बिहिबार, जेष्ठ १४, २०८३

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी जीवनी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी
लेनिनको मृत्युपछि सिङ्गो रुस र विश्वलाई नै समाजवादीदिशातिर डोर्याउन स्टालिनले ठूलो भूमिका खेल्नु भएको थियो । जीवनभर सर्वहारा वर्गको निम्ति संघर्षरत स्टालिन कम्युनिस्टहरुका लागि आखाँको नानी हुनुहुन्थ्यो

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो । स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा नै बितेको थियो ।

सन् १८८८ को शरदमा स्टालिन गोरीमा पादरी स्कुलमा भर्ना हुनुभयो र त्यहाँबाट १८९४ मा तिफ्लिसस्थित कट्टरपन्थी अध्यात्मवादी पाठशालामा भर्ना हुनुभयो । उहाँको पढाई अत्यन्त राम्रो थियो । उहाँको जेहेन्दार मतिष्कमा राजनीतिक चेतना पनि ओतप्रोत भएको पाइन्छ ।

त्यसताका औद्योगिक पुँजीवादको विकास र मजदुर आन्दोलनको वृद्धिसँगसँगै रुसभरी मार्क्सवादको व्यापक प्रचार हुन थालेको थियो । लेनिनद्वारा स्थापना र नेतृत्व गरिएको मजदुर वर्गको मुक्तिका लागि सेन्ट पिटर्सवर्ग सङ्घर्ष लिगले देशभर सामाजिक–जनवादी आन्दोलनको विकासलाई बलियो प्रेरणा दियो । पन्ध्र वर्षको उमेरमा स्टालिन क्रान्तिकारी बन्नुभयो ।

आफ्नो किशोर उमेरदेखि नै स्टालिनले स्कुले शिक्षाभन्दा मार्क्सवादी शिक्षालाई महत्त्व दिन थाल्नु भयो । स्टालिनले आफ्नो ज्ञान फराकिलो पार्न कडा मेहनत गर्नु भयो । उहाँले पुँजी, कम्युनिस्ट घोषणापत्र र मार्क्स र एङ्गेल्समा अन्य कृतिहरुको अध्ययन गर्नुभयो । त्यसबेलाका लेनिनका लेखहरुले पनि उनको किशोर मतिष्कलाई गहिरो प्रभाव पार्यो । स्टालिनको सैद्धान्तिक चाखको क्षेत्र औधी फराकिलो थियो ।

उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास र प्राकृतिक विज्ञानको अध्ययन गर्नु भयो । उहाँले उत्कृष्ट साहित्यिक कृतिहरु व्यापकरुपमा पढ्नुभयो । स्टालिन एकजना शिक्षित मार्क्सवादी बन्नुभयो ।

राजनीतिक चेतनाले ओतप्रोत स्टालिनले राजनीतिक अध्ययनकोसाथै राजनीतिक गतिविधिलाई पनि अगाडि बढाउनु भयो । स्टालिन अब तिफ्लिस सामाजिक–जनवादी संगठनमा एकजना सबभन्दा सक्रिय प्रमुख सदस्य बनिसक्नु भएको थियो ।

“१८९८–१९०० मा तिफ्लिस संगठनको नेतृत्वकारी, केन्द्रीय सामाजिक–जनवादी डफ्फाको जन्म र विकास भयो । तिफ्लिसको केन्द्रीय सामाजिक–जनवादी पार्टी संगठनको निम्ति निकै क्रान्तिकारी प्रचार कार्य र संगठननात्मक काम गर्यो ।” यस डफ्फाका नेता स्टालिन हुनुहुन्थ्यो । यसरी स्टालिन रसियन कम्युनिस्ट आन्दोलनको एक सक्रिय नेताको रुपमा आफूलाई अगाडि बढाउनु भयो ।

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनप्रति उहाँको आगाध आस्था थियो । लेनिनको क्रान्तिकारी प्रतिभामा स्टालिनको अपार विश्वास थियो । उहाँले लेनिनको बाटोलाई आफ्नै बाटो ठानेर ग्रहण गर्नुभयो । उक्त बाटोबाट उहाँ कहिल्यै विचलित हुनु भएको छैन र लेनिनको निधनपछि स्टालिनले विश्वास र साहसकासाथ लेनिनको कामलाई अगाडि बढाउनु भयो । मार्क्सवाद–लेनिनवादलाई रुसी भूमिमा लागु गराउन स्टालिनको ठूलो महत्त्व रहेको छ ।

रूसी अक्टाेबर समाजवादी क्रान्तिमा लेनिनसँगै स्टालिनको पनि ठूलो भूमिका छ । लेनिन भुमिगत रहँँदा स्टालिनले आफ्ना गुरु र मित्रसित पत्र–व्यवहारद्वारा घनिष्ट सम्पर्क राख्नुभयो । लेनिन र स्टालिनले हिम्मत विश्वाससाथ दरो र होशियारीपूर्वक समाजवादी क्रान्तितर्फ, सशस्त्र विद्रोहतर्फ पार्टी र मजदुरवर्गलाई बढाउनु भयो । उहाँहरु नै महान् अक्टोबर समाजवादी क्रान्तिको विजयको प्रेरणादाता र संगठनकर्ता हुनुहुन्थ्यो ।

सोभियत सरकारको स्थापनादेखि १९२३ सम्म स्टालिन जातीय मामिलासम्बन्धी जन–कमिस्सार रहनु भयो । जातीय समस्या समधान गर्न पार्टी र सोभियत सरकारद्वारा चालिएका सबै पाइलाहरुमा उहाँले व्यक्तिगतरुपमा निर्देशन दिनुभयो । लेनिन र स्टालिनको निर्देशनमा, मजदुर र किसानहरुले जारका उपनिवेशहरुलाई सोभियत गणतन्त्रमा फेर्न थाले ।

लेनिनको मृत्युपछि सिङ्गो रुस र विश्वलाई नै समाजवादीदिशातिर डोर्याउन स्टालिनले ठूलो भूमिका खेल्नु भएको थियो । जीवनभर सर्वहारा वर्गको निम्ति संघर्षरत स्टालिन कम्युनिस्टहरुका लागि आखाँको नानी हुनुहुन्थ्यो भने मुठ्ठीभर जारहरुका लागि आखाँको कसिङ्गर हुनु हुन्थ्यो । ठूलो मेहनत र परिश्रम गरेर उहाँले रुसलाई समाजवादी बाटोमा कुशलतापूर्वक हिँडाउनु भयो र विश्वलाई सकरात्मक सन्देश दिनु भयो ।

स्टालिन आज हाम्रो सामु हुनुहुन्न । सन् १९५३ मार्च ५ मा कमरेड स्टालिनको निधन भयो तर पनि उहाँले छोडेर जानु भएको सन्देश र कम्युनिस्ट शिक्षा हाम्रो सामु ताजै छ । उहाँले छोडेर जानुभएको कर्मलाई पूरा गर्नु नै हामी कम्युनिस्टहरुको दायित्त्व हो र स्टालिनप्रतिको सच्चा श्रद्धाञ्जली हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal