शनिबार, साउन १२, २०८१

नयाँ जनवादी क्रान्तिकारीको उद्देश्यमा जोड दिँदै विद्यमान गणतन्त्रको रक्षाको लागि संघर्ष गरौँ ।

मोहन बिक्रम सिंह नेकपा मसाल महामन्त्री
विद्यमान गणतन्त्र र बहुदलीय व्यवस्था बुर्जुवा प्रकारका प्रणालीहरु हुन् । यिनीहरुद्वारा जनताका आधारभूत समस्याहरुको समाधान हुँदैन । त्यसकारण हामीले तिनीहरुलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र कायम गर्ने प्रयत्न गर्नु पर्दछ । त्यो कार्य लामो र क्रान्तिकारी संघर्षद्वारा नै पुरा गर्न सकिनेछ । तर त्यो टाढाको विषय भएपनि हामीले अहिले देखि नै त्यसका लागि जनचेतना र संघर्षको स्तर उठाउने तथा परिस्थिति तयार पार्न प्रयत्न गर्दै जानुपर्दछ ।
माथि नयाँ जनवादी गणतन्त्रबारे जे भनियो, त्यो रणनीतिक रुपले नै सत्य हो । तर त्यसको अर्थ तात्कालिक रुपमा विद्यमान गणतन्त्र वा बहुदलीय व्यवस्थालाई पूरै विरोध गर्नुपर्दछ वा त्यसलाई फाल्ने प्रयत्न गर्नुपर्दछ भन्ने होइन । विद्यमान व्यवस्थाहरु, निरङ्कुश राजतन्त्र वा तानाशाही व्यवस्था भन्दा प्रगतिशील हुन र नेपालको अहिलेको अवस्थामा तिनीहरुले सकारात्मक महत्व राख्दछन् । जनताको लामो संघर्ष वा वलिदान पछि नै ती प्राप्त भएका हुन त्यसकारण हाम्रो तात्कालिक दायित्व तिनीहरुलाई रक्षा गर्नु नै हुन्छ र हुनुपर्दछ ।

खास गरेर अहिले प्रतिगामी शक्तिहरुले, मुख्यतः भारतका कट्टर हिन्दुवादी शाषकवर्गहरु, को आडमा गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुर्नस्थापना गर्न र नेपाललाई हिन्दु राष्ट्र बनाउन अभियान चलाईरहेको बेलामा हामीले पनि, चाहे त्यो क्रान्तिकारी उद्देश्यद्वारा नै निर्देशित भएर नै किन नहोस्, विद्यमान गणतन्त्र वा बहुदलीय व्यवस्थालाई फाल्ने नारालाई अगाडि बढाउछौँ भने, त्यसको अर्थ प्रतिगमनका हातमा खेल्नु नै हुनेछ । कुनैपनि क्रान्तिकारी शक्तिले त्यस प्रकारको गल्तीबाट बच्न सधै उच्च प्रकारको सतर्कता अपनाउनु पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal