
शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले नेपालमा संघीयता खारेजीको विकल्प नरहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित “देशको तात्कालिक परिस्थितिमा गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको विरुद्ध सङ्घर्षको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका कार्यकारी अध्यक्ष नेपालीले अहिले देशको राष्ट्रियता, सार्वभौमसत्ता, गणतन्त्र र धर्म निरेपक्षता धरापमा रहेको बताउनुभयो ।
‘देशको राष्ट्रियता, सार्वभौमसत्ता, गणतन्त्र र धर्म निरपेक्षता धरापमा छ’ उहाँले भयो– ‘२०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त यी उपलब्धिलाई जोगाउन सम्पूर्ण अग्रगामी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता देखिएको छ ।’
सम्बोधनको क्रममा उहाँले सङ्घीयता नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको बताउनुभयो । सङ्घीयता आफैमा खराब शासन प्रणाली नभए पनि नेपालको सन्दर्भमा सङ्घीयता सही व्यवस्था नभएको उहाँको भनाइ थियो ।
‘हाम्रो देशको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक स्थितिको हिसाबले पनि मुलुकले सङ्घीयता थेग्न सक्दैन’ अध्यक्ष नेपालीले अगाडि भन्नुभयो– ‘त्यसैले सङ्घीयतालाई छिटोभन्दा छिटो नेपाली जनताको आन्दालनको बलमा खारेज गर्नुपर्दछ र त्यसको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित शासन व्यवस्था कायम गर्नुपर्दछ ।’
सङ्घीयताको नेपालमा प्रवेश नै जनताको आवश्यकताले नभएको उहाँको भनाइ थियो । उहाँले सङ्घीयता देशमा राजनीतिक अस्थिरता उत्पन्न गर्न विदेशी शक्तिकेन्द्रले बोकाएको बताउनुभयो ।
‘सङ्घीयता नेपालमा अस्थिरता पैदा गर्न साम्राज्यवादले जबर्जस्ती बोकाइदिएको भारी हो’ उहाँले बेलैमा नेपाली जनता सचेत नभए नेपाल राष्ट्र विश्व मानचित्रबाटै समाप्त हुन सक्ने उहाँले बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले सङ्घीयता स्वीकार गरेका राजनीतिक दलहरूसित पनि यस विषयमा देश सुहाउँदो धारणा बनाउन सुझाव दिनुभयो ।
‘विदेशीको इसारामा सङ्घीयता बोकाइएको हो भन्ने थाह हुँदाहुँदै तपाईंहरू चुप लागेर नबस्नुहोस्’ उहाँले भन्नुभयो– ‘नेपालको वस्तुगत परिस्थिति सुहाउँदो सङ्घीयता छैन भन्ने तपाईंहरू सबैलाई थाहै छ ।’
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाकी लुम्बिनी प्रदेश सांसद तारा थापाले राष्ट्रियता र जनजीविकाको पक्षमा बोल्ने पार्टी भनेकै राष्ट्रिय जनमोर्चा भएकाले विचार फरक भए पनि ढिलोचाडो सबै दलहरू सङ्घीयता खारेजीको पक्षमा उभिनैपर्ने विश्वास व्यक्त गर्नुभयो ।
वामपन्थी बुद्धिजीवी लिलबहादुर केसीले राष्ट्रहितको दस्तावेज राष्ट्रिय जनमोर्चा पार्टीले मात्रै लेख्ने गरेको बताउँदै अन्य पार्टीहरूसित पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
अवधारणा पत्रमा टिप्पणी गर्दै नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि रामबहादुर कार्कीले राष्ट्रिय जनमोर्चाले उठाएको राष्ट्रियताको विषयमा आफ्नो सहमति भए पनि एमसिसी र सङ्घीयताको पक्षमा आफू सहमत नभएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सञ्जीव भण्डारीले अवधारणा पत्रमाथि टिप्पणी गर्दै विचारको हिसाबले राष्ट्रिय जनमोर्चा ठिक भए पनि साङ्गठनिक रूपमा कमजोर रहेको बताउनुभयो । उहाँले सही विचारको पक्षमा सा·ठनिक शक्ति प्राप्त गर्न राजमोलाई सुझाव दिनुभयो ।
नेकपा (एमाले) का लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले अवधारणा पत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय जनमोर्चाले प्रतिगमनको हौवा फैलाएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमन नभएको दाबीसमेत गर्नुभयो ।
नेकपा (माओवादी क्रान्तिकारी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले सङ्घीयताको विषयमा अवधारणा पत्र अस्पष्ट रहे पनि राष्ट्रियताको सवालमा एकताबद्ध भएर आन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेकपाका प्रतिनिधि वसन्त श्रेष्ठले अवधारणा पत्र अपुरो रहेको भन्दै यसमा धेरै विषय थप्नुपर्ने तर्क पेस गर्नुभयो ।
जनता समाजवादी पार्टीका प्रतिनिधि मनिकर कार्कीले राष्ट्रिय जनमोर्चाले उठाउने विषय सही भए पनि सङ्घीयता देशका लागि आवश्यक रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले उठाएका प्रश्नहरूको जवाफ प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले दिनुभएको थियो ।
प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको सञ्चालन राजमो लुम्बिनी प्रदेश सचिव सोमकुमार कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो नेता शेरबहादुर बिसीले गर्नुभएको थियो ।