पाँचथरमा फर्जी कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
आफ्नो झड्केलो छोरालाई नागरिकता बनाउन फाल्गुनन्द गाँउपालिका-१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारतको असामका उनका झड्केला छोरा २२ वर्षीय समित आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध अदालतमाबाट म्याद थप गरी अनुसन्धानको काम अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए ।
नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्याएर उनीहरू नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । जिल्ला प्रशासन स्रोतका अनुसार उनीहरूले नागरिकता बनाउन पटक-पटक प्रयास गरेका थिए । गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग नै भएको थियो । गंगासँग दोस्रो विवाह गरेकी उनको श्रीमतीको केही वर्षअघि अंगीकृत नागरिकता बनेको थियो ।
भारतीय नागरिक झड्केलो छोरोलाई नागरिकता बनाउन अनेकन प्रयास गरेपछि पक्राउ परेका हुन् । उनीहरूले पेस गरेको शैक्षिक प्रमाणपत्र माजिटार आधारभूत विद्यालय हिलिहाङको रहेको छ । कक्षा–७ को शैक्षिक प्रमाणपत्र पेस भएको प्रहरीले जनाएको छ । उक्त प्रमाणपत्रमा हस्ताक्षर निधन भइसकेका प्रधानाध्यापकको भएको खुल्न आएको प्रहरी बताएको छ।