बुधबार, भदौ ११, २०८२

हामी किन पछाडी पर्यौं ?

लिल बहादुर केसी 

मैले २०३७ सालमा भारतको सोहरतगढमा मोहन वैद्य कारणले दिएको दर्शन शास्त्रको कक्षा लिएको थिएं। दर्शन शास्त्र वारे लिएको पहिलो कक्षा भएकोले मलाई दर्शन, दर्शन शास्त्रको मौलिक प्रश्न, दार्शनिक पद्धति, पद्धति मीमांसा, तत्व मीमांसा , ज्ञान मीमांसा र आचार मीमांसा जस्ता विषयहरु वुझ्न फलामको चीउरा चपाए जस्तै भएको थियो। उहांले त्यस वखत पूर्वीय र पाश्चात्य दर्शन वारे पनि छोंटो चर्चा गर्नु भएको थियो तर मलाई वुझ्न निकै कठिन भएकोले त्यो वेला मैले दर्शन संवन्धी केहि पुस्तकहरु किनेको थिएं। ती पुस्तकहरु पढे हुंला तर मैले दर्शनको चुरो कुरा के हो वुझ्न सकेको थिइन। जव मैले राहुल सांस्कृत्यायनको दर्शन संवन्धी पुस्तक पढें त्यस पछी मात्र मलाई दर्शन पढ्ने अभिरुचि जाग्यो ।

सात वर्ष देखि सुरु भएको मेरो औपचारिक शिक्षामा स्नातक तहमा ज्ञान मीमांसासंग सम्वन्धित केहि पाठहरु र सो तह भन्दा माथी अध्ययन र अध्यापन गर्ने क्रममा दर्शन मूलत: शिक्षाको दर्शन अर्थात ज्ञान प्राप्तिको श्रोत के हो ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ज्ञानका सिमाहरु के हुन ? जस्ता प्रश्नहरुको उत्तरको खोजी गर्दा विभिन्न दर्शन र दार्शनिकहरुको वारेमा केहि कुराहरु वुझ्ने काम भयो। यसको अतिरिक्त तत्व मीमांसा, ज्ञान मीमांसा, आचार मीमांसा र केहि मात्रामा दर्शन शास्त्रको इतिहास समेत अध्ययन र अध्यापन गरियो। यी सवै विषयवस्तु पढ्दा मैले धेरै अंग्रेजी भाषामा लेखिएका पुस्तकहरु पढें र विद्यार्थीहरुलाई पनि मैले पढेका पुस्तकहरु पढ्न सिफारीस गरें।

 

मैले दर्शन शास्त्रको इतिहास पढ्दा मानव जातिको उत्पत्ति र मानव चिन्तन प्रवृत्तिको विकास क्रमको बारेमा केहि कुराहरु सिकें। जस अन्तर्गत मानव सभ्यताको विकास, मानव जातिले बांच्न सिकेका विभिन्न प्रयासहरु, जीवन, जगत, विश्व, व्रम्हान्ड, हावा, पानी, सूर्यको तापक्रम, ताराहरु, चन्द्रमा तथा मृत्यु संवन्धी तत्कालीन मानिसले लिएका चासोहरुले नै उनीहरुको चिन्तन प्रणालीको विकास भएको र त्यस्तो चिन्तनमा घोत्लिएर जीवन गुजारेका चिन्तकहरुको चिन्तनको सारलाई नै दर्शन भन्ने गरिएको कुरा मैले धेरै पछी वुझें। तर यी सबै कुराहरु वुझ्दा मैले सात समुद्र पारका दर्शन र दार्शनिकहरुको बारेमा मात्र वुझेछु ।

 

हाम्रो क्षेत्रतिर निकै पुराना सभ्यताहरु बसेको कुरा इतिहासमा पढे पनि मेरो अध्ययन अध्यापनमा ती सभ्यतामा बांचेका मानिसहरुको विषयमा हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तकमा चर्चा नपाउनुले विचार शून्य
थिए त? के दर्शनको क्षेत्रमा योगदान गरेका पश्चिमा दार्शनिकहरुसिरोज,एनाक्जिम्न्डर,थेलीज,पाइथागोरस,जेनोफेन्स, एपिचार्मस, हेराक्लिट्स, एनाग्जोरस, डिमोक्रेटस, मेलीसस, हिप्पो, जेनोफोन, एरिस्टोटल, युक्लिड, आर्किमिडीज, सिसेरो, प्रोक्लस, फ्रान्सिस वेकन, ग्यालिलीयो ग्यालिली, डिस्कार्टे, पास्कल, न्यूटन, ल्यावनीज, डेभिड ह्यूम, एडम स्मिथ, कान्ट, लेमार्क, लाप्लायस, हेगेल, जेम्समिल, लुडविड फायरवाख, डार्वीन, कार्ल मार्क्स, स्पेन्सर, एंगेल्स, दुरखिम र ज़ोन डिवे आदि मात्र हुन् त ? के इशा पूर्व सातौं सताव्दि अंघी पूर्वीय सभ्यताका मानिसहरुले जीवन, जगत, विश्व व्रम्हान्ड बारे चिन्तन गर्दैनथे त ?

मैले आफ्नो अध्यापन कालमा हिस्ट्री अफ मैथेमैटिक्सको पुस्तक लेख्दा र कैयन आर्टिकलहरु विभिन्न पुस्तकहरुमा प्रकाशन गर्र्ने क्रममा कैयन पुस्तकहरु, रिसर्च आर्टिकलहरु र अडियो भिडीयो सामाग्री हेर्दा म झसंग भएं कि हामी पूर्वीय सभ्यतामा बांचेकाहरु पनि चिन्तन, ज्ञान र दर्शनको क्षेत्रमा पश्चिमा भन्दा कम सम्पन्न रहेनछौं भन्ने निस्कर्ष त निकाली सकेको थिएं।

अहिले मेरो हातमा दुइ वटा पुस्तकहरु छन्। करिव एक महिना पहिले मेरो अनन्य मित्र प्रा डा हिरण्य ज्ञवालीसंग अनौपचारिक रुपमा ज्ञान विज्ञानको कुरा गर्दा गुल्मी जिल्लाको थोर्गामा जन्मेका, धुर्कोटका मावली पोखरेलहरु भएका हाल भारतको सिलांगमा बस्ने सलील ज्ञवालीको पूर्वीय दर्शनको चिन्तन र उनले प्रकाशन गरेको “ग्रेट माइन्डस अव् इन्डीया “ को प्रा डा गोविन्द भट्टराईद्वारा नेपाली भाषामा अनुवादित पुस्तक “पूर्वीय सभ्यता विश्व विख्यात विद्वानहरुका दृष्टिमा “ भन्ने पुस्तकको वारेमा सुनेको थिएं। मैले पूर्वीय दर्शनको विषयमा चासो राखी मेरो ल्यापटप खोली एक दिन गुगलींग गरी हेर्दा तिनै सलील ज्ञवालीले लेखेको पुस्तकमा भएका विषयवस्तु, अनुवादक डा भट्टराई, प्रा घनश्याम कंडेल र स्वयं सलील ज्ञवालीको प्रकाशकीय र भूमिका लेखनका विषयमा लेखिका रन्जु पांडेले लेखेको लेख मेरो नजरमा एकाएक पर्यो। लेख अत्यन्तै गहिरिएर पढे पछी मैले पुस्तक पसलमा गई सलीलको पन्द्रह भाषामा अनुवाद भै प्रकाशन भएको पुस्तक किने। दार्शनिक अध्येता तथा राजनीतिज्ञ मोहन वैद्य किरणले आजभन्दा पाँच वर्ष अंघी प्रकाशन गरेको “हिमाली दर्शन “ पनि मैले अध्ययन गर्ने मौका पाएको थिइन। दर्शन र राजनीतिक गुरु वैद्य जी को एउटा पुस्तक र सलील ज्ञवालीको पुस्तक मैले एक पटक त पढें तर यी दुवै पुस्तक धेरै पटक पढे पछी मात्र थाहा मैले थाहा पाउने छु कि पूर्वीय दर्शन के रहेछ कति प्राचीन रहेछ यसलाई आधार बनाएर कसरी पश्चिमाहरुले विज्ञान र प्रविधिको विकास गरे भन्ने कुरा केहि मात्रमा थप वुझ्ने छु।

 

हामीले भन्ने गरेको पूर्वीय र पाश्चात्य दर्शनको यथार्थ भौगोलिक सिमा छैन। हाम्रो चिन्तन प्रणाली, रहन-सहन, संस्कार, धर्म, संस्कृतिसंग सम्वन्धित पूर्वीय दर्शन मूलतः भारत वर्षमा विकसित भएको दर्शन र युरोप, अमेरिका, अफ़्रीका तथा मूलत: ग्रिक, मेसोपोटामिया, इटाली तथा टर्की र जर्मनतिरबाट उत्पत्ति भै फैलिएको चिन्तन र दर्शनलाई पाश्चात्य दर्शनको रुपमा वुझिन्छ। हिंजो आज कट्टरपन्थी उग्र भारतीय हिन्दुवादीहरुले पूर्वीय दर्शनलाई आफ्नो नीजी दर्शन हो भनेर एकातिर व्याख्या गरी सारा विश्वका पाठकवर्ग लाई भ्रम छर्दा नेपाली विद्वान र प्राध्यापकहरु भने हिन्दुइज्मलाई एक धार्मिक ग्रन्थको रुपमा मात्र परिभाषित गरी यस भित्रको गुह्य विषयलाई ओझेलमा पार्दा नेपाली विश्व विद्यालयहरुमा पनि कसरी योजनावद्ध रुपमा पश्चिमा र भारतीय साम्राज्यवाद घुस्दो रहेछ भन्ने वुझ्न कठिनाई हुंदैन ।

हाम्रो पूर्वीय दर्शनमा नौ वटा दर्शनहरु क्रमस: लोकायत दर्शन, सांख्य दर्शन, जैन दर्शन, वौद्ध दर्शन, योग दर्शन, वैशेषिक दर्शन, न्याय दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शनहरुले जीवन, जगत, विश्व व्रम्हाण्ड ज्ञेय वा अज्ञेय के छ? के जीवन जगत र विश्व व्रम्हाण्डको ज्ञान सम्भव छ, छ भने यस्को ज्ञान प्राप्त गर्ने विधि के हो ? के हामीले चासो राखी खोजेको ज्ञानको कुनै मूल्य छ ? मानवले के गर्नु उचित र के गर्नु अनुचित छ ? के हामीले विश्व व्रम्हाण्डमा सौन्दर्य पक्ष देख्न सकिन्छ? भन्ने अनगिन्ति प्रश्नको उत्तर खोजिरहेका छन्। उग्र हिन्दुवादी भारतीय शासकहरुले पूर्वीय दर्शनलाई आफ्नो भने पनि हामी यो कुरामा स्पष्ट हुनुपर्छ कि भारतवर्ष भनेको भारत मात्र नभएर हिमाली देश नेपाल, वंगालादेश, श्रीलंका, पाकिस्तान तथा भियतनाम लगायतको भूमीमा जन्मिएको हो पूर्वीय दर्शन । त्यसैले यो दर्शनको अपनत्व यी सबै देशहरुले लिन सक्छन् । भारतको भूभाग ठूलो भएकोले यो भूभागमा धेरै दार्शनिकहरु जन्मेका हुन भन्न भारतले सके पनि कमरेड मोहन वैद्य किरण र अन्य पूर्वीय दर्शनमा कलम चलाउने लेखकहरुले हिमाली देश नेपालमा पनि थुप्रै दार्शनिकहरु जन्मेको कुरा उल्लेख गरेका छन्। मैले एउटा लेखमा मार्क्सवादी नेता लोक नारायण सुवेदी जी को लेखमा रावणले नेपालको हिमाली क्षेत्रमा जन्मिएकी थकाली थरकी चेली विवाह गरेको कुरा पढेको छु। हुन् त रामायण एक पौराणिक दस्तावेज हो भनी हामीले यसलाई त्यती महत्व दिंदैनौ तर पश्चिमाहरु यस्तो विषयवस्तुमा चासो राख्दा रहेछन् भन्ने कुरा सलील ज्ञवालीको पुस्तकबाट स्पष्ट हुन सकिन्छ।

कोशी नदीको पूर्वी किनारमा बसी ध्यान गरेका याज्ञवल्क्य, सांख्य दर्शनका प्रणेता कपिलवस्तुमा ध्यान गरेका महर्षि कपिलमुनी, नेपाल कै कपिलका शिष्य पन्चशिख, जनकपुरको आसपास रहेका चार्वाक दार्शनिकहरु, राजर्षि जनकका समकक्षी अष्टावक्र, याज्ञवल्क्यका सहसंगी गार्गी, गौतम वुद्ध, अद्वेत वेदान्ती दार्शनिक अनुपरम, गोरखनाथ, मच्छेन्द्रनाथ, योगी नरहरि नाथ, जोसमनी परम्परालाई विकसित तुल्याउने सन्त शशिधर स्वामी, शक्ति वल्लभ अर्याल, योगी अम्वरगीर, आदिकवि भानुभक्त, लक्ष्मी प्रसाद देवकोटा, ज्ञान दिलदास, फाल्गुणानन्द, नीतिवादी कवि लेखनाथ पौड्याल, ऋषभ देव रेग्मी र अन्य थुप्रै अग्रजहरुले दर्शनको क्षेत्रमा योगदान दिएका छन्। त्यसैले होला कमरेड वैद्यले आफ्नो पुस्तकको नाम हिमाली दर्शन राखेको।

मैले गणितको अध्ययन अध्यापन गर्दा पूर्वीय दार्शनिक र गणितिज्ञहरुले गणितको विकासमा थुप्रै योगदान गरेको पाएं।पूर्वीय दर्शनको एउटा हांगा वेद मध्येको जेठो वेद ऋग्वेदमा मात्र संख्याको स्थान मान पद्धति, हिन्दु अरेविक संख्या प्रणाली, पाइको उत्पत्ति, इन्फिनीटीको धारणा, शून्यको धारणा, विग नम्वर्सको धारणा, अल्गोरिदमको धारणा, फ़्रीक्वेंसी र डेसिमल नम्वर्सको धारणा, सम्मेसन अफ सेरिज, स्क्वायर एण्ड स्क्वायर नम्वर्स, क्युव एण्ड क्युविक नम्वर्स, लिनीयर इक्वेशन, एनालाइटिक कोनिक इक्वेशन अफ एसिम्प्टोट्स, इक्वेशन अफ कन्जुगेट हाइपारावोला, पाइथागोरियन थ्यौरमको ज्यामितीय प्रुफ, फिजिक्स, ट्रिगोनोम्ट्री तथा गणितको अन्य शाखाहरुसंग सम्वन्धित ज्ञान भएको पाएं। वेदका अन्य प्रभाग र आठ वटा अन्य दर्शनहरुमा गणितको ज्ञान कति छ विज्ञहरुबाट खोज्न जरुरी छ।
पूर्वीय सभ्यतामा भएको ज्ञानको श्रोतबाट आकर्षित भएका र उक्त दर्शनबाट आफूलाई ऋणी ठान्ने ९८ वटा पश्चिमा दार्शनिक, वैज्ञानिक तथा विश्व विख्यात प्रशिद्ध साहित्यकारहरुले पूर्वीय दर्शनबारे राखेको अभिमत हाम्रा तथाकथित नेपाली विद्वान र पश्चिमा दर्शनलाई मात्र दर्शन देखि त्यसैको गुणगान गाएर सोधपत्र लेख्ने आफ्ना चेलाहरुलाई सधै हतोत्साहित गराउने पाखण्डी प्राध्यापकहरुले पढ्ने हो भने के भन्दा हुन मलाई थाहा छैन तै पनि यहां केहि पश्चिमा दार्शनिक, वैज्ञानिक र साहित्यकारहरुले पूर्वीय दर्शन बारे बोलेको कुरा उद्धृत गर्न चाहान्छु ।

 

हामी पूर्वीय सभ्यता प्रति चीर ऋणी छौं किनकि उनीहरुले हामीलाई गणित सिकाए, त्यस्का अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सम्भव थिएन।”- अल्वर्ट आइन्स्टाइन
“ युरोपेलीहरुको उच्चतम दर्शन पनि वेदान्तको तुलनामा एउटा निस्तेज फिलिंगो जस्तो मात्र देखिन्छ “।- अगस्त्य विलहेल्म स्लेगल
“मेरो पूर्वीय दर्शनसितको पहिलो भेटले नै म भित्र रहेका अस्पष्ट अनुमानहरुलाई सम्पुष्टि गरिदियो र एकै चोटि ती तार्किक र असिम लाग्न थाले”। – विलियम वटलर यिट्स
“धर्म र कल्पनाप्रसूत साहित्यमा भारतवर्ष चीनको गुरु थियो। त्रिकोणमिति,चतुष्कोणिय समिकरण, व्याकरण (पाणिनिको), ध्वनी विज्ञान, अरवियन नाइट्स, नीतिकथा, चेसका साथै दर्शनमा भारतवर्ष संसारकै गुरु हो।भारतवर्षले नै ओकाशियो, गेटों, हर्डर, सोपेन्हावर, इमर्सन र संभवत: प्राचीन ग्रिसेली इसफलाई पनि जन्मायो”।- डा लींग युतान
“क्वान्टम फ़िज़िक्समा मलाई उन्मादी वा असंगत लागेका केहि कुरा भारतीय दर्शनका विषयमा छलफल तथा वार्ता गरिसके पश्चात अर्थपूर्ण लाग्न थाले”।-वेरनर हिसिंगवर्ग
“आधुनिक भौतिक शास्त्रमा हामीले जुन उपलव्धी हांसिल गरेका छौं, त्यो कुरा सबै प्राचीन हिन्दु विद्वताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो”।- क्वर्टी ओपेनहाइमर
“ पूर्वीय विद्वानहरुले सबै कुरा जानेका रहेछन् । हामीले उनीहरुका उत्तरलाई आफ्नो भाषामा अनुवाद गर्न सके मात्र पनि सबै जिज्ञासाका उत्तर पाउन सक्ने थियौं”।-ज़ोन आर्किवाल्ड ह्वेलर
“ हिन्दूहरुको खगोलशास्त्र संसारमा प्राचीनतम विद्या हो। हिन्दुहरुबाटै इजीप्सियन, ग्रिसेली, रोमन र यहांसम्म कि यहूदीहरुले सम्म त्यस्को ज्ञान प्राप्त गरेका थिए”।-जाँ- सिल्भाइन वेली
“हाम्रा सबै कुराहरु गंगाजीको तटबाटै प्राप्त भएका हुन- खगोलशास्त्र, ज्योतिष विद्या, आध्यात्म विद्या सबैसबै। पच्चीस सय वर्ष अंघी ग्रिसको समोस टापुका ‘पाइथागोरस’ ज्यामिती सिक्नकालागि गंगाजीसम्म पुगेका थिए। आर्य व्राम्हणहरुका विज्ञानको यश धेरै अंघी युरोपमा स्थापित भैनसक्को भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला”।- फ्रां स्वां भोल्तेयर
“विद्युत, रेडीयम, इलेक्ट्रोनिक्स र हवाईजहाज़को ज्ञान भारतवर्षका विद्वानहरुमा पहिले नै थियो जसले वेदको रचना गरे”।- एला ह्विलर विल्कक्स
“वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्वाधिक प्रभावशाली तत्व मीमांसा (Ontology) हो”।-ह्वाइट हेड
“पृथ्वीको आयुको अनुमान गर्ने विषयमा वैज्ञानिक अभिलाषा हुनु भन्दा धेरै पहिले प्राचीनकालमा ऋषिमुनीहरुले संसारको इतिहासका धेरै विस्तृत प्रणालीहरुको प्रतिपादन गरिसकेका थिए”।- आर्थर होल्म्स
“समयलाई लाखौं कल्पको रुपमा (एक कल्पमा ४३, २०००० वर्ष) सोंच्न अभ्यस्त भारतवर्षका दार्शनिकहरुको निमित्त ‘सापेक्षताको सिद्धान्त’ नौलो विषय होइन।”- एलान वाट्स
सलीलले यी र यस्तै विश्व विख्यात दार्शनिक, वैज्ञानिक र साहित्यकारहरुको पूर्वीय दर्शन प्रतिको दृष्टिकोण संकलन गरी २५ वर्ष लगाएर निकालेको पुस्तकले दर्शनको जन्मभूमि भनिएको युनानलाई धेरै सांगुरो घेरा भित्र राखिदिएको छ।
यो पुस्तकले मेरो छ दशक बढिको जीवन ज्ञानमा पश्चाताप मात्र थपेको छ। प्रा डा गोविन्द भट्टराईले भने झैं वास्तवमा हामीले यती वेला आफ्ना गोठका काठे लैना गाई परदेशीलाई विक्री गरेर त्यसको पैसाले होल्याण्ड देखि मगाएको वासी स्किम्ड मिल्क किन्दैछौं र हाम्रा नानीहरुलाई त्यहि पियाउंदै छौं। आज सबै पश्चिमाहरु पूर्वतिर हेरिरहेका छन् तर हामीले पाश्चात्य ज्ञानलाई मात्र एकोहोरो पुजीरहेका छौं।

 

हाम्रो पाठ्यक्रम र पाठ्य पुस्तकले हामीलाई यसैमा वांधेको छ। जव हामी रामायण र गीताको कुरा गर्छौं कति सजीलै हामीले ती ग्रन्थलाई श्रुति र पौराणिक कथा भन्छौं । त्यो वेला हामीले फर्म्याट र डिस्कार्टेको र्यासनालिज्मको प्यारामिटरमा जांच्न थाल्छौं तर ती ग्रन्थको ज्ञानको गहिर्याईमा घोत्लिंदैनौ।
अन्तमा हामीले पूर्वीय दर्शनलाई हिन्दु धर्मको रुपमा हेर्यौं यसको दार्शनिक र वैज्ञानिक पक्षलाई हेरेनौं। हाम्रा जानेमाने संस्कृतका कथित पाखण्डी विद्वानहरुले हामीलाई वेवकुफ मात्र बनाए।वेदलाई व्राम्हणहरुको मात्र पेवा बनाए। उनीहरुले हामीलाई पुजा मण्डप वरिपरि घुमाए, हामी किन घुम्यौ हामीलाई सो को जानाकारी भएन हामीले पनि सोधेनौ ।

 

उनीहरुले हामीलाई स्वाहा: भन्न सिकाए हामीले स्वाहा: भन्यौ तर हामीले पूर्वीय दर्शन भित्रको गुह्य ज्ञान प्राप्त गर्न सकेनौ। हाम्रो शिक्षा पनि यसबाट टाढै रह्यो। यहि कारणले हामी पश्चिमा भन्दा चार सय वर्ष पछाडी पर्यौ तर उनीहरुले हाम्रो दर्शन दुइ पटक चोरे। पहिलो पटक क्रिस्चियन पादरीहरुले पश्चिमा दार्शनिकहरुलाई लखेटेको वखत उनीहरु भारत वर्षमा आई हाम्रो दर्शन चोरे। दोश्रो पटक व्रिटिस साम्राज्यले भारतमा लामो समय शासन गरेको वेला हाम्रो दर्शनको अंग्रेजीमा अनुवाद गर्यो। अस्तु।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?