाको लागि एउटा अलग्गै कोठा बनाउन सक्दैनौं हैसियत हुनेहरूले नै । मनमा ठाउँ छ भने अलग्गै कोठा पनि चाहिंदैन तर हामी त्यो बनाउन सक्दैनांै, सकिरहेका छैनौं ।

एकजना आमा श्रीमान् बितेपछि छोराबुहारीसँग बस्न भनेर शहर आउनुभयो । नाति सात वर्षको थियो रे, शहरमा आएकी हजुरआमालाई घरका प्रत्येक कोठा–कोठा घुमाएछ । यो कोठा बाबा मम्मीको, यो पाहुनाको, यो मेरो, यो पूजा कोठा, यो टिभी कोठा, यो भान्सा कोठा, यो स्टोर कोठा भन्दैमा घरका सबै कोठा सकिएछन् ।

आमाको मनमा चिसो पसेछ, ‘बाबु मेरो लागि कुनै कोठा छैन ? म कहाँ सुत्ने हो त ?’ नातिसँग प्रश्न गर्नुभएछ । कोठा सबै यति हुन् आमा, तपाईंको लागि छुट्टै कोठा बनाएको छैन भनेछ नातिले ।

हुन त त्यो अबोध बच्चा थियो तर उसले सत्य बोलेको थियो । बाआमाले जे सिकाए त्यही बोल्यो । शहर आएको एक–डेढ सातापछि ती आमा शहरमा बस्न सक्दिनँ भनेर गाउँ फर्किनुभयो भन्ने सुनियो । निकै दुःख लाग्यो ।

छोराबुहारीको तीनतले घरमा एक्ली आमा अट्ने ठाउँ भेटिएन । हामीलाई दुःख लागेर के गर्नु ? दुःख लाग्नेहरूलाई लागेन । छोरा–बुहारीले एक वचन पनि गाउँ नजानु भनेनन् रे ! आमा गाउँमै रमाउनुहुन्छ, शहरमा बस्न सक्नुभएन भन्ने जवाफ बुहारीले दिइरहिन् । त्यही घरमा बुहारीकी आमा आएर भने ६ महिना जति बसिछन् ।

यो सबै सोचको, मानसिकताको करामत हो । श्रीमान् गुमाएकी सासूलाई हामी जे खान्छौं, त्यही खाउँला, हामी जस्तोमा सुत्छौं त्यस्तैमा सुतौंला भनेको भए ? अलग्गै कोठै चाहिंदैनथ्यो, यो ठाउँमा आमा सुत्नुस् भनेको भए ती आमा मन मारेर फेरि गाउँ फर्किन्थिन् होला त ? यस्ता धेरै उदाहरण छन् ।

मेरा नजिकका आफन्तलाई एकदिन साँझपख फोन गरें । सबैजना घरमा खाना खाँदै रहेछन् । को को हुनुहुन्छ अहिले भनेर सोधें, बाउआमा बोलेको मन्दमन्द सुनिरहेकै थिएँ । उनीहरूकै अगाडि ती महोदयले जवाफ फर्काए, ‘मेरो परिवारका सदस्य खाँदैछौं, आमाहरूले खाना खाइसक्नुभयो’ भने । बाआमाकै अगाडि मेरो परिवार भनेर छुट्याउँदा कस्तो अनुभूति भयो होला ?

परिवार भन्नाले निज कर्मचारीसँग बस्ने तथा निज आफैंले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबुआमा वा सौतेनी आमा समेतलाई सम्झनुपर्छ । यदि पुरुष र अविवाहित महिला कर्मचारीको हकमा निजका बाजेबज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजका सासूससुरा समेतलाई समेट्छ । सरकारी कर्मचारीले यो कुरा नबुझ्ने भएन । यही कुरा पढेरै जागिर खाएका हुन्छन् ।

अवसर पाउने कुरामा यी सबै हरफ लागू भए पनि सरकारी कर्मचारी नै बाउआमालाई परिवारका हिस्सेदार मान्दैनन् । यस्तो सोचको उपज के हो ? किन यस्तो विचार सन्तानमा आउँछ ? यो निकै सोचनीय कुरा हो । जे जे भए पनि हामी हुनु र अहिलेको जिन्दगी जिउनुमा बाआमाकै देन छ ।

उहाँहरू विना हाम्रो अस्तित्व सम्भव थिएन भने उहाँहरूलाई परिवारको हिस्सा मान्न किन गाह्रो हुन्छ हामीलाई ? सबैको भाग्यमा बाआमाको माया हुँदैन, माया पाउनेहरूले कम्तीमा बाआमालाई आफ्नो परिवारको हिस्सा मानौं, जिउँदा देवताको सम्मान गरौं ।

जिन्दगी कुमालेको चर्खा हो, भोलि हाम्रा सन्तानले हामीलाई यस्तै व्यवहार गरे भने सहुँला कसरी ? मन बुझाउँला कसरी ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?