
लिल बहादुर के .सी
२०३३ साल देखि २०७९ साल पौष २२ गते सम्म ४६ वर्षको अव्धीमा ४ महिना प्रावि, १० महिना निमावि, ५.५ वर्ष मावि र ३५ वर्ष ५ महिना २२ दिन त्रिभुवन विश्व विद्यालयमा अध्यापन गरी अवकाश लिइयो। यो अव्धीमा ४/५ वर्षे वालकहरु देखि लिएर ५०/५५ वर्षे रिटायर्ड पेन्सनरहरु, नेपाल सरकारका कर्मचारी, शिक्षकहरु समेतलाई अध्यापन गर्ने अवसर मिल्यो। कुनै अभिमुखिकरण गोष्ठीहरुमा विश्वविद्यालयका प्राध्यापकहरु समक्ष पनि तोकिएको विशिष्ट विषयमा आफ्ना धारणा शेयर गर्ने मौका मिल्यो। यस अर्थमा मैले हजारौं सिकारुहरुसंग आफ्नो ज्ञान शेयर गर्ने मौका पाएं। यसले मलाई गौरवको अनुभूति गराइरहेको छ, त्यो सत्य हो।
कुनै समय म नेपालगंजमा २/४ दिन बस्दा कति वयस्कहरुले नमस्कार गर्थे, मैले नमस्कार फर्काउंथें तर चिन्दिनथें। जुम्ला क्याम्पसमा पढाउंदा मैले पढाएका क्याम्पसका नियमित विद्यार्थी, सुर्खेत क्याम्पस पढाउंदा मैले पढाएका विद्यार्थी तथा क्याम्पसमा तालिम लिन आउने कर्णाली र भेरी अन्चलका शिक्षकहरुको नजरमा म गुरु कहलिएको थिएं। त्यसै गरी वुटवल क्याम्पसमा २६ वर्ष पढाउंदा मेरो कक्षा लिएका विद्यार्थी तथा प्रावि, निमावि र माविमा पढाउंदा मेरो कक्षा लिएका विद्यार्थीहरु लामो समय पछी म संग साक्षात्कार हुंदा मैले धेरैलाई चिन्दिन। उहांहरुले “मलाई चिन्नु भएन सर ? “ भन्दा मलाई कता कता अफ्ठेरो लाग्छ । तर मैले एउटा कुरा भन्दै आएको छु, मैले नचिने पनि आफ्नो नाम भनेर चिनाउनु तव स्मरण हुन्छ । स्वाभाविकै हो यो अवस्था मेरो मात्र नभएर सवै गुरुहरुको हो।
गुरुहरुको आर्जन
आज गुरु पूर्णिमाको दिन विहान सवेरै देखि गुरु पूर्णिमाको शुभकामनाका फोनहरु आइरहेका छन्। फेसवुक र मेसेन्जरमा समेत शुभकामना आइरहेका छन्। कसैको फोन उठाउन पाएको छैन। फ़ोन उठाउन नपाए पनि आजको दिन मलाई संझने विद्यार्थीहरु प्रति कृतज्ञ छु र मलाई सद्वुद्धि दिने विभिन्न आयामका गुरुहरु प्रति यहि लेख मार्फत नमन गर्दछु।
कुनै दिन म सर्वोच्च अदालत परिसर भित्र पस्दा चार वटा अधिकृत र दुईवटा उपसचीवले आफ्नो कुर्चीबाट उठेर मलाई नमस्कार गर्दा म गर्वसाथ निकै खुसी भएको थिएं। मैले पढाएका विद्यार्थीहरु निजामति क्षेत्रमा सचीव र विश्वविद्यालयमा प्राध्यापक भएकोमा मलाई गर्व लाग्छ। हामी शिक्षकहरुले म कहाँ छु होइन, म र म प्रतिको प्रत्यक्षिकरण समाज र समाजका मानिसहरुले कसरी गरिरहेका छन् त्यो मूल प्रश्न हो।
शिक्षकहरुको थप आर्जन केहि हुंदैन । यो पक्ष समाज र राष्ट्रले पनि वुझ्दो रहेछ। जति वेला मेरो श्रीमती मिना मृत्यु शैयामा काठमांडूको वीर अस्पतालमा थिइन् त्यो वेला मसंग पैसाको निकै अभाव थियो। मैले अनुभूति गरें मलाई हर तरहले सहयोग गर्ने आफन्त, इष्टमित्र र साथीहरुको कुनै कमि भएन।वुवा, आमा र श्रीमतीको मृत्यु पश्चात समवेदना र सहयोग दिने मानवीय गुणले भरपुर त्यो सहयोगी समूह प्रति म नतमस्तक नै छु। यो परिवेश तयार हुनुमा मेरो अध्यापनले समाजमा पारेको विम्व नै प्रमुख हुनुपर्छ जस्तो लाग्दछ ।
जीवनभर जहां पनि आदार, सम्मान पाउनु नै शिक्षकको ठूलो पूंजी हो। पूँजीवादी समाजमा पूंजीले सम्मानको निर्धारण गर्छ तर पूंजीपति कायम रहंदा सम्म मात्र त्यो पूंजीपतिको सम्मान हुन्छ । शिक्षकको हकमा त्यो लागु हुंदैन शिक्षक चरम गरिव हुंदा र अपांग हुंदा पनि सम्मान पाइरहन्छ।
अर्घाखांचीका अपांग गुरु जसलाई विद्यार्थीहरुले बोकेर स्कूल लैजाने र ज्ञान लिई बोकेर घर ल्याई छोड्ने गरेको गुरुको कथा सामाजिक सन्जालमा पढें। मेरै जन्म स्थल तर्फ नेटाखर्कका पौडेल अन्धा गुरुलाई दर्शन गर्न नपाए पनि उहांबाट दीक्षित धेरै विद्वानहरुको मुख र लेखबाट सुन्न र पढ्न पाएको छु। राजनैतिक गुरुहरुमा अर्घा अंधेरीका खुविराम गुरुको दृढताबाट पाठ सिकेर वामपन्थी आन्दोलनमा लाग्ने थुप्रै मानिसहरु छन्।यी र यस्तै आदर्श गुरुहरु जुनसुकै क्षेत्र कालमा भेट्न सक्छन्।पारिजात प्रगतिवादी साहित्यिक आन्दोलनको गुरु हुनुहुन्छ तर उहां अपांग हुनुहुन्थ्यो। संयोग नै हो किर्तिपुरको एउटा कार्यक्रममा लैजान मैले पनि उहांलाई अर्घाखांचीका विद्यार्थीले जस्तै बोकेर लैजाने मौका पाएकोमा मलाई गर्व लाग्छ।
शिक्षा के हो र के म सांच्चै गुरु हुं?
गीता दर्शन’ पुस्तकमा एउटा विश्लेषण यसप्रकार छ : युद्धमैदान कुरुक्षेत्रमा पाण्डव र कौरव के गरिरहेका छन् भन्ने दृष्टिविहिन धृतराष्ट्रको कौतुहलतालाई सँगै बसेर वर्णन र वार्तालाप गर्ने संजयबाट नै प्रसिद्ध पुर्वीय ग्रन्थ ‘गीता’ को कथा आरम्भ हुन्छ । कुनै उपकरण बिना नै युद्धक्षेत्रको प्रत्यक्ष वर्णन टाढा रहेर गर्न महर्षि वेदव्यासको गुरुकुलका शिष्य संजय सफल हुनुका कारण यो शिक्षाले भौतिक आँखा मात्र होइन, समय र अन्तरिक्षभन्दा पनि पर देख्नसक्ने दिव्यदृष्टि विकास गर्न सक्ने भएकाले हो भनिन्छ । त्यसैले सबै शास्त्रहरू दृष्टिविहिन मानिसको कौतुहलताबाट सुरु हुन्छ । जुन दिन यो धर्तीमा दृष्टिविहिन मानिस हुने छैनन् त्यस दिन कुनै शास्त्रको जरुरत पर्दैन । अन्धो मानिस नै सबैभन्दा धेरै सूचना र ज्ञानका लागि उत्सुक हुन्छ ।
मानिसको अन्धोपन भौतिक र अभौतिक हुन्छ । म भौतिक रुपमा सबल भए पनि अभौतिक रुपले अन्धो मानिस हुं। मलाई यो विश्व व्रम्हान्डको विषयमा कत्ति पनि ज्ञान छैन, मलाई दर्शन शास्त्र, व्रम्हान्डको उत्पत्ति, पृथ्वी र ग्रहहरुको जन्म, प्राणी र वनस्पतिहरुको उदय र विकास, इतिहास, भूगोल, अर्थशास्त्र, राजनीति शास्त्र, मानव शास्त्र, समाज शास्त्र, विज्ञान, भाषा र गणितको कत्ति पनि ज्ञान छैन। मैले मात्र दुनियामा घटेका घटना परिघटनाहरुको बारेमा सुन्छु देख्छु र अल्प अवधारणा बनाउंछु ।मैले सुनेको, देखेको र भोगेको अल्प ज्ञानको आधारमा मेरो जीवन चर्या चलेको छ।मैले जीवनमा केहि जानेको भए यान्त्रिक शैली ( वैज्ञानिक प्राविधिक साधन प्रयोग गरेर नभै फगत जबर्जस्त नक्कल गरेर भाव र अर्थ नवुझी ) बाट सिकेर दुई चार वटा गणितको समस्या समाधान गर्न सक्ने भए हुं नत्र मैले केहि जानिन। म कसरी गुरु हुन सक्छु ? मैले सानो छंदा जोड सिक्ने बेला दशको सून्य हातमा लाग्यो एक भन्ने सिकें तर त्यो ‘एक’दाहिने हातमा लाग्यो कि देव्रे हातमा लाग्यो भन्ने मलाई थाहा भएन। मैले Statics, Dynamics, Algebra, Calculus, विभिन्न प्रकारका Geometry, Analysis, Trigonometry, विभिन्न प्रकारका Variables, Graph theory र गणितको विभिन्न Branches हरुको Pure र Applied पक्षको अति सानो अंश पढ़ें। तर दुर्भाग्य जीवनमा मैले गणित पढेर त्यसको सौन्दर्य पक्ष वुझ्दै रमाउन भने कहिल्यै सकिन। जव म आफू नै गणितमा रमाउन सकिन मैले अरुलाई गणितमा रमाउने बनाउन कति सके हुंला ? त्यसैले म भन्छु, “ मैले गणितको सानो अंश पढ़ें तर गणित सिक्न सकिन”।
शिक्षा वास्तवमा सिक्ने, सिकाउने, अनुभव साटासाट गर्ने, अनुभवबाट वा कसैद्वारा सिकेर निर्माण गरिएका पाठ्य सामग्री देखेर, पढेर ज्ञान गर्ने सीप हो। तर मैले जे सिकें त्यसैको आधारमा मैले आफूलाई विद्यार्थी सामु गणितको ज्ञानको श्रोत म मात्र हुं भन्ने दलील पेश गर्न खोजें।मैले गणितको कन्टेन्ट पढ़ाएँ, पेडागोजी पढ़ाएँ तर कहिल्यै एन्ड्रागोजी पढाइन। गणितभित्र प्रयोग पक्ष, संस्कार, सीप, कला, क्षमता, संस्कृति, दृष्टिकोण, हेराइ, बुझाइ, सिर्जना हुनु पर्ने हो तर पश्चाताप छ मलाई मैले त्यस्तो सम्पन्न गणितको शिक्षा दिन सकिन।
थुप्रै मानिसहरुमा पढेको र वुझेको अहं छ, कसैलाई त आफूले प्राप्त गरेको डिग्री धान्न धौ धौ भएको छ। एक दुई थेसिस लेखेको आधारमा कसैले आफूलाई महान मान्छन् । तर तिनीहरुले लेखेको थेसिसको एन्टिथेसिस के हो भनेर उनीहरुले वुझ्दैनन्। वुझाइको त्यस्तो अवस्था भए पछी उनीहरुले सेन्थेसिस कसरी गर्न सक्छन् ? मेरो दावी नै यहि हो।
हामीहरुले वुझ्नु पर्छ गुरु मात्र ज्ञानको श्रोत होइन, ज्ञानको मूल श्रोत प्रकृति र व्रम्हान्ड हो। तर हामीले सो कुरा वुझ्न सकेका छैनौं।
कोहि मानिसहरु आफूलाई अत्यन्त अध्ययनसिल देखाउन चाहान्छन् र प्राप्त डिग्रिको घमन्डी गर्छन् ।तर खोई त्यसको उपादेयता ? २४ घण्टामा १८ घण्टा अध्ययन गर्छु भन्नेले के पढे के अध्ययन गरे ? जीवनभर तालिम गरे गराए भन्नेले के सिकाए, के सिके ? कानुनका ज्ञाता भन्नेले कुन मार्गको ज्ञाता बनेर शिखरमा पुगे ? पढ्दासम्म पढेर डाक्टरको उपाधि प्राप्त गरेर अझ राजनीतिज्ञ राजनेता भन्नेले के अनुभव गरे ? यो सबै पढ्न जानेको तर आर्जन गरेको शिक्षालाई ज्ञान, सीप र ब्यवहारमा उतार्न भित्रैबाट लोभी, पापी आत्माले नदिए जस्तो लाग्छ। त्यसकारण शिक्षाको परिभाषा दिइएको परिभाषाको दायरा भन्दा धेरै फराकिलो छ जस्तो लाग्छ ।
हामी तथाकथित गुरुहरुले सहि शिक्षाका माध्यमबाट उत्पादित विवेकशील मानवद्वारा नै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सक्नु पर्ने हो।सिकेको ज्ञानको प्रायोगिक पक्ष वुझी समाज, देश र मानव मात्रको उत्थानको लागि योगदान दिन सक्नु पर्ने हो। हामीमा प्रकृतिका जीव जन्तुहरु हात्तीको बल, डल्फिनको बुद्धि, कुकुरको घ्राण शक्ति, गिद्धको दूरदृष्टि, सर्पको भूकम्पीय पूर्वज्ञान जस्ता वंशाणुगत गशक्रि त हुंदैन तर उनीहरुलाई हामीले गुरु बनाउनु पर्छ ।
संस्कृतमा भनिएको छ, “सिंहादेकं वकादेकं शिक्षेच्चत्वारि कुक्कुतात् । वायसात्पञ्च शिक्षेच्च षट् शूनस्त्रिणी गदर्भात् ।।” अर्थात्, सिंहबाट एउटा, बकुल्लाबाट एउटा, कुकुराबाट चारवटा, कागबाट पाँचवटा, कुकुरबाट छवटा र गधाबाट तीन कुरा सिक्नू ।
त्यसैले म न त द्रोणाचार्य जस्तो गुरु बन्न सकें न एकलव्य जस्तो विद्यार्थी । मैले त फगत जागिर मात्र खाएछु अहिले मलाई पश्चाताप छ म वास्तवमा गुरु बन्न सकिन ।