शुक्रबार, बैशाख ७, २०८१

ढाकावाङ्गको विश्व माध्यमिक विद्यालयमा पुरस्कार वितरण एवम् नतिजा विश्लेषण कार्यक्रम सम्पन्न

अर्घाखाँची, २० जेठ ।
बिश्व माध्यमिक विद्यालय भूमिकास्थान नगरपालिका ढाकावाङ्ग अर्घाखाँचीकाे वार्षिक परीक्षा-२०७८ को पुरस्कार वितरण एवम् नतिजा विश्लेषण कार्यक्रम अभिभावकहरु माझमा सम्पन्न भएको छ । विद्यालयले एक औपचारीक कार्यक्रमको आयोजना गरी आज उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिक परीक्षा-२०७८ को नतिजामा कक्षा प्रथम, द्वितीय, तृतीय हुने, आधारभूत तह (१-५) र कक्षा (६-९) मा समग्रमा विद्यालय प्रथम,द्वितीय, तृतीय लगायतका विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

साथै सोही अवसरमा कक्षागत, विषयगत (छात्रा, छात्र) तर्फको नतिजा विश्लेषण कार्यक्रम शिक्षक श्री रुद्रमणी खनालको संयोजकत्वमा सम्पूर्ण कक्षा शिक्षक, अभिभावक , विद्यार्थी लगायत सरोकारवालाहरूको विचमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा सबै अभिभावकहरुलाई आफ्ना बालबालिकाको प्रगति बारे जानकारी गराइएको थियो । 

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक खड्ग बहादुर थापाको प्रमुख आतिथ्यता, प्रधानाध्यापक गोपालप्रसाद आचार्यको अध्यक्षता, समाजसेवी अभिभावक राजेन्द्र प्रसाद बेल्बासेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै शिक्षक तथा पूर्व प्र.अ जुमलाल खनालले विद्यालय र विद्यार्थीहरुको समग्र हित तथा प्रगतिमा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकको त्रीकोणात्मक सम्बन्ध आवश्यक पर्ने कुरा व्यक्त गर्नुभएको हो । उहाँले नियमित रुपमा आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाइ अभिभावकहरुले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभयो ।

मन्तव्यको क्रममा अभिभावक डिल्लिराज बेल्बासेले विद्यालयको हितका लागि सूझावहरू प्रदान गर्नुभएको थियो । त्यसैगरी समाजसेवी अभिभावक राजेन्द्रप्रसाद बेल्बासेले विद्यालयको निम्ति सहयोग स्वरूप आफूसक्दो अक्षयकोष खडा गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद आचार्यले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु हुंदै विद्यालयले नयाँ नयाँ शैक्षिक आयाम थप गरेको बताउनुभयो । पठन पाठनलाई व्यवस्थित गर्न विद्यालयले नियमित मूल्याङ्कनको प्रयोग, शैक्षिक सामग्रीको प्रयोगमा जोड, बालमैत्री शिक्षण, घरदैलो कार्यक्रम, अतिरिक्त कार्यक्रम आदिमा जोड दिइएको बताउनुभएको हो । समापन कार्यक्रममा बोल्दै प्रअ आचार्यलेले सक्रिय रुपमा आफ्नो जिम्मेवारीहरु पुरा गर्न, शैक्षिक गुणस्तर सुधारमा थप कार्यहरु गर्न अभिभावक तथा समुदायका सरोकारवालाहरुलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक उमानन्द बन्जाडेको सञ्चालन, जुमलाल खनालको स्वागत मन्तव्य र सम्पूर्ण शिक्षक स्टाफहरुको संयुक्त प्रयासमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?