मोहनविक्रम सिंह
म यही सालको वैशाखदेखि ८९ वर्षमा लागे । यो साललाई घटाउँदा मेरो ८८ वर्षको उमेर बितिसक्यो । त्यो सम्पूर्ण उमेरमध्ये करिब साढे छ दसकजति डेरामा नै बितेको छ । १० वर्षको उमेर हुँदा मलाई पढ्नका लागि बुबाले काठमाडौँ मगाउनुभएको थियो । मेरो सम्पूर्ण जीवनमध्ये करिब ११ वर्ष जेलमा नै बित्यो । त्यसरी बाँकी रहेको करिब साढे छ दसकको जीवन डेरामा नै बितेछ ।
पढाइमा छुट्टीको बेला कुनै कुनै बेला घरमा जान्थेँ । भूमिगत जीवनको बेलामा पनि म कुनै कुनै बेला घरमा जान्थेँ । अहिले ओखरकोटको घर बनेपछि म कुनै कुनै बेला त्यहाँ जाने गर्दछु तर त्यहाँ कुनै पनि बेला दुईतीन दिनभन्दा बढी बस्न पाउँदिन । त्यसरी मेरो जीवनको ठुलो भाग डेरामा नै बितेको छ भन्न सकिन्छ । त्यसरी डेराको जीवन नै मेरो जीवनको प्रधान पक्ष भएको छ भने पनि फरक पर्ने छैन ।
मैले काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, बुटवल, बनारस, गोरखपुर, दिल्ली, आगरा, चेन्नै र केरलका विभिन्न स्थानमा नै डेरा गरेर बस्ने गरेको थिएँ । तिनीहरूमध्ये काठमाडौँमा नै म सबैभन्दा बढी डेरा गरेर बस्ने गरेको छु । ती विभिन्न स्थानमा पहिले पढाइको सिलसिलामा, पार्टीकामको सिलसिलामा र पछि पार्टीद्वारा कारबाही परेका बेलामा निर्वासित जीवनको सिलसिलामा नै म डेरा गरेर बस्ने गरेको छु । ती सबै डेरामा मेरा बेग्लाबेग्लै प्रकारका अनुभव रहेका छन् ।
काठमाडौँमा म सम्वत् २००२ सालतिर लैनचौरको महेन्द्रबहादुर बस्नेतको घरमा डेरा गरेर बसेँ । उहाँ पछि सर्वोच्च अदालतको न्यायाधीश पनि बन्नुभएको थियो । त्योबेला म बुबासित नै बसेको थिएँ ।
महेन्द्रबहादुर बस्नेतको घरमा डेरा गरेर बस्दाको अनुभव अत्यन्त सुखद थियो । त्यो बेला म बुबासित सँगै बस्दथेँ । लैनचौर गोल्पापाखाको शान्ति विद्यागृहमा गएर पढेर आउने गर्दथेँ । महेन्द्रबहादुर बस्नेतको परिवारसित बुबाको घनिष्ट र आत्मीय सम्बन्ध थियो । त्यसकारण त्यो बेला त्यो डेरामा बस्दा मलाई आफ्नै परिवारमा बसे जस्तो अनुभूति हुन्थ्यो ।
पछि त्यहाँबाट डेरा सरेर हामी ठमेलमा बस्न गयौँ । अन्यत्र दुई ठाउँमा डेरा सरेपछि हामी ठमेलमा नै पण्डित सोमनाथ सिग्देलको घरमा डेरा गर्न गयौँ । उहाँको परिवारसित पनि हाम्रो घनिष्ट र पारिवारिक सम्बन्ध रहेको थियो ।
पिताजी सधैँ काठमाडौँ बस्नु हुँदैनथ्यो र प्रायश: प्युठानको आफ्नो घरमा गइरहनुहुन्थ्यो । उहाँले मेरो खानपिनको व्यवस्था गर्न टीकाबहादुर भन्ने गाउँको एक जना मानिसलाई छाडिदिनुभएको थियो । पिताजी प्युठान गएको बेलामा मसित बसेका टीकाबहादुरको हाम्रो घरबेटी पण्डित सोमनाथको परिवारसित केही झगडा परेछ । के कुरामा झगडा परेको हो ? मलाई थाहा भएन । सायद उनको कुनै व्यवहारका लागि पण्डितकी पत्नीले उनलाई केही हप्काउनुभएको थियो । उनको त्यो व्यवहार के थियो ? त्यो पनि मलाई सम्झना छैन ।
म स्कुलबाट फर्किंदा मैले देखेँ : उनी ठमेलका सडकमा धुमधामसित चिच्चाउँदै र पण्डित सोमनाथका परिवारका मानिसलाई ठुलो स्वरले तल्लोस्तरका गाली गर्दै सडकमा यता र उता उफ्रँदै हिँडिरहेका थिए । त्यो देखेर मलाई धेरै नराम्रो लाग्यो । पछि बुबा आएपछि टीकाबहादुरलाई हप्काएर घर पठाइदिनु भयो र पण्डितसित हाम्रो सामान्य सम्बन्ध बनिरह्यो ।
पण्डित सोमनाथका तीनओटी पत्नी हुनुहुन्थ्यो । उनीहरूमध्ये कान्छी पत्नीले मलाई तिहारमा टीका लगाइदिने गर्नुहुन्थ्यो र मलाई भाइ भन्ने गर्नुहुन्थ्यो । पछि उहाँहरू ठमेलबाट सरेर घट्टेकुलातिर जानुभयो । कुनै कुनै बेला भूमिगत कालमा काठमाडौँ गएको बेलामा म दिदीलाई भेट्न जाने गर्दथे र उहाँका हातबाट टीका लगाउने गर्दथे । पछि उहाँहरू अमेरिकातिर जानुभयो भन्ने सुने ।
पण्डित सोमनाथको घरमा बसेको बेलाका कतिपय कुरा मैले अहिले पनि सम्झन्छु । त्यो बेला २००६ सालतिर काङ्ग्रेसका कतिपय नेताहरू पिताजीलाई भेट्न आउने गर्नुहुन्थ्यो । तिनीहरूमध्ये काशिनाथ गौतमलाई मैले सम्झन्छु । उहाँहरूले बुबासित कोठा बन्द गरेर कुरा गर्नुहुन्थ्यो । उहाँहरूले के कुरा गर्नुहुन्थ्यो ? त्यो मलाई थाहा हुँदैनथ्यो । पछि २००७ सालको आन्दोलनपछि मेरो कैयौँपल्ट उहाँसित (काशिनाथसित) सम्पर्क भएको थियो ।
सोमनाथ पण्डितको घरपछि बुबाले नघलमा डेरा लिनुभयो । त्यहाँ उहाँ केही दिन बसेर प्युठान जानुभयो र त्यहाँ म धेरैजसो एक्लै बस्नुपर्यो । केही महिना आनन्ददेव भट्ट र म सँगै नघलको डेरामा बसेका थियौँ । पछि ईश्वरीराज रेग्मी र म पनि सँगै बसेका थियौँ । केही समयपछि त्यहाँबाट डेरा सरेर म क्षेत्रपाटीको धोबिचौरमा गएको थिएँ । एउटा लामो समयसम्म त्यहाँ भारतप्रसाद धिताल, उनको भाइ विजयप्रसाद धिताल र म सँगै बसेका थियौँ ।
एसएलसीको परीक्षा दिनका लागि २०१५ सालमा म पाल्पा तानसेनको मेहलधारामा डेरा गरेर बसेको थिएँ । त्यो डेरा कमलराज रेग्मीको घरको नजिकै थियो । उहाँको पूरै परिवार र केटाकेटीहरूसमेतसित मेरो घनिष्ट सम्बन्ध भएको थियो ।
नेपालमा पञ्चायती शासन भएको बेलामा हामी बनारसमा नै पार्टीको कार्यालय बनाएर बस्ने गर्दथ्यो । त्यहाँ मेरो बेग्लै डेरा हुँदैनथ्यो तर पार्टीको कार्यालय नै मेरो डेरा हुन्थ्यो । बनारसमा पहिले आइएको परीक्षाको तयारी गर्न म दुधविनायकको नजिकैको एउटा घरमा डेरा गरेर बसेको थिएँ तर २०१७ सालको काण्डपछि, खास गरेर दरभङ्गा प्लेनमपछि पार्टी कार्यालय बनारसमा नै राख्ने ठेगान भयो । पहिले हामीले अरू कैयौँ ठाउँमा डेरा सर्यौँ । पार्टीका मान्छेहरू भन्ने थाहा भएपछि वा घरमा धेरै मानिस आउने जाने गरेपछि घरबेटीहरूले प्रायश: हामीलाई घरबाट निकालिदिन्थे तर पछिल्लोपल्ट धेरै वर्षसम्म हामी दुधविनायकको नजिकैको थापाकोटीमा नै बस्यौँ ।
थापाकोटीको घरबेटी र परिवार धेरै राम्रा मान्छे हुनुहुन्थ्यो । त्यो परिवार नेपाली परिवार नै थियो । घरबेटी दाइ र उहाँकी पत्नी, जसलाई हामी सबैले दिदी भन्ने गर्दथ्यो, धेरै सहयोगी मान्छे हुनुहुन्थ्यो । उहाँका तीन भैना छोराछोरी थिए : रामु र हरि दुई भाइ छोरा र एउटी छोरी रमा । उनीहरूले पनि हाम्रो काममा धेरै मदत गर्दथे । त्यहाँ जति मानिस आए पनि वा बैठक बसे पनि कुनै आपत्ति हुँदैनथ्यो । हामी बस्ने कोठा पनि २०–२५ जना मान्छे अटाउने ठुलो थियो । त्यसकारण त्यो कोठा हाम्रा लागि धेरै उपयुक्त र सजिलो थियो । त्यो कोठाको एउटा अनुभव बताउनु सायद अप्रासङ्गिक हुने छैन ।
म केरलमा भएको बेलामा एकपल्ट गर्मी महिनामा झ्याल खुला राखेर १०–१५ जना साथीहरू सुतिरहेको बेलामा एउटा चोर आएछ । चोर एउटा मात्र थियो वा दुईतीन जना थिए ? त्यो कुरा कसैलाई थाहा भएन । सबै सुतेको बेलामा त्यसले भित्तामा झुन्डाएका सबै जनाका कोटपाइन्ट लगेर गएछ । चोर आएको र चोरेर गएको कुरा कसैलाई थाहा भएनछ ।
हाम्रो भूमिगत कालको थापाकोटीको त्यो कार्यालय नै सबैभन्दा महत्त्वपूर्ण थियो भने हुन्छ । हाम्रो कार्यालय वा डेरा जता सरे पनि हाम्रो सम्पर्क केन्द्र मडुवाडिहको शान्तिदेवीको घर नै थियो । नेपालबाट आउने सबै साथी वा हाम्रा सबै चिठीपत्र त्यहाँ नै आउने गर्दथे । शान्तिदेवीले कडा सोधपुछ गरेपछि मात्र हाम्रो कार्यालयमा कसैलाई पठाइदिने गर्नुहुन्थ्यो । उहाँका छोराछोरी, गोपाल, अम्बु र गीताले पनि हाम्रा काममा धेरै नै मदत गर्दथे ।
बनारसमा कार्यालय भएको बेलामा नै हामीले नेपालतिर सम्पर्क गर्न सजिलो हुन्छ भनेर गोरखपुरको गोरखनाथ मन्दिरनजिकैको जमुनिहामा डेरा लिएका थियौँ । त्यो बेला त्यहाँ बिजुली गएको थिएन र त्यसैले त्यहाँ पङ्खा पनि थिएन । त्यो डेरामा करिब १० वर्षसम्म हाम्रो कार्यालय रह्यो । त्यो पूरै नै मुसलमानको बस्ती थियो । उनीहरूसित हाम्रो धेरै नै घनिष्ट सम्बन्ध थियो । उनीहरूले इद वा त्यही प्रकारका चार्डपर्वको बेलामा हामीलाई बोलाउने गर्दथे र त्यसरी उनीहरूसित हाम्रो धेरै नै हेलमेल र घनिष्टतासमेत रहेको थियो ।
त्यो घरका घरबेटीले मिलिटरीमा काम गर्दथे । उनीहरूको क्याम्प सिलिगुडीनजिकैको बालडोगरामा थियो । उनीहरू उतै बस्दथे । पछि उनीहरू घरमा आएर बस्न थाले । उनीहरू बाहिरको कोठामा बस्दथे । घरबेटी दाइ धेरै सिधा मान्छे थिए तर उनकी पत्नी धेरै नै कडा वा झगडालु थिइन् । उनले ढोकामा बसेर हाम्रा बाहिरबाट आउने प्रत्येक साथीलाई कडा सोधपुछ गर्दथिन् र रुखो स्वरले हप्काउने पनि गर्दथिन् । त्यसपछि हामीले त्यो डेरा छाडिदियौँ र नजिकैको अर्को ठाउँमा डेरा लियौँ ।
जमुनिहा पुग्नुभन्दा पहिले केही पहिले मछली दफ्तरको अफिस थियो । त्यहाँ भोलिलाले काम गर्नुहुन्थ्यो । त्यहाँकी पत्नीको नाम कुन्तीदेवी थियो । उहाँका दुईओटी छोरी थिए । जेठी छोरीको नाम मुन्नी थियो भने कान्छी छोरीको नाम उमा थियो । त्यो परिवार बनारसको शान्तिदेवीको घर जस्तै हाम्रो पार्टीको सम्पर्क केन्द्र थियो । हामीलाई भेट्ने साथीहरू पहिले त्यहीँ आउनुहुन्थ्यो । हाम्रो सबै चिठीपत्र पनि त्यहीँ आउने गर्दथे । दुवै जना हाम्रो पार्टीका सदस्य पनि बन्नुभएको थियो ।
हामीले मछली दफ्तरको डेरा छाडेर जुन डेरामा सरेका थियौँ, त्यो अलि सानो र साघुँरो जस्तो भयो । त्यो डेरामा हाम्रा आएका सबै साथीलाई बस्न र बैठक गर्न पनि अप्ठ्यारो हुन्थ्यो । त्यसपछि हामीले गोरखनाथ मन्दिरभन्दा केही पर रसुलपुरको एउटा घरमा कोठा लियौँ । त्यो टायलले छाएको एकतले कच्ची घर थियो । त्यसपछि हामी त्यसको नजिकैको एक जना कामरेडको घरको उपल्लो तलामा बस्न गयौँ । त्यो घर पहिले भारतीय कम्युनिस्ट पार्टीको स्वामित्वमा थियो । पछि त्यही पार्टीका एक जना नेताले त्यो घर कब्जा गरेका थिए तैपनि उनी पहिले कम्युनिस्ट पार्टीको नेता भएको हुनाले सबैले उनलाई कामरेड नै भनेर बोलाउने गर्दथे ।
कामरेडको घरपछि हामीले जमुनिहाको एउटा घरमा कोठा लियौँ । त्यही“ हामीले पार्टीस्कुल पनि खोलेका थियौँ । त्यहा“ धेरै प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएका थिए तैपनि त्यो घर हाम्रो आवश्यकताअनुसार केही सानो थियो । त्यसपछि हामीलाई जमुनिहामा नै पहिले भारतीय रेलमा काम गर्ने एक जना टिटीको सिङ्गै घर प्राप्त भयो र लामो समयसम्म हामी त्यही घरमा बस्यौँ । त्यो घरमा हाम्र धेरै महत्त्वपूर्ण बैठक वा कार्यक्रम सम्पन्न भएका थिए । केही ठुला कार्यक्रम गर्नुपर्यो भने हामी नजिकैको गोरखनाथ मन्दिरमा जान्थ्यौँ र त्यहाँको धर्मशालामा हल वा कोठा बुक गरेर कार्यक्रम सञ्चालन गर्दथ्यौँ । वास्तवमा गोरखनाथको त्यो मन्दिर र धर्मशाला लामो समयसम्म हाम्रा लागि धेरै नै उपयोगी रहेको थियो ।
पार्टी कार्यक्रमको सिलसिलामा जाँदा म केही समय दिल्लीमा डेरा गरेर बसेको थिएँ । एकपल्ट मैले जवाहर लाल नेहरू विश्वविद्यालयनजिकैको एउटा कलोनीमा डेरा लिएर बसेको थिएँ । सायद अर्कोपल्ट मैले दिल्लीको अर्को कुनै एउटा ठाउँमा डेरा लिएर बसेको थिएँ । अहिले मलाई त्यो ठाउँको सम्झना छैन । पछि दिल्लीमा एकता समाजको कार्यालय बन्यो । त्यहाँ बदरपुर बोर्डरमा एकता समाजको आफ्नै घर पनि बन्यो । त्यसकारण त्यसपछि दिल्ली जाँदा कुनै डेरा लिनुपर्ने आवश्यकता भएन ।
जलजला प्रेम प्रकरणमा मेरो महामन्त्री पद र केन्द्रीय समितिको सदस्य पदसमेत समाप्त भएपछि र मलाई तीन वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशित गरेपछि म दक्षिण भारततिर लागेँ । त्यसपछि म करिब एक महिनाजति चेन्नैमा नै बसेँ । त्यो बेला मैले कहा“ र कुन डेरा लिएको थिएँ ? त्यो कुराको मलाई राम्रो सम्झना छैन ।
त्यसपछि म केरलको त्रिभेन्द्रमतिर लागेँ । त्यहाँ मैले दुईओटा ठाउँमा डेरा लिएको थिएँ । एक ठाउँमा एउटा सानो कोठा थियो । त्यहाँ मुस्किलले एउटा खाट अटाउँथ्यो । मेरा सबै सामान, मुख्यत: मसित भएका पुस्तक पनि त्यहाँ मुस्किलले अटाउँथे । पछि केरलको एउटा ग्रामीण क्षेत्रमा चारओटा कोठा भएको सिङ्गो घर अत्यन्त कम किरायामा फेला पारेँ । त्यो घरको छिमेकमा मलायमका घर थिए । त्यो घरका सबै परिवार र केटाकेटीसमेतले मलाई धेरै माया गर्दथे । त्यहाँबाट त्रिभेन्द्रम सहरमा बसबाट जान मलाई धेरै समय लाग्दथ्यो र फर्केर आउँदा पनि धेरै रात पर्दथ्यो । त्यसैले म बेलुकाको खाना नखाइकन सुत्ने गर्दथेँ तर म बस्ने घरकी छिमेकी बुढिआमाले मैले खाना खायौँ कि खाइनौँ भनेर हेर्न पठाउनुहुन्थ्यो । मैले चुल्हा नबालेको देखेपछि थालमा खाना हालेर पठाइदिनुहुन्थ्यो । एक दिन वा दुई दिन होइन, कैयौँ दिनसम्म उहाँले त्यसै गर्नुहुन्थ्यो । त्यहाँका बासिन्दा वा बुढिआमाको त्यस प्रकारको आत्मीयता देखेर म धेरै नै अनुगृहीत भएको थिएँ ।
म प्रत्येक दिन आफ्नो डेराबाट सहरतिर जान्थेँ र त्यहाँका पुस्तकालयमा बसेर पढ्ने गर्दथे । त्यो बेलाको मेरो मुख्य योजना कृषिक्रान्तिसम्बन्धी पुस्तक तयार पार्नुथियो । त्यसका लागि मैले पुस्तकालयबाट सामग्री जुटाउने प्रयत्न गरेको थिएँ तर पछि आगरामा एमएको परीक्षा दिन केरल छाडेर जानुपर्यो । त्यसैले मेरो त्यो पुस्तक लेख्ने योजना त पूरा हुन सकेन । त्यसको खालि पहिलो परिच्छेद मात्र तयार भयो, जो ‘धर्तीको पूर्वकथा’ शीर्षकले प्रकाशित भएको छ ।
आगरा गएपछि म एमएको पहिलो वर्षको परीक्षा दिने बेलामा एउटा कोठामा र दोस्रो वर्षको परीक्षा दिने बेलामा अर्को कोठामा डेरा गरेर बसेको थिएँ । त्यो बेला आगराबाट नै एमएको परीक्षा दिन आउनु भएका बागलुङका महेश श्रेष्ठ र म पनि सँगै डेरामा बसेका थियौँ ।
पहिले मलाई तीन वर्षका लागि पार्टी सदस्यताबाट निष्काशित गरिएको कुरा मैले माथि नै उल्लेख गरिसकेको छु । पछि पार्टीले मलाई मेरो सदस्यता पुनर्बहाली गर्ने निर्णय गर्यो तर मेरो सदस्यता पुनर्बहाली गरेपछि पनि लामो समयसम्म जलजलाको सदस्यता पुनर्बहाली गरिएको थिएन । पछि चितवनका खम्बासिंह काजीको जोडले उनको सदस्यता पनि पुनर्बहाली गरिएको थियो ।
मेरो सदस्यता पुनर्बहाली भएपछि मछली दफ्तरमा नै भोलिलाल, कुन्तिदेवी र मसमेतको तीन जनाको सेल बनाइएको थियो । त्यसको सेक्रेटरी भोलिलाल नै हुनुहुन्थ्यो । त्यो सेलले मछली दफ्तरमा एउटा पुस्तक पसल र एउटा प्रेस पनि राख्ने निर्णय गरेको थियो । हामीले साथीहरूबाट सहयोग जुटाएर त्यो कार्य सम्पन्न गरेका थियौँ ।
बहुदलीय व्यवस्था आएपछि म एकाध वर्ष बुटवलमा नै बसेँ । त्यो बेला मेरा नाममा पूरै वारेन्ट त थिएन तैपनि म पूरै खुला भएको थिइनँ । पार्टीको निर्णयअनुसार सकेसम्म भूमिगत रूपमा नै बस्ने मेरो प्रयत्न हुन्थ्यो । त्यहाँ कुनै डेरामा कैयौँ महिनासम्म कसैलाई परिचय नदिइकन बस्ने गर्दथे तर कतै त्यहाँ म बसेको कसैलाई थाहा भयो वा परिचय भयो भने म त्यो डेराबाट सर्ने गर्दथे ।
पछि हामी काठमाडौँमा डेरा लिएर बस्न थाल्यौँ । त्यो बेला पार्टीको कार्यालय पनि काठमाडौँमा नै थियो तर पार्टी भूमिगत भएको हुनाले त्यो कार्यालय पनि भूमिगत नै हुन्थ्यो । सुरुमा म पार्टीको कार्यालयमा नै बस्ने गर्दथेँ । पछि बेग्लै डेरा लिएर बस्न थालेँ । त्यस बेला हामीले काठमाडौँ, ललितपुर र भक्तपुरसहित करिब एक दर्जन स्थानमा डेरा सर्नुपरेको थियो । त्यस सिलसिलामा हामीले काठमाडौँमा डिल्लीबजार (दुई ठाउँ), कुलेश्वर, ठैटी, स्वयम्भू, रातो पुल, ठमेल, वनस्थली ढुङ्गेधारा (चार ठाउँ), ललितपुरमा (दुई ठाउँ) र भक्तपुरको कौसलटारमा डेरा गरेर बसेका थियौँ ।
हामीले बेग्लाबेग्लै कारण एक ठाउँबाट अर्को ठाउँमा डेरा सर्दै हिँड्नुपर्दथ्यो ।
कुलेश्वरको कोठा र घरबेटी पनि धेरै राम्रा थिए तर त्यहाँ हाम्रो डेरा भुइँतलामा थियो । त्यहाँ कहिल्यै घाम लाग्दैनथ्यो । त्यसकारण हामीले त्यहाँको डेरा छाड्नुपरेको थियो ।
स्वयम्भूनिरको एउटा डेरा धेरै नै राम्रो थियो र घाम पनि धेरै राम्रो लाग्दथ्यो । त्यहाँ सामान सारेर जाँदा हाम्रा पुस्तक कैयौँ बोरामा राखिएको थियो । त्यो देखेर त्यो घरकी घरबेटीले यस्ता कबाडीका सामान ल्याएर आउनेलाई घरमा बस्न दिन्न भनेर दिनदिनै झगडा गर्न थालिन् । त्यसकारण एक हप्तामा नै हामीले त्यो घर छोडेर हिँड्नुपरेको थियो ।
ठैटीको एउटा डेरामा घरबेटीले कोठामा आउने मानिसका जुत्ता गन्दथे । धेरै मान्छे आएको भनेर कचकच गर्दथे । त्यसकारण एकदुई महिनामा नै हामीले त्यो डेरा छोड्नुपरेको थियो । त्यो बेला कुनै घरमा डेरा लिएर बसे पनि पार्टीका मान्छे भएको भन्ने कुरालाई हामीले लुकाउने प्रयत्न गर्दथ्यौँ ।
भक्तपुरको कौसलटारको डेरामा हामी धेरै वर्ष बस्यौँ । त्यो डेरा गोप्य पनि थियो । त्यो घरको घरबेटी गोपाल र उहाँको परिवार धेरै राम्रो पनि हुनुहुन्थ्यो तर त्यो डेरा धेरै टाढा र अपायक परेको हुनाले हामी त्यहाँबाट सरेर ढुङ्गेधारा आयौँ । ढुङ्गेधारामा नै दुर्गाकी बहिनी गायत्री र तुफानको घर भएकाले त्यहाँ डेरा गरेर बस्दा धेरै मदत पुग्दछ भनेर हामी त्यही सरेर आयौँ । खास गरेर त्यो बेला हाम्रा दुईओटै छोरा साना भएकाले र दुर्गा र म दुवै जना प्रायश: बाहिर गइराख्नुपर्ने भएकाले हाम्रा छोराको हेरचाह, खानपिन र दु:खबिरामी हुँदा मदत पुग्दछ भनेर नै हामीले त्यही एरियामा बस्ने निर्णय गरेका थियौँ । ढुङ्गेधारामा हामीले चारओटा डेरा बदल्यौँ तर डेरा जति बदले पनि गायत्रीको आसपासमा नै डेरा खोज्ने हाम्रो प्रयत्न भइरह्यो र अहिले पनि हामी ढुङ्गेधारामा नै बसेका छौँ ।
डेरा सर्दा हामीलाई सबैभन्दा ठुलो समस्या सामान र पुस्तक पनि सार्ने कुराको नै हुन्थ्यो । डेरा सर्दा कैयौँ पुस्तक हराउने गर्दथे । त्यसरी एकपल्ट मेरो एउटा उपन्यास “तारा” हराएको थियो भने एकपल्ट ‘कामरेड जलजला’ का सबै प्रति हराएका थिए । ‘तारा’ उपन्यास ता हस्तलिखितमा थियो र त्यसको कुनै प्रतिलिपि थिएन । त्यसकारण त्यो उपन्यास पुन: कहिल्यै भेटिएन तर ‘कामरेड जलजला’ उपन्यास कम्युटरमा भएको हुनाले त्यो सुरक्षित नै रह्यो । डेरा सर्दा सामान सार्नेभन्दा झन् ठुलो मुस्किलको काम ती सामान र पुस्तक मिलाउने नै हुन्थ्यो । कतिपय बेला मैले पुस्तक राख्नका लागि डेराभन्दा बाहिर बेग्लै कोठा पनि लिने गर्दथेँ ।युगदर्शन बाट ।