शुक्रबार, भदौ २७, २०८२

कोशी प्रदेसमा बाढीले मच्चायो वितण्डा : पाँचको मृत्यु, २८ बेपत्ता

    हेवाखोलाले पुल बगाएको ठाउँमा दुई हप्तामै बेलिब्रिज राखिने
facebook sharing button
  •  १३ जलविद्युत् आयोजना क्षतिग्रस्त
  •  १६ वटा पुलमा क्षति, पाँचथरमा मात्र १४ पुल बगे

कोसी प्रदेशका पहाडी जिल्लामा बाढीले वितण्डा मच्चाएको छ । मनसुनको सुरुवातमै शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्‍याएको हो । प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना छन् ।

बाढीमा २८ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेको प्रवक्ता कँडेलले बताए । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् । पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । ‘पहाडमा भौगोलिक रूपमा पनि खोजी गर्न समस्या हुन्छ । यद्यपि, प्रहरीले खोजी गरिरहेको छ,’ कँडेलले भने ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोसीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार संखुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बाढीपहिरोले बगाएको छ । बाढीपहिरोका कारण पाँचथरका ३१ घरपरिवार विस्थापित भएर आफन्तको शरणमा पुगेका छन् । इलाममा एउटा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले व्यापक क्षति पुर्‍याएको छ । बाढीले चैनपुर र पाँचखपन नगरपालिकामा १० घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । मोटरेबल पुल भाँचिएपछि दुई पालिकबीच आवातजावतमा समस्या हुनुका साथै वैकल्पिक घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ ।बाढीमा परी सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर गरी १९ जना सम्पर्कविहीन भएकामा एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार पाँचखपन– ९ का सन्तोष राईको मृत्यु भएको हो । बाढीमा परेर घाइते भएका कम्पनीका तीनजना मजदुरले बताएअनुसार १८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको र खोजीकार्य जारी रहेको डिएसपी गोदारले बताए । जलविद्युत् आयोजनाको निर्माणको काममा खटिएकाहरू खोलाछेउमै टहरा हालेर बसेका थिए । तर, राति एक्कासि बाढी आउँदा क्षति भएको हो ।

बाढीमा परी पाँचपखन घर भएका कम्पनीका मेसिन अपरेटर दीपक मगर, इटहरी घर भएका साइट इन्चार्ज सन्तोष ढकाल, चैनपुर घर भएका ट्र्याक्टरचालक भुवनसिंह तामाङ, पाँचपखन घर भएका इलेक्ट्रिसियन सुवाहाङ राई, झापा घर भएका सुपरभाइजर फौदबहादुर कार्की, घनकुटा घर भएका मेसिन अपरेटर गणेश गिरी, इलाम घर भएका मेसिन हेल्पर राजकुमार राई, झापा घर भएकी कुक मीना श्रेष्ठ र चैनपुर घर भएका हेल्पर ज्ञानबहादुर लिम्बूको अवस्था अज्ञात छ । कामदारहरू कैलालीका रामजनम थारू, अमर थारू र सीता थारू तथा बर्दियाका राहुल थारू, रोहित थारू, पुलसत थारू, कालीराम थारू, सुगत थारू र राजाराम थारूको अवस्था अज्ञात रहेको उनले बताए ।

सभापोखरी पहिरोमा परी एक दम्पती बेपत्ता भएका छन् । सभापोखरी– ३ सुनौम्ला गाउँमा पहिरोमा गरी स्थानीय ६० वर्षीय गणेश राई र उनकी श्रीमती सञ्चमाया राई बेपत्ता भएका हुन् । गोठ पहिरोले बगाउँदा गोठमै रहेका उनीहरू बेपत्ता भएको प्रहरीको भनाइ छ । संखुवासभाको चैनपुर र पाँचखपनको बीचको हेवाखोला, चैनपुरको पिलुवा र मायाखोलामा आएको बाढीले तटीय क्षेत्र र बस्ती निकै जोखिममा परेको र अझै वर्षाको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन र स्थानीय सरकारले अनुरोध गरेका छन् । पाँचखपन नगरपालिकामा विस्थापित परिवारलाई स्थानीय सरकारले राहत वितरण र बसोवासको व्यवस्थापन गरेको छ ।

  पाँचथरमा एकको मृत्यु, पाँच बेपत्ता
बाढीले पाँचथरमा एकजनाको मृत्यु भएको छ । पाँचजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका– ४ घर भएकी आठ वर्षीया जुना साउदेन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार साउदेनको उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो ।

बेपत्ता हुनेमा हिलिहाङ– ७ का तिलकुमार तामाङ, फिदिम– ११ का संजोक लिम्बू, फिदिम– ५ का राजकुमार राई, फिदिम– ४ का आशिष माझी, फिदिम– ४ का एलिसा माझी रहेका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म नौ परिवार विस्थापित भएका छन् । उद्धारसँगै अवरुद्ध राजमार्ग खुलाउने काम भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

शनिबार राति ठूलो पानी परेपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेका ३० वर्षीय गणेश तामाङ आमाबुबासहित परिवारलाई सुरक्षित स्थानमा पहिरोमा सार्न लागे । उनले बुबा, आमा, श्रीमती र छोराछोरीलाई खोलापारि पुर्‍याएका थिए । बुबाको गमबुट छुट्यो, हिलो छ, लिएर आउँछु भनेर फर्केर खोलामा मात्र पुगेका थिए माथिबाट आएको बाढी र पहिरोले उनलाई लग्यो । हर्कबहादुर तामाङ छोरालाई हेर्दै थिए, पहिरोमा बिलाए । तामाङको शव आइतबार बिहान फेला परेको छ ।

सोही पहिरोमा परेका एकै घरका तीनजना अझै बेपत्ता छन् । पहिरोमा यादवकुमार बुढाथोकीकी श्रीमती ६३ वर्षीया भगीमाया, उनकी बुहारी ३३ वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल बेपत्ता छन् । यादव भने शनिबार सिरिजंघा गाउँपालिका– ५ पेदाङमा रहेकी दिदीको घरमा गएकाले बाँचेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । गत २४ घन्टामा ताप्लेजुङमा ४७.५ मिलिलिटर पानी परेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले बताएको छ । तर, जिल्ला सदरमुकामभन्दा मैवाखोला, सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा पानी धेरै परेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर तामाङले बताए ।

पहिरोले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलगायतका ६ घर बगाएको छ । उनीहरू छिमेकीको शरणमा बसेको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् । मेरिङदन–६ मेहेलेका २१ घर पहिरोको जोखिममा परेपछि उनीहरूलाई अन्यत्र सारिएको छ ।

मैवाखोला गाउँपालिका– ४ ओदकका देवीथाने शेर्पाको घर बगाएको छ भने १० घर उच्च जोखिममा छन् । बाटो अवरुद्ध हुँदा ताप्लेजुङको जिल्ला सदरमुकाम फुङलिङसँग आठराई–त्रिवेणीकोे सम्पर्क टुटेको छ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुसम्म पुग्ने बाटोसमेत मैवाखोलाले भत्काउँदा सबै सम्पर्क टुटेको छ । पूर्वी गाउँपालिका सिदिङवा, सिरिजंघा पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध छ ।

मैवाखोला– २ र ५ नम्बर वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए । मैवाखोला गाउँपालिकामा मात्र चारवटा झोलुंगे पुल बगाएको छ । विभिन्न ठाउँमा लघु जलविद्युत् बगाउँदा गाउँ अन्धकार भएको छ । मैवाखोला– ३ थेरथेरेमा केन्द्रीय विद्युत् प्रसारण लाइनको पोल ढलेका कारण गाउँपालिका अन्धकार भएको छ ।

सिदिङ्वा– ६ मेहेले स्वास्थ्य चौकी भवन बगाएको छ । सिरिजंघा– ८ याम्फुनिमा स्वास्थ्य चौकीछेउमा काबेली खोलो पुगेपछि अन्यत्र सुरक्षित ठाउँमा सारिएको छ । सोही वडाको वडा कार्यालय, प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयसमेत सारिएको छ । सिरिजंघा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको शवगृह पहिरोले लगेको सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले बताए ।

१३ जलविद्युत् आयोजना क्षतिग्रस्त
बाढीले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका एक सय ५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले संखुवासभामा हेवाखोला, पिलुवाखोला र सवाखोला नदी बेसिनमा बनेका, अपर हेवाखोला ८.५ मेगावाट, हेवाखोला ४ मेगावाट, सुपर हेवाखोला ५ मेगावाट, अपर पिलुवाखोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवाखोला ५ मेगावाट र सवाखोला ४ मेगावाटलगायतका आयोजनामा क्षति पुर्‍याएको छ । सुपर हेवाखोलामा कार्यरत १८ मजदुर र कर्मचारी बेपत्ता भएका छन् । चारजना मृत फेला परेका छन् ।

ताप्लेजुङ र पाँचथर जिल्लामा इंगुवा, इवा, काबेली र हेवाखोला नदी बेसिनमा बनेका आयोजना इंगुवाखोला १० मेगावाट, इवाखोला १० मेगावाट, काबेली बी–१ २५ मेगावाट, काबेली बी–१ क्यासकेड १० मेगावाट, हेवाखोला ए १५ मेगावाट, हेवाखोला ५ मेगावाट, लोअर हेवाखोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्‍याएको इप्पानले उल्लेख गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले विज्ञप्ति जारी गर्दै बाढीका कारण आयोजनामा भएको क्षतिलाई सम्बोधन गर्न यथाशीघ्र राहत र उद्धार तथा बेपत्ताहरूको खोजीकार्य अघि बढाउनुपर्ने बताएका छन् ।

सडक र पुलमा मात्र ५० करोडको क्षति : भौतिकमन्त्री ज्वाला
पूर्वी नेपालमा बाढीपहिरोबाट सडक र पुलमा मात्र ५० करोडको क्षति भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले ताप्लेजुङ, पाँचथर, संखुवासभासहितका जिल्लामा बाढीपहिरोले जनधनको ठूलो क्षति भएको, मानवीय क्षति पुर्‍याएको, कतिपय सडक, पुल र बेलिब्रिज क्षतिग्रस्त बनाएको र मेची राजमार्ग, तमोर करिडोरलगायतका सडक अवरुद्ध भएको जानकारी दिए ।

सांसदहरूले बाढीपहिरोको क्षतिबारे सरकारसँग धारणा मागेपछि मन्त्री ज्वालाले बेपत्ता नागरिकको उद्धारका निम्ति र संकटमा परेका बाढीपहिरोपीडितको राहतको निम्ति तीव्र रूपमा काम अगाडि बढाइएको बताए । सेना, प्रहरी, सशस्त्र प्रहरी र सरकारी निकायका राष्ट्रसेवक कर्मचारी खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागिपरेको उनको भनाइ छ ।

मन्त्री ज्वालाले हेवाखोला पुल भत्किएको ठाउँमा आइतबारै बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको बताए । उनले १० दिनभित्र बेलिब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएको बताए । विभिन्न ठाउँमा अवरुद्ध सडक खुलाउन मन्त्रालयले निर्देशन दिएको र काम थालिसकेको उनले स्पष्ट पारे । बेलिब्रिज नबनेसम्म जमिनको सतहबाट नै डाइर्भसन बनाएर सडक खुलाइनेछ । नयाँपत्रीका बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?