
सोह्रखुट्टेको अर्को गोदाममा पनि छापा, ‘सुन निकालिएका’ ब्रेकसु बरामद
सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा मेसिन भेटेको हो ।
‘हो, सुन गाल्ने मेसिन बरामद भएको छ । अनुसन्धान जारी रहेकाले अहिले योभन्दा धेरै केही भन्न सकिन्न,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नयाँ पत्रिकासँग भने ।
मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । उनीहरूले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पुर्याउने गरेको अनुमान गर्न सकिने विभाग स्रोतको भनाइ छ ।
गत ३ साउनमा विभागले विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा चिनियाँ नागरिक लिन पनि गिरोहका नाइकेमध्येका एक रहेको खुलेको स्रोतको भनाइ छ । उनले महाराजगन्जमा कार्यालय रहेको ल्यान्ड एन्ड ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामको कम्पनी पनि चलाएका थिए । गिरोहका अन्य नाइकेको खोजीमा अनुसन्धान केन्द्रित रहेको विभाग स्रोतले जनाएको छ ।
चिनियाँ नागरिक लिनलाई बालुवाटारमा गोदाम मिलाइदिने नरेश तामाङलाई पनि राजस्वको टोलीले बुधबार पक्राउ गरेको छ । उनीबाट पनि यो गिरोहबारे थप सूचना प्राप्त हुने सम्भावना रहेको विभागका अधिकारी बताउँछन् ।
सय किलो सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । गिरोहले भन्सारका कर्मचारीसम्म सेटिङ मिलाएर तस्करी गरेको प्रारम्भिक निष्कर्ष छ । जाँचपासमा संलग्न तीनजना भन्सार कर्मचारी पनि विभागको थुनामा छन् ।
सोह्रखुट्टेको गोदाममा पनि छापा
बुधबार नै राजस्व विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेमा रहेको गिरोहको अर्को गोदाममा पनि छापा हानेको छ । यो पनि सुन भित्र्याउने कम्पनी रेडी ट्रेडकै रहेको दाबी गरिएको छ । गोदामबाट ब्रेकसुलगायत वस्तु प्याकिङ गरिएका कार्टुन बरामद गरेको छ । यस्ता करिब ६६ पोका कार्टुन बक्स र केही सुटकेस पनि बरामद गरिएको स्रोतले जनाएको छ ।
‘झट्ट हेर्दा ब्रेकसुबाट सुन निकालिएजस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने । केही दिनअघि पनि विभागले बालुवाटारस्थित गोदाममा छापा हानेर यस्तै ब्रेकसुका कार्टुनसमेत जफत गरेको थियो । यस्ता गोदाम अरू पनि हुन सक्ने अनुमान विभागको छ । छापा हान्ने र थप मान्छे पक्राउ गर्ने प्रक्रिया चलिरहेको विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन् ।
विभागले पछिल्लो समय विवादास्पद व्यापारी राकेश अडुकियालगायतमाथि अनुसन्धान केन्द्रित गरेको स्रोत बताउँछ । हङकङबाट ल्याइएको तस्करीको सुन भारत लैजानमा उनको भूमिका रहेको आशंका छ । सुन काण्डपछि उनका गतिविधि पनि अस्वाभाविक रहेको अधिकारीहरू बताउँछन् ।
अडुकिया नेपालमा सेयर, गाडी, चाँदीलगायतका व्यवसायमा संलग्न छन् । उनी नेपालमा टेस्ला गाडीका आधिकारिक विक्रेता हुन् । उनीसहित विगतमा पनि सुन तस्करीमा मुछिएका व्यापारीको सो सुनमा लगानी रहेको सूचना विभागले पाएको छ ।
यो हो एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका दिलीप भुजेलको दोलखास्थित घर
दिलीपका बुबा रामबहादुर काठमाडौंमै ज्यामी काम गर्छन्, गाउँमा रहेकी आमा कल्पना र पत्नी प्रमिला भन्छन्– भेट्न काठमाडौं जान बाटोखर्च पनि छैन
दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल । त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो । यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौं गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्यामी काम गर्छन् । राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् । ‘मजदुरी गर्न हिँडेको छोरो सुनकाण्डमा जेल पर्यो, भेट्न जान बाटोखर्च पनि छैन,’ आमा कल्पनाले रुँदै भनिन् । पक्राउ पर्नुअघिसम्म पनि छोरो साँखुस्थित एक चाउमिन बनाउने सानो उद्योगमा काम गर्ने गरेको उनले बताइन् ।
सुनकाण्डमा संसद्मा आरोप–प्रत्यारोप
प्रमुख प्रतिपक्षी एमालेले सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
सुन तस्करी प्रकरणको घटना विवरण र छानबिनमा भएको प्रगतिबारे जानकारी गराउन आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेको अवरोधका कारण जवाफ दिन पाएनन् । विपक्षी र सत्तापक्षका केही सांसदले गृह र अर्थमन्त्रीको राजीनामा मागेका छन् । एमालेको अवरोधपछि सभामुखले पाँच दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
पदम गिरी प्रमुख सचेतक, एमाले
पछिल्लो दुई–तीन महिनामा २० क्विन्टलभन्दा बढी सुन गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ, यो सामान्य विषय होइन । पछिल्लोपटक भेटिएको एक क्विन्टल सुन सेटिङ भत्किँदा पक्राउ परेको हो । यसभन्दा अगाडि ३३ पटक आएको छ । यो सामान्य विषय नभएकाले उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ । मन्त्रीदेखि तलसम्म काम गर्नेहरूमाथि छानबिन गरिनुपर्छ ।
समाजवादीले भन्यो– भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनतामा आशा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध सरकारले देखाएको सक्रियताले जनतामा आशा जगाएको निष्कर्ष निकालेको छ । केन्द्रीय सचिवालय बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै समाजवादीले भ्रष्टाचारविरुद्धको अनुसन्धान र कारबाही कुनै पनि बहानामा रोकिन नहुने बताएको छ ।नयाँ पत्रीका अन्लाईन बाट