
दुर्गानाथ खरेल
फ्रान्समाथि शासन गर्ने क्षमता बुर्जुवा वर्गले गुमाई सकेको र मजदुर वर्गले प्राप्त गरी नसकेको तथा नवजात मध्यम वर्गीय समाजले सामन्तवादबाट आफ्नो मुक्तिको साधनको रूपमा हुर्काउन थाले पनि परिपक्व बुर्जुवा समाजले पूँजीद्वारा श्रमको दासत्वको साधनमा परिणत गरेको अवस्था थियो । १८७० को सेप्टेम्बर १–२ मा सेदानमा भएको फ्रेन्च प्रोइसेन लडाइँमा नेपोलियन तृतीय समेत असी हजारभन्दा बढी सैनिक, सैनिक अफिसर तथा जर्नेलहरूले आत्मसमर्पण गरेर नेपोलियन तृतीय बन्दी बनाइएका थिए । त्यतिखेर जर्मन सेनाले फ्रान्सेली सेनामाथि विजय प्राप्त गरेको थियो । ४ सेप्टेम्बर १८७० का दिन फ्रान्समा गणतन्त्रात्मक व्यवस्था घोषणा गरियो । पेरिसका मजदुरहरूले गणतन्त्रको घोषणा गरेका थिए । सम्पूर्ण फ्रान्सले सर्वसम्मतिद्वारा त्यसको स्वागत गरेको थियो । पेरिसको दोस्रो साम्राज्य ढलेपछि आफ्नो राष्ट्रिय सुरक्षाका लागि पेरिसका नागरिकहरू राष्ट्रिय गार्डमा सङ्गठित भए । त्यसमा मजदुरहरू बढी थिए । सत्ता पूँजीपति वर्गको हातमा भएको गणतन्त्र घोषणा भयो । फ्रान्सको राष्ट्रिय हित विपरीत २८ जनवरी १८७१ का दिन युद्धविराम तथा पेरिसको आत्मसमर्पणसम्बन्धी राष्ट्रिय सुरक्षा सरकारका प्रमुखले विस्मार्कसँग संयुक्त हस्ताक्षर गरेका थिए । त्यो आत्मसर्मपणको अर्थ फ्रान्सको राष्ट्रिय हितप्रति विश्वासघात थियो । त्योभन्दा पहिलो ३१ अक्टोबर १९७० का दिन राष्ट्रिय सुरक्षा सरकारको निर्देशन अनुसार प्रोइसेन सरकारसँग थियेरले वार्ता सुरु गरेको खबर पाएपछि पेरिसका मजदुहरू र राष्ट्रिय गार्डका क्रान्तिकारी हिस्साले विद्रोह सुरु गरेका थिए । नगरपालिका भवनमाथि कब्जा गरेपछि उनीहरूले ब्लाङ्कीको नेतृत्वमा क्रान्तिकारी सत्ताको निकाय सामाजिक मुक्ति समिति खडा गरे । मजदुरहरूको दबाबमा परेर राष्ट्रिय सुरक्षा सरकारले राजीनामा गर्ने र नोभेम्बरको १ को दिन कम्युनका लागि चुनाव गराउने वचन दिन बाध्य भयो । तर पेरिसका क्रान्तिकारीहरूको अपर्याप्त सङ्गठनबद्धता र विद्रोहको नेतृत्व गर्ने ब्लाङ्कीवादी र निम्न बुर्जुवा जनवादी ज्याकोबवादीहरूबीच मतभेदबाट फाइदा उठाउँदै सरकारले राजीनामा गर्ने वचन पुरा गरेन । आफ्नो पक्षमा रहेका राष्ट्रिय गार्डका बाँकी हिस्साको मद्दतबाट नगरपालिका भवनमाथि कब्जा गरेर फेरि पनि आफ्नो सत्ता कायम गर्यो ।