नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदै छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको जिल्ला अदालत, काठमाडौंमा अदालती बयान सकिएपछि आजदेखि थुनछेक बहस हुने भएको हो ।
सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्ने तयारी गरेका छन् भने प्रतिवादीका तर्फबाट करिब ५० जनाभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन् ।
प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पक्षबाट दुई जना पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्नेछन् । खाँणका पक्षमा पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने तयारी छ । यसैगरी उनको पक्षबाट नेपाल बार एसोसिएसनकाका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्कासहित दर्जन बढी अधिवक्ताले बहस गर्ने बताइएकाे छ ।
पक्राउ परेका अधिकांशले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिनसम्म लम्बिने देखिएको छ । बहसपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले दिनेछ ।
जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई अभियुक्त बनाई जिल्ला अदालतमा संगठित अपराध, राष्ट्रहितविरुद्धको अपराध, सरकारी कागजात किर्ते र ठगी कसुरको अभियोग लगाई मुद्दा दायर गरेको थियो । यो प्रकरणमा १२ जना अझै फरार छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालगायत १२ जना फरार छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यो गिरोहले २७ करोडभन्दा धेरै रकम पीडितहरूबाट संकलन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।