
दुर्गानाथ खरेल
सोह्र र सत्रौँ शताब्दीमा समानताको माग राजनैतिक अधिकारसम्म मात्र सीमित नरहेर व्यक्तिका सामाजिक परिस्थितिहरूमा पनि समानताको स्थापना गर्नेसम्मका माग अगाडि आए ।
ती मागहरूको उद्देश्य वर्गका विशेष अधिकारहरूलाई हटाउने मात्र नभई वर्गभेदलाई नै मेटाउनु पर्ने थियो । त्यो नयाँ विचारले समानताको स्थापना गर्नका लागि सांसारिक सुख–सुविधा त्याग गर्नु पर्ने र आफ्नो समानता स्थापित गर्ने महान् अभियानमा लाग्नु पर्ने हुनाले बलिदानी र त्याग गर्न सक्ने आदर्श व्यक्तिहरू लगातार खट्नु पर्ने अनुमान गरिएको थियो । त्यतिसम्मको समानता ल्याउने विचारभन्दापछि काल्पनिक समाजवादीहरू सेन्ट साइमन, चाल्र्स फुरिये र रबर्ट ओवन तीन जनाले आफ्ना धारणा अगाडि बढाएका थिए । उनीहरूले मानव विकासको क्रममा उत्पादन भएका सर्वहारा वर्ग र मध्यम वर्ग समेतको आन्दोलनलाई महत्व दिने गरेका थिए । पूँजीवादको विकासको सिलसिलामा सबैभन्दा बढी विकास भएको वर्ग विरोधलाई ध्यान दिएर त्यसैबाट प्रभावित पनि भएका थिए । वर्गभेदलाई मेटाउन योजना बनाउने र त्यो योजनालाई व्यवस्थित गर्न फ्रान्सको भौतिकवादको तत्कालीन अवस्थासँग जोडेर अगाडि बढाउन खोजेका थिए । तिनीहरू मानव विकासको लामो ऐतिहासिक कालमा सबैभन्दा शोषित र उत्पीडित भई अस्तित्वमा आएका सर्वहारा वर्गलाई र त्यो वर्गको हितलाई ध्यान दिनु पर्ने महत्वप्रति सचेत भएका थिएनन् । तिनीहरूले कुनै पनि वर्ग विशेषलाई नभई सम्पूर्ण मानव जातिलाई नै मुक्त गर्ने बाटोतिर आफ्नो ध्यान केन्द्रित गरेका थिए । यस विषयमा यिनीहरूको विचार पनि फ्रान्सेली दार्शनिकहरूको विचारसँग समानता थियो । दुवै थरिले तर्क, बुद्धि तथा शाश्वत न्यायको राज्य स्थापना गर्ने चाहना राखेको भए पनि फ्रान्सेली दार्शनिकहरूको धारणासँग राज्यसम्बन्धी विषयमा एकरूपता थिएन ।
ती तीन जना काल्पनिक समाजवादीहरूले तत्कालीन पूँजीवादी व्यवस्था पनि पुरानो सामन्ती व्यवस्था जस्तै खराब भएको तर्क गरे । त्यसो हुनाका कारण तर्क, बुद्धि र न्यायको शासन हुन नसकेकाले नै भएको निश्चित गरे । व्यक्तिहरूले त्यसलाई बुुझ्न नसकेको हुनाले त्यस्तो भएको समेत बताए । अब एउटा प्रतिभाशाली र योग्य व्यक्तिको आवश्यकता भएको बताए । त्यस्तो व्यक्ति पाँच सय वर्ष पहिले हुन सक्दथ्यो । त्यस्तो भएको भए मानव समाजले यति लामो समयसम्म दुःख–कष्ट सहेर गल्ती र झगडाको अवस्था ब्यहोर्नु नपर्ने पनि हुन सक्दथ्यो । त्यही व्यक्तिको अभावले असुविधा ब्यहोर्नु पर्यो । अबको आवश्यकताले त्यसको खाँचो पूर्ति गर्ने छ भन्ने उनीहरूको ठम्याइ थियो । शाश्वत तर्क, बुद्धिसँग मेल नखाने वस्तुलाई नष्ट गरेर पनि विवेकपूर्ण राज्य र विवेकपूर्ण समाजको स्थापना आवश्यक ठानेका थिए । त्यस्तो खालको उनीहरूको तर्कमा विवेकपूर्ण समाज र शासनका लागि शाश्वत तर्क, बुद्धि अठाह«ौँ शताब्दीमा पूँजीपपति वर्गमा परिवर्तन भई रहेको नागरिकप्रतिको आदर्श रूप नै थियो । उनीहरूले विवेकपूर्ण समाज र विवेकपूर्ण शासनको धारणा फ्रान्सेली क्रान्तिले पुरा गरेर व्यावहारिक रूपमा आएको मान्दथे । तर त्यो नयाँ व्यवस्थाले पनि सर्वथा विवेकपूर्ण अवस्था ल्याउन सकेन । धनी र गरिब सबैको समृद्धिबाट विरोध समाप्त हुनुको सट्टा झन् उग्र विरोधको अवस्था आई पर्यो । सम्पत्तिको स्वतन्त्रता त प्राप्त भएको थियो तर व्यावहारिक रूपमा साना पूँजीपतिहरू र साना किसानहरूका लागि आफ्ना उत्पादनका साधनहरू ठुला पूँजीपति र जमिन्दारहरूलाई बेच्नै पर्ने स्वतन्त्रता हुन गयो ।
किनभने, ठुला पूँजीपति र जमिन्दारहरूले धेरै आम्दानी गरेर किन्न सक्ने क्षमताको विकास हुने र साना मालिकहरूको उत्पादन लागत र व्यक्तिगत खर्च बढेर बेच्नै पर्ने बाध्यताको अवस्था आयो । वर्गभेद बढेर एकातिर सम्पन्नता र अर्कातिर, सर्वहाराकरण बढेर गयो । त्यो सम्पत्तिको स्वतन्त्रता साना मालिकहरूका लागि सम्पत्तिबाट वञ्चित हुने स्वतन्त्रता हुन गयो । मान्छे मान्छेबीच नगद लेनदेन हुने अवस्था त बनायो, तर पूँजीवादी तरिकाले उद्योग विकासको परिणाम मिहिनेतकश जनताको गरिबी र कष्टलाई त्यो समाजको अस्तित्व सँगसँगै एकाकार बनाई दियो । एकातिर, सीमित व्यक्तिहरूमा सुविधा र धन–सम्पत्ति जम्मा हुँदै जाने, अर्कातिर, हजारौँको सङ्ख्यामा सम्पत्तिबाट वञ्चित भई अभाव र गरिबी झेल्नै पर्ने अवस्था ल्याई दियो । तर्क, बुद्धिको विजय भन्दै दार्शनिकहरूले जुन सुन्दर सपनाहरू बाँडेका थिए, परिणाम विपरीत भयो । सामाजिक र राजनीतिक संस्थाहरू आशाहरूको उपहास गर्दै निराशाको केन्द्र बने । त्यस्तो अवस्थामा आशाका किरण फैलाउने व्यक्तिको आवश्यकता थियो ।
१८०२ मा सेन्ट साइमनले जेनेवाको पत्र प्रकाशित गरे । १७९९ मा नै तयार पारेको आफ्नो पुस्तक चाल्र्स फुरियेले १८०८ मा प्रकाशित गरे । १८०० को पहिलो जनवरीमा रबर्ट ओवेनले न्यू लेनार्कको सञ्चालन आफ्नो हातमा लिए । यिनीहरू तीन जना काल्पनिक समाजवादीहरूले नयाँ समतामूलक समाजको अवधारणा अगाडि ल्याए । त्यतिखेरको अवस्थामा पूँजीवादी उत्पादन तथा पूँजीपति र सर्वहारा वर्गबीचको अन्तर्विरोध अत्यन्त अविकसित अवस्थामा थियो । इङ्ग्ल्याण्डमा भर्खर भर्खर आधुनिक उद्योगहरूको आरम्भ भएको भए पनि फ्रान्समा अझै त्यसको अत्तोपत्तो थिएन ।
आधुनिक उद्योगको स्थापनासँगै एकातिर आर्थिक क्रान्ति भई उत्पादन बढी हुन्छ, अर्कातिर, पूँजीवादी व्यवस्थाको विनास गर्ने शक्ति सर्वहारा वर्गलाई पनि सँगसँगै उत्पादन गर्दै जान्छ । पूँजीवादी क्रान्ति गर्ने वर्गको मात्र विरोध नभएर त्यो उत्पादन प्रणाली र विनिमय पद्धति दुवै व्यवस्थाको विरोध हो । १८०० को आसपासमा नयाँ सामाजिक व्यवस्थाबाट उत्पन्न हुने अन्तर्विरोधले आकारा ग्रहण गरी रहेको थियो र साथसाथै त्यसलाई समाप्त पार्ने उत्पादक शक्ति पनि सचेत हुँदै गई रहेका थिए । अर्कातिर, समानताको नाममा बढी रहेको असमानतका कारणले सर्वश्वहरण भएका सर्वहारा वर्ग आफ्नै चेतना, आफ्नै सक्रियता र आफ्नै सङ्गठित प्रयत्नबाट मुक्त हुने र मुक्तिको बाटोमा सक्रियतापूर्वक अगाडि बढ्न सक्ने अवस्थामा पनि थिएनन् । उनीहरूलाई अरूको सक्रियता र माथिबाट हुने राजनीतिक आन्दोलनको उठान गर्नु पर्ने आवश्यकता थियो । समानताका लागि काम गर्ने समाजवादका प्रवर्तकहरूको समुच्चमा पनि त्यही समस्या थियो । पूँजीवादी उत्पादन र वर्ग सम्बन्धहरूको प्रारम्भिक र अपरिपक्व अवस्थाहरू भएको हुनाले सिद्धान्तहरू पनि त्यस्तै किसिमले अपरिपक्क भई समाजमा आए । अविकसित आर्थिक अवस्थाहरूको गर्भमा लुकेर रहेका समस्याहरूको समाधान गर्न ती काल्पनिक समाजवादीहरूले मानव मस्तिष्कबाट बाहिर ल्याउने प्रयत्न गरे । समाजमा भएको अन्याय, अत्याचार, शोषण र दमनलाई तर्क, बुद्धिको माध्यमबाट हटाउन सक्ने सिद्धान्त निकाल्न सक्नु पर्ने थियो । ती समाज व्यवस्थाहरूका विस्तृत योजनाहरू जतिसुकै उच्च प्रयत्न गरेर बनाइएको भए पनि कल्पनाका योजना नै थिए र काल्पनिक नै भए ।
विचारहरू काल्पनिक नै भएको भए पनि हामीले ती महान् विचारहरूलाई सम्मान गर्नु पर्छ । वास्तवमा ती विचार र विचारका अङ्कुरहरू थिए,।