शुक्रबार, फाल्गुन १८, २०८०

भियतनामी कम्युनिष्ट : जस्ले अमेरिकी अत्याधुनिक तोपसँग बारुलाको गोला प्रयोग गरेर युद्ध जिते

(इतिहास)

विश्वका अधिकांश देशहरुमा कम्युनिष्टहरुले साम्राज्यवादी, विस्तारवादी, वुर्जुवा पूँजीपति वर्ग तथा सामाजिक अन्यायका विरुद्ध क्रान्तिका विगुल फुके। तिनै क्रान्ति र सङ्घर्षभित्र सान्दार विजयका गाथाहरु कोरिएका छन्, स्वतन्त्रताप्रेमी सर्वहारा जनताको मन मस्तिस्कमा अजय अमर छन्। जनताको अधिनायकत्व स्थापना र साम्राज्यवादी हर्कतलाई धुलो पार्न सफल थियो भियतनाम कम्युनिष्ट पार्टी, भियत कोङ्ग। विजयका श्रृङ्खलामध्यको एक ऐतिहासिक विजय थियो भियतनामी युद्ध।

कम्युनिष्टहरुको शासन हत्याउन अमेरिकाले भियतनाममा युद्ध अपराधको श्रृङ्खला नै चलायो, क्रुर हमलाहरु गरिए। द्वितीय विश्वयुद्धमा संसारभर खसालिएका बमहरु बढी बम भियतनाममा मात्रै खसालिए, सारा बस्तीहरु खरानी पारिए, जङ्गलहरुमा आगो लगाइयो, लाखौं भियतनामी निर्दोष जनताको ज्यान गयो। तापनि एक कदम पछाडि नहटी अमेरिकी साम्राज्यवादविरुद्ध भियतनामीहरुले साहसपूर्वक लडे।

दक्षिण–पूर्वी एसियामा रहेको भियतनामको उत्तरमा चीन छ, लाओस र कम्वोडिया घनिष्ट कम्युनिष्ट छिमेकी देश हुन्। सन् १८६० देखि १९४१ सम्म फ्रान्सको अधिनमा रहेका यी देशलाई ‘फ्रेन्च इण्डो चाइना’ पनि भनिन्थ्यो। करिव ८० वर्षको साम्राज्य सन् १९४१ मा जापानसँगको हारसँगै फ्रान्सको शासन सकियो। तर यी देशहरु दक्षिण–पूर्वी एसियामा एकछत्र साम्राज्य फैलाइरहेको जापानको शासन खेप्न बाध्य भए। द्वितीय विश्वयुद्धमा पराजित हुनुपूर्व दक्षिण–पूर्वी एसियामा जापानले एकछत्र राज नै गर्‍याे। जापानकेन्द्रित द्वितीय विश्वयुद्धका अन्तिम हमलाहरु अगाडि जापान पराजित भयो। बिभिन्न देशमा रहेका उसका सेनाहरु Allied Group का सेनासँग आत्मसमर्पण गर्न थाले।

भियतनामको दक्षिणी भागमा रहेका जापानी सेनाहरुले व्रिटिस सेनाहरुसँग आत्मसमर्पण गरे, उत्तरी भागमा रहेकाहरुले चीनको जनमुक्ति सेनासँग आत्मसमर्पण गरे। यहीँबाट भियतनाम अघोषित रुपमा उत्तरी र दक्षिणी भागमा विभाजित भयो। यो भन्न सकिन्छ कि साम्राज्यवादीहरुको ‘फुटाउ र राज गर’को नीतिअनुरुप नै भियतनाम पनि षड्यन्त्रको जालोमा फस्यो।

जापानको साम्राज्य हटेसँगै भियतनाम स्वतन्त्रजस्तो देखियो। तर, फ्रान्सले फेरि आफ्नो पुरानै साम्राज्य स्थापना गर्ने मनसाय दोहोर्‍यायाे। यी देशहरुमा फ्रान्स फेरि शासन गर्न पाउनुपर्ने अड्डीमा उभियो। चीन विपक्षमा रह्यो, व्रिटिस पक्षमा । सन् १९४६ देखि फ्रान्सले फेरि आफ्नो शासन थोपर्ने दुस्प्रयास गर्‍याे। भियतनामी जनता स्वतन्त्र हुन खोजिरहेको बेला यो निर्णय स्वीकार्य थिएन।

यसै पनि सन् १९४१ देखि स्वतन्त्र भियतनामको माग राख्दै कमरेड होचि मिन्हको भियत मिन्ह (भियतनाम कम्युनिष्ट पार्टी) साम्राज्यवादविरुद्ध सशस्त्र युद्धमा थियो। जापान फर्केसँगै फ्रान्सको शासन स्वतन्त्रतापे्रमी भियतनामीलाई असह्य थियो। फ्रान्सको यही रबैयाविरुद्घ सन् १९४६ देखि भियतनाम कम्युनिष्ट पार्टीको नेतृत्वमा ‘इन्डो चाइना’ युद्ध सुरु भयो। फ्रान्सविरुद्धको कडा सशस्त्र सङ्घर्षमा भियत मिन्ह सन् १९५४ मा विजय प्राप्त गर्न सफल भयो। सन् १९५४ को जेनेभा शान्ति सम्झौतामार्फत् फ्रान्सले यी देशहरुबाट पछाडि हट्ने घोषणा गर्‍याे। तर, बिडम्वना ! भियतनाम उत्तर र दक्षिण गरी २ भागमा टुक्रियो।

उत्तरी भियतनामको नेतृत्व कम्युनिष्ट नेता होचि मिन्हले गरे, जसले लामो समयसम्म सोभियत सङ्घ र चीनमा काम गरिसकेका थिए। मिन्हलाई सोभियत संघ र चीनको पूर्ण समर्थनसंगै उत्तरी भियतनाम कम्युनिष्ट राष्ट्रमा परिणत भयो। अर्कोतिर, दक्षिणी भियतनाममा निगो डिन्ह डिम्हले नेतृत्व गरे, उनी अमेरिका र वेलायतका भियतनामी एजेन्टजस्तै थिए। उनलाई उत्तर भियतनाम लगायत दक्षिण भियतनामको कम्युनिष्ट पार्टी भियत कोङ्गका विरुद्ध गतिविधि गर्न सत्ताको कठपुतली बनाइएको थियो। यो विभाजनसँगै शितयुद्धको प्रत्यक्ष प्रभाव भियतनाम विभाजनको पक्ष वा विपक्षमा देखिने गरी नै पर्‍याे।

जेनेभा शान्ति सम्झौता नाम दिइएको १९५४ को शान्ति सम्झौतामा भियतनाम छोटो समयका लागि छुट्याइएको, निर्वाचनपछि नयाँ शासक चुन्ने र युद्ध पुर्ण रुपमा रोक्ने भन्ने थियो। तर, भइदियो उल्टो। दक्षिण भियतनामका अल्पसंख्यक क्याथोलिक वर्गका शासक डिन्हा निकै नै भ्रष्ट, क्रुर, फासिष्ट एवं राजनीतिक उदण्डकारी थिए। उनी चुनाव सुन्नै चाहन्नथे। बरु, बहुसंख्यक वुद्धिष्टमाथि हत्या, हिंसा एवं क्रुर अमानवीय गतिविधि गर्न थाले। दक्षिण भियतनाममा यस राजनीतिक हिसांविरुद्ध आवाज बुलन्द भयो। अन्ततः कम्युनिष्ट पार्टी सशस्त्र सङ्घर्षमा होमियो, जसको मूख्य एजेण्डा संयुक्त भियतनाम र फाँसिष्टहरुको अन्त्य थियो।

यति बेलासम्म भियतनाममाथि अमेरिकाको कुनै महत्वपूर्ण भूमिका वा प्रत्यक्ष प्रभाव थिएन। उत्तरी भियतनाम कम्युनिस्ट देश स्थापनासँगै दक्षिणमा कम्युनिस्ट पार्टीको बलियो पकड र त्यसले पार्न सक्ने प्रभावबारे अमेरिकन विज्ञहरु जानकार नै थिए। उनिहरुको बुझाई थियो कि कुनै एक देशमा कम्युनिष्ट सरकार स्थापना भयो भने त्यसको प्रभाव वरिपरिका सबै देशहरुमा पर्दछ । जसलाई DOMINO Theory पनि भनिन्छ। यसैकारण भियतनाम अमेरिकनहरुको विषेश चासोको विषय बन्यो, ताकि दक्षिण पूर्वका देशहरुमा सल्किरहेको कम्युनिस्ट क्रेजलाई ब्रेक लगाउन सकियोस्।

शितयुद्ध जारी नै थियो। अमेरिका जसरी पनि कम्युनिस्ट प्रभाव निमिट्यान्न पार्न चाहन्थ्यो। यसै सिलसिलामा उसले आफ्ना सैन्य विज्ञलाई दक्षिणी भियतनाम पठायो। प्रत्यक्ष नलडे पनि लडाईबारे सम्पूर्ण सर–सहयोग दक्षिणी भियतनामले पाइरहेको थियो। सन् १९५० देखिको यो सिलसिला सन् १९६२ रास्ट्रपति जोनको शासनसम्मै रह्यो। तर, अमेरिका त्यतिञ्जेल उपलब्धिबिहीन थियो। सन् १९६४ तिर यो रणनीति असफल भएको बुझेर अमेरिकाले भियतनाममाथि प्रत्यक्ष सेना परिचालनको षड्यन्त्र रच्न थाल्यो। यसै बीच उसले उत्तरी भियतनामको समुन्द्री तटमा आफ्नो पानीजहाजमाथि आफैंले बिस्फोट गराई दोष उत्तर भियतनामलाई लगायो।

यही निहुँमा अमेरिकाले भियतनाममाथि आफ्नो सेना पठायो र प्रत्यक्ष दमन गर्‍याे। अमेरिकाले सन् १९६७ लिण्डन जोन्सनको शासनसम्म ५ लाख सेना, सुपेरियर एयरपावर, अत्याधुनिक हतियारसहित युद्ध सामग्री पठाउने काम जारी राख्यो। युद्धको यस अवधिमा अमेरिकी सेनाले निकै युद्ध अपराध गरे। कति भियतनामी मारिए, अझै त्यसको कुनै रेकर्ड छैन। प्रत्येक ३० मिटरमा बम पड्काइए। गाउँ, बस्तीहरु ध्वस्त पारिए। जङ्गलमा आगो लगाउन ‘नेपाम’ नामक रासायनिक बम हानियो। रुखका पातहरु झार्न ‘अरेन्ज एजेण्ट’ नामक बमहरु प्रयोग गरियो, ताकि जङ्गल वा रुखमुनिका सबै गतिविधिहरु पनि आकाशबाट निगरानी गर्न सकियोस्। जुन रासायनिक बमले भियतनाममा लामो समय सम्म वातावरणीय एवं मानवीय असर गरिरह्यो।

अमेरिकाले जतिसुकै युद्ध उदण्डता मच्चाए पनि भियतनाम कम्युनिस्ट पार्टी दृढतापूर्वक लडिरह्यो। अमेरिकी सेना पूरापूर अनभिज्ञ रहेको भियतनाम भूगोलको भियत कोङ्गका क्याडरहरुले फाइदा उठाए। कोङ्ग क्याडरहरुलाई हवाई आक्रमणको मात्र चिन्ता थियो। पछि पूरै सुरुङ युद्ध सुरु भयो। भियतनामभरि सुरुङ खनिए। अमेरिकी तोप र एटम बमविरुद्ध कोङ्ग क्याडरहरु अरिङ्गाल र बारुलाका गोला लिएर लडे। भियत कोङ्गका लागि यो युद्धकला निकै नै सफल रह्यो। अमेरिका अब स्थल र हवाई लडाईमा शिथिल बन्दै गयो। बढ्दै गएको हौसलाबाट भियत कोङ्गले सन् १९६८ जनवरीतिर Tat Offensive युद्धनीति बनायो। यही युद्धनीति भियतनाम युद्धको ‘टर्निङ प्वाइन्ट’ बन्यो। यो नीतिअन्तर्गत दक्षिणी भियतनामका सम्पूर्ण सैनिक इलाकामाथि एकसाथ हमला भयो। अमेरिकी दुतावास, आवासालय र सरकारी कार्यालयमा कडा हमला गरिए।

सत्ताकब्जा गर्ने उद्देश्य प्राविधिक कारणले बिफल भयो। तर, एकसाथ गरिएका यी हमलाहरुले विश्वको ध्यान भियतनामतिर खिचिदियो। अमेरिकी आधुनिक हतियारसँग लड्न नसकिएला कि भन्ने भियत कोङ्गको मनोबल उच्च बिन्दुमा पुग्यो। युद्ध जित्नै लागेको घोषणा गरेको अमेरिका स्तब्ध भयो। सबै अमेरिकीहरु नमज्जाले झस्के। सारा तिकडमका बाबजुद पनि अमेरिकाको हारको श्रृङ्खला बढ्दै गएपछि अमेरिकामा नै त्यसको विरोध हुन थाल्यो। बहसको मुद्दा थियो, ‘कुनै सम्बन्ध नै नभएको मुलुकमा अमेरिका किन लड्ने ? किन मर्ने र मार्ने ?’

ठीक यही समयमा अमेरिकी सैनिक हारको पीडामा उदण्ड भए, उनीहरु युद्ध अपराधतिर उद्दत्त भए। My Lai Massacre मा निकै क्रुर एवं अमानवीय तरिकाले महिला, बालवालिका र वृद्धवृद्धा मारिए। बलात्कारको श्रृङ्खला नै चलाए। बस्तीहरु खरानीमा परिणत भए। अमेरिकी सेनाको अराजकता विश्वभर फैलियो। अमेरिकामा ‘सफ्ट’ भावना जाग्न थाल्यो। अनिवार्य सेनामा भर्ना भएर लड्नैपर्ने नियमविरुद्ध अमेरिकी युवाहरु बहस गर्न थाले। विनाकारण लड्ने नीतिविरुद्ध आवाज बुलन्द भए। अमेरिकामा पहिलोपटक ह्वाइट हाउसले विश्वभर गरिरहेको नरसंहारका विरुद्ध प्रदर्शन हुन थाल्यो।

यस घटनासँगै सन् १९६८ मा भियतनामबाट अमेरिका फिर्ताको एजेण्डा रिचर्ड निक्सन राष्ट्रपति चुनिए। यतिबेला अमेरिकी सेना भियतनाममा हारको धुलो चाटिरहेको थियो। गाउँमा बम हान्ने, आगो लगाउनेबाहेक ठोस युद्ध जित्न सकिरहेको थिएन। अमेरिकी आक्रमणहरु निस्प्रभावी बनिरहे। यही हारका कारण अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउन थाल्यो।

अन्ततः अमेरिकाले भियतनामी युद्धमा सबैभन्दा धेरै आफ्ना सेना गुमायो। ५८ हजारभन्दा बढी सैनिक गुमाएको अमेरिकाको आर्थिक क्षति निकै नै धेरै रह्यो। करीव १५–३० लाख भियतनामीहरुले ज्यान गुमाए। हारसँगै रणनीतिक सम्बन्धका लागि अमेरिकाले सन् १९७२ मा पहिलोपटक शितयुद्धकै बेला चीनसँग हात मिलायो। आधुनिक हतियारले मात्र युद्ध जितिन्छ भन्ने अमेरिकी दम्भलाई भियतनामी जनताले गलत सावित गरिदिए। सन् १९७३ को पेरिस शान्ति सम्झौतासँगै अमेरिका पूर्ण रुपले भियतनामबाट बाहिरियो।

औपचारिक बाह्य हस्तक्षेप रोकिने बित्तिकै उत्तरी भियतनामले दक्षिणी भियतनाममाथि कब्जा जमाउने सुनौलो अवसर छोडेन। उत्तरी भियतनामको दक्षिणी भियतनाममाथि जीतसँगै संयुक्त भियतनाममा कम्युनिस्ट झण्डा फहरायो। सन् १९७५ मा टुक्रिएका २ भियतनाम एकीकृत भए, त्यहाँ कम्युनिष्ट शासन चल्न थाल्यो।

घटनाक्रममा भियतनाम युद्ध

सन् १९५५ नोभेम्वर १ देखि १९७५ अप्रिल ३० सम्म चलेको यो युद्धमा विश्व दुई ध्रुवमा विभाजित थियो। उत्तरी भियतनामलाई सोभियत युनियन, चीन, र अन्य कम्युनिस्ट घटकहरुले साथ दिएका थिए भने दक्षिण भियतनामलाई अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अष्ट्रेलिया थाइल्याण्ड र अन्य कम्युनिस्ट विरोधी देशहरुको साथ थियो।

पहिलो विश्व युद्धको समयमा हानोइ जापानी शासकहरुले नियन्त्रणमा लिएका थिए। १९४० मा जापानी शासनमा रहेको हानोइ १९४५ मा स्वतन्त्र भयो। होचि मिन्हले भियतनाम स्वतन्त्र घोषणा गरेपछि हानोइ पनि स्वतन्त्र भयो। तर, पनि त्यसको एक वर्षपछि फ्रान्सले हानोइमा कब्जा जमायो। फ्रान्ससँगको ९ वर्ष लामो युद्ध लडेपछि उत्तर भियतनाम स्वतन्त्र भयो। र, हानोइ राजधानी कायम भयो।

युद्धमा ३० लाख मानिसहरु मारिएका थिए। जसमध्ये ५८ हजार अमेरिकी थिए। त्यस्तै आधाजसो नागरिक निहत्था भियतनामी जनता थिए। यस युद्धका कारण अमेरिकामा पनि राजनीतिक मतभेद सुरु भयो। सन् १९७३ मा राष्ट्रपति रिचर्ड निक्सनले आफ्ना सैनिक फिर्ता बोलाए। र, सन् १९७५ मा उत्तर भियतनामको कम्युनिस्ट फोर्सले दक्षिण भियतनामलाई नियन्त्रणमा लियो। र, एक भियतनाम बनायो, सोसियलिस्ट रिपव्लिक अफ भियतनाम।

सन् १९५४ मा जेनेभामा एउटा सन्धीमा हस्ताक्षर भयो, जसले उत्तर भियतनाममा हो र दक्षिण भियतनाममा वाओको शासन स्थापना गर्‍याे। सन्धीमा दुवै देशको एकताका लागि १९५६ मा निर्वाचन गर्ने समेत उल्लेख थियो।

सन् १९५५ मा दक्षिण भियतनाममा कम्युनिस्ट कट्टर विरोधी न्गो दिन्ह डियमले वाओ शासनको अन्त्य गर्दै नयाँ राष्ट्रपति बने। त्यसपछि दक्षिण भियतनाम कम्युनिस्ट विरोधी खेमामा उभियो। यहाँका कम्युनिस्ट समर्थकमाथि दमन थालियो। एक लाख मानिसहरु पक्राउ परे, यातना दिइयो। यो काममा दक्षिण भियतनामलाई अमेरिकाको साथ थियो।

सन् १९५७ देखि भियत कोङ र डिमका विरोधीहरुले सरकारी कार्यालय र अधिकारीहरुमाथि आक्रमण गर्न थाले। सन् १९६० मा भियतनामका कम्युनिस्ट र गैर कम्युनिस्ट जो शासनको विरोधमा थिए, उनीहरुले राष्ट्रिय स्वतन्त्रता फ्रन्ट गठन गरे। सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अध्ययनका लागि टोली पठाए। जसले भियतनाममा अमेरिकी सैनिक स्थापना गर्न सुझाव दियो। सन् १९६२ मा आइपुग्दा दक्षिण भियतनाममा अमेरिकी सैनिकको संख्या ९००० पुगेको थियो।

सन् १९६५ को जुन सम्म ८२ हजार अमेरिकी सैनिक भियतनाम पुगेका थिए। जुलाईको अन्त्यमा थप एक लाख र अर्को वर्ष थप एक लाख सैनिक त्यहाँ खटाइयो। अमेरिका बाहेक दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्डबाट पनि सैनिकहरु उत्तर भियतनाम विरुद्ध लड्न त्यहाँ पुगे। सन् १९६७ मा आइपुग्दा भियतनाममा अमेरिकी सैनिकको संख्या ५ लाख पुुगिसकेको थियो। जसमध्ये १५ हजार ५८ जना मारिइसकेका थिए भने एक लाख ९ हजार ५२७ घाइते भएका थिए।

अमेरिकी सैनिकहरुमा गैरन्यायिक हत्याका लागि आरोप लाग्न थाल्यो। अमेरिकामा समेत यसको विरोध हुन थाल्यो। १९६७ मा ३५ हजारभन्दा बढीले पेन्टागन अगाडि भियतनाम युद्धको विरोधमा प्रदर्शन गरे। १९६७ को अन्त्यतिर हानोइको कम्युनिस्ट फौजले दक्षिण भियतनाममा लगातार आक्रमण गर्न थाले। १९८६ को जनवरी ३१ मा उत्तर भियतनामको ७० हजारको सैन्य टुकडीले दक्षिण भियतनामका १०० वटाभन्दा बढी शहरमा एकै पटक आक्रमण गरे।

रिचर्ड निक्सनले युद्ध अन्त्यको आह्वान गर्दै राष्ट्रपतिमा विजयी भए। सन् १९७३ जनवरीमा अमेरिका र उत्तर भियतनामबीच शान्ति सम्झौता भयो। अमेरिकी सैनिक फिर्ता भए। तर, भियतनाम युद्ध १९७५ अप्रिल ३० सम्म चल्यो। उत्तरी फौजले दक्षिण भियतनाम नियन्त्रणमा लिएसँगै युद्धको अन्त्य भयो। सन् १९७६ मा भियतनाम एक भए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?