
जुमान सिंह के सी
प्युठान, पुस १०।
अनलाईन मार्फत राहादानी फाराम भर्न सेवा ग्राहीलाई झन्झट भएपछि जिल्ला प्रशासन कार्यालय प्युठानले आफै निःशुल्क फाराम भर्ने भएको छ ।
सेवाग्राहीबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्युठानले राहदानी फारम निःशुल्क रुपमा भर्ने निणर्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सोमबारदेखि निःशुल्क रुपमा फाराम भरिने जानकारी दिनुभयो । उहाँले दैनिक रुपमा कार्यालय समयभित्र फाराम भरिने बताउनुभयो । कार्यालय भित्र रहेको जनशक्तिलाई व्यवस्थापन गरि काम गर्न लागिएको उहाँको भनाई छ ।
बाहिर फाराम भर्दा धेरै त्रुटी हुने गरेको समस्यालाई मध्यनजर गर्दै सेवा सहजताको लागि सेवा थप गरिएको प्रजिअ सुनिता नेपालले बताउनुभयो ।
अनलाईन फाराम भर्नका लागि प्रशासनले तीन सय रुपियाँ शुल्क तोकिदिएको थियो । प्रशासनले निःशुल्क रुपमा फाराम भरेपनि व्यक्ति आफैले फाराम भर्न सक्ने प्रशासनले जनाएको छ ।