शनिबार, भदौ १४, २०८२

सङ्गठनात्मक अनुशासन र वर्ग अनुशासन

दुर्गानाथ खरेल
सङ्गठन भन्नासाथ निश्चित उद्देश्य पूर्तिका लागि प्रतिबद्ध व्यक्तिहरूको समूह भन्ने बुझिन्छ ।

सङ्गठन निर्माण गर्नुभन्दा पहिले उद्देश्य निश्चित गर्नु पर्छ । उद्देश्यसँगै आफ्ना आवश्यकताहरू सजिलै पूर्ति गर्ने कुरा सबैभन्दा पहिले र सबैभन्दा महत्वका साथ अगाडि आउँछ । यो कुरा सामाजिक व्यवस्थासँग सम्बन्धित छ । समाजमा व्यक्तिगत स्वामित्व र व्यक्तिगत स्वामित्वलाई प्राथमिक महत्व दिने एकातिर र सामूहिक स्वामित्व र सामूहिक स्वामित्व निर्माण गर्न व्यक्तिगत स्वामित्वमा रहेका उत्पादनका साधनहरूलाई सामूहिक स्वामित्व अन्तर्गत दर्ता गर्न लाग्ने अर्कातिर गरी परस्पर विरोधी उद्देश्य अगाडि आई पर्छन् ।

सबैभन्दा पहिलो सङ्गठनको उद्देश्य यिनै परस्पर विरोधी दुई पक्षमध्ये एउटा मात्र उद्देश्य अन्तर्गत सङ्गठित प्रयत्न सुरु गर्नु पर्छ । त्यसो गर्नलाई त्यसको नेतृत्व कुन वर्गले गर्ने सदस्यता कस्ता व्यक्तिहरूलाई दिने भन्ने कुरा अहम् महत्वका साथ खडा हुन्छ । समाजमा व्यक्तिगत सम्पत्ति प्रथा कायम भए पनि एकातिर, व्यक्तिगत सम्पत्ति थप्दै गएका व्यक्तिहरू अर्कातिर, जे जस्तो अवस्था छ, त्यसैमा काम गरेर खर्च टार्ने गरेका व्यक्ति र व्यक्तिगत सम्पत्ति नभएका वा केही भए पनि दिन–प्रतिदिन गरिबीतिर धकेलिँदै गएका व्यक्तिहरू छन् ।

व्यक्तिहरू जे जस्तो अवस्थामा भए पनि उनीहरूको उद्देश्य व्यक्तिगत स्वामित्वमा सम्पत्ति थुपेर सुविधा सम्पन्न भई जीवन बिताएर नै मुक्त हुन सकिन्छ भन्ने धेरैको दृष्टिकोण छ । यस्तो अवस्थामा सङ्गठन निर्माण गर्दा सङ्गठित व्यक्तिहरूको विश्व दृष्टिकोण वर्ग अनुसार परिवर्तन गरेर सम्पन्न वर्गीय विश्व दृष्टिकोण भएकाहरूलाई एउटा सङ्गठनमा र विपन्न वर्गीय विश्व दृष्टिकोण भएकाहरूलाई विरोधी सङ्गठनमा सक्रिय बनाउन आफूले खेल्ने भूमिका नेतृत्वको पहिलो चुनौती हो ।

 

दश हजार वर्ष पहिलेदेखि सुरु भएको व्यक्तिगत सम्पत्ति प्रथालाई समाजमा तुरुन्तै सामूहिक बनाई हाल्न सक्ने अवस्था छैन । प्रत्येक व्यक्तिको नसा नसामा व्यक्तिगत सम्पत्ति बनाउने विचार सञ्चालन भई रहेको छ । सङ्गठन बनाउँदा सबै व्यक्ति सामूहिक सम्पत्ति प्रथामा सजिलै प्रवेश हुन्छन् भन्नेभन्दा पनि नेतृत्वबाट सामूहिकताको सुरुवात नगर्ने हो भने त्यो सङ्गठन वर्गीय अनुशासनतिर अगाडि बढ्दैन । समाजमा पुरै ध्रुवीकरण भई सकेको छैन ।

 

धु्रवीकरणको दिशामा तीव्र गतिले विकास भई रहेको छ । त्यसैले व्यक्तिगत सम्पत्ति बढाउँदै जाने र घटाउँदै जानेहरूको एकातिर र श्रम बेच्ने र श्रम किन्नेहरूको अर्कातिर राखेर श्रम बेच्नेहरूको सङ्गठन र त्यसैमध्ये पनि धेरै श्रम खर्च गरेर थोरै पारिश्रमिक लिएर आफ्नो व्यक्तिगत खर्च चलाउनेहरूमध्ये नै नेतृत्वको छनौट गर्न मुख्य ध्यान दिनु पर्छ । सामूहिक काममा बढीभन्दा बढी समय खर्च गर्न योग्यता र लगनशीलता दुवै आवश्यक पर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?