बिहिबार, अशोज २४, २०८१

भवनाथ दाइको घरमा मेरा एक जोर कपडाहरु

लिल बहादुर केसी

दशैंको झरीको मौषम, अहिले दशैंको टीका नलगाउने पारिवारिक सल्लाह वमोजिम कतै बाहिर निस्किएन। त्यही वेला विगतका कुराहरुको स्मरण गर्दा र साथीहरु तथा परिवारका सदस्यहरुलाई शेयर गर्दा जस्ले पढ्छ उस्ले अनुभव गर्छ भन्ने हेतुले लेख्न थालें। जीवनको पछिल्लो समय कतै अल्ज़ाइमर जस्तो खतरनाख रोग भयो भने मेरा विगतका अनुभवहरु शेयर गर्ने मौक़ा मिल्ने छैन भनी सम्झिएका मुख्य घटना र क्षणहरुलाई संक्षिप्त रुपमा पस्किने प्रयत्न गर्दैछु।
२०४१ सालमा म पृथ्वी मा वि पुर्कोट दहबाट विद्यालय सन्चालक समितिले निर्णय गरी अंग्रेजी शिक्षकको कोटामा मलाई आधा तलव दिई पढ़ाई सकेपछी उक्त स्कूलमा सेवा गर्ने सर्तमा त्रिभुवन यूनिवर्सिटीमा पढ्न पठाइयो।त्यो अवसर मेरो लागि अत्यन्त महत्वपूर्ण अवसर थियो। यस्को श्रेय मेरा गुरु तथा आदरणिय दाजु खिमानन्द पन्थी तथा तत्कालीन सन्चालक समितिका पदाधिकारीहरु श्रद्धेय मु कृष्ण बहादुर कुवर, दुर्गाबहादुर कुवर, चक्र बहादुर कुवर तथा चेत बहादुर ज्यू हरुलाई जान्छ र सवै प्रति मेरो नमन छ।यस्तो अवसर मैले पाउनुमा मेरो विद्यालय प्रतिको योगदान पनि हो जस्तो लाग्छ। मेरा विद्यार्थीहरुसंग म सधै नजिकिन खोज्नु, उनीहरुको पढाइमा चासो राखी सफलता तर्फ प्रोत्साहित गर्नु, विद्यालयको विग्रिएको एस एल सि को रिजल्टलाई सुधार गरी उचाइमा पुर्याउनु, दुर्गम साधारण स्कूलको विद्यार्थीले सेन्टअपमा अंग्रेजीमा ९२% सम्म अंक ल्याउनु (यमलाल भुसाल हाल सहसचीव नेपाल सरकार) , त्यो उत्तर पुस्तिकालाई नमूना उत्तर पुस्तिका ठानी गुल्मी जिल्ला भर लीथोकपी गरी प्रत्येक हाइस्कूलमा नमूना उत्तर पुस्तिकाको रुपमा पठाउनु , विद्यालयको भौतिक संरचना निर्माणमा रातदिन खट्नु, तत्कालीन पुर्कोट दह्रको विकासका लागि लेख रचना तथा विन्तिपत्र हाल्नु, समाजका विकृति विसंगतिहरुको विरुद्ध आवाज़ उठाउनु आदि मैले त्यो ठाउंमा छाडेका स्मृति योग्य विषयवस्तुहरु हुन।राजनीतिमा अन्तरविरोध र मेल नभए पनि म पाँच कक्षाको औपचारिक शिक्षामात्र लिएका आदरणिय चक्र बहादुर कुवर ज्यू को विकास प्रेमी भिजन प्रति नतमस्तक छु।मेरो पन्चायत विरोधी राजनीति र वहांको पन्न्च राजनीतिको वीचमा मेल खाने कुरा संभव थिएन ता पनि पुर्कोटको ग्वारीमा हवाई मैदान, ग्वारी खोलामा डम्पिंग वाल लगाई बन्ने विशाल तलाऊ, विद्युत उत्पादन, खानेपानी, पुर्कोट र टिमुर खर्कको विशाल सिंचाई योजना, मदानेको लेकका जडीवुटीबाट बनाउनु पर्ने प्रशोधन केन्द्र तथा केकी देउरालीको सामरिक महत्वको इतिहास उजागर गर्ने प्रतिक आदि वहांका अति महत्वाकांक्षी योजना थिएं त्यस योजनाको समर्थनगर्दै मैले वहांको सोंच बमोजिम ३ पटक मन्त्री र राजदरवारमा निवेदन लेखेको पनि हुं।राजनैतिक परिवेशले वहांलाई र मलाइ वाध्य पारेको हुनसक्छ मैले विद्यालयमा बसेर सेवा गर्न नसक्ने परिस्थिति बन्यो।
वि एड गर्दै गर्दा म तत्कालीन राजनीतिको एउटा मुख्य भूमीका निर्वाह गर्ने काठमांडूको स्थानीय कार्यकर्ता हुन पुगें। पार्टीको विभाजन पछी अत्यन्त कमजोर भएको पार्टीमा रामराजा प्रसाद सिंहको पार्टीलाई अल्पमतमा पारेर आएका तत्कालीन अवस्थाका जल्दाबल्दा साथीहरु शोभाकर धनन्जय, राम कार्की, कैलास कार्की, कुमार पौडेल र दिलीप चौधरी लगायतका साथीहरु साथी बीन बहादुर कुवर जी को सम्पर्कमा आएका थिए। उनीहरुले रामराजा प्रसाद सिंहबाट अलग भई मार्क्सवादी विचार मन्च गठन गरी अध्ययन गर्दै थिएं। अध्ययन गर्दा नेकपा मसालको राजनीतिलाई सहि ठानी पार्टीमा परीक्षणकालमा ६ महिना रहने गरी पार्टीयाँ आवद्ध भई काम गर्ने जिम्मा लिए। तद्अनुरुप राम कार्कीलाई सोलुखम्वुको सल्लेरीको हाइस्कूलमा पढाउन पठाइयो, ओम जी लाई धादिंग, दिलीप र कुमारलाई नुवाकोट तथा शोभाकर धनन्जयलाई सिन्धुपाल्चोकको डांडापाखरको मा वि मा प्र अ को जिम्मा दिई पठाई त्यहि मा वि मा पढाउने बीन बहादुर कुवर र बलाराम बास्कोटालाई पार्टीको पूर्णकालीन कार्यकर्ताको जिम्मा दिइयो। जिम्मा दिए बमोजिम परीक्षण कालकोलागि खटिएका राम कार्की अत्यन्त तिक्ष्ण वुद्धि र ट्याक्टफूल नेता भएकोले उनले सल्लेरी मा वि मा गएको १/२ महिना मैं आफ्नो राजनैतिक प्रभाव जमाउन थाले। ११ जनाको दरवन्दी भएको मा वि मा ९ जना शिक्षकहरुलाई प्र अ हुतराज वस्नेत र तत्कालीन पन्च भूपाल किरांतीको विरुद्ध विद्यार्थी र शिक्षकलाई उत्रीन लगाई अनिश्चितकालीन विद्यालय बन्द गराएछन।उनीहरुलाइ यो कुरा सह्य नभएकोले राम कार्की लगायतका ९ जना शिक्षकहरुलाई बर्खास्त गरेछन। राम कार्किले सो घटना पार्टीमा म मार्फत पठाउनु पर्थ्यो।उक्त खबर मलाई एयर डकुमेन्ट मार्फत जानाकारी हुन्थ्यो र पार्टीमा रिपोर्टिंग गर्थें। अन्ततः राम कार्कीहरु र अन्य शिक्षकको टिम सर्वोच्च अदालतमा मुद्धा दिन काठमांडू आए। जागीर खाने इच्छा नभई बर्ग संघर्ष गरी पन्चायती शासन ढाल्ने उद्येश्य भएकोले उहांहरुलाई काठमांडूमा राख्ने कुरा भएन। बागमती व्यूरोले त्यो व्यवस्थापनको जिम्मा मलाई अप्रत्यक्ष रुपमा दिएकोले मैले कमरेड पोष्ट बहादुरको सहयोगमा राम कार्कीलाई नुवाकोटमाकाउले मा वि मा अर्को स्कूलमा पठाएं। त्यहां वहांले केहि समय पढाउनु भयो र संगठन निर्माण गरें पछी वहांलाई त्रीसुलीको तुप्चे मा वि मा पठाइयो।त्यतीवेला २०४२ साल थियो पन्चायती व्यवस्थाको विरुद्ध विभिन्न पार्टीहरुले आआफ्नै प्रकारका आन्दोलन गर्दैथिए। कांग्रेसहरुले सत्याग्रहको आन्दोलन गरेको बेला रामराजा प्रसाद सिंहले सिंहदरवार र ठमेलको एउटा होटलमा बम पड्काएर आफूले त्यो घटनाको जिम्मा लिए।बमकान्ड घटेपछी रामराजा प्रसाद सिंहको पार्टी र कार्यकर्ता भनी राम कार्की, शोभाकर धनन्जय लगायत सवैलाई वारेन्ट गरेकोले वहांहरुको टिमलाई भारतमा पठाइ तत्कालीन अवस्थामा सुरक्षित गरियो तर त्यस्को केहि समय पछी नेपाल र भारतको जाशुसहरुद्वारा शोभाकर धनन्जयलाई दिल्लीमा हिंड्दा हिंड्दै हत्या गरियो। उता दीलीप चौधरीलाई सहिद मित्रमणी आचार्यको स्मृति दिवस मनाउन नुवाकोटबाट काठमांडू आएको बेला आर आर क्यम्पसबाट पक्डी डिल्लीबजार खोरमा केहि समय राखी जेल सार्ने निहुंमा बाटो मैं मारियो।वहांलाई जेलमा रहंदा शायद अन्तिम पटक बुधवार भेट्ने व्यक्ती म नै हुं जस्तो लाग्छ।
यस्तो अवस्थामा नुवाकोटमा संगठन कमजोर भएको थियो।पोष्ट बहादुर बोगटी सेन्ट्रलजेलमा थिए। वहाँ पार्टीको इमान्दार नेता मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। नुवाकोट तुप्चे मा वि को ज़िम्मेवार सचेत सन्चालक समितिको मान्छे हुनुहुन्थ्यो।वहाँ र मेरो पार्टीमा मतभेद भए पनि विद्यालय विग्रियो भन्ने चिन्ता जेल मैं बसेको बेला पनि वहांमा रहेकोले जेलमा मलाइ भेट्न बोलाइ तप्चेको मा वि मा पढाउन जान अनुरोध गर्नु भो। संगठन निर्माणको चिन्ता भएको बेला साथी होमनाथ र कृष्ण बहादुर अक्षेको सल्लाहमा मैले त्यहां करिव ४ महिना पढाएं ।
बोगटी जी रिहा भए पछी अत्यन्त नजीक भै काम गर्यौं। म त्यतीवेला भवनाथ भन्डारी दाजुको घरमा बस्थें। स्कूलमा अंग्रेजी, गणित, विज्ञान समेत पढाउने भएकोले मेरो चर्चा राम्रो शिक्षकको रुपमा चुलिएको थियो। मलाई सरकारी तलव स्केल भन्दा ४००/ वढि दिइएको थियो। विद्यालय छोड्छ कि भन्ने सन्चालक समितिलाई चिन्ता थियो तर मैले मलाइ पढाएको पुरानो विध्यालयमा जानै थियो। त्यसैले त्यहांको विद्यार्थी, शिक्षक र सन्चालक समितिलाई ढाँटी मेरो एक ज़ोर सर्ट पाइन्ट तथा चूड़ामणि गौतमको ग्रामर लगायतका केहि पुस्तकहरु भवनाथ दाइको घरमा छोडी दशैं विदा पछी सबैलाई ढांटेर पुर्कोट आएकोले मेरा एक ज़ोर कपड़ा र अन्य सामान ल्याउने मौक़ा कहिल्यै परेन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?