आइतवार, अशोज ९, २०७९

अन्तरिक्षयात्रीको मिर्गौलामा किन हुन्छ पत्थरी ?कारण मुसाले पत्ता लगाउने

 

whatsapp sharing button

अन्तरिक्षमा जान पाउने मानिस संसारकै भाग्यमानी हुन् भन्ने लाग्छ हामीलाई । अन्तरिक्षमा गएर त्यहाँको अनौठो तथा रोमाञ्चक संसारको अनुभव लिन पाउने मौका अर्बौंमा केही मानिसलाई मात्र प्राप्त हुन्छ । तर अन्तरिक्षयात्री बन्नु हामीले सोचेजस्तो सजिलो तथा रमाइलो मात्र छैन ।

अन्तरिक्षयात्रीहरूले यस्ता कतिपय अनुभव पनि गर्नुपर्दछ जुन दर्दनाक हुन्छन् : जस्तै मिर्गौलाको पत्थरी ।

नासाको अनुसार अन्तरिक्षबाट पृथ्वीमा फर्केर आउने अन्तरिक्षयात्रीहरूमा मिर्गौलाको पत्थरीको समस्या देखिने गरेको छ । अहिलेसम्म नासाका ३० जना अन्तरिक्षयात्रीमा मिर्गौलाको पत्थरीको समस्या देखिइसकेको छ ।
अन्तरिक्षयात्रीमा मिर्गौलाको पत्थरी आखिर किन हुन्छ ? अन्तरिक्षयात्रा र पत्थरीबीचको सम्बन्धको तथ्य पत्ता लगाउनका लागि वैज्ञानिकहरू जुटिसकेका छन् ।
अनुसन्धानमा संलग्न युनिभर्सिटी कलेज लन्डनका मुत्ररोग विशेषज्ञसमेत रहेका वरिष्ठ प्राध्यापक डाक्टर स्टिफन वाल्सका अनुसार मिर्गौलाको पत्थरीको दुखाइ सबैभन्दा दर्दनाक पीडायुक्त हुन्छ ।
एकजना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमै रहँदा मिर्गौलाको दुखाइ वा रेनल कोलिक भयो । यो अवस्थामा मुत्रनलीमा पत्थरी अडि्कएको हुन्छ । पत्थरीकै कारण उनलाई अन्तरीक्ष स्टेशनबाट फर्काउनु पर्‍यो ।
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा माइक्रोग्राभिटीमा समय बिताउनाले हड्डीहरूको घनत्व कम हुन्छ । रगतमा क्याल्सियमको कमीले अन्तरिक्षयात्रीहरूको मिर्गौलाको पत्थरी बन्ने सम्भावना हुनसक्दछ । मिर्गौलामा पत्थरी हुनुको अर्को कारण शरीरमा पानीको मात्र अपुग हुनु वा डिहाइड्रेसन पनि हो ।
अन्तरिक्षयात्रीको मिर्गौलाको पत्थरीको कारण पत्ता लगाउन शोधकर्ताहरूले १० वटा मुसाको मिर्गौलाको विश्लेषण गरिरहेका छन् । ती मुसाहरू सन् २०२० को अन्त्यमा पृथ्वीमा फर्किनु अगाडि इन्टरनेसनल स्पेस स्टेसनमा थिए । साथै पृथ्वीमा प्रयोगशालामा ग्यालाक्टिक कस्मिक विकिरणको सम्पर्कमा राखिएका थप २० वटा मुसाको पनि मिर्गौलाको विश्लेषण गरिनेछ ।

यो अध्ययन अहिले प्रारम्भिक अवस्थामा रहेको छ । यद्यपि सुरुवाती संकेतहरूका अनुसार ग्यालेक्टिक कस्मिक विकिरणले मिर्गौलाको डिएनएमा क्षति पुर्‍याउने देखिएको छ । ती विकिरणमा गामा विकिरणका साथ उच्च ऊर्जायुक्त कण पनि सामेल हुन्छन् ।

साथै यसले उपापचयन प्रक्रिया र सरीरमा चिल्लो पदार्थको सञ्चारमा पनि असर गर्दछ । शोधकर्ताहरूले विकिरणका कारण मिर्गौलाको आसपासका प्रोटिनमा परिवर्तन आएको संकेत प्राप्त गरेका छन् ।

ग्यालेक्टिक कस्मिक विकिरणको सम्पर्कमा रहेका मुसाहरूमा प्रोटिनको स्तर कम पाइएको छ । कोशिकाहरूको पावरहाउस भनिने माइटोकन्ड्रिया क्षतिग्रस्त भएको पनि पाइएको छ ।

मिर्गौलाको विशेष हिस्सा भनिने प्रोक्सिमल ट्युबलर कोशिकाहरू पूर्णरुपमा माइटोकन्ड्रियाबाट बन्ने उर्जामा निर्भर हुन्छ । यस्तोमा जब प्रोक्सिमल ट्युबलर कोशिकाहरूको संख्या कम हुन्छ त्यतिबेला मिर्गौला फेल हुने सम्भावना बढी हुन्छ । स्पेस स्टेशनमा समय बिताएका मुसाहरूमा समेत यस्तै समस्या देखिएको छ ।

एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?