बिहिबार, भदौ २६, २०८२

प्युठानमा गठबन्धनको पक्षमा माहोल तात्यो बेलवास र नौबहिनीमा उत्साह सहित चुनावी सभा सम्पन्न

प्युठान । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिएका वाम लोकतान्त्रिक गठवन्धन प्युठानका उम्मेदवारहरुले शुक्रवार जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गर्दै मतदातासङ्ग भेटघाट गरेका छन ।

गठवन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेल, प्रदेश १ का उम्मेदवार कृष्ण अधिकारी (प्रकाश) तथा वाम गठबन्धनका नेतासहितको टोलीले शुक्रवार स्वर्गद्वारी नगरपालिका ६, वेलवासमा पुगी स्थानीय मतदाताबिच एक कार्यक्रम गरेको छ । कार्यक्रमलाई उम्मेदवार तथा गठवन्धनका नेताले सम्बोधन गरेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

त्यसैगरी, प्रदेश २ का उम्मेदवार सरोज थापा (रोज राणा) सहितको टोलीले मतदातासङ्ग भेटघाट गर्दै नौबहिनी गाउँपालिका ७ फोप्लीमा वडास्तरिय संयुक्त वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भेला गरेको जनाइएको छ ।

वाम लोकतान्त्रिक गठवन्धन प्युठानका उम्मेदवार सहितको टोली यतिखेर जिल्लाका विभिन्न स्थानमा घरदैलो, सभा लगायतका कार्यक्रम गर्दै मतदाता माझ पुगिरहेको छ । उम्मेदवारहरुले प्रतिगमनका विरुद्धमा, राष्ट्र र संविधानको रक्षार्थ तथा जनयुद्ध र जन आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउनका लागि वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन भन्दै मतदातासङ्ग अपिल गरिरहेका छन ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल, लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रदेश १ बाट माओवादीका कृष्ण अधिकारी ‘प्रकाश’ र प्रदेश २ बाट काँग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?