बुुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका -५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका -५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले न्यूज खरीलाई जानकारी दिए ।
उनका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर बच्चाको आमा यमकुमारी विक घाइते भएकी छन् ।
‘अहिले ठूलोमात्रमा पानी परिरहेकाले त्यहाँ जान कठिनाई भइरहेको छ,’ केसीले भने, ‘इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा प्रहरी जाँदैछ ।’ चट्याङले घर नजिकै बाँधेको एक भैसी पनि मरेको छ ।