शनिबार, साउन १२, २०८१

पाँच करोड मानिसको ज्यान लिएकोे सय     वर्षअघिको त्यो महामारी

 

काठमाडौं : फेब्रुअरी १९१८ देखि अप्रिल १९२० सम्म झन्डै दुई वर्षभन्दा बढी समय यो महामारी फैलियो ।

विश्वका करिब ५ करोड मानिसको ज्यान लियो । यसबारे सही तथ्यांक भने उपलब्ध छैन । १ करोड ७० लाखदेखि १० करोड मानिसको ज्यान गएको अनुमान गरिएको छ । त्यस्तै, यस महामारीबाट विश्वको झन्डै एकतिहाइ जनसंख्या प्रभावित भएको थियो । यस महामारीको मृत्युदर बढी थियो, संक्रमितको झन्डै १० प्रतिशत मानिसको मृत्यु भएको पाइएको थियो । मृत्यु हुनेमा जवान (२० देखि ३० वर्ष उमेर समूह) र स्वस्थ मानिस नै बढी थिए ।

स्पेनिस फ्लु किन भनियो ?

स्पेनिस फ्लुको वैज्ञानिक नाम ‘द इन्फ्लुएन्जा प्यान्डेमिक अफ १९१८’ हो । यो महामारी ‘एच–१ एन–१ इन्फ्लुएन्जा’ भाइरसका कारण भएको थियो । सन् २००९ मा फैलिएको स्वाइनफ्लुको पछाडि पनि यही ‘एच–१ एन–१ इन्फ्लुएन्जा भाइरस थियो ।

यस भाइरस कहाँबाट फैलियो भन्नेबारे धेरै नै विवाद छ, तर अधिकांश वैज्ञानिक यस भाइरस अमेरिकाको मध्य पश्चिमको कुनै ठाउँबाट फैलिएको बताउँछन् ।

यो महामारी पहिलो विश्वयुद्ध (१९१४–१९१८) सकिनै लाग्दा सुरु भएको थियो । पहिलो विश्व युद्धमा अमेरिका सन् १९१७ देखि सामेल भएको थियो । यस्तो मानिन्छ कि अमेरिकाले युरोप पठाएका सेनाबाट यो भाइरस फैलन पुग्यो । पहिलो विश्वयुद्धमा ‘ट्रेन्च वारफेर’ चलेको थियो, सेनाले जमिनमा लामो नहरजस्तै खाडल पारेर लुक्थे, बस्थे र त्यहीँबाट शत्रु सेनालाई प्रहार गर्थे । यसरी सेनाले ट्रेन्च (खाडल) मै धेरै दिन बिताउनुपथ्र्यो, जहाँ स्वास्थ्यका हिसाबले त्यति सुरक्षित हुँदैनथ्यो । लडाइँमा भाग लिइरहेका सेना संक्रमित हुन पुगे भने उसलाई घर पठाइन्थ्यो, यसै कारण यो भाइरस तीव्र गतिमा युरोप हुँदै करिबकरिब विश्वभरि फैलियो ।

यस महामारीको नाम ‘स्पेनिस फ्लु’ रहनुको पछाडि खास कथा छ । पहिलो विश्वयुद्धमा स्पेन तटस्थ थियो । उसले ‘सेन्ट्रल पावर’ वा ‘अलाइन्स’, कसैलाई पनि समर्थन गरेको थिएन । तटस्थ हुनाका कारण स्पेनमा मिडियामाथि कुनै ‘सेन्सरसिप’ थिएन, तर विश्वयुद्धमा भाग लिएका देशले मिडियामाथि त्यतिबेला ‘सेन्सरसिप’ लगाएका थिए । जसकारण सेना महामारीबाट संक्रमित भएको वा ज्यान गुमाएको खबर बाहिरिँदैनथ्यो । जब यो भाइरस स्पेनमा पनि फैलन थाल्यो, त्यहाँबाट यसबारे समाचार बाहिरिन थाले । त्यसकारण मानिसहरु खासगरी ब्रिटिस र अमेरिकन मिडियाले यसलाई ‘स्पेनिस फ्लु’ नाम दिए । यही नाम स्थापित भयो । यस महामारीलाई ‘बिर्सिइएको महामारी’ पनि भनिन्छ, किनभने यस महामारीलाई मानिसले छिटै भुल्न थाले, यसबारे खोज अनुसन्धान, दस्ताबेजीकरण पनि त्यति भएन । पछि २००५ मा यसबारे अनुसन्धान भएको थियो, यसको स्ट्रेन (आनुवंशिक रुप) निकै विषालु पाइएको थियो ।

मृत्यु किन बढी ?

स्पेनिस फ्लु चार चरणमा देखिएको थियो । यो पहिलो वा सुरुवाती चरणमा त्यति खतरनाक थिएन, मृत्युदर निकै कम थियो । जाडो महिनामा पनि यसको संक्रमण कम देखिएको थियो, तर गर्मीमा मृत्युदर बढ्न पुग्यो । त्यतिबेला यस भाइरसमा म्युटेन्ट (उत्परिवर्तन) भएको थियो, जसकारण त्यतिबेला युवा (२० देखि ३० वर्ष समूह) को मृत्यु हुन पुग्यो, यसलाई मेडिकल भाषामा ‘साइटोकाइन स्ट्रोम’ (जन्मजात प्रतिरक्षा प्रणाली अनियन्त्रित हुनु) भनिन्छ । त्यसपछि १९१९ मा यसको तेस्रो चरण पनि आएको थियो, तर १९२० को सुरुवातसँगै यो महामारी सकियो ।

यस महामारीबाट त्यति धेरै मानिसको मृत्यु किन भयो भने, त्यतिबेला एन्टिबायटिक्सको खोज भइसकेको थिएन । त्यतिबेला भाइरसबाट संक्रमित अधिकांशलाई निमोनिया हुन्थ्यो, जुन निकै घातक थियो । निमोनियासँगै अन्य श्वासप्रश्वाससम्बन्धी समस्याका कारण त्यतिबेला धेरैको मृत्यु हुन्थ्यो । त्यस्तै, जो एच–१ एन–१ भाइरसबाट संक्रमित हुन्थ्यो, उसलाई अन्य रोग वा संक्रमण (सेकेन्डरी इन्फेक्सन) भयो भने पनि त्यस मानिसको मृत्यु हुन्थ्यो । अन्य रोग वा संक्रमणबाट पनि मृत्यु हुनेको अनुमान गरेर कतिपयले त्यतिबेला १० करोडसम्म मृत्यु भएको बताउँछन् । त्यतिबेला अहिलेजस्तो विश्व स्वास्थ्य संरचना र प्रविधि थिएन, जसकारण अहिलेजस्तो मृत्यु हुनेको एकमुष्ठ संख्या प्रसार हुँदैनथ्यो । त्यसो त, पहिलो विश्व युद्धमै सहभागी हुने, घाइते हुने र मृत्यु हुनेबारेको तथ्यांकमा विवाद छ । तर, पहिलो विश्वयुद्धमा विश्वका ६ करोड ५० लाख ३८ हजार ८ सय १० सैनिक परिचालित गरिएको र ८५ लाख ८६ हजार ८ सय ३१ सैनिकको मृत्यु भएको पुस्तकमा पाइन्छन् ।

स्पेनिस फ्लुको समयमा पनि मानिसहरुलाई सहरहरुको भ्रमणमा रोक लगाइएको थियो । स्कुल, थिएटर, डान्सबार बन्द थिए, सार्वजनिक सभा गर्न निषेध गरिएको थियो । अमेरिकाका कतिपय सहरमा लकडाउन पनि गरिएको थियो । त्यतिबेला संक्रमण फैलन नदिन बाटोमा खोक्ने वा थुक्नेलाई कारबाही गरिन्थ्यो । बालबालिकालाई घरभित्रै राखिएको थियो । आमनागरिकलाई पनि मेडिकल तालिम दिइएको थियो । त्यतिबेला रेडक्रस सोसाइटीले निकै खटिएको थियो ।

यस महामारी चलिरहेका बेला (सेप्टेम्बर २८, १९१८ मा) अमेरिकाको फिली (फिलाडेल्फिया) सहरमा परेड (प्रदर्शनन)को आयोजना गरियो, युद्धका लागि पैसा संकलन गर्न, जसलाई ‘फिलाडेल्फिया लिबर्टी लोन्स परेड’ भनिन्छ । संक्रमण फैलन डरले धेरै स्वास्थ्यकर्मीले यो परेड नगर्न सल्लाह दिएका थिए, तर फिलाडेल्फियाको स्वास्थ्य विभाग निर्देशक डा. विल्मर क्रुसेनको अनुमतिमा परेडको आयोजना भएरै छाड्यो । परेडमा करिब दुई लाख मानिस जम्मा भए । त्यसको लगत्तै त्यहाँ ४७ हजार मानिस संक्रमित भए भने १२ हजार मानिसको मृत्यु हुन पुग्यो ।

(विकिपेडिया तथा एजेन्सीको सहयोगमा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal