
लिल बहादुर केसी
मेरो नजीकै बस्ने साथी श्यामकृष्णजी को कोठामा पुग्दा अली महंगा तरकारी, फलफूल र पोखरेली मसिनो चामलको पांच किलोको कट्टा कोठाको कुनामा देखें। सधै घर व्यवहार, पढ़ाई, जागिर र राजनीतिको विषयमा अन्तरंग कुरा हुने घनिष्ट साथी श्यामजीलाई सोधी हालें; “साथी ! आज त कोठा अली गर्मी गर्मी लाग्यो नि ।” श्यामजीले मुस्कुराउंदै भन्नु भो; “हाम्रो भेट नभएको कति दिन भयो ? म त उपत्यका बाहिर गएको थिएं। अलीकती पैसा आयो। आज मेरो कोठामा बसौं, मैले मासु र वासा लिएर आउंछु, अनि यतै खाना खाई संगै सुत्ने।”
कोठामा म एक्लै भए पनि मिठो खाना र रमाइलोको लागि मात्र म श्यामजीको कोठामा बसिन तर मैले उहां बाहिर जानु र पैसा आउनुको रहस्य वुझेरै फर्कने निधो गरें। मेरो त्यो जिज्ञासा को जवाफ श्यामजीले दिंदै भन्नु भो; “पैसा सकिएको थियो, घरबाट पैसा आउने अवस्था थिएन, त्यसैले सेरिडको काम लिएर फिल्डमा गएको पैसा आइहाल्यो, अव १/२ महिनालाई ढुक्क छु, तपाईंलाई पनि समस्या छ भने प्रा डा वज्रराज शाक्य सरलाई भेटेर जिल्लातिर गईहाल्नुस, ढिलो गरे अरु कोहि जालान् ।” श्यामजीसंगको त्यो वार्ता पछी म आफ्नो कोठामा फर्किएं।
एक त घर छोडेर वाहिर पढ्न जाने अधिकांश नेपाली विद्यार्थीहरुको नियति श्यामजीको जस्तै हो। हाम्रो पिंढीका सबै विद्यार्थीहरुका बाबा-आमा कृषक नै थिए। त्यस्ता केहि भाग्यमानी विद्यार्थी साथीहरु जो दुकानदार, धनी कृषक र पैसा लगाना लगाउने साहुका छोरा नगण्य मात्रामा हुन्थे । ती मध्ये अर्काथरी केहि भाग्यमानी विद्यार्थी साथीहरुका दाजुहरु स्वदेश वा विदेशमा जागिर खाएर भाइहरुलाई पढ़ाई खर्च पठाउने गर्थे।ती दुवै सहूलियत पाउन ललाटमा नलेखिएको म भाग्यले ठगिएको मध्येको तर वहुमत विद्यार्थीको पंक्ति भित्र पर्ने विद्यार्थी थिएं। त्यसैले मलाई पनि खर्चको अभाव भएको, घरबाट पैसा झिकाउने संभावना नभएको हुनाले श्यामजीकै आइडिया अनुसार भोली पल्टै प्रा डा वज्रराज शाक्य सरको शरणमा पुग्ने निर्णय गरें।
विहान १० बज्ना साथ म त्रिपुरेश्वरको शिक्षा विकास तथा अनुसन्धान केन्द्रको परिसर भित्र प्रवेश गरी साइन वोर्डहरुमा प्रा डा वज्रराज सरको नाम हेर्दै गएं। उहांको कार्यालयमा अनुमति लिएर प्रवेश गरे पछी मलाई पनि कुनै जिल्लामा पठाउन भ्रमण आदेश दिन अनुरोध गरें। अत्यन्त सरल र नजिकको संवन्ध भएको गुरुले मेरो अनुरोधलाई स्वीकार गरी हुम्ला जिल्लाको भ्रमण आदेश बनाइदिन मातहतका कर्मचारीलाई आदेश दिए पछी तुरुन्तै दुई जनाको नाममा भ्रमण आदेश तयार भयो। मलाई तथ्यांक संकलक प्रमुख र सेरिडकै मिट्ठू भाईलाई सहायकको रुपमा भ्रमण आदेश प्राप्त भएकोले पत्र वुझी २ दिन भित्र तयारी भै हुम्लातिर हिंड्ने सल्लाह भयो। मिट्ठू भाईसंग त्यहि अफिसमै परिचय भयो र त्यसै दिन केहि रकम पेश्कि लिई काठमांडू-नेपालगंजको हवाई टिकट काट्यौं ।
तोकिएकै दिन काठमांडू एयरपोर्टबाट साथी मिट्ठू र म नेपालगंज एयरपोर्टमा पुग्यौ। हामीलाई काठमांडूबाट सिधै हुम्ला जहाजमा जाने सुविधा नभएकोले नेपालगंजबाट फेरी हुम्लाको हवाई यात्रा गर्नु पर्थ्यो। त्यसैले सेरिडको पत्र देखाई प्रमुख जिल्ला अधिकारी कहाँबाट नेपालगन्ज-हुम्लाको सरकारी टिकट लियौं। मैले जुम्ला क्याम्पसमा करिव पाँच वर्ष पढाएको हुंदा कर्णालीको विकट क्षेत्रमा घुम्न नपाए पनि विभिन्न जिल्लाहरुबाट क्याम्पस पढ्न आउने विद्यार्थी र शिक्षक तथा कर्मचारीहरुबाट भूगोल र सुविधा वारे धेरै वुझेकोले ८/१० किलो चीनी, ३०/४० पोका वाइ वाइ चाउचाउ, ८/१० किलो चीउरा, करिव ३० वटा विस्कुट तथा केहि तरकारी किनेर भोली पल्ट नेपालगंजबाट सिमिकोट जाने जहाजमा चढ्यौं। तोकिएको मात्रा भन्दा तौल बढि भएको सामानको प्रति के जी पचास रुपैयांको दरले एयरपोर्टमा चार्ज वुझाउंदा त्यो समयमा पनि १०/- के जी काउली किनेर हुम्ला लैजांदा हवाई ढुवानी चार्जको कारणले ६०/- के जी काउली परेको हाम्रो भोगाई भयो। म त कर्णाली अन्चलमा पर्ने निकै अग्ला पहाड माथी हवाई यात्रा गर्दा हुने जहाजको कम्पन र अप-डाउनको अनुभव लिएको थिएं तर मिट्ठूलाई यस्तो यात्राको अनुभव नभएकोले उनी समय समयमा निकै आत्तिन्थे। मैले उनलाई सहानुभूति दिंदै यात्रा अंघी बढ्दै जांदा सिमिकोटको खतरा हवाई मैदानमा जहाज उत्रियो।
जुम्ला क्याम्पसमा मैले पढाउंदा पढाउंदै २०४६/४७ को जनान्दोलन भएको, पार्टी चुन्ने र संगठित हुने लहर चलेको वेला छक्क बहादुर लामा( २०४८ को निर्वाचनबाट सांसद), वीर बहादुर लामा ( बहुदल पछीको पहिलो निर्वाचित जिल्ला सभापति), सिमिकोट मा वि का प्रअ झविन्द्र आचार्य, ध्रुव ( थर विस्मरण भयो) खेलकूद शिक्षक र छात्रावास वार्डेन, सोहि स्कूल कै भारती मेडम र उहांको श्रीमान् ( पहिले सिमिकोट कै शिक्षक र पछी खाद्य ढुवानीको ठेकेदार तथा किराना सामान विक्रेता) हरुसंग आ वा र पत्राचार हुंदै गरेकोले नयाँ तर दुर्गम जिल्लामा उहांहरुलाई मेरो भेट्ने इच्छा भयो। त्यसैले भारती मेडमको पसलमा हामी दुई गयौं। सर र मेडमले हामीलाई निकै सम्मान साथ खाना खुवाउनु भो। हामी नयां ठाउंमा गएको र आफ्नो तथ्यांक संकलनको काम गर्नु पर्ने भएकोले हामी प्रमुख जिल्ला अधिकारीकोमा तथ्यांक संकलनका क्वेशनायर्स लिएर गयौं। प्रमुख जिल्ला अधिकारीको पुरानो घर वैतडी रहेछ। उहां मेरो घनिष्ट मित्र हरिभक्त पांडेको सहपाठी हुनु हुंदो रहेछ। प्रश्नावलीको उत्तर लिए पछी अन्तरंग कुरा हुंदा त पांडे जी को साथी भएकोले मलाई निकै माया गर्नु भो । उहांकै क्वार्टरमा बसी खाना खाने र सुत्ने कुरा गर्दा गर्दै उहांले आफ्नो भान्सेलाई बोलाई सोध्नु भयो; “ए ! ( नाम उच्चारण गरी) आज नेपालगंजबाट तरकारी आयो ?” भान्सेले उत्तर दिए; “आयानई साब”।
प्रमुख जिल्ला अधिकारी लज्जित हुनु भो किनभने नेपालगन्जबाट तरकारी नआए आफू प्रजिअ भै जे केहि खाएं पनि पाहुना खुवाउन अफ्ठेरो हुन्थ्यो। यत्तिकैमा प्युठान घर भएका राष्ट्रिय अनुसन्धानमा काम गर्ने एक जना केसी भाई ( नाम भुलें) म सिमिकोट प्रजिअ कहाँ पुगेको थाहा पाएर खुसी हुंदै मलाई भेट्न आएका रहेछन् र मलाई देखि नमस्कार गरे। प्रजिअ ज्यूले भन्नु भो; “ चिनेको छ तैंले सरलाई?” उनले भने चिन्छु। मैले सरलाई मेरो कोठामा खाना बस्न सबै व्यवस्था मिलाएर लिन आएको हुं सर।” उनले यी कुरा भन्दा प्रजिअ दंग परी फेरी सोध्नु भयो; “ के तिमीले केसी सरको सम्मान गर्न सक्छौ ?” प्युठानी भाइले भने; “ सर! मैले हजूरको इज्जत राख्ने छु।” त्यसो भए आज हामी विदा हौं तर हुम्लाको गाउंहरुमा हिंडेर जान गाह्रो हुने भएकोले मैले दुईवटा घोंडाको व्यवस्था गरिदिन्छु पर्सी घोंडा लिएर जानुहोला केसी सर भन्दै प्रजिअ सरले हामीलाई विदा गर्न क्वार्टरको गेट सम्म पुग्नु भयो। मैले हस् सर भन्दै विदा लिएं।
प्यूठानी भाइले सांच्चिकै खानपिन र सुताईको राम्रो व्यवस्था गर्नु भएको रहेछ। रमाइलो गरी रात वितायौं । हाम्रो अनुसन्धानको तथ्यांक संकलन गर्नु पर्ने विषयवस्तुको Topics थियो; “ The Condition of Women Education in Nepal”. त्यसैले अर्को दिन विहान सबेरै हामी जिल्ला सभापति वीरबहादुर लामाजीको क्वार्टरमा पुग्यौं। उहांसंग भर्नु पर्ने ओपन र क्लोज्ड क्वेसनका क्वेशनायर भरे पछी उहांले हामीलाई खाना नखाई निस्कन दिनु भएन। जिविसमा खाना खाए पछी हामी जिल्ला शिक्षा कार्यालय तर्फ सोझियौं। जिल्ला शिक्षा अधिकारी ज्यूसंगबाट तथ्यांक लिए पछी हामी महिला विकास अधिकृतको अफिसमा पुगी क्वेशनायर भर्यौं । हामीले यती गरिसक्दा हुम्ला जिल्ला श्रीनगर गाउंकै नेकपा एमालेका सक्रिय नेता गोरख बहादुर बोगटीले हामीलाई खोज्दै महिला विकास अधिकृतको कार्यालय भित्र टुप्लुक्क आउनु भो। हाम्रो वीचमा परिचय थिएन परिचय भयो। उहांले त्रिभुवन क्याम्पस तानसेनमा पढ्नु भएको र विवाह पाल्पा जिल्लाकै अर्गलीमा गर्नु भएको कुरा जानाकारी हुंदा मलाई पनि आफ्नै बहिनी ज्वाईं भएको अनुभूति भयो। निकै निकटको सम्वन्ध भएको जस्तो गरी वहांलाई रिसर्चको सेम्पलिंगमा परेका हुम्लाका स्कूल र महिला शिक्षिका तथा विद्यार्थीहरुको डेटा पेश गर्यौं। उहां हामीबाट छुट्टिएको एक घन्टा पछी उहांले हामीलाई मलेरियाको औषधी जनस्वास्थ्य कार्यालयमा गई चौबीस वटा ट्यावलेट लिएर हातमा थमाइदिनु भयो। म आश्चर्यमा परेर उहांलाई सोधें; मधेसमा मात्र होइन र मलेरिया लाग्ने ? हुम्लामा पनि मलेरिया ?” उहांले त्यसको जवाफ फर्काउंदै भन्नु भो; “ हो सर, कर्णालीको तिरै तिर हजूरहरु हिंड्नु पर्ने भएकोले औलो लाग्छ”। गोरख जीले त्यती दुख गरी ल्याएको र औंलो पिडित हुम्ली जनताको भागको औषधी हामीले खोसेकोले हामीले त्यो औषधी फर्काएनौ तर प्रयोग भने गरेनौ। त्यो सांझ हामीलाई भारती मेडमहरुले खाने बस्ने व्यवस्था गर्नु भो, साह्रै सम्मान गर्नु भो। त्यतिन्जेलसम्म हामी हुम्लाको सिमिकोट भएको अनुभूति गर्नु परेन। अति रमाइलो भयो। साथीहरुलाई गाउं जाने बाटाहरुको अवस्था सोध्यौं, वस्ने वास सोध्यौं र सिडीओ साहवले भने अनुसार घोंडा लैजाने वा नलैजाने वारे निर्णय गर्ने जिम्मा पनि साथीहरुलाई नै दियौं । उहांहरुको सल्लाह अनुसार दुई वटा घोंडा लैजांदा दुई वटा सयस ( घोंडाको सुसारे) लैजानु पर्ने, घोंडाको घांस दानाको व्यवस्था गर्नु पर्ने झन् झन्झटिलो काम भएकोले प्रजिअ सरलाई घोंडा नलैजाने खवर पठाई सिमिकोटबाट रमाना हुने विचार गर्यौं।
कर्णाली अंचल क्षेत्रफलमा सवैभन्दा ठूलो भए ता पनि त्यहांका नेताहरु, नाम चलेका विद्यालयका शिक्षक तथा कर्मचारीहरु एकले अर्कालाई भेट्न नपाए पनि एक अर्कामा परिचित हुन्छन् । हिंजो आजको जस्तो मोवाइल सुविधा, भिडीयो कल र मेसेन्जर भएको भए त सवैले सवैका मुहार समेत देख्न पाउंथे तर आवश्यक काम पर्दा जिल्ला सदरमुकामबाट हुने आ वा ( आकाश वाणी) को माध्यमबाट छोंटो- छोंटो कुरा गरी एक अर्काको बोली सुनिन्थ्यो। यहि माध्यम नै सिमिकोटको सहज बसाईको कारक बन्यो। मैले जुम्ला क्याम्पसमा पढाउंदा कर्णाली अन्चलका सबै जिल्लाका शिक्षकहरुलाई पढाएको र तालिम दिएको कारणले हुम्लाको यात्रा गर्दा कुन विद्यार्थीको घर र कुन साथीको घर बाटोको नजीक पर्ला भनी सोच्नु स्वाभाविक नै थियो। त्यसैले म र साथीहरु मिलेर बाटो र वासको टुंगो लगाएका थियौं।
सिमिकोटबाट भारती मेडमको घरमा खाना खाएर दिनभर हिंड्दा बास बस्ने ठाउं पाउन सम्भव हुंदो रहेनछ, त्यसैले त्यो दिन सवेरै भए पनि छिप्रा गाउंमा बास बस्ने योजना बनेकोले मिट्ठू र म सिमिकोटबाट झोला बोकि कर्णालीतिर लाग्यौं। मैले पढाएकी विद्यार्थी गीता शाहीको विवाह छिप्रा गाउंमा भएको र उनले त्यहि गाउंको स्कूलमा पढाउने कुरा थाहा पाएर दिनको पौने चार बजेतिर गीता शाहीको स्कूलमा पुग्यौं। मलाई अत्यन्त माया गर्ने चेली गीता मिस स्कूलको प्रांगणमा सूर्यतिर पिठ्युं फर्काई कुर्सीमा घाम तापेर बसेको वेला मैले पछाडीबाट उनको पिठ्युंमा धाम हानी “गीता” के भनेको थिएं उनी झसंग भई पछाडी म तर्फ हेरी मलाई अंकमाल गरेर अचम्म मान्दै हर्षाश्रुको वर्षा गरिन। मलाई एकातर्फ खुसी र अर्को तर्फ उनको आंशु देख्दा नरमाइलो लाग्यो। एक छीनमा हामी दुबै सम्हालियौं र कुराकानी गर्न थाल्यौं। हिंड्ने समय एक दुई घन्टा भए पनि बाटोमा बास पाउन सम्भव नभएकोले गीतालाई आफ्नो घरमा बास दिन भन्नै पर्ने थियो भन्यौ। गीताले पनि भूगोलको वस्तुस्थिति वुझेकोले हाम्रो आग्रहलाई स्वाभाविक रुपले लिइन । घरको अवस्था राम्रो रहेछ, बस्ने सुत्ने कोठा र कपडा राम्रा रहेछन्, हार्मोनियम पनि रहेछ। खाना खाई एक छीन हार्मोनीयम बजाएर त्यो दिन सुत्यौं।
अर्को दिन हामी कर्णालीको तिरैतिर लामा लामा पाइला हाल्दै निकै हिंड्यौं। बाटोमा खाना खाने घर र होटल थिएनन्। खार्पुको तल पट्टि चैतको अन्तिमतिर हिंउ पग्लिएर बाढ़ी आएको कर्णालीको किनारमा बडो होसियारी पूर्वक चीउरा र चाउचाउ मिसाएर चपाउंदै बाटो काट्दा हामीले बाटोको नजीक कुनै ठाउंमा पनि पानीको मूल भेटेनौं। दिउसोको चैत्र महिनाको धुप, शरीर भरी पसिना निकै पानी तिर्खा लाग्दा मूलकों पानी नभेटाएर कर्णालीको धमिलो पानी हाते रुमालले छानेर पियौं।दुबैतिरका आकास छुनै लागेका अग्ला पहाडको खोंचबाट बगेको कर्णाली नदीको किनारमा कतै कतै भारी बोक्ने भरिया वा बाटो हिंड्ने बटुवा बास बस्ने ओडारहरु कहिं कहिं देखिए पनि हामी दिनभर कर्णालीको तिरै तिर हिंड्दा कुनै प्राणी बाटोमा भेटेनौं। वीच वीचमा हावाले ढालेको धुपी सल्लाका रुखहरुले बाटो छेकेकोमा कहिले तेर्सिएका सल्लाको मुनी र कहिले माथी गरी यात्रालाई अंगाडी बढायौं। त्यती वेला हामीले अनुभूति गर्यौं कि हुम्ला जस्तो विकट जिल्लाका गाउंहरुमा प्रमुख जिल्ला अधिकारी घुमेको भए हामीलाई घोंडा लैजानुस् भनी भन्नुहुन्नथ्यो होला।
साथीहरुको सल्लाह वमोजिम हामीलाई त्यो दिन छिप्रा देखि रिप पुग्नु थियो। कहिल्यै नहिंडेको बाटो भएकोले साथीहरुले कुनै ठाउंमा तपाईंहरु सांझ पुग्नु हुन्छ भन्दा हामी सांझ पर्नु भन्दा दुई घन्टा अंघी नै पुग्थ्यौं। कर्णाली क्षेत्रका पुराना मानिसहरुलाई समयको यथार्थ ज्ञान हुंदैन । उनीहरुले विहान ६ बजे देखि १०/११ बजे सम्मको समयलाई एक भात भन्छन्। १०/११ वजे देखि सांझ ६/७ बजेको समयलाई १ दिन भन्छन्। हाम्रोतिर पनि समय दिने हाते घड़ी प्रचलनमा नआउने वेला सम्म रातको समयलाई “पुच्छ्रे तारा यो डांडोमा आउंदा”, “वृहस्पति झुल्किंदा”, “सप्तरेषि ( सप्त ऋषि) ताराहरु घर माथी पुग्दा”, “ कुखुराको भाले बास्दा”, “मिरमिरे उज्यालो हुंदा” वा “दोपहर हुंदा” भनी समयको आंकलन गरिन्थ्यो। यस्तो समय मापन अली अस्पष्ट हुनाले हामीले हिंडाईको गति निकै बढाएका थियौं। करिव पाँच बजेको समयमा एउटा गाउं दायां दिशा तर्फ देखा पर्यो। त्यहि गाउं नै रिप हुनु पर्छ भनी त्यतै सोझियौं। गाउंको नजिकै पुग्दा एक जना गाई गोठालाले गाई गाउं तर्फ खेदिरहेका थिए। हामीले उनलाई सोधी रिप गाउं त्यहि भएको निश्चित गर्यौं। हामीलाई रिपमा बस्ने खाने घर चाहिएको थियो। मैले रिप गाउंका चल्ता पुर्ज़ा स्थानीय शिक्षक जसबहादुर महतराको बारेमा सुनेको थिएं । मलाई लाग्थ्यो उहांले पनि मेरो नाम सुन्नु भएको थियो। निकै ठूलो भरोसा गरी जसबहादुर जी को घरमा बसिन्छ भन्ने थियो तर हामीले वुझ्दा उहां घरमा नभई काठमांडू जानु भएको रहेछ। अव हाम्रो बस्ने बासको ठेगान भएन। गाउंमा पुगे पछी गाउंका बाटाहरुमा कर्णाली अन्चलका जिल्लाहरुमा हिंड्न सकिंदैन। गाउंका डुवा ( गाउं वस्तु हिडाउने गल्ली) मा दिशा र फोहर हुने हुंदा गाउंमा पसे पछी भर्यांग चढी कुनै मानिसको घरको छतबाट अर्को मानिसको घरको छत हुंदै गाउंका पचास साठी घर छत छतै हिंडी गाउं पार गरिन्छ । जुम्लामा बस्दा यो आइडिया मलाई थाहा थियो। हामीले गाउंका ६/७ घरका छत पार गर्नै लाग्दा एउटा घरको छतमा बसेका दुइ जना सुकिला मुकिला साथीहरुले मलाई देखि नमस्कार भन्नु भो, त्यस पछी हाम्रो मनमा अव त वास पाइन्छ भनी खुसी छायो। उहां मध्येको एक जना चितवनको (संभवतः विष्णु ढकाल जस्तो लाग्छ) शिक्षक र म नेपालगन्जमा भेट भएका रहेछौं, अर्को प्युठानी (साथीको नाम स्मरण भएन) दुवै जना रिपको निमाविमा अध्यापन गर्नु हुंदो रहेछ । एक छीन गफ गाफ गरी उहांहरुले हामीलाई आफ्नो कोठामा लैजानु भयो। हामीले लगेको चीउरा र चाउचाउ मिसाई पानीको साथमा चारै जनाले खायौं। सांझ पर्यो साथीहरुले हामीलाई आफ्नो कोठामा छोडी एक छीन पछी आउंछौं भनी गाउंतिर जानु भो। हामी रातको साढ़े नौ बजेसम्म उहांहरुलाई पर्खी बस्यौं। साढे नौ बजेतिर उहांहरुले हामीलाई खाना बनेको घरमा लैजानु भो।
कर्णाली अन्चलको ग्रामीण इलाका उच्च पहाड़ी क्षेत्रमा कृषि उत्पादन हुंदैन । त्यहां पढाउन जाने शिक्षकहरुले १०-१५ जना विद्यार्थीलाई ट्युसन पढाउंछन्। शिक्षकले विद्यार्थीको घरमा प्रत्येक दिन सांझ विहानको खाना एक जना विद्यार्थीको घरमा खान्छन्। आज विहान सांझको खाना एक जना विद्यार्थीको घरमा खायो भने भोली अर्को विद्यार्थीको घरमा खाना खान जानुपर्छ। शिक्षकले १५ जना विद्यार्थी पढाएको भए पहिलो दिन खाना खुवाउने विद्यार्थीको पालो सोह्रौं दिनमा आउंछ अर्थात् एउटा विद्यार्थीले महिनामा ट्युसन पढाउने शिक्षकलाई चार छाक खुवाउनु पर्छ। यो रुटिन वमोजिम हामी रिप पुग्दाको दिन ढकाल सरले खाना खाने घरमा चामल थिएन रे। वहाँहरु १/२ घन्टा १ किलो चामलको खोजीमा गाउं भरी घुम्नु भएछ। येनकेन एक घरमा चामल पाइए पछी उहांहरुले आफ्नो खाने पालो परेको घरमा पकाउन दिनु भएको रहेछ ।
हामीलाई खाना खाने घरमा भित्र बोलाइयो । सल्लाको झरोको प्रकाश देखाउंदै हामीले पहिलो कोठा, दोश्रो कोठा, तेश्रो कोठा हुंदै चौथो कोठामा पुग्यौं। अंगेनाको छेउंमा नाकमा ठूलो वृताकार वुलाकी लगाएकी भाउजु, नियालेर भाउजुलाई हेर्दा वुलाकी वरिपरि सुकेको सिंगानको घेरा, सल्लोको झरोको प्रकाशमा घरभेटी दाजुले आफ्नो दौरा काढ़ी किची किची जुम्रा मारेको दृष्य, घरभेटी दाजुको नजीकै नांगै हिंड्ने चार पांच वर्षको मालन्युट्रेसनले पिडित बच्चाले लिती लिती विस्टाएको दृष्यको वीचमा भाउजुले पकाएको खाना खान बसियो । भात भए पछी दक्सुको भए पनि श्रद्धा पूर्वक खाइन्छ भन्ने वुढा पाकाहरुको उखान झैं भाउजुले पकाएको मोटा चामलको भात र हलहलेको सुकासागको झोलसित मुस्किलले भोजन गरियो। कर्णाली अन्चलमा तोरी उत्पादन हुंदैन।तोरी मात्र होइन अरु ठाउंमा जस्तै कुनै पनि प्रकारको तेलहनको उत्पादन हुंदैन । त्यहां प्रयोग हुने भुटुन या त जंगलमा पाइने ढटेलोको हुन्छ वा जंगली ओखरको । हलहलेको तरकारी र ढटेलोको तेल भए पछी त्यो तरकारी तितो हुन्छ त्यहि तितो सुकेसागको तरकारीसंग भात खांदै गर्दा भाउजुले हाम्रो मुखमा हेरी दयाभावमा भन्नु भो; “ कठै! उइथा ठाम्का मान्ठा यइथा ठाममा आइकन क्या खांदा हौ दे”। यस्को अर्थ कति राम्रो ठाउंमा बसेका मान्छे यस्तो ठाउंमा आएर के खान सक्थ्यौ? कर्णाली अन्चलतिर आश्चर्य प्रकट गर्दा एउटा शव्द “दे” भनी औंलो ठड्याएर आफ्नो नाकमा लगी झट्का साथ तल झार्छन्। भाउजुले पनि यसरी नै हाउभाउ देखाउनु भयो। हामीले नखांदै ती दुइ जना साथीहरुले खानु भएन। हामी खाना खाई बाहिर आयौं उहांहरुले के खानु भो थाहा भएन।
त्यो वेला मलाई कलकत्तामा जन्मिएका प्रशिद्ध चिन्तक, कवि, उपन्यासकार तथा निवन्धकार रविन्द्र नाथ टैगोरले लेखेको फ़ोर थिंग्स भन्ने निवन्धको याद आयो। उनी भारतको उत्तरान्चल, विहार र अन्य ठाउंमा यात्रा गर्दा भारतीय जनताहरुको गरिवी, संस्कार, पिछाडिएको आर्थिक अवस्था र शिक्षा सम्वन्धमा लेखेको यात्रा संस्मरण गर्दै दुर्गम र पिछाडिएको ठाउंका मानिसहरुलाई गोव्रे किराको संज्ञा दिएका छन्। कुनै ग्रामीण भेकका मानिसहरुले इन्धनको अभावमा दिन भर गोवरको दाउरा बनाउने वाध्यता भएकोले ती जनताहरु गोवरमा जीवन गुजार्ने गोव्रे किरा र भारतको उत्तरान्चलमा हिंउं परी जाडो हुने भएकोले उनीहरुको घरमा एउटा मूल प्रवेश द्वार हुने त्यो ढोका पछी अर्को कोठामा प्रवेश गर्ने अर्को द्वार हुने, कोठाहरु ४/५ वटा पनि हुने तर झ्याल नहुने भएकोले त्यहांका वासिन्दालाई पनि गोव्रे किराको संज्ञा दिएका छन्। त्यसको कारण के हो भने प्रथमत: गोव्रे किरा गोवरको गैंठामा रमाउंछ अर्को कुरा गोवरको डल्लो भित्र पस्दा उसले एउटै प्रवेश द्वार बनाउंछ त्यो एउटा प्रवेश द्वार नै उसको भित्री र वाह्य गमनको द्वार हुन्छ । हामी पनि खाना खान जुन द्वारबाट प्रवेश गरी गयौं त्यो द्वार वाहेक वाहिर निस्कने अर्को द्वार थिएन र झ्याल त झन् थिएन।एसएलसीमा पढेको रवीन्द्र नाथ टैगोरबाट लिखित फ़ोर थिंग्स भन्ने पाठको प्रत्यक्षिकरण त्यो वेला मात्र भयो।
रिपको गाउंमा एक रात विताए पछी हामी अर्को दिन विहानै सर्केगाढको हाइस्कूलको लागि बाटो लाग्यौं। गाउं छाडी करिव ४५ मिनटको दूरीमा रिप निमावि रहेछ। कर्णालीको तीर भए पनि बाटो अली माथी गाउंबाट थियो। रिपबाट सर्केगाढ जाने बाटोमा करिव दुई घन्टा हिंडे पछी एक दुई चिया पसल फेला परे। चिया विस्कुट खाएर हामी तराईको जस्तो सम्मो परेको बाटै बाट दिउसो १ बजेतिर सर्केगाढको स्कूलमै पुग्यौं। एकातिर हामीले आफ्नो तथ्यांक संकलन संवन्धी काम गर्दै गयौं भने अर्कोतिर शिक्षक साथीहरुले खाना पकाउंदै गर्नु भो। तीन वजेतिर विहान सांझको खाना एकै पटक खाए पछी हामी सर्केगाढ स्कूलमै वास बस्यौं किन कि त्यहांबाट हिंडे बाटोमा वास बस्ने ठाउं नै थिएन।
भोली पल्ट हामी लाली गाउंको वारी पट्टी कर्णालीको किनारै किनार दार्मा पुग्ने लक्षसाथ अंघी बढ्यौं। एकान्त बाटो र जंगल, छंग छंग बग्ने कर्णालीले हामीलाई एकांकी यात्री बनाएको थियो। करिव १० बजे विहानको समयमा हामी दुई कर्णालीको दोभानमा पुग्यौं। त्यहां कर्णालीमा एउटा झोलुंगे पुल देख्दा विकासले हुम्ला पनि देखेछ त भन्ने अनुभूति भयो। कर्णालीको त्यती लामो पुल कसरी बने होला भन्ने सोंचाईमा एक छिन घोत्लियौं। नेपालगन्जमा कसैले हुम्ला जाने मानिसलाई एक किलो चीनी सित्तैमा दिए पनि जहाजको ढुवानी दर पचास प्रति किलो हुदो रहेछ भन्ने हामीले भोगेकै थियौं। त्यती मोटा र लामा फलामका लट्ठा ल्याउन कति खर्च लागे होला, त्यो पुल कस्ले बनाए होला ? यस्तै प्रश्नमा गुनगुनाउंदा पछिल्लो प्रश्नको उत्तर पुलकों बोर्डमै भेटियो त्यो हेल्वेटास भन्ने संस्थाले बनाइदिएको रहेछ।
उत्तर पूर्वबाट बगेर आउने लोती कर्णाली र उत्तरतिरबाट बगी आउने मूल कर्णाली मिल्ने ठाउंको दोभानबाट दायांतिर लाग्दा हुम्लाको पश्चिमी क्षेत्र जाने बाटो भएकोले हामीले उक्त झोलुंगे पुल नतरी वायां तर्फ लाग्यौं। लोती कर्णालीको माथी भीरबाट गएको भिरालो बाटो काट्दा तल हेर्दा लोती कर्णालीतिरको छांगो नदेखियोस् भनी छाताले दायां तर्फको भीर ढाकी वायां हातले भीरको भित्तो समाउंदै होसियारी पूर्वक येनकेन भीर पार गर्यौं। केहि समय उकालो बाटो काटी हामीले पिप्लांग गाउंमा प्रवेश गर्यौं। विहानको वाह्र बजिसकेको थियो। झोलामा भएका चीउरा, चाउचाउ र विस्कुटले हामी वाक्क थियौं।पिप्लांग गाउं आउंदा हामीले पक्कै आटो पिठो रोटी वा ढिंडो जे भए पनि पक्कै किनेर खान पाउंछौं भन्ने सोंचेका थियौं। खाना सोध्दै बाटो काट्दै गर्दा हामी पिप्लांग गाउंको छेवै तिर पुगिसकेछौं। त्यहांबाट दार्मा अग्लो पहाडको धुरीमा देखिन्थ्यो। केहि नखाइकन हामीले त्यो भीमकाय उकालो काट्न सम्भव थिएन। अन्त्यमा सुस्केरा हाल्दै एउटा घरमा पसी हामीलाई जे भए पनि खान दिनोस् पैसा तिर्छौं भनी आग्रह गर्दा उवाको जांड छ खाने भए पैसा तिरी खानोस् भन्दै एक महिला घर भित्र पसिन् । ल त्यहि भए पनि ल्याउनु होस् भनी आग्रह गरे पछी कुनै सितन विना एक धार्नी जांड बनाउन लगाएर खायौं। पेट भरियो, जांडको हल्का नसाले शरीरमा केहि स्फूर्ति दियो त्यहि झोंकमा हामी दार्माको उकालो लाग्यौं। दार्माको ठाडो उकालोमा पानी तिर्खा लाग्दा पानी नपाइने ठाउं, बाटो र गाउं अली वरपर मुख सुकाउंदै हामी दार्माको उकालोको मध्य भागमा जांदा बाटोमा एउटा शिला लेख देख्यौं। शिलालेखमा सो ठाउंबाट काठमांडू पुग्न सायद सोह्र सय भन्दा बढि कोष भएको कुरा उल्लेख थियो। राणाकालमा कर्णाली क्षेत्रको मार्सी चामल र महत्वपूर्ण जडीवुटीहरु हुलाक मार्फत दरवारमा पुर्याउन र अन्य प्रशासनिक काम गर्न सहयोग हुने गरी त्यो शिलालेख तयार गरिएको हुन सक्छ ।
हामी करिव पाँच बजेतिर दार्माको मा वि मा पुग्यौं। त्यहां पुग्दा मेरो घनिष्ट साथी राजेन्द्र आचार्य सर प्रअ हुनु भएको र छवी पन्थी लगायतका रमाइला शिक्षक साथीहरु हुनाले दिल खोलेर कुराकानी र खानपिन गरी सरहरु बस्ने स्कूलकै क्वार्टरमा सुत्यौं र तथ्यांक लियौं। अव हामी कामको उत्तरार्द्धमा थियौं अर्थात् ९०% काम सकेका थियौं। सेम्प्लिंगमा परेको अन्तिम मावि श्रीनगर जानु थियो। साथीहरुसंग छलफल गरी बाटो र वास बारे जानकारी लियौं। साथीहरुको वीचमा मतान्तर भयो। एक थरीले १४ घन्टामा दार्मा पुग्न सकिने भएकोले हिंडाईको गति बढाई श्रीनगर नै पुग्ने सुझाव दिए। यस्तो सुझाव दिनुको मुख्य कारण बाटोमा वास बसे औलो लाग्छ भन्ने थियो। यसरी जोड दिनेमा छवी पन्थी जी हुनुहुन्थ्यो। राजेन्द्र सरले भने बाटो निकै लामो र श्रीनगर चढ्ने ठाडै उकालो भएकोले वीचमा वास बसी आरामले अर्को दिन पुग्ने सुझाव दिनु भयो। अन्त्यमा हामी साथी छवी पन्थी कै सुझाव अनुसार मलेरियाको डर मानी दार्माबाट श्रीनगर पुग्ने लक्ष राखी विहानै हिंड्यौं।
दार्माको ओरालो, पिप्लांग हुंदै फेरी हामी हेल्वेटासले बनाएको झोलुंगे पुल तरी कर्णालीको तीरै तीर जैर, तुंग्च हुंदै मकै भन्ने स्थानमा पुग्यो। चीउरा र चाउचाउ चपाउंदै मकै पुग्दा करिव ३ः३० बजेको थियो। हामी आज दार्मा देखि आएको भन्दा मकैका मानिसहरु दंग परे। थकाइ लागे पनि हामी मकैबाट गल्छा ( श्रीनगरको फेंदी) तिर लाग्यौं। शरीरले हामीलाई गल्छा मै बस्ने आदेश दिन्थ्यो तर हाम्रो कानमा औलो लाग्छ भन्ने छवी पन्थीको आवाज गुन्जिन्थ्यो। त्यसैले सांझ सात बजे भए पनि श्रीनगरको उकालो चढ्न थालियो। त्यो वेला हामीले बोकेका ५/७ किलोका झोलाहरु अत्यन्त गह्रौं भए। खुट्टाका पिंडौला छामी नसक्नु भए। संयोग कुनै गाउं वेसी वा बजारबाट श्रीनगर फर्कने १०/१२ जना महिला पुरुषको ताँती हाम्रो पछी पछी उकालो चढ्दै आयो। उनीहरुले हाम्रो सुस्केरा र रोकिई रोकिई हिंडेको भाषा वुझे । हामीलाई सोधे, श्रीनगर जानु पर्ने कारण सोधे। उनीहरुले दार्माबाट एकै दिनमा त्यहां पुगेको भाषा वुझे। हाम्रो झोला मागी आफै बोकिदिए।
हामीलाई नछोडी गफमा भुल्याउंदै श्रीनगरको ठाडो उकालो लगभग दुई घन्टामा चढाई श्रीनगर माविमा पुर्याईदिए। त्यो उकालो चढ्दा मलाई प्रा डा तारानाथ सर्मा लेखेको घनघस्याको उकालोको याद आयो।
श्रीनगर स्कूलमा राती नौ वजे पुग्दा स्कूलमै बस्ने प्रअ हरि गोर्खाली, मेरो प्यारो विद्यार्थी शान्ती दुवाडी (शिक्षिका) लगायत ६/७ जना सरहरुले खाना खाइसक्नु भए पनि हामीलाई खाना पकाइदिनु भयो। लामो कठिन यात्रा पछी रातको सुताई शरीर दुखेर सिटामोल खानु पर्ने भयो। अर्को दिन विहान हामीले स्कूलमा सर र मेडमहरुसंग क्वेशनायर तेर्सायौं । त्यस पछी हामी नेकपा एमालेका नेता श्री गोरख बहादुर बोगटीको घरमा तथ्यांक लिन जानु पर्ने थियो। उहांकै आग्रहमा हामीलाई त्यो विहान खाना खाने निमन्त्रणा थियो। हामीले गोरख जी को वुवालाई डेमोग्राफिकल क्वेसन सोध्न थाल्यौं। हामीले सोध्यौं;
वुवा हजूरको घर परिवार संख्या कति छ?
वुवाबाट उत्तर आयो; नव्वे (९०)।
हामी आश्चर्य चकित भयौं। त्यहां संयुक्त परिवारको प्रचलन रहेछ। विभिन्न ठाउंमा जग्गा छन्। छोरा, नाती र पनातीको परिवार ती ठाउंहरुमा कृषि र पशुपालन गरेर बसेका छन्। मेला पर्वमा एकै ठाउं सबै परिवारले मनाउंछन् कति रमाइलो । त्यो समुदायको प्रचलन अहिलेको हाम्रो समुदायसंग तुलना गर्दा यो कुरा काल्पनिक कथा जस्तो हुन्छ । गोरख जी को विवाह पाल्पा अर्गलीमा भएको रहेछ । पाल्पाली वहिनीलाई भेट्दा मैले हुम्ला भुले जस्तै वहिनीले पनि हुम्ला भुली कतै रिडीतिर हाम्रो भेट भएको हो कि भन्ने महशुस भएको कुरा खाना पस्कंदै गर्दा भन्नु भो। सांझ पंख मेरै गाउका भाई लोकराज पन्थी पनि त्यहि विद्यालयमा पढाउने र छुट्टै घरमा बस्ने हुनाले खाना खान लैजानु भो। घरको वाहिर मैले झुप्प परेका ३/४ वटा साना साना विरुवामा मसिना दाना निकै फलेको देखें र विरुवाको नाम सोधें। ती जीरा मसलाका बोट भएको लोकराज जी बाट उत्तर आउंदा जीरा खेती लेकमा पनि हुंदोरहेछ भन्ने ज्ञान पाएं।त्यो सांझ स्कूलमै बसी रमाइलो गरी भोली पल्ट श्रीनगर छाडी बाजुराको कोल्टी हुंदै नेपालगंज फर्कने योजना बन्यो र अर्को विहान गल्छा नझरी अर्कै बाटो कोल्टीको लक्ष लिई प्रस्थान गर्यौं। श्रीनगरबाट कोल्टी पुग्न नदीको किनारै किनार हिंडे पनि एक दिन लाग्दो रहेछ तर त्यो बाटो एकान्त रहेछ । हामी केहि उकालो चढेको भए मैला गाउं हुदै जानु पर्ने रहेछ तर हामीले छोंटो बाटो अनुशरण गर्यौं। बाटोमा कवाडी, रुगीनको तल्लो भाग हुंदै वोल्डी पुग्दा हुम्ला जिल्ला छोड्यौं। वोल्डीबाट कोल्टी पुग्दा अढ़ाई घन्टा लाग्दो रहेछ। उमेर र नयां यात्री भएकोले हामी कोल्टी बजारमा चार बजे नै पुग्यौं।हतपत भोली पल्ट १२ बजेको प्लेनको टिकट काटी होटल खोजी वास बस्यौं। त्यती लामो यात्रामा सिमिकोट बाहेक कहिं पनि हरियो सागपात हाम्रो भान्सामा देखिएन। अर्को दिन हामी नेपालगंज फर्किई रात्री बसमा काठमांडू लाग्यौं।
यो यात्रा संझदा हुम्लाका जनताहरु कहिले सुखी र खुसी हुन पाउलान् भन्ने मलाई लागिरहन्छ। त्यो यात्रामा हामीलाई असिम माया गर्ने सबै सबै प्रति म नतमस्तक छु। सधै उहांहरुलाई संझिरहनेछु र देश निर्माण गर्छु भन्ने नेताजी हरुलाई मेरो आग्रह छ नेपाल हेर्न हुम्लाका गाउंमा १५ दिन घुम्नुस र योजना बनाउनुस्। समृद्धिका गफ चुट्न योजना कार्यान्वयन गर्नुस्। हुम्ली जनताको मुहारमा मुस्कान खोज्नुस तव मात्र मैले तपाईंलाई विश्वास गरुला। अस्तु।।