शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति द्वारा मेलम्चीको खानेपानी औपचारिक रूपमा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन गर्नुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएको हो । अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुंगेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपति भण्डारीले स्वीच थिची औपचारिक उद्घाटन गर्नुभयो ।

राष्ट्रपति भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानीबासीका लागि नयाँ उपहार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्याका कारण खानेपानी समस्या देखिदै आएकोमा मेलम्चीको पानीले नागरिकलाई खुशी प्रदान गरेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र सिन्धुपाल्चोककै याङ्गी र लार्के खोलाको पानी पनि काठमाडौं ल्याएर वितरण गरिने बताउनुभयो ।

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न हुनु काठमाडौं उपत्यकाबासीको लागि एक पर्व भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?