सोमवार, अशोज २१, २०८१

झण्डै मरेको दिन

झपेन्द्रराज बैद्य

एक पटक म बनारसबाट आउँदै गर्दा रापती नदीमा आएँ। नदी निकै ठूलो थियो। गोधुलीको समय थियो। मैले आधाघण्टा सम्म नदीलाई एक टकले हेरेँ। नदी आफ्नै गतिले बहिरहेको थियो। पानीका छालहरु वरै सम्म आउदै जाँदै गर्दथे। सुनसान थियो वातावरण। अलि तलैबाट एउटा मानिस नदी तर्दै थियो। उसले आफ्नो सरसामान एउटा झोलामा राखी टाउकामा फेटाजस्तो गराई बाँधेको थियो। उसको मुख मुख सम्म पानी आएको थियो। कुल्ला गरेको जस्तो गरी मुखबाट पानी फालिरहन्थ्यो। उ तैरनलागेको देखेर म पनि खोला पसेँ। उसले हातको साँधबाट तल तल भनेर बताई रहेको थियो।
म खोलामा जाकिएँ। निकै गहिरो रहेछ। पौडन पनि आउँदैनथ्यो। नवारी आउन सक्थेँ नपारी जान सक्थेँ। अब म छड्के छड्के परेर अलि तल गएँ। त्यस पछि सीधै तर्न थालेँ। अनि तैरदै गर्दा पानी सानो हुदै गयो। बल्लतल्ल म नदी पारी जान सफल भएँ। साँझको समय म बगेको भए त्यहाँ मलाई देख्ने मानिस कोही थिएनन्। ती बूढा मानिस पनि अध्यारोमा कता हराए। थाह भएन। त्यस नदी पारी लालमटियामा बास बसे वा सीधै भालुवांग गएर बसेँ अहिले थाह भएन।
अर्को आफूलाई हराएको सँस्मरण। मैले बोहरागाउँ बाग्लुंगमा अध्यापन गर्थेँ। त्यस दिन पार्टीको बैठक पनि राखिएको थियो। पन्चासी लेखमा पुग्दा साँझ परिसकेको थियो। बर्षाको समय सीसीम पानी। कुहीरो डम्म थियो। खरी जुकाले हात खुट्टा रक्त्याम्मै थिए। तल झर्न मैले बाटो बिराएँ। बाटो हरायो।आफ्ना साथीहरुलाई म अगाडि बढें भनेर जानकारी दिन बाटामा स्याउला पत्थरले चाँपने चलन रहेछ। बाटामा स्याउला चापेको पनि देखिएन। खौला पहरामा लडी बुडी गर्दै गर्दै म दुई घण्टा जति घनघोर जंगलमा संघर्ष गरें। बल्ल तल्ल राती ८ बजे तल देबी थानमा झर्न सक्षम भएँ। फेदीमा भएको एउटा भट्टी भनौ वा होटलमा गएँ। त्यहाँ सबैले कसरि आउनु भयो? भनेर चिन्ता ब्यक्त गरे। अघिल्लो दिन एउटा बाघले त्यही बनमा घाँस काट्न गएको युबकलाई आफ्नो आहारा बनाएको दुःखद घटना भएको रहेछ। त्यही घटना मेरो एउटा उपन्यासमा एउटा प्लटमा जोडेको छुँ।
बोहरा गाउँ स्कूलबाट म बाग्लुंग जाने आउने गर्थें। एक दिनको कुरा हो। बाग्लुंग बजारबाट म बोहरा गाउँ आउँदै थिएँ। साथमा एउटा झोला र छाता थियो। म बाटोमा हिँड्दै थिएँ। तल पट्टी निकै गहिरो थियो। हेर्दा रिंगटा लाग्थ्यो। बाटाको चौडाई मश्किलले एक फीट थियो। कुनै कुनै ठाउँ त पैतालालाई ठाउँ पुग्दैनथ्यो। अब भयो फसाद । पश्चिमबाट गाईहरु कर्लंग कर्लंग घण्टी हल्लाउँदै लस लस आउन थाले। म पश्चिम तिर आउँदै थिएँ। गाईहरु पूर्व तिर आउँदै थिए। बाटो भने फरक्क फर्किन बन्दैनथ्यो। किं कर्तब्य बिमूढ। म पहरातिर लेप्सीएर बस्ने हो भने गाईहरुका भूडिले मलाई ठेलिहाल्थे। बल्ल तल्ल कोखेपरेर म उल्टो दिशा तिर फर्कन सफल भएँ। त्यस पछि गहिरो सास फेर्दै एक किलोमिटर जति लम्कदै हिँडेँ। अलि फराकिलो बाटामा भित्ता तिर टाँसिएँ म। गाईहरु सरासर आफ्नो बाटो लागे। संयोग भन्नुपर्छ। गाईहरुले तीखा तीखा सिंगं हल्लाएनन्। म झण्डै झण्डै बाँच्न सफल भएँ। गाई पार गरिसके पछि म अबाउट टर्न भएँर हिड्न थालें तर दुई किलो मिटर पारगर्दा पहिरोले बाटो सम्मै गराएर पुरेको थियो। बर्षाको समय करीब एक घण्टाको बिचमा ठूलै पहरो झरेको रहेछ। बाँदर जस्तै पहिरो माथि माथि बाट फड्किदै फड्किदै हिड्न थालें। पहिराको बीच बीचमा ठूला ठूला अजंगका पत्थर अडेर बसेका थिए। त्यही बिशाल पत्थर माथिबाट म ह्दिै थिएँ म। मजबुर भए पछि वारको पार लडाई गर्नुपर्दो रहेछ। त्यसैले त सर्वहारा बर्गले गए एउटा ज्यान आए संसार भनेर पुँजिपति बिरुद्धको लडाईं जित्नेरहेछन्। हिम्मत गरेर अगाडि बढे पछि अवश्य सफल भइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?