शनिबार, साउन १२, २०८१

सामाजिक संजाल :हामी मानव भन्दा रोबर्ट बढी :सुवाश जिसि

यो सहि हो- हामी विज्ञानको युगमा छौं।

विज्ञानले कामको सजिलोको लागि रोवर्ट बनायो। `दुर्भाग्य´ त्यही विज्ञानको अनुचित प्रयोगले हामी नै रोवर्ट बन्दै छौं। मुलत हाम्रा काम, व्यवहार, सोंच्ने तरिका र यति सम्म कि हामीमा पैदा हुने विचार पनि यान्त्रिक, कहिलेकाहीँ कृत्रिम र झण्डै झण्डै रोवर्ट स्टायलका हुन थालेका छन्।

खासमा यसो हुनुको पछाडी दुईवटा कारण हुन सक्छन्- पहिलो हुनसक्छ, ज्ञानले प्रविधिको विकास गर्नुपर्थ्यो, हामीकहाँ प्रविधिले ज्ञान भित्राउँदै छ। दोस्रो, हामीलाई लाइब्रेरी थाहा हुन छाड्यो र हामी सामाजिक संजालहरुबाटै विचारहरुको निर्माण गर्न थाल्यौं।

सामाजिक संजालको अर्थ हुन्छ समाजलाई जोड्ने जालो। अर्थात प्रविधिको माध्यमद्वारा कुनै एक व्यक्तिका विचारहरुलाई एकैपटक समाजमा संप्रेषण गर्नु वा सुचनाहरुको सामुहिक आदान-प्रदान गर्नु। सामाजिक संजालमा व्यक्त गर्ने त्यसप्रकारका विचारहरु व्यक्तिले एकल रुपमा तयार गरे पनि सामाजिक संजालमा सेयर गरेपछी ती समाजको ठूलो हिस्सामा पुग्छन् र त्यसले सार्वजनिकरुप धारण गर्दछ।

विचार सार्वजनिक हुँदैमा त्यो सामाजिक हुन्छ भन्ने हुँदैन। खासमा सामाजिक संजालको अर्थ सामाजिक विचारहरुको आदान-प्रदान भए पनि विचारको रुप सामाजिक नहुँदासम्म त्यसलाई सामाजिक मान्न सकिँदैन। त्यसकारण हामीले सामाजिक संजालमा अभिव्यक्त गर्ने विचारहरु सामाजिक हुनुपर्ने हो, हुनुपर्दछ।

सामाजिक विचार त्यसै उत्पन्न हुने होइन। त्यसको लागि कम्तीमा पनि व्यक्तिमा सामाजिक जीवन दर्शनको अध्ययन र त्यसको प्रभावको आवश्यकता हुन्छ। त्यसको साथै सोही अनुसारको व्यक्तिगत आचरण निर्माणको पनि जरुरी हुन्छ। तर विडम्बना हामी विषयवस्तुको अध्ययन, अनुसन्धान, खोज, विश्लेषण र त्यसको गहिराईमा पुग्नै सकेनौं, पुग्नै खोजेनौं। बरु हामी तिनै संजालहरुमा आउने सतहि विचारहरुको शिकार भएका छौं।

हामीसङ्ग हाम्रो आफ्नै स्पष्ट घारणा र दृष्टिकोण छैन। छिन-छिनमै हाम्रो धारणा वद्लिरहेको हुन्छ। कुनै एउटा विषयमा कसैले लेखेको एउटा स्ट्याटसको आधारमा एकैछिन हामीले एउटा विचार बनाइरहेका हुन्छौं। सोही विषयमा केहिबेरमा अर्को सुचना कसैले पोष्ट गर्यो भने हामीले फेरि आफ्नो धारणा परिवर्तन गर्छौं र बेग्लै दृष्टिकोण बनाइसकेका हुन्छौं।

जस्तै कि कसैले नेतालाई गाली गरेर राजा नै उपयुक्त भएको विचार प्रवाह गर्यो भने हामी राजावादी भईसकेका हुन्छौं, फेरि कसैले राजालाई गाली गरेर लेख लेख्यो भने हामी गणतन्त्रवादी बनिसक्छौं। यसको अर्थ हो हामीसङ्ग हाम्रो आफ्नो विचार छैन, आफ्नो दृष्टिकोण र बुझाई छैन। यसरी हामी लगातार विचारविहिन दिशातिर दौडिरहेका हुन्छौं।

एकातिर सामाजिक संजालले हामीलाई विचार र विवेकशून्य बनाइरहेको छ भने अर्कोतिर हाम्रो इमोशनलाई विचलित बनाएको छ। जस्तै हामीले कुनै आफ्नो आफन्तको मृत्युको खबर सुन्छौं र सामाजिक संजालमा उत्तिखेरै पोष्ट गरेर आफू निकै मर्माहत र दुखी भएको कुरा प्रेसित गर्छौं। त्यसको छिनमै कसैले विवाह गर्यो भने तुरुन्तै आफू अत्यन्तै खुसी भएको र कृतज्ञ भएको कुरा पोष्ट गरि भ्याउँछौं।

यसरी एउटै मान्छे हरेक मिनेटमा अत्यन्तै खुसी र अत्यन्तै दुखी भइरहेको हुन्छ। यसले वास्तवमा हाम्रो मानवीय संवेगहरुलाई विचलित पारिरहेको छ। जसको कारण हामीले हाम्रा संवेगहरुमाथी नियन्त्रण गुमाउँदै छौं। अब हामीसङ्ग हाम्रो भावना छैन। हामी रियल जीवन अर्थात सामाजिक संजालबिनाको जीवनमा रुने समयमा रुन सक्दैनौं, हाँस्ने समयमा हाँस्न सक्दैनौं। जसको कारण हामी विछिप्त हुँदैछौं र विछिप्तताको स्थितिबाट गुज्रदै छौं। यसको परिणाम ढिलो-चाँडो मनोरोग र मनोरोगी हुनु नै हो।

सबैभन्दा ठूलो कुरा विचारको निर्माण हो। आफूलाई चिन्ने विचार। समाज, देश र दुनियाँलाई बुझ्ने विचार। जीवनलाई हेर्ने विचार। जीवन दर्शनको विचार। त्यसकारण हामीले हाम्रो जीवनलाई सहि तरिकाले बुझ्न सक्यौं भने मात्र हामीले व्यक्त गर्ने विचारको अर्थ हुन्छ। अर्थ भएको विचारलाई समाजमा बाँड्न सक्यौं भने त्यसले सामाजमा अर्थ राख्दछ, त्यसको महत्त्व हुन्छ।

सामाजिक संजालको प्रयोग हाम्रो विचारसङ्ग गरौं। आफ्नो विचारको लागि पहिले अध्ययन गरौं। अध्ययनको अर्थ होस्, निष्कर्ष होस्, त्यसलाई बाँड्यो भने समाजमा प्रभाव होस्। तबमात्र हामी सामाजिक संजालमा मानव देखिन्छौं। नत्र हामी मानव आकारका रोवर्ट, पपेट र कार्टुन जस्तै हुन्छौं, त्यस्तै लाग्छौं। जसले-जसरी-जतासुकै जेमा पनि हामीलाई प्रयोग गर्छ, हामी प्रयोग भईरहेका हुन्छौं।

  1. (लेखक अखिल (छैठौं) का केन्द्रीय सचिव हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal