बिहिबार, भदौ २६, २०८२

सामाजिक सञ्जालमा चर्चित मिनबहादुर बुढालाई समाजमा विकृति फैलाउन उस्काउनेहरुलाइ नियन्त्रणको माग

प्युठान । ‘भेलु बाजे’का नामले सामाजिक सञ्जालमा चर्चित मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रणको माग गरिएको छ ।

प्युठानको झिमरुक गाउँपालिका–३ निवासी अखिल (छैठौं) का महासचिव शुवास जिसीको नेतृत्वमा गएको युवाहरुको टोलीले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मर्यादा कायम गराउन माग गरेको हो ।

मदिरा सेवन गराइ सामाजिक सञ्जालमा अश्लिल शब्द बोल्न लगाएर रेकर्ड गर्ने र सार्वजनिक गर्ने केही युटुबर र सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण उनी चर्चामा रहने गरेका छन् ।

उनका हर्कतलाई नियन्त्रण गर्न माग गर्दै प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा ‘त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथासिघ्र ‘भेलु बाजे’ उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ’ भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ सुनिता नेपालले यससम्बन्धमा आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएको महासचिव जिसीले बताउनुभयो ।

यस्तो छ प्रजिअलाई बुझाइएको ज्ञापन पत्र
भेलु बाजेका हर्कतलाई नियन्त्रण गर्नेबारे
प्रस्तुत विषयमा प्युठान जिल्ला जुम्रिकाँढा घर भएका श्री मिनबहादुर बुढा (सामाजिक सञ्जालमा ‘भेलु बाजे’ भनिने) लाई तपशिलमा उल्लेखित मिडिया तथा व्यक्तिहरुले मदिरा सेवन गराई मात्तिएका अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रसारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथासिघ्र ‘भेलु बाजे’ उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवान्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मूल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुने कुरा निश्चित छ । यस प्रकारको स्थितिमा हाम्रा सामाजिक सस्थाहरु, कानुन स्थापित गर्ने सरकारी संयन्त्र र सिंगो नागरिक समाज समेत गम्भीर हुनु र आवश्यक कदम चाल्नु पर्ने आवश्यकता छ ।

प्युठान जिल्लालाई देशको राजनीतिक, चेतना, जागृति र विचारको केन्द्रविन्दुको रुपमा स्वीकार गरिन्छ । त्यसकारण हामीले अपशब्द, अश्लिल, तुच्छ र घटिया शब्द र विचारलाई निस्तेज पार्नुपर्दछ र ‘भेलु बाजे’ उनका सहयोगी र त्यस प्रकारको प्रवृतिलाई नियन्त्रण गरी कानुनी कारबाही गर्नहुन हार्दिक अनुरोध गर्दछु ।

बोधार्थ
१ जिल्ला समन्वय समिति, प्युठान
२ जिल्ला प्रहरी कार्यालय, प्युठान
३ जिल्ला पत्रकार महासंघ, प्युठान

निवेदक
शुवास जिसी
झिमरुक–३,प्युठान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?