शुक्रबार, बैशाख ७, २०८१

समयको चिहान

विमल पोखरेल

ओ, शासनमा बस्ने मान्छेहरू !
पद र सम्पत्तिका भोकाहरू
तिमीले निरन्तर, मन लागुन्जेल
पदहरू ओगटेर राख्न सक्छौ
त्यसरी नै तिमीले थुपारेको
सम्पत्ति पनि ओगटेर राख्न सक्छौ
तिमीले कहिल्यै पनि
समय ओगटेर राख्न सक्दैनौ

जुन दिन समयको बाढी आउँछ
तिमीले ओगटेका पद र सम्पत्तिहरू
तिम्रै आँखा अगाडि आएको बाढीले
केही नछोडी, सबै सबै बगाएर लैजान्छ
सबै थोक जानेको छु भन्छौ नि
कहिल्यै पनि समयको गति बुझ्न सकेनौ
त्यसैले समयको बाढीले बगाउँदैछ

तिमी ढाँट, छल गर, सबैथोक गर
दमन गर, आफ्ना साथी र सहयात्रीहरूलाई
तिमीलाई सोच्ने फुर्सद छ भने
पद र शक्ति ओगटेर बसेको ठाउँ याद गर
तिमी समयको बाढी आइरहेको
मूलबाटो छेकेर, ओगटेर बसेका छौ
तयार होउ, कुडाकर्कटसँग बग्नको लागि
तिम्रो चिहान तयार भएको छ !
(पुस २५ गते, २०७९), काठमाडौं

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?