
लिल बहादुर केसी
प्रिय घनिष्ट साथी तथा नातेदार प्रा डा सूर्य जि सी को फोनले मलाई २०८० आषाढ़ २९ गते बुटवलको न्यू एरा होटलको हलमा अपरान्ह दुई बजेको समयमा दुई दिन अंघी निमन्त्रणा दियो। कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको कुरा पनि त्यही सेल फोनबाट जानाकारी पाएं। उक्त कार्यक्रममा हुने मेरो उपस्थितिको महत्व बारे म एक छिन घोत्लिएं र निमन्त्रणा दिने डा सूर्य जि सीलाई मलाई आमन्त्रण गर्नुको रहस्य सोधें। नेपाली सेनाका सहायक रथी कृष्ण बहादुर जि सी समेतबाट नेपाल इष्ट इन्डीया कम्पनी वीच भएको लडाईंमा कर्नेल उजीरसिंहको नेतृत्वमा लडेका नेपाली वीर सेनाहरुले अंग्रेजलाई हराएको विषयमा साहित्यकार झपेन्द्र जि सी ज्यू बाट लेखिएको नाटक( विधा) विमोचनको कार्यक्रम भएकोले मलाई आमन्त्रण गरेको कुरा जानाकारी भयो।
म साहित्यकार, इतिहासकार, पत्रकार तथा समिक्षक नभए पनि उक्त कार्यक्रममा पुग्न र एक छीन भए पनि राष्ट्र प्रेमका इतिहासका गाथा सुन्न अत्यन्त आतुर भएं। मैले थप कुरा के पनि वुझें भने उक्त कार्यक्रमा पुस्तक विमोचन गर्ने वीर नेपाली सेनाको विरासत बोक्ने हालका नेपाली सेनाका मध्य पश्चिम क्षेत्रका उपरथी देखि लिएर सहायक रथी तथा गुल्म पतिहरु अतिथिको रुपमा हुनुहुन्छ । विमोचन कर्ता महत्वपूर्ण व्यक्तित्वहरुमा मेरा प्यारा भान्जा भाई जर्नेल कृष्ण जि सी पनि भएको जानाकारी मलाई मिलेको हुनाले सायद भाइ कै आग्रहका कारणले पनि म आमन्त्रित भएको हुन सक्छु भन्ने मनमनै सोंचें। जे जसरी भए पनि मलाई आमन्त्रण गर्ने जि सी सर प्रति आभार व्यक्त गर्दछु।
महत्वपूर्ण पुस्तकको विमोचन भएकोले मैले समयलाई महत्व दिएं। समयको महत्व ख़्याल नगर्दा अंस्ती भरखर प्रम प्रचन्डद्वारा समुद्घाटन भएको गोलपार्क- वसन्तपुर केवलकारको उद्घाटन कार्यक्रममा आमन्त्रित भए पनि ढिलो पुगेको कारणले उक्त कार्यक्रम छुटेको स्मरण गरेकोले पनि म बोलाएको समय भन्दा १० मिनट अंघी नै होटल न्यू एराको हलमा उपस्थित भएं। तोकिएको समय भन्दा करिव ४५ मिनट ढिलो कार्यक्रम सन्चालन भयो। कार्यक्रम सन्चालनको प्रक्रियाबारे म आयोजक नभएकोले बढि बोल्नु उचित हुंदैन तर मेरो लेखको शिर्षकले मलाई कार्यक्रम बारे केही कुरा बोल्ने निर्देशन दिन्छ।
१- प्रथमतः आयोजक साथीहरुले कार्यक्रम सन्चालन सम्वन्धी प्रक्रिया बारे परिपक्क पूर्व सहमति वा अभ्यास गर्नु पर्थ्यो।
२- कार्यक्रममा माइक आदि प्राविधिक पक्षलाई अप टु डेट राख्नु पर्थ्यो।
३- नाटक लेखक झपेन्द्र जि सी लाई उक्त नाटक लेख्ने प्रेरणा दिएको तत्कालीन गुल्मपति कृष्ण जि सी द्वारा बनाइएको १५ मिनट लामो कर्खा गीतको डकुमेन्ट्री देखाएर मात्र कार्यक्रमको सुरुवात गर्नु पर्थ्यो।
४- नाटक सम्पादनका संपूर्ण सहयोगीहरुलाई आसन ग्रहणको वेला संझनु पर्थ्यो।
५- नाटकको समिक्षाको कार्यक्रम पछी मात्र हुने भनी उद्घोषकले भन्दा भन्दै पनि डा मुरारी पराजुलीद्वारा साहित्यिक प्यारामिटरको जगमा बसी लेखकको घुमाउरो पाराले धज्जी नउडाउनु पर्थ्यो। साहित्यकारले त समय र आशय वुझी एक दुई वाक्य सांकेतिक भाषागत शैलीमा प्रस्तुत हुनु पर्थ्यो।
६- मायाको चीनो दिने सवालमा २/४ वटा थपी नाटक लेखन र सम्पादनमा सहयोग गर्नेहरुलाई सम्मानित गर्नु पर्थ्यो।
७- लेखकको थुप्रै मेहनत र समय खर्च भए पनि आमन्त्रितलाई पुस्तकको मूल्य कम्तिमा आधा छुट हुनु पर्थ्यो।किन भने पुस्तकको मूल्य ७५५/ राख्दा प्रथम संस्करण २००० छापिंदा संपूर्ण विक्री भएको अवस्थामा कूल मूल्य १५ लाख बढि आउंछ।
८- चलचीत्र निर्माता तथा कलाकार नारायण रायमाझीलाई विशिष्ट अतिथि बनाइएको कार्यक्रममा हामी श्रोता र दर्शकहरु पक्कै पनि यो नाटकको सानो अंशको अभिनय वहांबाट निर्देशित भएको होला भन्ने आशामा थियौं। पुस्तक प्रकाशनमा वहांको विशिष्ट योगदान भएको हुन सक्छ सो कुरा श्रोताले वुझेनन् । भविष्यमा पनि उक्त नाटकको निर्देशन गर्ने प्रतिबद्धता पनि वहांबाट नसुनिएकोले आतिथ्यताको पोर्टफ़ोलियो केही खल्लो महसुस भयो।
९- लेखक झपेन्द्र जि सी ज्यू को आनीवानीले मलाई ठ्याक्कै पन्चायतकालिन स्यांग्जाका पूर्व सभापति स्व रामबन्धु रेग्मीको स्मरण गरायो। रामबन्धु रेग्मी धैर्य नभएर जति वेला पनि आफ्नो कुरा गरे जस्तै लेखक माइल्दाई झपेन्द्र जि सी ले पनि घरिघरि उद्घोषक भाई रामचन्द्र श्रेष्टलाई कोटाई राखेकोले उद्घोषकलाई कार्यक्रम सन्चालन गर्न असजीलो भएको महसुस भयो।
१०- उद्घोषकको चयन समयमा नभएर हो वा आमन्त्रित अतिथिको ख़्याल नभएर हो अतिथिहरुको पदीय स्थान उच्चारण गर्न उद्घोषकलाई अफ्ठेरो भएको महसुस भयो।आदि आदि।
माथीको कार्यक्रमको समिक्षाले आउंदा दिनमा गरिने यस्ता महत्वपूर्ण कार्यक्रम सन्चालनमा अवश्य मद्दत पुर्याउने छ। यती भन्दै गर्दा यो कार्यक्रमको विशिष्ट महत्व बारे कसैले पनि नज़रअन्दाज़ गर्नु नेपाली वीरताको गौरवशाली इतिहासमा ठूलो अन्याय हुन्छ ।
भरखर २० वर्षको उमेर पुग्दै गर्दा व्रतवन्ध मात्रै गरी इष्ट इन्डीया कम्पनीबाट नेपाल आक्रमणको कदम विरुद्धमा ज्यू ज्य्यानको पर्वाह नगरी लडेर व्रिटिश सेनालाई परास्त गर्ने गुरुसंग प्रण गरेर आएका दक्ष बहादुर कर्णेल उजीरसिंहको युद्ध कौशलताले वुटवल जीतगढी किल्ला र कपिलवस्तुको स्यूराज ( हाल शिवराज नगरपालिका यही नामले सुपरिचित छ) बाट हार खाई व्रिटिस सैनिक कमान्डर उड सहितको टोली भारत तर्फ फरार भएको कुरा नेपाली इतिहासको गौरव गाथा हो। यो इतिहासलाई मिहिन पाराले लेखी व्यापक रुपमा नेपाली पाठक माझ पुर्याई राष्ट्रियताको खडेरी परेको बेला नेपालीहरुलाई राष्ट्रप्रेमको चेतना दिनु पर्ने बेला लेखक झपेन्द्र जि सी ज्यू ले मात्र ३ वटा मात्र नाटकका काल्पनिक पात्र राखी साहित्यिक पाटों भन्दा नाटकमा वस्तुगत र तथ्यगत पाटों राखी पुस्तक प्रकाशन गर्नु हामी पाठकहरु वहाँ प्रति भारी आभार छौं। यस्तो महत्वपूर्ण डकुमेन्ट नेपाली सेनासंग कत्ति पनि छैन भन्न म सक्दिन तर यस्तै डकुमेन्ट खोजी गर्ने सन्दर्भमा एक पटक हामीले त्यहांका सैनिक प्रमुखसंग छलफल गरी वहांहरुसंग भएको इतिहासको माँग गर्दा हामीलाई दिन आनाकानी गर्नु भएकोमा हामीलाई दुख लागेको छ।
नेपाली सेनाको वीरताको इतिहास मेरो विचारमा सेनाहरुको मात्र होइन। उक्त इतिहासमा नेपाली जनताको पनि इतिहास जोडिएको छ। सो कुरा कार्यक्रमका लेखक, समिक्षक तथा वक्ताहरुले पनि स्वीकार गर्नु भएको छ। एक जना समिक्षकले त नाटकले मार्क्सवादी चिन्तनको प्रतिनिधित्व गर्छ भन्ने समेत दावी गर्नु भएको छ। नाटकका गीतहरु सुन्दा मलाई त्यस्तो त लाग्दैन तै पनि नाटकले उक्त वीरताको युद्धमा जनताको व्यापक सहभागिता भएको कुरा उजागर गरेको छ।
मैले कपिलवस्तु शिवराजका केही वर्ष पहिलेका सैनिक प्रमुख र यो कार्यक्रमका उच्च पदस्थ सैनिक प्रमुखहरुको विचमा देखेको वैचारिक फराकिलोपना बारे थोरै कुरा राख्ने धृष्टता गरें। कपिलवस्तुका ती सेना प्रमुखले नेपाल व्रिटिस युद्धको इतिहासमा नेपाली सेनाले देखाएको वीरतापूर्ण युद्ध कौशलता संवन्धी सूचना गोप्य राख्ने र उजागर गर्नु परे नेपाली सेनाले मात्र गर्ने भन्ने कुरा चन्द्रौटाकोएक औपचारिक कार्यक्रम मै भनेको सुन्दा मलाई निकै दुख लागेको थियो तर वुटवलको न्यू एराको कार्यक्रममा नाटक लेख्ने प्रेरणाको श्रोत सहायक रथी जर्नेल कृष्ण बहादुर जि सी ज्यू बाट मिलेको भनी लेखकले भन्दा र प्रमुख अतिथि मध्यपश्चिम उपरथी ज्यू ले सो कुरा स्वीकार गर्दा नेपाली सेनाको आन्तरिक जीवनमा अझै प्रशिक्षणको अभाव भएको मलाई महसुस भयो।
मलाई लाग्छ सेना सधै जनताको साथमा हुनु पर्छ र तव मात्र त्यो नेपाली सेना हुन्छ । प्रमुख अतिथि ज्यू ले सेना जनताको साथमा भन्ने कार्यक्रम लिएर गोरखा देखि वुटवल पश्चिम सम्म पुग्दाको मिठो अनुभूति सुनाउंदा हामीलाई गर्व लाग्यो। इतिहासमा पनि लेखकले उल्लेख गरे झैं सैनिकहरुको आह्वानमा सेनाको साथमा जनताहरु आफ्नो साथमा भएका हात हतियारहरु लिएर नलडेका भए जीत कहां हुन्थ्यो र ? नेपाली जनताले आफूसंग भएका हतियारको साथमा मात्र आएनन् उनीहरुले पालेका र बनमा पठाएका भैंसीका सिं मा रांको बालेन नदिएको भए पनि कहां नालापानीको युद्धको इतिहास रचिन्थ्यो र ? त्यसैले नेपाली सेनाले पुरानो संकिर्णताबाट माथी उठ्नै पर्छ र उठिसकेको दृष्टान्त आजको कार्यक्रमले दिएको छ।
नेपाली सैनिक प्रमुखहरु श्रृजनशिल हुन सके कति महत्वपूर्ण काम हुंदारहेछन् भन्ने कुरा आजको कार्यक्रमबाट उजागर भयो। नेपाली सेनाका हालका सहायक रथी भाई कृष्ण जि सी ले नेपाल व्रिटिस युद्धको वीर गाथा गाइनेहरुले गाएको झपेन्द्र जि सी द्वारा संकलित कर्खाको एक पातो प्राप्त गरी युद्धको १५ मिनट लामो डकुमेन्ट्री बनाई विदेशी उच्च स्तरका सैनिक प्रमुख सामु प्रदर्शन गरेको र अन्तर्राष्ट्रीय सैनिक जगतमा त्यसको ठूलो चर्चा भएको कुरा सुन्दा गौरव लाग्यो। सो गौरव सेनाको मात्र नभएर आम नेपालीहरुको हुनाले नेपाली राष्ट्रीयता धर्मराएको बेला नेपालीहरुको नशा नशाका रक्त वाहिनी नलीहरुमा वीरताको मनोवैज्ञानिक भावना आउंदा दिनहरुमा सेनाले जगाउने कुराको अपेक्षा समेत गर्दछु ।
अन्तमा आउंदा २/३ दिन भित्र नाटककार जिसी ज्यूको अथक परिश्रमको प्रतिफल अमर- उजीरसिंह नाटक गहिरो ढंगले अध्ययन गरी ज्ञान आर्जन गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजक प्रति आमन्त्रणको लागि धन्यवाद टक्याउंछु।