शनिबार, अशोज १९, २०८१

कम्युनिस्ट आन्दोलनमा गंभिर विचलन आयोः मोहनविक्रम सिंह

– प्रदीप बस्नेतले लिएको अन्तर्वार्ता

नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक र सैद्धान्तिक पक्षमा अब्बल मानिने मोहनविक्रम सिंह अहिले पनि आफूलाई अर्ध भूमिगत बताउँछन् । नेकपाका नेता प्रचण्ड, किरणलगायतका राजनीतिक गुरु पनि मानिने सिंह नेकपा मसालका महामन्त्री हुन् । पार्टीका अर्ध भूमिगत नेता सिंह कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रुपमा चिनिन्छन् । नेकपा मसाल अर्ध भूमिगत भए पनि पार्टी निकटको संसदीय मोर्चाका रुपमा राष्ट्रिय जनमोर्चा संसद् र सरकारमा पनि सहभागी भइसकेको छ । ८४ वसन्तमा पनि राजनीतिक रुपमा उत्तिकै सक्रिय सिंहसँग अहिलेको नेकपा एकता प्रभाव र नेपालको कम्युनिस्ट आन्दोलनबारे शिलापत्रका लागि प्रदीप बस्नेतले कुराकानी गरेका छन् । प्रस्तुत छ, नेता सिंहसँग गरिएको कुुराकानीको सम्पादित अंश

………………………………….

तपाईं कम्युनिस्ट आन्दोलनको धरोहर हुनुहुन्छ । अहिलेको कम्युनिस्ट आन्दोलन अलिकति धर्मरायो, विचलित भयो भन्ने छ । तपाईंले अहिलेको वाम आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

पहिलो कुरा त अहिलेको नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । त्यसमा विचलन आएको छ । त्यसमा संशोधनवादी धार बढ्दै गएको छ । त्यसको एउटा रूप नेपालको कम्युनिस्ट आन्दोलन पनि हो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट अलग गरेर हेर्न सकिँदैन । त्यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि परेको छ । यहाँ पनि संशोधनवादी दिशाको नै बढी प्रभाव छ ।

अहिले जुन सरकार बनेको छ, यो कम्युनिस्ट पार्टीको सरकार होइन । अहिलेको सरकारले कम्युनिस्ट नीतिअनुसार काम गरेको पनि छैन ।

नेकपाले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनको मियो र केन्द्र भनेर दाबी गर्छ । यो आन्दोलनचाहिँ के हो त्यसो भए ? यसलाई के भन्नुहुन्छ ?

RITZShikhar Insurance
यो कम्युनिस्ट पार्टी होइन, यो कम्युनिस्ट सरकार पनि होइन । यसलाई कम्युनिस्ट आन्दोलनको केन्द्र वा मियो ठान्नुहुँदैन । जनतालाई यो कम्युनिस्ट पार्टी हो भन्ने भ्रम छ । यसको परिणाम के भएको छ भने यसले गलत कामहरू गरिरहेको छ । त्यसले गर्दा कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको बदनाम हुँदै गइरहेको छ । यसले गरेका क्रियाकलापका कारण कम्युनिस्ट आन्दोलनलाई धेरै ठूलो क्षति पुगेको छ । यसबाट कम्युनिस्ट आन्दोलनमा गलत असर परेको छ । कम्युनिस्ट आन्दोलनलाई नोक्सान पुगेको कुरा प्रस्ट छ ।

दुई तिहाइ बहुमतप्राप्त नेकपालाई कम्युनिस्ट पार्टीका रुपमा तपाईंले अस्वीकार गरे पनि उसले आफूलाई कम्युनिस्ट केन्द्र भनेर दाबी गरेको अवस्थामा अहिले बनेको कम्युनिस्ट पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउँछ कि बदनाम गर्छ ?

निश्चित रुपमा बदनाम गर्छ । यो कम्युनिस्ट पार्टी र सरकार नभए पनि जनताको आमविश्वास के छ भने यो कम्युनिस्ट पार्टी हो । यसका गलत क्रियाकलापले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँछ र बदनाम गर्छ ।

नेपाली जनता वामपन्थीतिर छन् भनेर हामी विश्लेषण गर्छाैं । तर, कम्युनिस्ट पार्टीले गरिब, मजदुर र सर्वहारा वर्गसँग सम्बन्ध टुटाउँदै गएको छ । किन ?

संसारभर त्यही भइरहेको छ । जब कम्युनिस्ट आन्दोलन सही दिशा र विचारबाट विचलित हुन्छ, तब दक्षिणपन्थी र गलत दिशा समात्छ । र, त्यो जनता, मजदुर र किसानबाट अलग हुँदै जान्छ । त्यसकारण, समाजवादी देशको पनि पतन भयो । रुसमा कम्युनिस्ट पार्टीले दक्षिणपन्थी बाटो लियो । त्यसले नोकरशाही रूप लिँदै गयो । त्यहाँ पुँजीवादको स्थापना भयो र कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको नै विघटन भयो । ठीक त्यही अवस्था यहाँ पनि
छ ।
अहिलेको नेकपा र तपाईंहरूजस्तो आफूलाई विभिन्न समूह र पार्टीमा संगठित गरिरहनुभएका नेपालका वाम शक्तिको अवस्था हेर्दा त तपाईंहरूले न संगठन गर्न सक्नुभयो न विचारको विकास गर्न सक्नुभयो भने एकातिर र तपाईंहरू विस्तारै क्षयीकरण अथवा कमजोर हुँदै जाने स्थिति किन भयो ?

यो सत्य हो । संसारमा कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । रक्षात्मक अवस्थामा पुगेको छ । यसको प्रयोग कति देशका पार्टीले गरेका छन् । गलत दिशा समातेका छन् । त्यसको अर्थ जुन नेपालका वामपन्थी कम्युनिस्ट पार्टीहरू हुन्, उनीहरूमा त्यो स्थिति उत्पन्न भएको छ । यसको परिणामस्वरूप नै कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टी पनि २०, ३० ४० सालमा जुन स्थितिमा थियो, त्यो भन्दा कमजोर भएको छ त्यसैले प्रतिकूल स्थितिमा पनि हामीले आफूलाई बचाउने प्रयत्न गरेका छौं ।

माक्र्सवादी लेनिनवादी कम्युनिस्ट सिद्धान्तको आधारमा हाम्रो पार्टीको अस्तित्वलाई हामीले बचाएका छौं । यो सत्य हो कि पहिलेको तुलनामा हाम्रो स्थिति धेरै नै कमजोर भएको छ । कमजोर हुनुको कारण हो, दक्षिणपन्थी संशोधनवादी दिशा बढ्दै जानु । यो स्थितिमा पनि पार्टी र यसको सैद्धान्तिक पक्षलाई बचाउन हामी सफल भएका छौं । हामी कमजोर हुनुको परिणाम देशमा दक्षिणपन्थी संशोधनवादी तत्त्वहरू शक्तिशाली हुँदै गएका छन् ।

तपाईं कम्युनिस्टहरू कार्यनीति र रणनीतिमा अलि बढी खेल्नुहुन्छ । तर, तपाईंहरूको कार्यनीति मात्रै देखिन्छ, रणनीति देखिँदैन । कार्यनीति र रणनीतिका बारेमा तपाईंहरूबीच किन धेरै ठूलो विरोधाभास देखिन्छ ?

कम्युनिस्ट पार्टीको रणनीति भनेको लामो समयसम्म चल्ने नीति हो । कार्यनीति भनेको तत्कालको नीति हो । जस्तो भनौं, नयाँ जनवाद हाम्रो रणनीति हो । रणनीति कुन बेला हामीले पूरा गर्न सक्छौं भन्ने कुरा कुनै खास बेलाको स्थितिमा निर्भर गर्छ । अहिले देशमा तत्काल नयाँ जनवादी क्रान्ति गर्ने स्थिति छैन । नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र संघर्षको नीतिको आवश्यकता हुन्छ ।

दीर्घकालीन जनयुद्धको आवश्यकता हुन्छ । हाम्रो देशमा तत्काल जनयुद्धलाई सफल पार्ने या सञ्चालन गर्ने अवस्थामा हामी छैनौं । जुन संगठनहरूले त्यो दिशामा कोसिस गरे, पहिलेको माले या माओवादीले परिस्थितिलाई ध्यान दिन सकेनन् । त्यसको परिणाम के भयो भने उनीहरूले अवसरवादी बाटो समातेर शान्तिपूर्ण राजनीतिमा आउनुपर्‍यो । त्यसकारण, हामी परिस्थिति तयार नभईकन रणनीति र उद्देश्यहरू पूरा गर्न सक्दैनौं । नयाँ जनवादी क्रान्तिको पक्षमा अहिले हामीले बढीभन्दा बढी प्रचार गरिरहेका छौं ।

हाम्रा ठोस रणनीति, ठोस योजना र ठोस कार्यक्रम कार्यनीतिका रूपमा रहन्छ । यसो भन्नुको अर्थ हामीले कुनै बेला गणतन्त्रको पक्षमा संघर्ष गरेका छौं । अहिले संघीयताको विरुद्धमा आन्दोलन गरिरहेका छौं ।
अहिले देशमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्ध जुन खतरा छ, त्यसका विरुद्ध संघर्ष गरिरहेका छौं ।

संघीयताको नाममा तराईलाई टुक्र्याउने षड्यन्त्र भइरहेको छ, त्यसका विरुद्ध संघर्ष गरिरहेका छौं । त्यसकारण, ठोस रूपमा हाम्रा तत्कालीन कार्यक्रम कार्यनीतिका रुपमा नै जान्छन् । अहिले हामी एकैपल्ट जनयुद्ध सुरु र नयाँ जनवाद लागू गर्न सक्ने कार्यक्रम बनाएर जान सक्ने स्थितिमा छैनौं ।

नेकपा (मसाल)लाई खास गरी लाग्ने गरेको आरोप रणनीति र कार्यनीतिमा विरोधाभास छ भन्ने हो । एक–दुई वटा कारणहरू म बताउँछु । एउटा, तपाईंहरू संघीयताको पक्षधर होइन तर त्यही संघीयताअन्तर्गतका संरचनामा तपाईंहरूको सहभागिता छ, संघीय सरकारदेखि स्थानीय तहसम्म । दुई, नेकपा (मसाल) हिजो नेकपाको नेतृत्वको सरकारमा सामेल भयो । तर, अहिले आएर तपाईं भन्नुहुन्छ कि नेकपा कुनै कम्युनिस्ट पार्टी होइन । यो अलि विरोधाभासपूर्ण भएन र ?

यो विरोधाभासपूर्ण छैन । रणनीति र कार्यनीति कैयौं अवस्थामा विपरीत पनि हुन्छन् । रणनीतिले एउटा कुरा गरेको हुन्छ, त्यसको विपरीत कार्यनीतिले अर्काे कुरा गरेको हुन्छ । उदाहरणका लागि माओको प्रसिद्ध भनाइ छ– सबै प्रतिक्रियावादी कागजी बाघ हुन् । यो कुरा रणनीतिमा मात्रै सत्य हो र कार्यनीतिमा त्यसको विपरीत सत्य हो किनभने प्रतिक्रियावादीहरू कार्यनीतिका रुपमा साँच्चिकै बाघ हुन्छन् ।

रणनीतिक रुपमा हामी सशस्त्र संघर्षमा जोड दिन्छौं । तर, कार्यनीतिका रूपमा शान्तिपूर्ण आन्दोलनमा जोड दिएका छौं । हामी नेपाली कांग्रेसलाई दुस्मन शक्ति मान्छौं । तर, कतिपय बेला ऊसँग हामीले एकता गरेका छौं । २०४६ र २०६३ सालमा हामीले उनीहरूसँग कार्यगत एकता गरेका थियौं । गिरिजा र सुशील कोइरालाको सरकारलाई हामीले समर्थन गरेका थियौं ।

हामी संसदीय प्रणालीलाई प्रतिक्रियावादी व्यवस्था ठान्छौं । तर, हामीले त्यो प्रतिक्रियावादी संसदीय प्रणालीलाई कैयौंपल्ट उपयोग गरेका छौं । यो त माक्र्सवादी लेनिनवादी सिद्धान्त हो । लेनिनको उदाहरण दिऊँ, जारशाहीले प्रतिक्रियावादी व्यवस्था घोषणा गरेका थिए । तर, खास परिस्थितिमा जारशाहीको प्रतिक्रियावादी व्यवस्थाअन्तर्गतको दुस्मनलाई उनीहरूले उपयोग गरेका थिए ।

त्यो परिस्थितिमा जारशाहीका विरुद्ध ठूलो क्रान्तिकारी आन्दोलन चल्न सक्ने स्थिति थिएन । त्यसकारण, हामीले परिस्थितिअनुसार कार्यनीति बनाएका हुन्छौं । त्यहीअनुसार नेकपालाई हामी कम्युनिस्ट पार्टी मान्दैनौं तर कतिपय बेला बुर्जुवासँग मिलेर सरकार बनाउँछौं । त्यस्तै, हामी संघीयताको विरोध गर्छौं तर हामीले यो संघीयतालाई प्रदेश र स्थानीय तहमा उपयोग गरिरहेका छौं । त्यो उपयोगको नीति हो ।

त्यसकारण, हाम्रो मूल नीति र कार्यनीतिमा यस प्रकारको जुन अन्तर हुन्छ, त्यसलाई बुझ्न नसकेर र माक्र्सवादी लेनिनवादी दृष्टिकोणअनुसार बुझ्न नसकेर विरोधाभापसूर्ण भएको देख्छन् । वास्तवमा विरोधाभास होइन, यो रणनीति र कार्यनीतिबीच सन्तुलन कायम गर्न परिस्थितिअनुसार एक अर्काबाट तिनीहरूको बेग्लै मूल्यांकन गरेका हुन्छौं ।

उदाहरणका लागि चीनमा माओले च्याङकाइसेकसँग मिलेर जापानका विरुद्ध संघर्ष गरे । स्टालिनले कुनै बेला अमेरिका र ब्रिटिससँग मिलेर फासीवादका विरुद्ध संघर्ष गरे । यो विरोधाभास होइन, बेग्लाबेग्लै परिस्थितिको अध्ययन तथा विश्लेषण गरेर अपनाउने नीति हो ।

उपयोगको नीतिले नेपालको कम्युनिस्ट आन्दोलनमा के योगदान पुर्‍यायो भन्ने प्रश्न पनि उठ्छ । जस्तो गरिबहरू झन् गरिब हुँदै गए, धनी झन् धनी हुँदै गए । गरिबको सम्बन्धमा कम्युनिस्ट पार्टीहरू टुट्दै गएका छन् । सर्वहारा वर्गसँग उनीहरूको सम्बन्ध टुटेको छ । आज सभ्रान्त र व्यवसायीको पकडमा प्रमुख पार्टीका नेताहरू पुगेका छन् । तपार्इंको उपयोगको नीतिले पनि कम्युनिस्ट आन्दोलनमा कहीँ योगदान पु¥यायो ?

परिस्थितिअनुसार जो हिँड्न सकेनन्, उनीहरू गलत दिशामा गइरहेका छन् । मालेले पहिले सशस्त्र संघर्ष सुरु ग¥यो । माओवादीले १० वर्ष सशस्त्र संघर्ष गर्यो । उनीहरूले पनि परिस्थितिको मूल्यांकन गर्न सकेनन् । आखिर उनीहरू पनि दक्षिणपन्थी दिशामा पुगे । उनीहरूको पार्टी बाहिरबाट हेर्दा ठूलो देखिए पनि आफ्नो सिद्धान्तमा कम्युनिस्ट धरातलबाट धेरै तल गइसकेका छन् ।

आज समाजमा जुन सभ्रान्त वर्गहरू आइरहेका छन्, बढ्दै गइरहेका छन् र गरिबहरू झन् थिचिँदै गइरहेका छन् । यो पुँजीवादी व्यवस्था र अहिलेको प्रतिक्रियावादी व्यवस्थाको परिणाम हो । संसारमा जहाँ पनि यस प्रकारको स्थिति आउँछ, आएको छ । प्रतिक्रियावादी सरकारमा यस्तो हुन्छ । हाम्रो उपयोगको नीतिले त्यस्तो भएको होइन ।

कस्तो पनि भयो भने नेपालका कोही कम्युनिस्ट कांग्रेसजस्ता ठ्याक्कै संसदीय पार्टी बनिदिने र दक्षिणपन्थी दिशामा गइरहने । अनि, केही बचेखुचेका टुकुडीहरू अझै सानो र अझै सीमित भएर विघटनको अवस्थामा पुग्ने स्थिति किन आयो ?

यसका लागि जस्तो भनौं, कैयौं कम्युनिस्ट पार्टी आफ्नो सिद्धान्त, नीति र उनीहरूको चरित्रबाट पतन र विचलन भएर दक्षिणपन्थी दिशामा पुगेका छन् । मूलभूत रूपमै उनीहरू कांग्रेसजस्ता वा प्रतिक्रियावादी शक्तिजस्ता बन्न गएका छन् । कतिपय कम्युनिस्ट पार्टीहरू साना भएका छन्, यो परिस्थितिको बाध्यता हो । आज विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर भएको छ ।

यसको असर नेपालको कम्युनिस्ट पार्टीमा पनि परेको छ । तर, मुख्य कुरा के हो भने यो स्थितिमा पनि हामीले आफूलाई बचाउने प्रयत्न गरिरहेका छौं । राजनीतिमा हामीले आफ्नो अस्तित्व कायम राख्ने, आफ्नो आन्दोलन कायम राख्ने र क्रान्तिकारी चरित्र कायम भएको पार्टीका लागि अत्यन्तै कठिन स्थितिमा हामीले संघर्ष गर्नुपरेको छ । त्यसले गर्दा हामी जति शक्तिशाली हुनुपथ्र्याे, त्यो हुन सकेका छैनौं ।

नेपालमा त्यसो भए कम्युनिस्टको भविष्य के हो ?

नेपालको मात्रै कुरा होइन, विश्वको कुरा गरौं । कम्युनिस्ट पार्टीको भविष्य धेरै उज्ज्वल हुन्छ । युरोपमा त्यहाँको कम्युनिस्ट आन्दोलन भनेको एउटा भौतिक परिस्थितिले ल्याएको हो । पुँजीवादको जति जति विकास हुँदै जान्छ, त्यसले साम्राज्यवादको रुप लिँदै जान्छ । त्यसले गरिब र धनीबीचको खाडल झन् बढ्दै जान्छ । त्यसले गर्दा वर्ग संघर्षको आवश्यकता झन् बढेर जान्छ । पुँजीवादभित्र आएको संकटका कारण वर्ग संघर्ष झन् बढ्दै गएको छ । त्यही परिस्थितिले गर्दा कम्युनिस्ट आन्दोलन सफल हुनु आवश्यक छ ।

ठीक नेपालमा पनि गरिब र धनीबीचको खाडल बढ्दै गएको छ । केही मुठीभर व्यक्तिले धेरै सम्पत्ति जम्मा गरेका छन् । सार्वजनिक सम्पत्ति र जग्गाजमिन कब्जा गरेका छन् । यो स्थितिबाट जनताको जुन चेतना बढ्दै गएको छ, यसले नै कम्युनिस्ट आन्दोलनलाई धेरै शक्तिशाली बनाउँदै लैजान्छ । त्यसकारण, नेपालमा पनि कम्युनिस्ट आन्दोलनको भविष्य छैन, यसको भविष्य सकियो, विघटन भयो भन्ने सोचाइ वैज्ञानिक तथ्यहरूसँग मेल खाँदैनन् । एउटा माक्र्सवादी लेनिनवादी सिद्धान्त र ऐतिहासिक भौतिकवादी सिद्धान्तसँग पनि मेल खान्न ।

विचारको पनि विकास हुन सकेको छैन, संगठन पनि त्यति बन्न सकेको छैन । एउटा आशंका, अहिलेको नेकपालाई हेरेर नेपालमा पनि कम्युनिस्टहरूको अवस्था ज्योति बसुको जस्तै हुने त होइन भन्ने टिप्पणी पनि गरिन्छ । देख्नुहुन्छ त्यो खतरा ?

ज्योति बसुहरू दक्षिणपन्थी दिशामा गइसकेका थिए । भारतमा धेरैजसो पार्टीहरूले दक्षिणपन्थी दिशा समातेका छन् । नेपालमा पनि नेकपाहरूको कुरा गरौं, उनीहरूले दक्षिणपन्थी दिशा समातिसकेका छन् । यसकारण, ज्योति बसुको जस्तै हुने कुरा स्पष्ट छ ।

त्यस्तो स्थिति सम्पूर्ण कम्युनिस्टमा लागू हुँदैन । अहिले पनि अन्तर्राष्ट्रिय रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले विभिन्न देश र आफ्नो देशमा कार्यक्रम र आन्दोलन अगाडि बढाउँदै लगेका छन् । संगठन बढाउने र विचार सशक्त पार्ने काम गरिरहेका छन् । त्यही प्रयत्न हामीले पनि गरिरहेका छौं । बाहिरबाट हेर्दा कम्युनिस्ट नामधारीहरू एकै जस्ता देखिन्छन् । बाहिरबाट हेर्दा मात्रै त्यस्तो देखिएको हो । उनीहरूबीच वैचारिक र चरित्रगत अन्तर छ, त्यसमा ध्यान दिन नसक्दा त्यस्तो देखिने गरेको छ ।

कम्युनिस्ट पार्टीलाई लाग्ने गरेको आरोप भनेको कम्युनिस्ट पार्टीमा अहिले जनवाद नै भएन । केन्द्रीयता बढी भयो, हावी भयो । जनवादले फक्रनै पाएन भन्ने आरोप छ । तपाईंको पार्टीमा पनि त्यो देखिन्छ ?

त्यो कुरा सही होइन । हाम्रो पार्टीमा जति जनवाद छ, त्यति नेपालको कुनै पनि राजनीतिक पार्टीमा छैन । नेपालको कुनै कम्युनिस्ट पार्टीमा छैन । भर्खरै सम्पन्न महाधिवेशनले त्यो कुरा स्पष्ट गरेको छ । महाधिवेशनको बेलामा बेग्लाबेग्लै मतहरू आएका थिए । तिनका बारेमा जिल्ला तहदेखि स्थानीय तहसम्म छलफल भयो । हाम्रो पार्टीमा जति उच्च प्रकारको जनवाद छ, अरु कुनै पार्टीमा छैन । जनवाद हनन भएको कुरामा सत्यता छैन ।

उसो भए आजको कम्युनिस्ट पार्टीको कार्यक्रम के हो ? कम्युनिस्ट पार्टीको कार्यक्रम कस्तो हुनुपर्ने हो ?

आजको कम्युनिस्ट पार्टीको कार्यक्रम भनेकै कार्यनीति के हुन्छ भन्ने कुरा हो । कार्यनीतिका रुपमा राष्ट्रियता कसरी बचाउने भन्ने समस्या छ । भारतीय साम्राज्यवादबाट हामीमाथि लगातार आक्रमण भइरहेको छ । अमेरिकी साम्राज्यवादले बहुराष्ट्रिय कम्पनीहरूबाट नेपालको राष्ट्रिय पुँजी र राजनीतिमाथि हमला गरेर लगातार कमजोर पार्ने प्रयत्न गरिरहेका छन् ।

राजावादीले गणतन्त्रलाई समाप्त पार्ने कोसिस गरिरहेका छन् । उनीहरूले धर्मनिरपेक्षतालाई समाप्त पार्ने प्रयत्न गरिरहेका छन् । भारतीय साम्राज्यवादले राजावादी र प्रतिक्रियावादीलाई मद्दत गरिरहेको छ । यस्तो स्थितिमा हामीले देशको राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा जोड दिनुपर्छ । त्यसको साथै संघीयताले देशलाई जातीय र क्षेत्रीय रुपमा विखण्डनको स्थितिमा पुर्याइरहेको छ, त्यसको विरुद्धको संघर्षलाई लगातार अगाडि बढाइरहेका छौं । योबाहेक जनताका तत्कालीन समस्याहरू जे छन्, तिनको समाधानमा जोड दिएका छौं ।

तपाईंलाई धेरैपटक सोधिएको र सार्वजनिक रुपमा टिप्पणी पनि गरिएको प्रश्न हो । नीति र नेतृत्वबीचको जुन सम्बन्ध छ नि, त्यसमा तपाईं कमजोर हुनुभयो । त्यसकारण, तपाईं र तपाईंको विचार तथा राजनीतिसँग सहमत हुँदा हुँदै पनि सांगठनिक रुपमा नेकपा (मसाल)ले गति लिन सकेन भन्ने आरोप छ । तपाईं व्यवस्थापकीय रुपमा कमजोर र असफल नेता हो । तपाईं एउटा विचारक मात्रै हो, संगठक होइन, नेतृत्वकर्ता पनि होइन तर नेतृत्वमा तपाईं सधैं हुनुहुन्छ भन्ने आरोप किन लाग्छ ?

आज पार्टी जसरी कमजोर भएको छ, त्यो अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको असर हो । विश्व कम्युनिस्ट आन्दोलन नै कमजोर भएको छ र रक्षात्मक अवस्थामा पुगेको छ । संसारका ठूलठूला कम्युनिस्ट पार्टीहरू समाप्त भएका छन् । रुसकै विघटन भयो । युरोपका धेरै देशका कम्युनिस्ट आन्दोलन खत्तम भए । आज चीनमा कम्युनिस्ट पार्टी छ तर त्यो वास्तविक कम्युनिस्ट पार्टी होइन । पुँजीवादी दिशामा गइसकेको छ ।

फ्रान्स, ग्रिस र लेटिन अमेरिकामा कम्युनिस्ट पार्टीहरू समाप्त भएका छन् । त्यो स्थितिमा पनि हाम्रो पार्टी जुन रुपमा कायम छ, लामो समयसम्म लगातार संघर्ष गरिरहेको छ, यसले के बताउँछ भने हाम्रो पार्टीको सही राजनीति र संगठनात्मक नीतिको परिणाम हो । त्यसलाई हामीले असफल भएको भन्न मिल्दैन । संसारका धेरै कम्युनिस्ट पार्टी या त दक्षिणपन्थी दिशातिर गए या उनीहरूको विघटन भयो ।

अर्काे कुरा हाम्रो नीति र नेतृत्व तथा संगठनात्मक प्रणालीको बीचमा पूरै सामञ्जस्यता छ । हाम्रो पार्टीको नीतिअनुसार नै संगठनको काम गरिरहेका छौं । देशव्यापी रुपमा संगठनहरू, सम्मेलनहरू, महाधिवेशनहरू र कार्यक्रमहरू सम्पन्न भएका छन् ।

तपाईंलाई लाग्ने अर्काे आरोप के छ भने मोहनविक्रम सिंह अर्थात् नेकपा (मसाल), नेकपा (मसाल) अर्थात् मोहनविक्रम सिंह पर्याय भयो । अघि मैले केन्द्रीयता र जनवादको कुरा गर्दा केन्द्रीयता मात्रै छ, जनवाद छैन भनेर तपाईंबाट दीक्षित र संगठित नेताहरू बाहिरिरहन्छन् । तपाइमाथि किन यो आरोप लाग्छ ?

यो आरोप पनि गलत हो । अहिलेको कम्युनिस्ट पार्टी भनेको यसको एउटा विचार, सिद्धान्त र संगठनात्मक प्रणालीअनुसार काम गर्ने पार्टी हो । त्यसमा कैयौंपटक त्यो अवस्थामा दीक्षित नभएका मान्छे पनि आउँछन् । त्यसरी हामीले संसारका कम्युनिस्ट आन्दोलनमा हे¥यौं भने कैयौंपटक गलत मान्छेहरू आएका छन् । तर, हामीले पार्टीको क्रान्तिकारी सिद्धान्त र चरित्रलाई बचाउन गलत तत्त्वहरूविरुद्ध संघर्ष गर्नुपर्छ ।

इतिहासमा पनि माक्र्सले जिन्दगीभर गलत तत्त्वहरूविरुद्ध संघर्ष गरे । लेनिनले पनि गलत तत्त्वहरूविरुद्ध त्यसरी नै ठूलो संघर्ष गर्नुपरेको थियो । स्टालिनले र माओले पनि त्यसरी लगातार संघर्ष गर्नुपरेको थियो । संसारको इतिहासमा पनि हामीले के देख्छौं भने पार्टीले द्वन्द्ववादको सिद्धान्त मान्छ, त्यही सिद्धान्तअनुसार पार्टीभित्र लगातार संघर्ष चलिरहन्छ ।

त्यही संघर्षको बीचबाट पार्टीको विकास हुँदै जान्छ । द्वन्द्ववाद पार्टीको अन्तर्संघर्षको सामान्य र सार्वभौम सिद्धान्त हो । त्यसअनुसार पार्टीभित्र कैयौंपटक गलत तत्त्वहरूविरुद्ध संघर्ष हुन्छ । जुन व्यक्तिहरू पार्टीको सिद्धान्तमा बस्न सक्दैनन्, पार्टीको संगठनात्मक प्रणाली मान्दैनन्, पार्टीको नीति र कार्यक्रम मान्दैनन्, ती व्यक्तिहरू पार्टी छाडेर जान्छन् ।

तपाईंहरू संघीयतालाई बाहिरी एजेन्डा भन्नुहुन्छ, संघीयताले त जनतालाई अधिकारसम्पन्न बनायो नि । यसले स्थानीय तहसम्म जनताको सशक्तीकरणमा योगदान दिएको छैन र ?

पहिलो कुरा त नेपालमा संघीयताको आवाज कम्युनिस्ट वा कांग्रेसले कहिल्यै पनि उठाएनन् । संघीयता पार्टीहरूको माग पनि नेपाली जनताको माग पनि होइन । पहिलोपटक मधेसवादीहरूको आन्दोलनमा संघीयताको कुरा उठ्यो । भारतको ग्राइन्ड डिजाइनमा नै उनीहरूले त्यसरी कुरा उठाए । त्यसको पछाडि नेपालको भलो पनि थिएन, नेपाली जनतालाई अधिकार दिनु पनि थिएन ।

नेपाललाई टुक्र्याएर भारतमा समावेश गर्ने नीति थियो । संघीयताले नेपालमा विखण्डन ल्याउने स्थिति पैदा भयो । त्यसको मूल उद्देश्य नै गलत छ । त्यसका साथसाथै जस्तो अहिले पनि हेरौं, संघीयता जातीय र क्षेत्रीय रुपमा आयो । संघीयतालाई जातीय रुप दिने कुरा त पश्चिमी साम्राज्यवादी देशहरूको हो । त्यसका विरुद्ध हामीले ठूलो संघर्ष गर्नुपरेको छ । पहिलो संविधानसभाको समयमा १२–१४ वटा जातीय राज्य बनाउने धेरै प्रयत्न भए । दोस्रो संविधानसभाको समयमा उनीहरू पराजित भए ।

राज्यको सामन्ती र केन्द्रीकृत स्वरुपलाई बदलेर विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासनप्रणाली अपनाउनुपर्छ । स्थानीय तहलाई अझ मजबुत पार्नुपर्छ । त्यसलाई वैज्ञानिक रुप दिनुपर्छ । संघीयताले जातीय र क्षेत्रीय द्वन्द्व बढाएको छ ।

राष्ट्रियतामाथि खतरा पैदा भएको छ । राष्ट्रिय विखण्डनको स्थिति पैदा भएको छ । त्यसले गर्दा हामीले संघीयता देशका लागि उपयुक्त छैन भन्दै आएका छौं । संसारमा एकात्मक प्रणाली अपनाएका देशले नै छिटो विकास गरेका छन् । जसले संघीयता अपनाए, तिनीहरूले पनि संघीयतालाई छोड्दै गएका छन् । अमेरिकामा संघीयता भए पनि केन्द्रलाई मजबुत बनाउने नीति अपनाइएको छ । संघीयता विश्वस्तरमै असफल हुँदै गएको छ ।

नेपाली जनताले कम्युनिस्ट पार्टीको यति बलियो सरकार पाएका छन् । संविधान बनेको छ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा राष्ट्रवादको नारा उठाउँदा जनमत निर्माणमा ठूलो मद्दत मिलेको थियो । यही बेला तपाईं भन्दै हुनुहुन्छ, देशको राष्ट्रियता एकदमै कमजोर भएको छ । परिवर्तनका मुद्दाहरू संस्थागत गर्ने स्थितिमा सरकार छैन । अहिलेको समस्याको हल के हो, त्यसो भए ?

पहिलो कुरा त संघीयता खारेज गर्नुपर्छ । संघीयताको प्रादेशिक संरचना खत्तम हुनुपर्छ । राष्ट्रियताको स्थिति अहिले पनि गम्भीर प्रकृतिको छ । पहिले नाकाबन्दीपछिको अवस्थामा कांग्रेस र प्रचण्डले संविधान संशोधन विधेयकहरू ल्याए, त्यसका विरुद्धमा एमालेले महत्त्वपूर्ण भूमिका खेल्यो ।

सुशील कोइरालाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने प्रस्ताव गरे । ओलीले त्यसलाई समर्थन गरे । तर, हामीले त्यसको विरोध गरेका थियौं । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउँदा तराईमा निर्वाचन क्षेत्र बढेर गए । पहाडमा निर्वाचन क्षेत्र घट्दै गए । त्यो गलत भयो । यसका लागि ओली नेतृत्वको सरकार पनि जिम्मेवार छ ।

संघीयता खारेजको मुद्दा अहिले समाधान होला त ? फेरि मुलुक द्वन्द्वमा जाँदैन पछाडि फर्कँदा ?

संघीयताले देशमा द्वन्द्व ल्याइसकेको छ । त्यसले नै जातिहरू, पहाड र तराईको बीचमा द्वन्द्व बढाएको छ । संघीयताले धेरै नराम्रो काम गरिसकेको छ । अहिले पनि जातीय आधारमा देशलाई विखण्डन गर्न खोजिरहेका छन् । क्षेत्रीय आधारमा विखण्डन गर्न खोजिरहेका छन् ।

तराई र पहाडलाई अलग गर्न खोजिरहेका छन् । यसले देशलाई निश्चित रूपमा विघटनको स्थितिमा लैजान्छ । देशको अस्तित्वलाई समाप्त गर्ने स्थितिमा लैजान्छ । हामीले त्यसलाई पूर्ण रूपमा गलत मानेका छौं । त्यसको समाधान भनेको संघीयतालाई खारेज गर्नु नै हो ।

अहिलेको संसदीय दल अथवा तपाईंहरूको भाषामा संसदवादमा भासिएका दलहरू एकीकृत हुँदै गएका छन् । अर्काेतिर तपाईंहरू क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू जो सरकार बाहिर हुनुहुन्छ, तपाईं आफैं अर्ध भूमिगत अवस्थामा हुनुहुन्छ । पार्टी भूमिगत छ । यी साना कम्युनिस्ट पार्टीबीच कोअर्डिनेसन, मोर्चाबन्दी वा एकताको सम्भावना छ कि छैन ?

साना कम्युनिस्ट पार्टीहरू बीचमा तत्काल पार्टी एकताको सम्भावना देखेका छैनौं । कार्यगत एकता गर्न सक्छौं । जस्तो वैद्य, विप्लव र अन्य पक्षहरूसँग पनि कार्यगत एकता गर्न सकिने नीति छ । जहाँसम्म कार्यगत एकताको प्रश्न हो, त्यो कम्युनिस्ट घटकहरूसँग मात्रै हुन्छ भन्ने होइन, कम्युनिस्ट भन्दा बाहिरका समान विचार र समझदारीका आधारमा कार्यगत एकता हुन सक्छ ।

पञ्चायतका विरुद्ध २०४६ सालमा नेपाली कांग्रेससँग कार्यगत एकता भएको थियो । २०६३ को जनआन्दोलनमा मधेसवादीहरू र कांग्रेससँग पनि कार्यगत एकता गरेका थियौं । यसकारण, विशेष परिस्थितिमा कार्यगत एकता कम्युनिस्ट घटकभन्दा बाहिरका शक्तिहरूसँग पनि हुन सक्छ ।

तर, अहिले कार्यगत एकताको सम्भावना पनि कम हुँदै गएको छ । खास गरेर विप्लवकै कुरा भन्नुस्, विप्लव समूहले गाउँपालिकाका अध्यक्षहरूलाई धम्की दिने, राजीनामा देऊ नत्र कारबाही गर्छौं भन्ने गरेका छन् । बजेटको दुई प्रतिशत हामीलाई देऊ भन्ने गरेका छन् । हामीले मित्रशक्ति भनेका शक्तिहरूको त्यस प्रकारको कार्यशैलीका कारण पनि सम्भव भइरहेको छैन ।

अन्य पक्षहरूसँग पनि हामीले कार्यगत एकता गरेका छौं । नागरिकताको विषयमा हामीले कैयौं पक्षहरूसँग कार्यगत एकता गरेका छौं । माथिल्लो कर्णाली र लिपुलेकको विषयमा जहाँ समझदारी बन्छ, त्यो अवस्थामा कार्यगत एकता गरेका छौं ।

१० वर्षको प्रयासपछि करिब असफल भएर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी (विप्लवसमेत सहभागी पार्टी) एक किसिमले त्यो बाटो छोडेर यता आइसकेपछि विप्लव फेरि त्यही बाटोमा लागिरहेका छन् । यसको पछाडिको कारण केही देख्नुहुन्छ ?

माओवादीहरू जुन बाटोमा गएका थिए, त्यसलाई हामीले गलत भनेका थियौं । त्यो उग्र वामपन्थी हो, त्यसले देशको परिस्थितिसँग मेल खाँदैन भनेका थियौं । एक दशकपछि त्यो कुरा प्रमाणित भएको छ । उनीहरूले पनि महसुस गरे र उनीहरू शान्तिपूर्ण बाटोमा आउनुप¥यो । विप्लव समूहले तिनीहरूको पुरानो जुन विरासत हो, त्यसैलाई नै अगाडि बढाउने प्रयत्न गरेका छन् ।

त्यो निश्चित रुपमा गलत तरिका हो । माओवादीले सशस्त्र संघर्षको बाटो समातेको थियो । तर, विप्लव समूहले बीचको बाटो हो भनेका छन् । बीचको बाटो भनेको बम हान्ने जस्ता केही आतंकवादी तरिकाहरू अपनाएका छन् । जनताबाट अलग भएर गरिने त्यस प्रकारका आन्दोलनलाई हामीले सही मान्दैनौं । तिनीहरूले अपनाएको गलत बाटो हो । त्यो असफल हुन्छ भन्ने हाम्रो दृढ र निश्चित मत छ ।

तपाईंहरूको मोहन वैद्यलगायतका पार्टीसँग मोर्चाबन्दीको कुरा चलिरहेको थियो । त्यो कहाँ पुग्यो ?

त्यो कुरा अहिले चलिरहेको छैन । खासै छलफल भएको पनि छैन । मोहन वैद्यको जोड पार्टी एकतामै थियो । हामीले तत्काल त्यसलाई स्वीकार गर्न सकेनौं । केही विषयमा हाम्रा गम्भीर प्रकारका राजनीतिक मतभेद छन् । अहिलेको संविधानको विषयमै मतभेद छ ।

हामीले संविधानसभामा भाग लिने नीति अपनायौं । उहाँहरूले बहिष्कार गर्नुभयो । संघीयतालाई उहाँहरूले समर्थन गर्नुभएको छ । हामीले विरोध गरेका छौं । जातिवादी दृष्टिकोणलाई उहाँहरूले समर्थन गर्नुभएको छ । हामीले विरोध गरेका छौं । बुर्जुवा गणतन्त्र भए पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर हामीले भनेका छौं, उहाँहरूले यो प्रतिक्रियावादी हो, त्यसलाई खत्तम गर्नुपर्छ भनेर विरोध गर्नुभएको छ ।

संविधानमा संघीयतालगायत कैयौं पक्षमा हाम्रो विरोध छ । तैपनि, यसलाई बचाउने कुरामा हाम्रो जोड छ । यस्ता कतिपय गम्भीर मतभेदका कारण उहाँहरूसँग हाम्रो पार्टी एकता सम्भव भएन । पार्टी एकता नहुने भइसकेपछि कार्यगत एकतालाई पनि उहाँहरूले अस्वीकार गर्नुभएको छ ।

प्रचण्ड र ओली नेतृत्वको नेकपाले त नेपालका सबै कम्युनिस्टलाई एकीकृत गरेर अब कम्युनिस्ट केन्द्र बनाउने भनेर अभियान सुरु गरेका छन् । उहाँहरूसँगको एकताको सम्भावना कतिको छ ?

उनीहरूसँग जो सहमत हुन सक्छन्, उनीहरूले एकता गर्न सक्छन् । जहाँसम्म हाम्रो प्रश्न हो, हामी उनीहरूसँग नीतिगत, सैद्धान्तिक र संगठनात्मक रुपमा पनि भिन्न छौं र हामी उनीहरुको विरोध गर्छौं त्यसैले पार्टी एकताको कुनै पनि सम्भावना छैन । हामीले त्यसलाई दृढतापूर्वक अस्वीकार गरेका छौं ।

अब अलिकति यो संविधानको कुरा गरौं । संविधानले अबको राज्यको बाटो समाजवाद उन्मुख भनेको छ । स्वाभाविक रुपले कम्युनिस्टहरूको एजेन्डा समाजवाद नै हो । मुलुक त्यतातिर गएको छ ?

हाम्रो अहिलेको कार्यक्रम संविधान उन्मुख नयाँ जनवादी व्यवस्था हो । त्यसको अर्काे स्टेजमा हामी समाजवादमा जान्छौं । तर, समाजवाद उन्मुख भन्नुको अर्थ समाजवादी दिशामा जाने प्रयत्न हो, पोलिसी हो । हामी त्यसलाई गलत भन्दैनौं । आफ्नो कार्यक्रममा पनि त्यसलाई हामीले स्वीकार गरेका छौं । कुनै पनि पक्षले त्यसलाई समर्थन गर्छ भने हामी स्वागत गर्दछौं ।

संविधानले पनि समाजवाद उन्मुख राज्यको निर्माण गर्ने कुरा गरेको छ । त्यसलाई हामी समर्थन गर्छौं । अहिलेको नेकपाले जुन प्रतिबद्धता जाहेर गरेको छ, त्यसलाई पनि हामी सही मान्छौं । तर, हामीले के भनेका छौं भने उनीहरू त्यो दिशामा गइरहेका छैनन् ।

संविधानले त्यसो भने पनि उनीहरूले प्रतिबद्धता प्रकट गरे पनि उनीहरूको नीति, कार्यक्रम र सम्पूर्ण कार्यप्रणाली समाजवाद उन्मुख दिशातर्फ गइरहेको छैन । उनीहरू यथास्थितिमा रमाइरहेका छन् । पुँजीवादी कार्यप्रणालीलाई कायम राख्ने प्रयत्न गरेका छन् । समाजवाद उन्मुख दिशामा उनीहरूले एक कदम पनि चालेका छैनन् ।

कतिले समाजको चरित्र व्याख्या गर्दा अर्ध औपनिवेशिक र अर्ध सामन्ती व्यवस्था रहेन, अब मुलुक पुँजीवादमा प्रवेश गरिसक्यो पनि भनेका छन् । अहिलेको अवस्था के हो ?

हामी त्यो विचारलाई सही मान्दैनौं । उनीहरूले नयाँ जनवादी क्रान्तिको चरण पूरा भइसक्यो, अब हामी समाजवादी दिशामा जाने हो भनेका छन् । जब कि नेपालमा अझै सामन्ती शोषण छ । सामन्ती व्यवस्था कायम छ । औपनिवेशिक शोषण कायम छ ।

साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीको शोषण कायमै छ । त्यो अवस्थामा नयाँ जनवादी क्रान्तिको चरण पूरा भयो भन्ने कुरा गलत हो त्यसैले देश पुँजीवादी अवस्थामा गयो भन्ने कुरा पनि हामी मान्दैनौं । देशको पुँजीवादी दिशामा संक्रमण भइरहेको छ । हामी त्यो कुरा स्वीकार गर्दछौं ।

अझै पनि देशको मूल अर्थ व्यवस्था सामन्ती प्रकारको नै छ । गाउँघरको परिस्थिति नै त्यही छ । अहिले समाजवादी कार्यक्रम हुन्छ भन्ने कुरा स्वीकार गर्दैनौं । नयाँ जनवादी क्रान्तिको कार्यक्रम नै अहिलेको कार्यक्रम हो । देश अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ भन्ने कुरा हामीले भन्दै आएका छौं ।

केपी ओली र प्रचण्डबीचको एकतालाई कसरी हेर्नुभएको छ ? त्यो मुलुकको निम्ति आवश्यक थियो ?

उनीहरूबीचको जुन एकता हो, त्यो कम्युनिस्टहरूबीचको एकता होइन । यो कुनै राजनीति, राजनीतिक कार्यक्रम र नीतिमाथि आधारित भएर भएको एकता पनि होइन । खास गरेर चुनावको बेलामा उनीहरूले विजय प्राप्त गर्न र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्न एकता गरेका हुन् । त्यो एक प्रकारको चुनावी तालमेल थियो । तैपनि, त्यसलाई हामीले सकारात्मक रुपले लिएका छौं । किनभने नेपाली कांग्रेसको नेतृत्वमा जुन गठबन्धन भएको थियो, राप्रपा र मधेसवादीहरू त्यसमा थिए ।

नेपाली कांग्रेसका कैयौं नेता धर्मनिरपेक्षतालार्ई खत्तम पार्ने र राजतन्त्रको पुनस्र्थापना गर्ने पक्षमा छन् । त्यो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनले विजय प्राप्त गरेको भए देश प्रतिगामी दिशामा जान सक्थ्यो । तत्कालीन आवश्यकताअनुसार तिनीहरूको बीचमा जुन तालमेल भयो, चुनावी गठबन्धन भयो, त्यसलाई हामीले सकारात्मक रुपमा लिँदै समर्थन ग¥यौं र उनीहरूसँग हामीले सहकार्य पनि ग¥यौं ।

यहाँले संघीयता खारेजको माग गर्नुभयो । सँगसँगै प्रधानमन्त्री भन्दै छन्– परिवर्तन उल्ट्याउने खतरा आउँदै छ, षड्यन्त्र हुँदै छ भनेर । अर्कातिर राष्ट्रपति पनि बेलाबेलामा विवादमा पर्छन् । यी सबै परिदृश्य हेर्दा फेरि धर्मनिरपेक्षता र गणतन्त्र फर्किने खतरा देख्नुहुन्छ ?

हामीले सुरुदेखि त्यही भनिरहेका छौं । देशमा अहिले गणतन्त्र र धर्मनिरपेक्षता समाप्त हुने खतरा छ भनेर । राजावादीहरूले त्यो कोसिस गरिरहेका छन् । नेपाली कांग्रेसभित्र पनि त्यस प्रकारको सम्भावना प्रबल बनेर गएको छ । त्यो भन्दा ठूलो खतरा हाम्रो छिमेकमा कट्टरपन्थीहरूको निर्वाचित सरकार छ ।

भारतीय कांग्रेस धर्मनिरपेक्षता र गणतन्त्रमा सकारात्मक छन् । तर, भारतीय जनता पार्टीमा त्यो छैन । तर, यो खतरा सबैभन्दा धेरै कसैले बढाइरहेको छ भने यही सरकारले नै बढाइरहेको छ । किनभने उसले गलत प्रकारका नीति अपनाइरहेको छ । ठीक प्रकारको कार्यशैली छैन । अपरिपक्व र अदूरदृष्टि निर्णयहरू गरिरहेका छन् । भ्रष्टाचार रोक्न सकिरहेको छैन ।

विकासका कार्य राम्रो हुन सकेका छैनन् । उनीहरूको बीचमा आपसमा द्वन्द्व छ । प्रतिक्रियावादी शक्तिहरूले जुन कोसिस गरिरहेका छन्, त्यसका लागि सबैभन्दा बढी पृष्ठभूमि तयार पार्ने काम यो सरकारले गरेको छ । यद्यपि, उनीहरू गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध र स्पष्ट छन् भन्ने कुरामा हामीलाई शंका छैन । तर, उनीहरूको सम्पूर्ण कार्यप्रणालीले देशलाई गणतन्त्रको खतराको दिशातिर लगिरहेको छ ।

एउटा भू–राजनीतिक प्रसंगमा भन्दिनुस् कि नेपालमा भारत, चीन, युरोपियन युनियन र अमेरिका कहाँनेर छन् ?

पहिलो कुरा त नेपाल भू–राजनीतिक स्थितिमा सबैभन्दा मुख्य भूमिका त चीन र भारतकै छ । चीन पहिले समाजवादी देश थियो । पछि त्यो पुँजीवादी भयो । अहिले त्यो साम्राज्यवादी अवस्थामा पुगेको छ । भारत पनि अब साम्राज्यवादी अवस्थामा पुगिसकेको छ । साम्राज्यवादी देशहरूको आफ्नो मुख्य उद्देश्य आफ्नो साम्राज्यवादी स्वार्थ र उद्देश्यहरू पूरा गर्नमै सीमित हुन्छ । तैपनि, भारत र चीनबीच हामीले अन्तर गरेका छौं । भारतको तुलनामा चीनको भूमिका नेपालका लागि बढी सकारात्मक छ ।

भारतले नेपालमाथि जुन प्रकारले हस्तक्षेप गर्ने गरेको छ, बारम्बार नाकाबन्दी लगाउने गरेको छ । नेपालको राष्ट्रियतामाथि अतिक्रमण गर्ने गरेको छ । त्यसका विरुद्धमा अर्थात् सन्तुलन कायम गर्न चीनको भूमिकाले हामीलाई मद्दत गरिरहेको छ ।

चीन साम्राज्यवादी देश भए पनि चीनको भूमिका सकारात्मक छ । चीन साम्राज्यवादी देश भएकाले दीर्घकालीन रुपमा नेपालको हितमा हुँदैन । तर तत्कालीन अवस्थामा नेपालको भू–राजनीतिक अवस्थाको कारण नेपालको विकास र नेपालको व्यापारको विविधीकरणका लागि सकारात्मक छ ।

जहाँसम्म अमेरिकाको प्रश्न छ, अहिलेको अमेरिका कट्टर ट्रम्पको नेतृत्वमा रहेको छ । अत्यन्तै प्रतिगामी प्रकारको छ ।

विश्व पुँजीवादमा जुन संकट बढ्दै गएको छ, अमेरिकामा पनि त्यो संकट बढ्दै गएको छ । विश्वका विभिन्न देशमा पुँजीवाद र साम्राज्यवादी देशको विकासको साथसाथै बजार कमजोर बन्दै गएको छ । बजार कमजोर बन्दै गएपछि पुँजीवाद संकीर्ण बन्दै जान्छ । त्यसले साम्राज्यवादी देशहरूबीच प्रतिस्पर्धा बढ्दै जान्छ ।

पहिले उनीहरूले स्वतन्त्र अर्थतन्त्रको जुन कुरा गर्थे, त्यसको ठाउँमा उनीहरूले संरक्षणको नीतिमा जोड दिँदै आइरहेका छन् । युरोपका देशमा पनि त्यही प्रकारको स्थिति चलिरहेको छ । अमेरिकाले विश्वभर कब्जा जमाउने नीति लिएको छ । नेपालले भेनेजुयलाबारे सकारात्मक नीति अपनायो ।

अमेरिकाले त्यसको विरोध गरेको थियो । युरोपियन युनियनले नेपालमा जातिवादी गतिविधि गर्न मद्दत गरिरहेका छन् । एनजीओ र आईएनजीओहरूलाई उचालेर नेपालमा जातीय विद्वेष पैदा गर्ने र जातिहरूको बीचमा विभाजन ल्याउने काम गरिरहेको छ ।

हामी यो पृष्ठभूमिमा छौं । यो हाम्रा लागि अत्यन्तै कठिन स्थिति हो । तैपनि, नेपाल सरकारले अलिकति बुद्धिमत्तापूर्ण र अलिकति देशभक्तिपूर्ण तरिकाले आफ्नो प्रतिबद्धताअनुसार जनताप्रति सेवाको भाव लिएर इमानदारीपूर्वक काम गर्ने हो भने यसको सामना गर्न सकिन्छ ।

सरकारले आफ्नो अस्तित्व रक्षाका लागि भारत र अमेरिकाप्रति सम्झौतापरस्त नीति अपनाउँदै गएको छ । उनीहरू नेपालमा उनीहरूकै दलाली गर्ने सरकार बनाउन चाहन्छन् । उनीहरूले ढिलो वा छिटो यो सरकार फाल्ने नीति लिएका छन् । यो स्थितिमा सरकारले लिएको नीति पनि देशका लागि घातक छ । सिला पत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?