सोमवार, भदौ ९, २०८२

अनुभूति: गणितका शुत्रहरुमा राग हुंदैन

लिल बहादुर केसी

नेपाल- अंग्रेज युद्धमा जम्मा दुई स्थान वुटवल जीतगढी र स्यूराज कपिलवस्तुबाट फिरंगी अंग्रेज साम्राज्यवादीहरुलाई परास्त गर्न सफल कर्णेल उजिर सिंहको नामबाट सन्चालित उजिर सिंह मा वि को पनि निकट भविष्यमा स्वर्णोत्सव मनाइंदै छ। मेरा सहृदयी कुनै मित्रको सिफारीसमा उक्त विद्यालयबाट प्रकाशित हुने स्वर्ण महोत्सव स्मारिका प्रकाशन समितिका संयोजक भाईले मलाई फ़ोन गरी सोध्नु भो, “दाई, स्मारिकामा लेख लेख्ने मन छ र ? फेरी सोध्नु भो के विषयमा लेख्नु हुन्छ र ? अर्को कुरा गर्नु भो लेख्ने भए दुई दिन भित्र लेख पठाइदिनुस तोकिएको फोन्टमा र फर्मेटमा।” यती भने पछी मेरो लेख लेख्ने उत्साह त मर्यो तै पनि मैले प्रयत्न गर्छु भाई भन्ने जवाफ दिएं तर लेख पठाइन।

 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०३० सालमा स्थापित हालको वुटवल वहुमुखि क्याम्पसले पनि आजका दिनमा स्वर्णोत्सव मूल समारोह मनाउंदै छ।२०३५ सालमा मैले उच्च शिक्षा अध्ययन गर्ने रहरले काठमांडू गएको वेला आफूले पढ्न चाहेका विभिन्न अध्ययन संस्थानमा आवेदन दिंदा दिंदै परिस्थितिवस शिक्षा शास्त्र अध्ययन संस्थानमा पढ्ने परिवेश बन्यो। शिक्षा शास्त्र विषय पढ्नु पर्ने भए पछी काठमाण्डूको बसाई आवश्यक ठानिन । शिक्षा शास्त्र अध्ययन संस्थानको डीन कार्यालय सानो ठिमी भक्तपुर थियो। मैले सि एड पढ्न वुटवल क्याम्पसमा भर्ना हुने अनुमति पाऊं भनी डीनलाई संवोधन गरी निवेदन दिएं। तत्कालीन डीन श्री विरेन्द्र कुमार मल्लिकले आफ्नो चेम्वरमा बोलाई निवेदनमा तोक लगाउंदै ३/४ दिन भित्रमा वुटवल गई भर्ना हुने सुझाव दिए। डीन कार्यालयबाट उक्त पत्र वुझी तुरुन्तै वुटवल क्याम्पसमा आई भर्ना भै अध्ययन सुरु गरें।

वुटवल क्याम्पसको एक विद्यार्थी र करिव २६ वर्ष पढाएको एक शिक्षक भएकोले वुटवल क्याम्पसले मेरो जीवनमा धेरै दिएको छ र सिकाएको छ। यस अर्थमा म सर्व प्रथम स्वर्ण महोत्सव मनाउन गइरहेको यस क्याम्पसको उज्ज्वल भविष्यको कामना गर्न चाहान्छु । महोत्सव कार्यक्रम मनाउने विभिन्न आयामहरु मध्येको सधै जीवन्त रहिरहने स्मारिका प्रकाशन संयोजन समितिले मलाई औपचारिक रुपमा दस्तावेजमा राख्ने लेख पठाउने जानाकारी दिएन। अनौपचारिक रुपमा मलाई दिएको १०/८ घण्टे समय सिमा भित्र लेख तयार गर्ने व्यवसायिक लेखक पो कहाँ हुं र ? म त काठमांडूमा पुगीकन पनि उप प्राध्यापकको अन्तर्वार्ता छुटाउने वेसुरको मान्छे पनि हुं।

 

२०३५ साल कै कुरा हो वुटवल क्याम्पसको प्रशासनिक भवनको उत्तर पट्टिको चौरमा सालको बोट मुनी प्राध्यापकहरुको परिचयात्मक कार्यक्रम भयो। सबै प्राध्यापक हरुले परिचय दिंदै हुनुहुन्थ्यो त्यसै बेला भर्खर त्रि वि बाट नियुक्ति लिएर आउनु भएका मेरा गुरु मुखिलाल चौधरीले आफ्नो परिचय दिंदै भन्नु भो, म रुख़ों विषय पढाउने मुखिलाल “। वास्तवमा गणितलाई “Barren subject” को रुपमा धेरैले हेर्छन्। त्यसैले त वर्टेन्ड रसेलले भने होलान्, “गणित यस्तो विषय हो जस्को वारेमा हामी के कुरा गर्छौं कुरा गर्नेलाई पनि थाहा हुंदैन र हामीले गरेको कुरा सत्य छ छैन त्यो पनि थाहा हुंदैन।” यस्तो विषय पढाउने मानिस पनि उर्वर हुंदैन, रुख़ों र कडा हुन्छ । उसको कथित वौद्धिकतामा सौन्दर्यशास्त्रको पित्को भेटिंदैन। उसमा सबै खाले राग र रस हुंदैन। त्यसैले उसमा साहित्य अनुराग हुने कुरा भएन। उसको वौद्धिकतामा कुनै रस पाइयो भने फगत शुत्र कण्ठस्थ गर्ने टर्रो रस हुन्छ जसमा गति, यति र लय हुंदैन। त्यसैले उसमा श्रृजनाको कुनै गुन्जायस हुंदैन। गणित पढाउने मान्छेको दिमाग ले जीवन जगतमा देखे सुने र भोगेका भोगाईलाई अक्षरमा परिणत गर्न जान्दैन आदि सोंचाईले होला उजिर सिंह मा वि को स्वर्ण महोत्सवको स्मारिका प्रकाशन समितिका संयोजक र वुटवल क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित हुने स्मारिका प्रकाशन समितिले गणितवालेको लेखलाई महत्व नदिएको । तर गणित र विज्ञानमा श्रृजना छ, गणित पढाउने शिक्षकहरुले पनि थोर बहुत इतिहास,साहित्य, दर्शन, भूगोल, समाजशास्त्र र संस्कृतिमा चासो राख्छन्। आफूले भोगे देखेका कुराहरुलाई संस्मरणको रुपमा व्यक्त गर्न सक्छन्। यो अवसरबाट वन्चित भएकोले आजकै दिनमा वुटवल क्याम्पसमा विद्यार्थी हुंदा र प्राध्यापक भै काम गर्दाका मेरा अनुभूतिहरुलाई पत्रिका मार्फत भए पनि राख्न चाहान्छु ।

जनशक्तिको अभाव
मैले यो क्याम्पसमा पढ्दा करिव चालीस जना प्राध्यापक भए पनि क्याम्पस प्रमुख सुन्दरश्याम भक्त माथेमा, उहांको परिवार शुसिला, सूर्यलाल कर्माचार्य सर र यस क्याम्पसमा नियुक्ति लिएर पछी आउनु भएका जगन्नाथ पण्डित तथा विद्यानाथ कोइराला मात्र स्नातकोत्तर हुनु भएको मेरो संझना छ।
क्याम्पसका भवनहरु
वुटवल क्याम्पसमा अहिलेको प्रशासनिक भवन एक तले थियो। हालको परीक्षा शाखा भएको भवनको पश्चिमी भाग प्राध्यापक कक्ष र पूर्वी भागमा पुस्तकालय थियो। हालको मानविकी भवनमा Wood and Bambo भवन हो। यस भवनमा दिन भरी काठ चिर्ने, फर्निचर बनाउने, निगालाका चोया काढ्ने, हाते पंखा बनाउने, सिलाई, बुनाई र कटाई सिकाउने जस्ता व्यवसायिक शिक्षा पढाउने कक्षा सन्चालन हुन्थे। कुनै कोठामा गंगा राई (हाल कनौजे मगर) ले Home Science विषय पढाउंदा मिठा- मिठा पकवान तयार गर्नु हुन्थ्यो। सहयोगीहरुमा भान्सेको दरवन्दीमा भर्ना गरिएका हालका कार्यालय सहायकहरु हुन्थे।

 

क्याम्पस प्रमुखलाई बाइक र गाडी
क्याम्पस प्रमुख श्री सुन्दर श्याम भक्त माथेमा चढ्ने यमाहा मोटर साइकिल थियो। पछी विश्वविद्यालयले क्या पिर लाई एउटा गाडी पठाइदियो। सुन्छु त्यो गाडी अझै पनि सानोठिमीको चौरमा पल्टेको छ।
क्याम्पस प्रमुखको व्यक्तित्व र पहिचान
क्याम्पस प्रमुख सुन्दरश्याम माथेमाको व्यक्तित्वले नै क्याम्पसको छुट्टै पहिचान बनाएको थियो। हालको प्रशासनिक भवनको भुईं तलाको पूर्वी भागको कोठा (हालको लेखा शाखा) क्याम्पस प्रमुखको चेम्वर थियो। उक्त कक्षमा ढुक्कसंग प्रवेश गर्न सक्ने प्राध्यापक केवल राम बहादुर शाक्य हुनुहुन्थ्यो। क्याम्पसका अन्य शिक्षकहरु क्याम्पस प्रमुखको नजीक जान डराएको अनुभूति हुन्थ्यो।
विद्यार्थी हित शाखा
विद्यार्थीलाई संगठन गर्ने, युनीयन खोल्ने स्वतन्त्रता थिएन। तर पनि विद्यार्थीका मर्का र गुनासो सुन्ने, खेलकूदको विकास गर्ने हेतुले विद्यार्थी हित शाखा थियो। पन्चायत विरोधी विद्यार्थीहरुको नजर यो शाखा प्रति सकारात्मक थिएन।
क्याम्पसमा शैक्षिक सामाग्री
राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएकोले क्याम्पसमा शैक्षिक सामाग्रीहरु प्रशस्त थिए । अंग्रेजी पढाउने शिक्षकहरुले टेप रेकर्डर बोकेर कक्षामा जान्थे। विद्यार्थीहरुले अडियो सामाग्रीको मद्दतले अंग्रेजीका शव्दहरुको उच्चारण गर्थे। कक्षा English rhymes हरुले गुन्जायमान हुन्थ्यो। Rising tone र Falling tone कहाँ प्रयोग हुने अभ्यास हुन्थ्यो।व्यवसायिक कक्षा पुरै प्रयोगात्मक हुन्थ्यो। गणितका शैक्षिक सामाग्री भने साटाले (SATA) पठाए पछी प्राप्त भए।

विद्यार्थीलाई पन्चायत पक्षधर बनाउने प्रयास
पौष १, पौष १४ गते विद्यार्थीलाई पन्चायत र राजाको भजन गर्न र जुलुस निकाल्न क्याम्पसले सूचना प्रकाशन गर्थ्यो। विद्यार्थी शिक्षकहरु क्याम्पसले पठाए नपठाएको नजीकैको अन्चलाधिस कार्यालयले निगरानी गर्थ्यो। प्राध्यापकहरुको हाजिरी ती दिनहरुमा जुलुसमा लिइन्थ्यो।
पन्चायती रजत महोत्सवको मन्च
क्याम्पसको हालको प्रशासनिक भवनको अघाडी बनाइएको मन्च पन्चायती रजत महोत्सव मन्च हो। राजा वुटवल आउंदा यही मन्चमा विराजमान गराइन्थ्यो। माइकहरुमा “ चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो” जस्ता गीतहरु गुन्जन्थे। सायद यहि झल्को लागेर होला ज्ञानेन्द्रको शाही शासन कालमा वुटवलका पन्त मेयर रुप सिंह थापाले त्यो मन्चमा थप लगानी गरी ऐतिहासिक पन्चायत रजत मन्च बनाउने दुस्साहस गर्दै थिए।
विद्यार्थी आन्दोलन र पन्चायती व्यवस्था माथी धावा
राष्ट्रिय र अन्तर्राष्ट्रीय विश्व राजनैतिक परिवेशले विद्यार्थी र उनीहरुको अध्ययनलाई पनि प्रभाव पार्दो रहेछ।पहिलो सेमिस्टरको परीक्षा दिए लगत्तै दोश्रो सेमिस्टर पढ्दै थियौं, पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो। विश्वव्यापी मानव अधिकारको जगमा टेकेर भुट्टोलाई फाँसी दिएको विरोधमा काठमांडूको पाकिस्तानी राजदूतावासमा विद्यार्थी संगठनका नेताहरु विरोध पत्र दिन जांदा ती नेताहरुको गिरफ्तारी भए पछी सल्किएको विद्यार्थी आन्दोलनले बुटवललाई छोयो। हामी आन्दोलित भयौं। प्रहरीसंग मुठ-भेड भयो। केहि प्रहरी घाइते भए, एक जना स ई ले साहादात प्राप्त गरे। विद्यार्थी छिनिए, कुटिए । टंक के सी, विष्णु प्रभात र कृष्ण गौचनका हात खुट्टा भांचिए । आन्दोलनमा पुतली दिदीले निकै मद्दत गर्नु भो। पुतली दिदीको होटलमा भात खाई आन्दोलन गर्न जाने हामीले रात भर रिसाको खुर्सानीको धुलो गोजामा राखी प्रहरी तर्फ छर्कने प्रयास गर्थ्यौं, टियर ज्ञासबाट बच्न गोजीमा प्याज़ बोकेर जान्थ्यौं। वुटवलमा कर्फ़्यू लागे पछी म आन्दोलनकारी विद्यार्थी तानसेन पुग्दा प्रहरीको कुटाईबाट सख़्त घाइते भएं। अन्ततः विद्यार्थी आन्दोलन सफल भै जनमत संग्रहको घोषणा भयो।

 

हर्कुलीसहरु रजत मन्चमा
२०३५ सालको विद्यार्थी आन्दोलनमा वुटवल भैरहवा क्षेत्रमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको निकै द्वंद्वात्मक थियो।हुन पनि किन नहोस् र यो जिल्ला दीपक बोहोरा, विनोद थापा, निरन्जन थापा र बीरेन्द्र क्षेत्रीहरुको जिल्ला हो।यी मण्डलेहरुमा कुनै मानवीय गुण नभएको हामीलाई अनुभूति हुन्थ्यो। जब वुटवल क्याम्पसबाट पन्चायत विरोधी जुलुस क्याम्पस बाहिर निकाल्न सुरु गरियो त्यो बेला ती मण्डलेहरुले क्याम्पस भित्र प्रवेश गरी नांगा खुकुरी, चक्कु र नाइन स्टिक तथा साइकलका चेनहरु प्रयोग गरी हामी आन्दोलनकारी विद्यार्थीलाई लखेटे। रजत मन्चमा आई आन्दोलनकारी विद्यार्थीलाई खुला चुनौति दिए। एक दुई दिन पछी आन्दोलनकारी विद्यार्थी आन्दोलनको उभार राष्ट्रव्यापी रुपमा बढ्दै जांदैन गोरखपुरबाट ल्याएका हर्कुलीस दादाहरु पनि वुटवलमा देखिन छाडे।
स्ववियूका लागि संघर्ष
नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा स्ववियू खोल्ने संघर्षको लामो इतिहास भए पनि वुटवलमा हामीले २०३५/३६ सालमा निकै संघर्ष गर्नु पर्यो। पन्चायत प्रशासन र गुण्डाहरुसंग भिंड्दै स्व वियु को निर्वाचन गराएरै छोड्यौं। अखिल छैठौंका टंक केसी स्ववियुको पहिलो सभापति बने। स्ववियूको दोश्रो निर्वाचनमा अखिल छैठौंले एकल प्यानलबाट चुनाव जित्यो। सुधारिएको भनिएको पन्चायतले जनमत संग्रहमा जिते पछी मण्डलेहरुले २०४० सालमा फेरी स्ववियू हडपे । संघर्ष गर्दै जांदा पन्चायत ढल्यो फेरी स्ववियू पुनर्स्थापन भयो।

 

इतिहासमा वुटवल क्याम्पसका विद्यार्थीको साहदाती
इतिहासमा वुटवल क्याम्पसका विद्यार्थीहरुले क्रान्तिकारीता प्रदर्शन गरेका छन्। जनविरोधी व्यवस्थापन ख़िलाफ़मा यहांका विद्यार्थी आन्दोलित हुंदा यस क्षेत्रकों जनताहरुमा नै राजनैतिक चेतना माथी उठ्यो। २०३५/३६ सालको आन्दोलन, २०४५/४६ सालको आन्दोलन र २०६२/६३ सालको आन्दोलनमा यस क्याम्पसका विद्यार्थीहरुको ठूलो भूमिका रह्यो। सामान्य महंगी विरोधी आन्दोलनमा वुटवल क्याम्पसका होनहार विद्यार्थी सहिद देवीलाल पौडेललाई हामीले आफ्नै नज़र अघाडी क्याम्पस परिसर भित्रै गुमाउनु पर्यो। अहिलेका विद्यार्थीहरुले भने वुटवलका विद्यार्थीको पुरानो क्रान्तिकारी इतिहासको विरासत थामे जस्तो मैले अनुभूति गरेको छैन।
शिक्षक कर्मचारीलाई तलव खुवाउन ऋण सापटी
म यस क्याम्पसमा सरुवा भएर आए पछी मैले जागिरे इतिहासमा एउटा अनौठो कुरा सुने। एक पटक त्रिविले शिक्षक कर्मचारीलाई समयमा तलव पठाएनछ । क्याम्पसका शिक्षक कर्मचारी क्याम्पस प्रमुख कहाँ डेलीगेसन गएछन् । एउटा जिम्मेवार सहायक क्याम्पस प्रमुखको नाताले राम बहादुर शाक्य सरले आफ्नो घरबाट पैसा ल्याई तलव खुवाउने काम गरिएछ । पछी त्रिविले बजेट पठाए पछी उहांको पैसा सोधभर्ना गरिएछ। इतिहासमा यस्ता प्रशासकहरु पनि वुटवल क्याम्पसले भोग्यो। कुनै प्रशासकले वुटवल क्याम्पसलाई दुगुने गाई बनाए होलान् तर राम सरको योगदान स्मरण योग्य छ।

बहुमुखी क्याम्पसको रुपमा क्याम्पस
२०३० सालमा पाल्पाबाट सरेको नर्मल शिक्षक तालिम केन्द्र पूर्व सेवाकालिन र सेवाकालिन शिक्षकहरु अध्ययन गर्ने क्याम्पसको रुपमा परिणत भयो। वुटवलका व्यापारीहरुले यसलाई क्याम्पसको रुपमा स्वीकार नगरेकोले लुम्विनी कमर्स क्याम्पसको स्थापना गरे। स्थानीय समुदायले अपनत्व नलिएको यो क्याम्पसमा विद्यार्थीहरुको सघन भर्ना र आन्दोलन भए पछी क्याम्पसलाई बहुमुखी बनाई वाणिज्य शास्त्र, मानविकी, विज्ञान र कानूनका कार्यक्रम चलाउनु पर्छ भनी विद्यार्थी आन्दोलित भए। म लेखक पनि विद्यार्थी कालमा यसै सन्दर्भमा एक पटक काठमाण्डू डेलिगेसन गएको हुं। समय क्रममा क्याम्पसमा शिक्षा शास्त्रको अलवा मानविकी, विज्ञान, क़ानून र वाणिज्य शास्त्रको पढाइ हुन थाल्यो। समय क्रममा स्नातक र स्नातकोत्तरका कक्षाहरु चल्न थाले। समयले वुटवल क्याम्पसमा एम फ़िल कार्यक्रमको माँग गर्दैछ। अवश्य पुरा हुनेछ।एउटा सेवा निवृत्त प्राध्यापकको हैसियतले मेरो मातृसंस्थाको सदैव उत्तरोत्तर प्रगतिको कामना गर्दै विना रागको लेख यहिं टुंगाउंछु।
स्वर्ण महोत्सवको सफलताको कामना। २०८०/०९/०४

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?