
लिल बहादुर केसी
मैले छ दशक नाघेको पनि तीन वर्ष काटिसक्यो। मेरा पांच सन्तानहरु मध्ये चार सन्तान हाल अष्ट्रेलियामा छन्। छोरा छोरी, वुहारी र नाती नातीना गर्दा नेपालमा भन्दा अष्ट्रेलियामा मेरो परिवारको जनसंख्या बढि छ। नेपालमा रहेका बांकि सन्ततिहरुको भविष्य पनि नेपालमा भन्दा विदेश मै हुने प्रवल सम्भावना छ किनभने चार सन्तान मध्ये दुईले अष्ट्रलिया मैं घर किनिसके।
मेरो मात्र होइन नेपालका उच्च, मध्यम र निम्न मध्यम वर्गका मानिसहरुको घरबाट कम्तिमा प्रति परिवार एक/दुई जना अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, कोरिया, न्यूज़ीलैण्ड, साइप्रस, फ़्रान्स लगायतका करिव १५० देशहरुमा विद्यार्थी भिसामा प्रतिदिन ३००-६०० को हाराहारीमा गइरहेका छन्। हामीले देख्छौं राजधानी भित्र र वाहिरका कन्सल्टेंसीहरुमा कक्षा बाह्रको परीक्षा सकिंदा वित्तिकै टॉफ़ेल, आइल्ट्स, पिटि, जीआरई पढ्ने विद्यार्थीहरुको खचाखच भिंड छ। नागरिकता र राहादानी फांटमा लामा लामा लाइनहरु छन्। शिक्षा मन्त्रालयमा जांदा नो अव्जेक्सन लेटर लिनेहरुको ठूलो भिंड छ।ट्राभल एजेंसीहरुमा जांदा टिकट लिनेहरु क्यू मा छन्। त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा जांदा सिंगो देश नै विदेशियो कि भन्ने अनुभूति हुन्छ । वर्क पर्मिट लिएर अरवियन देश र अन्य देशहरुमा रोज़गारका लागि जाने युवा/ युवती बाहेकको विद्यार्थी मात्रको विगत ११ आर्थिक वर्षको तलको तथ्यांक हेर्दा कहाली लाग्दो छ।
आ व २०६९/७० मा १६५०४, २०७०/७१ मा २८१२६, २०७१/७२ मा ३०१९६, २०७२/७३ मा ३२४८९, २०७३/७४ मा ५०६५९, आ व २०७४/७५ मा ५८७५८, २०७५/७६ मा ६३२५९, आ व २०७६/७७ मा ३३०३७, आ व २०७७/७८ मा २९४३२, आ व २०७८/७९ मा १, १४४२९, र आ व २०७९/८० मा १, १०२१७ जना विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट एन ओ सि लिएका छन्। यो तथ्यांक हेरी विगत दंश वर्षलाई आधार मान्दा विदेश पढ्न जाने विद्यार्थीहरुको संख्या आ व २०६९/७० को तुलनामा अहिलेको वर्षहरुमा आउंदा करिव ५९३% भन्दा बढि हुन आउंछ। ती मध्ये करिव ४०-५०% विद्यार्थीहरुको रोजाई अष्ट्रेलिया हुन पुगेको छ। त्यसैले त अष्ट्रेलियाको जिडीपीको प्रमुख श्रोत शिक्षा हो भनी अष्ट्रेलियनहरु गर्वका साथ भन्दा रहेछन्।
यी विद्यार्थी मध्ये ८०% विद्यार्थीहरु पढ्न भन्दा घरको आर्थिक अवस्था सवल बनाउन गएका हुन्। यस्ता विद्यार्थीहरुले गएको २/४ वर्ष घरमा केहि रकम पठाउंछन्, त्यस पछी उनीहरुले अस्थायी र स्थायी वसोवास अनुमति पत्रकोलागि त्यहांको सरकार समक्ष आवेदन दिन्छन्। त्यहि देशको नागरिकता लिन्छन् घर किन्छन् वच्चा वच्ची हुन्छन् त्यहिं बस्छन् ।
विदेशको नागरिकता लिएका र घरवासको व्यवस्था गरेका विद्यार्थी मध्ये यो परम्परा तोड्ने विद्यार्थीहरु सायद ५-१०% होलान त्यसमा हाम्रा सन्ततिहरु पर्छन् वा पर्दैनन् अहिले नै भन्न सकिन्न। तर लामो समय एउटा सिस्टममा चलेको देशमा बसेका सन्ततिहरु आफ्नै जन्मभूमिमा आएर केहि समय बस्दा यहांको सरकारी कार्य पद्धति, रहन-सहन, लवाइ-खवाइ, सामाजिक सुरक्षा र आम्दानीको सुनिश्चिततामा अनुकूलन हुन नसक्ने हुनाले आफ्नै देशमा बसी दुख जिलो गर्छु भनी नेपाल आएका युवा युवतीहरु पनि फेरी फर्केर विदेशी भएका हाम्रा सामु कैयन उदाहरणहरु छन्। यस्तो अवस्थामा जीवनको ५/६ दशक काटिसकेका वृद्ध वृद्धाहरुको उज्यालो भविष्य देखिंदैन। हाम्रा विदेश भएका छोरा छोरीहरुले ५/६ दशकसम्म आफ्नो बाबा आमाले सुधार्न नसकेको घर व्यवहार सुधार्न तल्लिन छन्। उनीहरुको क्रियाशील जीवनको कमाइ नेपाल पठाउन र आफ्नो दैनीकीको अतिरिक्त घरको किस्ता वुझाउन मै वित्छ । यसरी विदेशिएको हाम्रो दोश्रो पुस्तालाई पनि हामी नेपालीहरुको विग्रिएको आर्थिक विरासत जवर्जस्त बोक्नु पर्रेको छ। यस्तो वेला उनीहरुले आफ्नो सन्ततिहरुको गुणस्तरीय शिक्षामा लगानी गर्नेछन्। उनका सन्तति वा हाम्रा नाती नातीनीहरुले आफ्ना बाबा आमाले कमाउन नसकेको क्षति पूर्ति गर्न तल्लिन हुनु पर्ने हुनाले विदेशमा बसी आफ्नो संभ्रान्त परिवार हुने कल्पना गर्नेछन् र दिलो ज्यान दिई आफू र आफ्नो बाबा आमाको सुखको लागि कमाउन ध्यान दिनेछन्।ती सन्तानहरु नेपालमा आई बस्न सक्ने छैनन्। यता भने अवको २० वर्ष स्वस्थ रहने हो भने मैले सबा चार दशक काटेको हुनेछु। देशको यहि अवस्था रहने हो भने आफ्नो र आफ्ना सन्ततिको भविष्यको लागि मेरा छोरा छोरी र नाती नातीनीहरु नेपाल आउने संभावना क्षीण हुनेछ ।आई हाले भने पनि १ महिनाको छोंटो विदा लिई नेपाल आउने छन्। हामीले आठ दशक पार गर्दा हाम्रा तेश्रो पुस्ताका सन्ततिहरुका विदेश मै सन्तान हुनेछन् । आफ्नो हजूर वुवा र वुवा नेपालमा गई नबसे पछी चौथो पुस्तालाई नेपालको माया हुने छैन। यस प्रकार सायद हामीहरु उनीहरुका अपरिचित जीजु बा हुनेछौं। यसरी हामी नेपालीहरुको चौथो पुस्तालाई आफ्नो वंश, रिती, परम्परा, चाल चलन, मेला पर्व, धर्म, संस्कृति र राष्ट्रियता तथा राष्ट्र प्रतिको प्रेम धेरै टाढाको विषय हुनेछ । यो पढ्दा काल्पनिक लाग्ने तर यथार्थमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूज़ीलैंड, यू के र अन्य आप्रवासी सुविधा भएका देशहरुमा गएका हाम्रा सन्ततिहरुको भविष्यको कथा हो। यो कथा यथार्थ भएमा हामी वृद्ध वृद्धाहरु या त नेपालको कुनै वृद्धाश्रममा हुनेछौं वा सरेन्डर गरी हात ठाडो गराएर विदेश मै जानेछौ। त्यो वेला हाम्रा नेपालका घरहरु ख़ाली हुनेछन्।
विडम्वना यो हुनेछ कि त्यो वेला नेपालमा लोक सेवा दिने उमेदवारहरु पाउन मुस्किल हुनेछ । प्रहरी सेनामा भर्ती हुने युवाहरुको अभाव हुनेछ। अहिलेको तथाकथित जानेमाने अर्थ शास्त्री स्वर्णिम वाग्लेहरुका सैनिकको संख्या कटौति गर्ने इच्छाहरु पुरा हुनेछन्। देश साम्राज्यवादीहरुको कव्जामा हुनेछ । यो काल्पनिक कथा पुष्टि गर्ने निम्न आधार हुनेछन्।
नेपालमा रोजगारीको अभावले वर्क पर्मिट दिने खाडी मुलुकहरुमा जाने नेपाली युवा युवतीको संख्या पनि सानो छैन। आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३१ हजार युवा युवतीहरु रोजगारको सिलसिलामा अरवीयन मुलुक लगायत अन्य देशमा गएकोमा आर्थिक वर्ष २०७९/८० को आठ महिनामै ५ लाख ११ हजार वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाउंछ। ती देशहरु मध्ये पनि कैयौं देशहरुमा आप्रवासन सुविधा छ। राम्रो कमाइ गर्ने कतिपय नेपालीहरु दुवई, थाइलैन्ड, अफ़्रीका र अन्य देशहरुमा बस्नेछन्।
उता नेपालका हरेक राजनैतिक परिवर्तन हुंदा नेपालको नागरिकतालाई कौडीको भाउ राखी नागरिकता वितरण गर्दा नागरिकता ऐन २०६३ को उपहारले नै करिव ४० लाख विदेशी नागरिक नेपाल भित्रिएका छन्। फेरी अहिलेको नागरिकता विधेयक प्रमाणित भै सके पछी सरकारी तथ्यांक अनुसार नै ५ लाख जन्म सिद्धे नागरिकले वंशजको नागरिकता पाउनेछन्। अवको २० वर्ष भित्र ४५ लाख विदेशी मूलका नागरिक ( ख़ास गरी भारतीय मूलका) का सन्तान १ जनाको दरले बढ़े पनि त्यो संख्या ९० लाख पुग्ने छ। हो नेपालको तराईका जिल्लाहरुमा बढि र पहाड़ी जिल्लाहरुमा नागरिकता प्राप्त गर्न नसकेका कैयन नेपालीहरु छन्। उनीहरुलाई विधिसम्मत तवरबाट नागरिकता दिनु पर्दछ। हाम्रो जस्तो सानो र छुट्टै भौगोलिक विशेषता भएको मुलुकले नागरिकता वितरण गर्दा निकै गम्भीर भएर सोंच्न पर्थ्यो । सत्ता स्वार्थको लागि यहांका राजनैतिक पार्टीहरुले यो गम्भीर पक्षलाई नज़र अन्दाज गरे। नागरिकतामा लचीलो हुनाले देशको राष्ट्रियता कमजोर हुन्छ नै। गैरनेपाली नागरिकले जथाभावी रूपमा नागरिकता पाउन थाले पछी कालान्तरमा यसले मुलुकको राष्ट्रियतामा, अखण्डतामा चुनौती खडा हुने रहेछ भन्ने त अंगीकृत नागरिकता प्राप्त समाजवादी पार्टीकी सांसद सरिता गिरीको क्रियाकलापले नै देखाइसक्यो। ग़ैर नेपाली नागरिकले नागरिकता प्राप्त गरे पनि राष्ट्र प्रतिको मायाको मात्रा कत्तिको हुंदोरहेछ भन्ने कुरा वुझ्न पटक पटक भारतले नेपालमा नाकाबन्दी गर्दा मधेस केन्द्रित राजनीतिक दलमा देखा परेको दृष्य नै काफ़ी छ।
अर्को तर्फ सरकारी तथ्यांकले विदेशमा रहेका नेपालीहरुको जनसंख्या २२ लाख भने पनि अहिले नै ९० लाखको हाराहरी छ। यो तथ्यांकको २०% मानिसहरु विदेश मैं बसे भने पनि १८ लाख मानिसहरु फर्कने छैनन्। वाध्यताले चाहाना नहुंदा नहुंदै पनि एक जना विदेश भएको सन्ततिको भरोसामा जीउनको लागि नेपालबाट परिवारको २ सदस्य गए पनि त्यो जनसंख्या विदेशमा ५४ लाख पुग्नेछ । फेरी अवको २० वर्षमा ती आप्रवासी नेपालीका सन्तानले ती देशको जनसंख्या दोव्वर हुनेछ । यसो हुंदा अवको दुई दशक पछी संभवत नेपालका ख़ास रैथाने नेपालीहरु बाहिर भै ख़ास नेपालीहरु अल्पमतमा हुने र गैह्र नेपालीको बहुमत हुने देखिन्छ ।
देशबाट बाहिरिने युवा युवतीको संख्या यहि दरले बढ्ने र राज्यले यस तर्फ ध्यान नदिने हो भने अवको २/३ दशक पछीको नेपाल कस्तो होला ? आआफ्नै तरीकाले अनुमान लगाउं। यस्को मूल कारण नेपालको ग़ैर ज़िम्मेवार सरकार र यस्ले लिएको शिक्षा नीति हो। यहांको शिक्षा नीतिले न त विद्यार्थीहरुको मन जित्न सक्यो न त अविभावकको नै। देशको शिक्षा नीतिले व्यवहारिक पक्ष नसमेटे पछी यो शिक्षा शास्त्रीय मात्र भयो। व्यवहारिक पक्ष कमजोर भएकोले युग अनुसार हाम्रो शिक्षा विश्व बजारमा विकेन। शैक्षिक वेरोजगारी बढ्यो। अर्को तर्फ देशलाई औद्योगीकरण तर्फ लगिएन।
रोजगारीका अवसरहरु हुंदै भएनन्। त्यसैले नै युवा क्रियाशील शक्ति बाहिरियो। उनीहरुले विदेश बनाए नेपाल हर तरहले जर्जर हुंदै गयो। नेपालमा दक्ष मानव संशाधनको कमि हुंदै गयो। यस्तो परिवेशमा नाराले मात्र पुरा होला र समृद्ध नेपाल र सुखी नेपाली हुने रहर ?