शनिबार, साउन १२, २०८१

द्वन्द्वात्मक भौतिकवाद भनेको के हो

 

द्वन्द्वात्मक भौतिकवाद भनेको माक्र्सवाद हो । यसमा द्वन्द्ववाद र भौतिकवाद दुईवटा शब्दहरू छन् । द्वन्द्ववादको अर्थ संसारमा रहेका कुनै पनि चीजमा संघर्ष हुन्छ भन्ने हो । संघर्ष विना कुनै पनि बस्तु, चेतना वा मानव समाज रहन सक्दैन ।

यसरी कुनै पनि चीज जो अस्तित्वमा छ त्यसमा द्वन्द्व छ र यदि द्वन्द्व छैन भने कसैको पनि अस्तित्व नै छैन । भौतिकवाद भनेको भौतिक तत्वलाई प्रधान ठान्ने चीज हो । भौतिक पदार्थ नै सत्य हो र त्यसको आन्तरिक नियमबाट नै त्यो गतिशील र अस्तित्वमा छ । यसले भौतिक जगतलाई मूल तत्व र सत्य मान्दछ र संसारको बारेमा सबै जान्न सकिने तथा पदार्थको नियम बुझ्न सकिने कुरा बताउँछ ।
द्वन्द्वात्मक भौतिकवाद बुझ्न यसको अर्को पाटो अधिभूतवाद र आदर्शवादलाई बुझ्नै पर्दछ । अभिभूतवादलाई नबुझिकन द्वन्द्ववाद (माक्र्सवाद) बुझ्न सकिंदैन ।
अधिभूतवादले प्रकृतिका सबै घटना वा विचारलाई एक अर्काबाट स्वतन्त्र, अलग वा असम्बन्धित भएको बताउँछ तर द्वन्द्ववादले संसारमा रहेका सबै चीजहरूलाई आपसमा सम्बन्धित भएको बताउँछ । जस्तो पृथ्वीका भरमा प्राणी जगत छ । मानव समाज छ । फेरि पृथ्वीलाई प्राणी जगतको पनि आवश्यकता छ ।
अधिभूतवादले प्रकृति वा त्यसका सबै घटनाहरूलाई स्थिर र अपरिवर्तनशील बताउँछ । तर द्वन्द्ववादले सम्पूर्ण चीजहरू परिवर्तनशील, लगातार नविनिकरण र विकासको अवस्थामा रहेको बताउँछ ।

अधिभूतवादले कुनै चीजमा मात्रात्मक परिवर्तन भए पनि गुणात्मक परिवर्तन नहुने बताउँछ जबकि द्वन्द्ववादले संसारमा संख्यात्मक परिवर्तन भएपछि गुणात्मक परिवर्तन अनिवार्य हुने कुरा गर्छ । द्वन्द्ववादी व्याख्या अनुसार विकासको प्रवृत्ति मूलरूपमा अगाडि बढिरहने, माथि उठिरहने, पुरानो गुणात्मक अवस्थाबाट नयाँ गुणात्मक अवस्था तर्फ संक्रमण हुने, साधारणबाट जटिलतर्फ जाने, तल्लोस्तरबाट माथिल्लो स्तरमा जाने हुन्छ । कतिपय अवस्थामा प्रतिगमन भए पनि त्यसको मूल प्रवृत्ति अगाडि नै बढिरहने हुन्छ ।

अधिभूतवादले कुनै चीजलाई एकै रूपमा प्रस्तुत गर्छ र त्यसभित्रका अन्तरविरोधहरूलाई ठीकसँग बुझ्न सक्दैन । तर द्वन्द्ववादले प्रकृतिका सबै घटनाहरूमा अन्तरविरोध हुन्छ र प्रत्येक चीजमा हुने अन्तरविरोधलाई राम्ररी बुझ्नपर्छ तथा बुझ्न सकिन्छ भन्छ । कुनै चीजभित्र परस्पर विरोधी पक्षहरू हुन्छन् र त्यसको बीचमा हुने संघर्षबाट नै विकास हुन्छ भन्छ । उपरोक्त द्वन्द्वात्मक नियमहरूलाई समाज वा जीवनमा ठीकसँग प्रयोग गरे पछि नै हामीले कुनै विषयमा सही जानकारी प्राप्त गर्न सक्छौं ।

भौतिकवादलाई ठीकसँग बुझ्न आदर्शवादलाई ठीकसँग बुझ्नै पर्छ । आदर्शवादले संसारलाई विचार आत्मा वा चेतनालाई प्रधान ठान्छ । भौतिक जगतलाई मूर्तरूप मान्दछ । तर भौतिकवादले भौतिक जगतलाई नै मूर्तरूप मान्दछ । र त्यसभित्रका आन्तरिक नियम र द्वन्द्वात्मक प्रक्रिया अनुसार संसारको विकास हुन्छ भन्ने कुरा स्वीकार गर्छ ।

आदर्शवादले चेतन पक्ष नै सत्य हुन्छ र भौतिक संसार चेतना वा विचारहरूमा निहित हुन्छ भन्ने कुरामाथि विश्वास गर्दछ । त्यसको विपरीत भौतिकवादी दर्शनले भौतिक अस्तित्व र प्रकृति हाम्रँे चेतनाभन्दा बाहिर स्वतन्त्र रूपमा रहेको हुन्छ भन्ने कुरामा विश्वास गर्दछ ।

आदर्शवादले संसारमा भौतिक नियमहरूलाई जान्न सकिन्छ भन्ने कुरालाई विश्वास गर्दैन । आदर्शवादले हाम्रो ज्ञानलाई प्रमाणित मान्दैन, वस्तुगत सत्यलाई स्वीकार गर्दैन । त्यसको विपरीत भौतिकवादले त्यसका नियमहरू पूरै जान्न सकिन्छ भन्दछ । यसले यो पनि स्वीकार गर्दछ कि संसारमा अहिलैसम्म हामीहरूले जान्न नसकेका धेरै कुराहरू छन् । ज्ञान विज्ञानको विकासका साथै ज्ञान विस्तार हुँदै जान्छ । माक्र्सवादी दर्शनले भौतिक परिस्थितिबाट नै विचार वा चेतनाको विकास हुन्छ भन्ने कुरामाथि विश्वास गर्दछ । तर एक पटक तिनीहरूको विकास भएर जनताको हृदयमा पूग्ने वित्तिकै त्यो भौतिक सत्य बन्दछ र भौतिक परिस्थितिको विकासक्रमलाई पनि प्रभावित गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal