शुक्रबार, माघ ७, २०७८

तुसरा काण्डको सस्मरण

– रामबहादुर बुढा
२०४८ सालको कुरा हो । एक दिन ओखरकोट मा. बि .को प्राङगणमा बेन्चमा हामी साथीहरु बसिरहेका थियौं । तुसारा गब्दी तिरका मेरा क्लास मेटहरु राजु गिरी, भोजबहादुर रोका लगायत थिए । यसै बसेका बेला फ्याट्ट राजु गिरीले भन्नू भयो,“देबेन्द्र मरेछ ।” म झल्यास्स भएँ ।
देबेन्द्र निकै टाठा युवा थिए । २३ वर्षको उमेरमा २०४३ सालमा तुसारा गाउँ पंचायतको प्रधानपन्च बनेका थिए । मैले देबेन्द्रलाई देखेको भेटेको जम्मा एक पटक हो । म कक्षा ८ पढ्दा ओखरकोटको लामासेरास्थित मानबहादुर जीसीको घरमा डेरामा बस्थे । उहाँ पूजा शमसेर बहादुर खत्रीको साख्खै ज्वाइँ पर्नु हुन्छ । भनेपछि मानबहादुर जीसीकी श्रीमती शमसेर बहादुरकी बहिनी हुनुहुन्छ र शमसेर बहादुर देबेन्द्रका साख्खै भिनाजु । त्यहाँ हामी घरबेटी र डेरावालको सम्बन्ध भन्दा पनि एक पारिवारिक वातावरणमा रहन्थ्यौं । एक साँझपख देबेन्द्र मानबहादुर सरको घर आएका थिए । मदिरा सेवन गरिरहेका र राजनीतिक गफ गरिरहेको हालतमा मैले देबेन्द्रलाई भेटेको थिए । नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ आदिबारे कुरा गर्दै थिएँ । त्यतिबेला पूजाका शोभाराम न्यौपाने कक्षा ९ मा पढ्नु हुन्थ्यो र मान बहादुर सरकै घरमा डेरा गर्नु हुन्थ्यो । शोभारामजी हामी मिल्ने साथी थियौं । उहाँ पनि देबेन्द्रकै गफमा गफ मिलाउँदै बस्नु भएको थियो । म त्यहाँ सुन्ने स्रोता मात्र थिए । शोभारामले भन्नू भएको थियो, “यहाँ हामी विद्यार्थी जम्मा हुन्छौं । नेवि संघको बारेमा कलास गर्नु प¥र्यो । एक दिन त्यसको ब्यवस्था मिलाउनु प¥यो ।” त्यसमा देबेन्द्रले टाउको हल्लाउँदै स्वीकृति जनाएका थिए । त्यस पछि उनी कहिलै लामासेरा आएनन । देबेन्द्रले रुँदै रुँदै आफ्नो भिनाजु शमसेर बहादुरलाई सम्झिए । “मसालहरुले मेरो भिनाजु मारिदिए ।” यस्तै यस्तै कुरा गर्दै थिए । उनी पूजा काण्डको कुरा गर्दै थिए । करीब १०० जनाले पुजा काण्डमा मुद्दा बोक्नु परेको थियो । कैयौंले वर्षौसम्म जेल बस्नु परेको थियो । बीस बर्ष पछि त्यो मुद्दा खारेज भएको थियो । रात प¥यो । उनी झिमरुक तरेर गए । मलाई लाग्छ त्यस साँझ झिमरुक तरेर गएका देबेन्द्र फेरि फेरि तुसाराबाट झिमरुक तरेर लामासेरा आएनन् ।
मलाई अचम्म लाग्यो । केही दिन पहिले लामासेरामा देखेको देबेन्द्र मरे रे । पातलो सर्लक्क मिलेको ज्यान अस्ति नेवि संघ र कांग्रेसको सृबृद्धिको कुरा गर्दै थिए, मरेछन । कुनै बेला नेकपा (मशाल) समूहका प्यूठान जिल्ला सेक्रेटरी र ओखरकोट माविका हेडमास्टर पछि पंचायत पसेपछि अञ्चलाधीस र कालान्तरमा मन्त्री भएका खड्क बहादुर जिसीका कान्छा भाइ देबेन्द्र थिए । भरतबहादुर जिसीका पनि उनी भाइ नै हुन । भरत त्यति बेला काठमाडौंमा प्रहरी डिएसपी थिए ।
२०४८ मा झापामा नेपाली कांग्रेसको आठौं महाधिवेशन हुँदै थियो । त्यो महाधिवेशनमा जानका लागि एक बिहान आमालाई तुसाराकै काभ्रे खोला पैसा लिन भनी पठाएका देबेन्द्रले आफू एक्लै भएको बेला आफैले खुकुरीले घाँटी रेटेछन् । त्यति बेलै एउटा आफ्नो बिषयमा सल्लाह लिन शम्सेर गिरी (गोठे गिरी) देबेन्द्रको घर पुगेका थिए । देबेन्द्रले खुकुरीले आफ्नो घाँटी आफैले रेटिरहेको हालतमा भेटेका थिए । उनले देबेन्द्रको हातको खुकुरी खोसेर फालिदिएका थिए । घाँटीबाट रगत बगिरहेको थियो । देबेन्द्र थरथर कापीरहेका थिए । तर उनी अब बाँच्ने अवस्था थिएन । आमा पैसा लिएर आउँदा देबेन्द्र छटपटिदै थिए । रगत बगेको थियो । करीब प्राण गैसकेको थियो । उनलाई बचाउन सक्ने अबस्था थिएन । किन मरे वा कसैले मा¥यो, ठूलो हल्ला चलिरह्यो । देबेन्द्रको घटनाका सम्बन्धमा हामीले सुनेको कुरा यस्तै हो ।
ओखरकोटका २०४९ का गाविस उपाध्यक्ष डेगमान खड्काले यो लेखक सित सुनाएका थिए, “तुसारा–गब्दी मुनि झिमरुकमा देबेन्द्रको दाह संस्कार गरिएको थियो । मलामीहरु थुप्रै थिए । म पनि ओखरकोटतिरबाट मलाम जाँदै थिए । वारीबाटै नारा लगाएको सुने हत्यारा मसाललाई कार्वाही गर । मसाललाई हत्यारा भने पछि म बीचबाटै फर्किए ।”
देबेन्द्रको मृत्यु भए पछि लगत्तै पुर्पक्षका लागि भनी तुसाराका शम्सेर गिरी (गोठे गिरी), तीन जना शिक्षकहरु ठाकुर गिरी, सिद्धिमान जिसी र तुलबहादुर भण्डारी र तत्कालीन मसाल नेता किरण जि.सी.लाई प्रहरीले खलङ्गा लग्यो । हामी विद्यार्थीहरु शिक्षकहरूको गिरफ्तारीका विरुद्धमा उत्रियांै । हामी नारा जुलुस ग¥यौं । हाम्रा शिक्षक रिहा गर, फासिस्ट सरकार मूर्दावाद नारा लगाउँदै मच्छी ओखरकोट स्कूलबाट डाँडै डाँडा ओरालिएर दमदमे बजारमा आई बिरोध सभा गरिएको थियो । दाङबाङका प्रेम आचार्य अखिल (छैठौ) का प्यूठान जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ त्यहाँ आउनु भयो । प्रेम आचार्य निकै फुर्तिला विद्यार्थी नेता हुनुहुन्थ्यो । निकै जोशिलो भाषण गरेर सरकारको निरंकुश चरित्रको विरोध गरेर जानु भयो । एक जना एमालेको विद्यार्थीले पनि त्यहाँ बोल्नु भएको थियो । विद्यार्थीहरु खलङ्गा गएर पनि विरोध प्रदर्शन गरेका थिए । ओखरकोट स्कूलका छैठौका कैयौं विद्यार्थीहरु पुजाकाण्डको अभियोग लागेर फरार हुनुहुन्थ्यो । भक्तु गिरी, केशरजङ्ग एमसी, भरत ढकाल, मीरा पुरी लगायत तमाम साथीहरु त छैठौंमा त्यतिबेला हामी क्रियाशील थियौँ । तुलबहादुर भण्डारीले त्यति बेला जनज्योति प्रा बि, पूजा–९ लैसरामा पढाउनु हुन्थ्यो । ठाकुर गिरी सरले ओखरकोट हाइस्कूलमा पढाउनु हुन्थ्यो । मैले पनि कक्षा आठमा ठाकुर सरबाट ५० पूर्णाङ्कको इतिहास विषय पढेको थिए । सिद्धिमान जिसीले त्यतिबेला नारीकोटको अमृत जीवन निमाबिमा पढाउनु हुन्थ्यो ।
डिएसपि साहेबले बोलाउनु भएको छ भनेर उहाँहरुलाई खलङ्गा लगियो । मुद्दा लागेका मध्ये सबै भन्दा धेरै ४९ दिन गोठे गिरी हिरासत बस्नु परेको थियो । ठाकुर गिरी, सिद्धीमान जिसी, किरण जिसी करीब डेढ महिना हिरासत बस्नु परेको थियो । काठमाडौबाट प्रकाशित सुरुची भन्ने पत्रिकामा तुल बहादुर भण्डारीको मुख्य योजनामा देबेन्द्रको हत्या भएको लेखिएको थियो । तर बयान दिनेहरु सबैले तुलबहादुर त देबेन्द्रको मान्छे हो; २०४३ को गाउँ पंचायतको चुनाबमा देबेन्द्रकै पक्षबाट चुनाब प्रचारमा लागेको मान्छे थियो भने पछि तुलबहादुर भण्डारीलाई १३ दिनमा नै रिहा गरिएको थियो । बिजय भट्ट डिएसपि थिए । भट्टले निकै राजनीतिक पुर्बाग्रह राखेर उहाँहरुलाई हप्की दप्की र हातपात समेत गरेका थिए । “तिमी मसानहरुलाई पुजा काण्डबाटै ठेगान लगाउनु पर्ने थियो । बचेका थियौ । अब फेला प¥यौं ।” स्मरणीय छ उनले मसाललाई मसान भनेर गाली गर्थे ।
बडा आश्चर्यको कुरा के छ भने त्यस्ता घटनाहरुमा मसालका ब्यक्तिहरुलाई अनाबश्यक रुपमा तत्कालीन कांग्र्रेसी सरकारले दुख दिइरह्यो । देबेन्द्रले किन आफै घाँटी सेरेर मरे त भन्ने बिषय रहस्यमय थियो । आम बुझाई केछ भने देबेन्द्र कुनै राजनीतिक कारणले हत्या गरिएको नभएर उनी आफैले अनैतिक काम गरेको कारण आत्महत्या गर्न पुगे । उनले कुनै आफ्नै नातामा अनैतिक काम गरे र त्यो गर्भको दोष अखिल (छैठौं ) का नेता चिसाबाङ निवासी विष्णुमणि पोख्रेललाई लगाईयो । त्यस पछि मुद्दा चल्यो । पोख्रेलले मुद्दा जित्नु भयो । अदालत बाट मात्र हैन डि.एन.ए परिक्षणबाट पनि पोख्रेलले सफाई पाउनु भयो ।
तुसारा काण्डबाट धेरै कुराहरु सिक्न सकिन्छ । नचाहिदो प्रकारले नशामा लत बस्दै गए पछि मानिस झन झन अनैतिक बन्दै जान्छ । स्थानीय देख्ने जान्नेहरुको एउटा बुझाई नशाको परिणाम देबेन्द्र अनैतिक काम गर्न पुगे र अन्तिममा अपराध सहन नसकेर आफै खुकुरीले घाँटी सेरी मरे । राजनीतिक पूर्बाग्रहले समाजमा अशान्ति र द्वैष बढाउँछ । मसालमाथि पुर्वाग्रह साँध्ने जुन काम भयो त्यसबाट सत्ता पक्षलाई के मिल्यो त ?
अन्तर्वार्ता ÷फोन वार्ताः
सिद्धिमान जि.सी.
तुलबहादुर भण्डारी
विष्णुमणी पोख्रेल।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?