शनिबार, साउन १२, २०८१

म तस्कार हुँ

मिन बहादुर राना

लाजकाे पनि सरम लागेर
आज खुसुक्क भन्दैछु
म तस्कर हुँ ।

मन्त्रालय त मेराे गेट पाले बस्ने घर बराबर
मन्त्रीजी मेरा चाकर बराबर
हाकिमलाई मकान मैले दिएकाे
प्रहरी सरुवा गरि एअरपाेर्टमा मैले लिएकाे
अध्यागमनमा मेरा आफ्नै आँखा छन्
यस्तै साेच्थेँ पहिले
अहिले लाग्दैछ
यहाँ काे सज्जन छ ?
सब चाेर र डाँका छन्
लाजकाे पनि सरम लागेर भन्दैछु
म तस्कर हुँ

कसले के हिसाब पाए बिस्तार नगराैँ हाेला
काे काे मेरा मान्छे हुन नभनाैँ हाेला
अनि डेढ सय किलाे सुनलाई सिधै साठी केजीमा झर्दिने??
मेरै कलाे खाएर मैलाई गाेलमाेल हान्दिने ??
बैमानीमाथि पनि फेरि बैमानी गर्दिने ?
इमान जवानकाे काम त थिएन तर
लाजकाे पसाराे देख्न नसकेर भन्दैछु
म तस्कर हुँ

हाेइन सुन त यति किलाे थियाे
भनेर पत्रकार सम्मेलन गरुँ कि ?
वा कतै मुद्दा हालूँ कि ?
सरकार समालेका नेताज्यु भेटुँ कि ?
प्रहरी वा हाकिम साहेवकाे हेडक्वाटर पसुँ कि?
बहुत छटपटीमा छु म

यी सबलाई मेरा एक साथी
एकै झाेक्कामा भन्थ्याे
डाँका फटाहा चाेर सिल्ली गधा
यति विध्न पनि हाेइन हाेला हाै भनी साेच्थेँ
यी त याेभन्दा पनि अझ ज्याद्राे रहेछन्
मसित अहिले
न मेराे माल मेराे हातमा छ
न मेरा भनिनेहरू मेराे साथमा छन्
न कुनै शब्द छ यिनीहरूलाई गाली गर्न
न सक्छु सडकमा
हेर है यिनीहरूले ढाँट्दैछन्
सुन ६० किलाे हाेइन
१५० किलाे नै थियाे भन्दै दगुर्न ।
कसाे झाेँक चल्दा त लाग्छ
लगाउँ कि क्या हाे बिस्तार
कुन बेला कति आएकाे हाे बेसार
धुपाैरेहरूले एक पटक तताउँदैमा
आधै जर्ती खाइदिने ?
भाग पाउँदा पाउँदै पनि
हाम्राे साम नै उठाइदिने ?
झाेक पनि दस रेक्टरकाेभन्दा बढि चल्छ र
आज खुसुक्क भन्दैछु
म तस्कर हुँ

म डुबेँ थाहा छ
मलाई डुबाए थाहा छ
हेर्दा हेर्दै आफ्नाे सम्पत्ति खाेलाे बगेकाे
बाघकाे मालमा स्यालले कमाल गरेकाे
सहन गाराे हुने रहेछ
याे छटपटी सहन नसकेर
खुसुक्क भन्दैछु
म तस्कर हुँ

२० अगष्ट ०२३
सिग्माेर क्याम्पस यु के

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal