शुक्रबार, चैत्र १६, २०८०

तपाईंको लागि केही लेखिएको छ, एकछिन रोकिएर पढ्नूस् है?

आदरणीय अभिभावक ज्यु नमस्ते

– माया गर्ने नाममा आफ्ना सन्तानलाई अत्ति नै परनिरर्भर नबनाउनुहोस् । १० वर्ष नाघेपछि छोरा वा छोरी जो भए पनि कम्तिमा उनीहरूलाई आफ्नो लुगा आफैँ लगाउन, आफ्नो कोठा/ओछ्यान आफैँ मिलाउन, कोठा सफा गर्न, आफ्नो लुगा आफैँ धुन, खाएको थाल माझ्न, कम्तिमा चिया, दाल, भात जस्ता सहज खानेकुरा पकाउन सिकाउनुहोस् ।

– छोरालाई बन्दुक, गाडि र छोरीलाई गुडिया किन्ने नगर्नुहोस् । उनीहरू स्वयम् लाई आफ्नो रोजाइ छान्न दिनुहोस् ।

– कक्षामा कुन स्थान ल्यायो र कति प्रतिशत अङ्क आयो भनेर अनावश्यक तनाव दिनु भन्दा पनि उसले कसरी अध्ययनलाई सहज तरिकाले लिन सक्छ र कसरी रटान भन्दापनि बुझाइमा केन्द्रित हुन सक्छ भन्ने कुरामा ध्यान दिई सहयोग गर्नुहोस् ।

– साँझ वा बिहान समय मिलेसम्म केही समय उनीहरूसँग खेल्नुहोस् । आफू पनि उनीहरूजस्तै बच्चा बनिदिनुहोस् ताकी उनीहरू तपाईंसँग खुल्न सकून् ।

– साँझमा केही समय उनीहरूसँग दिनभरीका कुरा सेयर गर्ने बानी बसाल्नुहोस् । टिभी, मोबाइल जस्ता कुरालाई केही समय आराम दिई परिवारमा एक अर्काको कुरा सुन्ने सँस्कार बसाल्नुहोस् जसले गर्दा उनीहरूले तपाईंलाई र तपाईंले उनीहरूलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ ।

– उनीहरूलाई पढ्नको लागि उर्दी जारी गरेर आफू चाहिँ मोबाइल वा टिभीमा झुण्डीने जस्तो असुहाउँदो व्यवहार कहिल्यै नगर्नुहोस् । बच्चाहरू आदेश पालना गर्नेभन्दा अनुशरण गर्न मन पराउँछन् । तपाईंले पुस्तक पढेको देखेपछि उनीहरूलाई पनि स्वभाविक रुपमा पढ्न मन लाग्छ ।

– उनीहरूलाई आदर सत्कार, मानवीय कर्तव्य, सभ्यता, सहयोगी भावना जस्ता असल मानवीय गुनका बारेमा चेतनशील र संवेदनशील बनाउनुहोस् ताकी उनीहरूलाई सहयोग, मानवीयता र सहानुभुतीजस्ता कुराप्रति विश्वास लागोस् र त्यस्तै गुनको विकास हुँदै जाओस् । प्रतिस्पर्धाको लागि अरुको उदाहरण दिनेभन्दा पनि उनीहरूलाई हिजोभन्दा आज अझै राम्रो गर्न प्रोत्साहित गर्नुहोस् ता की उनीहरू प्रतिस्पर्धा आफैँसँग गरून् र सहयोग अरुलाई गरून् ।

– आफ्ना असफल सपनाहरू जबर्जस्ती उनीहरूमा थुपार्ने गल्ती नगर्नुहोस् । उनीहरू आफैँलाई यो संसार आफ्नै नजरबाट हेर्न दिनुहोस् र उनीहरू जे बन्न चाहन्छन् त्यसको लागि सहयोग गर्नुहोस् । छोराले मानविकी र छोरीले आइटी पढ्न चाहनुलाई सामान्य रुपमा स्वीकार्नूहोस् । अभिभावकको रुपमा तपाईंको जिम्मेवारी उनीहरूलाई सहजीकरण गर्ने हो, उनीहरूको बाटो आफैँले हिँडिदिने होइन ।

– घरको आर्थिक अवस्था उनीहरूसँग नलुकाउनुहोस् ताकी उनीहरूलाई पैसा बोटमा फल्छ जस्तो नलागोस् र तपाईंसँग कुनै ठूलो कुरा माग्नु पहिले उनीहरू आफैँले घरको अवस्था मनन् गरून् ।

– तपाईं माथिका सुझावमा सहमत हुनुहुन्छ भने यो कुरा आफ्ना सन्तानको अगाडी बसेर पढ्नुहोस् । तपाईं आफ्नो सन्तानसँग यस्तै व्यवहार गर्नुहुन्छ भने तपाईंलाई धन्यवाद । यदि गर्नुहुन्न भने आजैबाट परिवारमा यस्तै संस्कारको सुरुवात गर्नुहोस् ।
(साभार : सामाजिक संजाल)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal