
विशेष अदालतले कर फर्छ्यौट आयोगको बहुचर्चित भ्रष्टाचार मुद्दामा हालसम्मकै सजाय तोकेको छ । भ्रष्टाचार मुद्दामा कायम बिगो, जरिवाना र सजाय हालसम्मकै बढी हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय तोकेको हो ।
विशेषले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा प्रत्येकको भागमा २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ परेको छ ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही थप ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।