आइतवार, भदौ २२, २०८२

देश गम्भीर संकटतर्फ :मसाल महामन्त्री ,मोहनबिक्रम सिंह

घोराही । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राजनीति गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको बताउनुभयो । ‘सय वर्षको मुख्य उपलब्धि गणतन्त्र हो । धर्म निरपेक्षता पनि हो । तर राजतन्त्रको पुनः स्थापनाका लागि प्रयत्न भइरहेको छ, त्यो प्रयत्न पहिले भन्दा तीब्र बनेर गएको छ’– उहाँले भन्नुभयो– ‘राजावादी शक्तिहरु पहिले भन्दा बढी एकीकृत हुँदै गएका छन् । गम्भीर खतरा त्यो छ । सय वर्षपछि प्राप्त उपलब्धिको रक्षा कसरी गर्ने भन्ने मुख्य र ठूलो चुनौती हाम्रो अगाडि आएको छ ।’

महामन्त्री सिंहले गणतन्त्र, धर्मनिरपेक्षता मास्ने गरी प्रतिगमनकारी शक्तिहरू सदन र सडकमा शक्ति केन्द्रित गर्दै राजतन्त्र ब्यूँताउने प्रयासमा लागिरहेकाले प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि ठूलो आँच आउन थालेको भन्दै मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताउनुभयो । ‘भारतीय पक्षको हस्तक्षेप बढिरहेको छ । सुस्ता, कालापानीको भूमि कब्जा गरेर भारत बसेको छ । त्यसको लागि हामीले लामो समयदेखि संघर्ष गर्दै आउनुपरेको छ’– उहाँले भन्नुभयो– ‘त्यसका साथै अमेरिकाले पनि नेपालमा अतिक्रमण शुरु गरेको छ । विश्वकै लागि खतरा रहेको अमेरिकी साम्राज्यवाद नेपालका लागि पनि खतरा थियो, अहिले झन हस्तक्षेप बढाउँदैछ ।’ उहाँले अमेरिकाका हस्तक्षेपका तरीकाहरु बदलिदै आएको बताउनुभयो ।

‘अमेरिकाले राजनीतिक दलमा घुसपैठ गरेर, सरकारमा दबाब दिएर वा भारतको माध्यमबाट नेपालमा दवाब दिदै आएको थियो’– उहाँले भन्नुभयो– ‘अहिले अमेरिकालाई दलमा विश्वास लागेन, भारतमा पनि विश्वास रहेन र सिधै प्रत्यक्षरुपमा आइरहेको छ । आफ्नै पार्टी बनाएर अमेरिकाको हस्तक्षेप शुरु गरेको छ । संसदमा बहुमत पु¥याएर सरकारमा कब्जा जमाउने रणनीति अमेरिकाले बनाएको छ ।’ अर्को प्रसंगमा महामन्त्री सिंहले भुटानी शरणार्थी समस्याले देशमा भ्रष्टाचारले अत्यन्त गहिरो र ब्याप्त रुप लिएको कुरा उजागर भएको बताउनुभयो ।

‘नक्कली भुटानी शरणार्थीको विषय गम्भीर समस्या भएको छ । यो भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘भ्रष्टाचारको विषयलाई आधार बनाएर राजावादीहरु गणतन्त्र नै जोखिममा पार्ने गरी तल्लीन भएका छन् । समस्या भ्रष्टाचारको मात्रै होइन भ्रष्टाचारकै आडमा देशमा अस्थीरता निम्त्याउने, विदेशी शक्तिको चलखेल बढ्ने जस्ता काम भएका छन् ।’

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा महामन्त्री सिंहले भारतले नेपालप्रति उपेक्षाको नीति लिएको बताउनुभयो । ‘भर्खरै प्रधानमन्त्री भारत भ्रमण सकेर आउनुभएको छ । यो भ्रमणले नेपालप्रतिको भारतको अत्यन्त उपेक्षाको नीति प्रकट भएको छ’– उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीको स्वागतदेखि भारतको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा जसमा लुम्बिनी र कपिलबस्तु समेत राखिएको छ ।’ उहाँले विभिन्न सन्धि सम्झौता भारतकै हितमा मात्रै भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?