शनिबार, साउन १२, २०८१

मोटरसाइकलमा आएका डांका हरु द्वारा भारतको दिल्लिमा नेपाली महिलाको गोलि हानेर हत्या गरियो

भारतको राजधानी नयाँ दिल्लीमा एक ४५ वर्षीया नेपाली महिलाको गोली हानेर हत्या गरिएको छ । उत्तरी दिल्लीको अरुणानगरमा बाइकमा सवार दुई अज्ञात व्यक्तिले बुधबार बिहान ती महिलामाथि गोली प्रहार गरी हत्या गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार बिहान आफ्नो पसल खोल्न आउँदा मोटरसाइकलमा सवार व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार ती महिलाको पहिचान मीना तामाङ भनेर खुलेको छ । उनी आफ्नो पति जीतमानसँग चिया र खाजा पसल चलाउँथिन् । उनी हरुआफ्नो १२ वर्षीया छोरीसहित नजिकै एउटा कोठा भाडामा लिएर बस्थे। उनको परिवार विगत केही वर्षदेखि त्यहाँ बस्दै आएका थिए ।

तिमरपुर प्रहरी थानामा बिहान ७ बजे उक्त घटनाबारे फोन गरेर जानकारी दिइएको थियो । प्रहरी तत्कालै घटनास्थल पुगेर मीनालाई सुश्रुत ट्रमा सेन्टरमा पुर्याएको तर उनलाई बचाउन नसकिएको एक शीर्ष प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले समाचारमा उल्लेख गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानमा आक्रमणकारीले महिलासँग भएको पैसा, मोबाइल तथा बहुमूल्य वस्तु लुटेर नलगेको पाइएको छ । त्यही भएर यो लुटपाटको घटना नभएको हाम्रो अनुमान छ । केही दुश्मनीको कारणले उनको हत्या गरिएको हुनसक्छ । त्यस्तै, आक्रमणकारीलाई उनले कतिबेला पसल खोल्न आउँछिन् भन्ने पनि थाहा भएको जस्तो देखिन्छ । उनी एक्लै हुँदा आक्रमण भएको छ । उनको परिवारको सदस्य र पतिसँग उनको कसैसँग झगडा भएको थियो कि थिएन भन्ने बारेमा सोधपुछ हुँदैछ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले यस घटनामा महिलासँग नजिक भएका वा चिनजान भएकाको संलग्नता रहेको सम्भावनालाई पनि मध्यनजर गर्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले आक्रमणकारीलाई पहिचान गर्न सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ ।

प्रहरीका अनुसार महिलालाई एउटै मात्र गोली लागेको छ । थप अनुसन्धानका लागि प्रहरीले उनको पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?